
छोरीको अनुहारमा बाबुको आत्मा
धार्मिक होऔँ, धर्मान्ध वा धर्मभिरु होइन
ससाङ् लामा
न्युर्योक, अमेरिका ।
धर्म आफैमा नराम्रो कदापी होइन । तर हामी धर्मको गलत कनोट्सन दिएर यसलाई गलत रुपमा अभ्यास गरिरहेका छौँ । कथित चमत्कारी बाबाहरु र कथित औतारी लामाहरुलाई भगवान बनाएर तिनलाई अलौकिक बनाएर हामी धर्मात्मी भै टोपल्दैछौँ । निरक्षर र अज्ञानीले त धार्मिक अभ्यासको नाममा विसंगत कार्यहरु गर्दै आएका छन् । तर शिक्षित र सामाजिक अगुवाहरुले वेद र उपनिषदहरु पढेर त्यसभित्रकोहा जीवनपयोगी मन्त्रहरुलाई सरल भाषामा जन मानसमा ल्याउनुको साटो नचाहिँदा कर्मकाण्डीलाई बढी प्रश्रय दिएर मानिसहरुलाई अरु दिग्भ्रमित पारिरहेका छन् ।
धर्मभिरु, धर्मान्ध्, धर्मालिन्, धर्माश्रित भै गरिने हरेक धार्मिक रिच्युल्स्हरुले हाम्रो समाजलाई के फाईदा पुर्याएको छ ? हामी आफै मानसिक रुपले कति स्वच्छ हुँदैछौँ यो वा त्यो धर्म पालना गर्नाले । हामीले मान्दै आएको धर्मलाई विश्वाशको दर्जा मात्र दिएर बस्ने बेला छैन । यस धर्मलाई सामाजिक कसिमा घोटने बेला भैसकेको छ । हामीले मान्दै आएको द्धापरयुगिन धर्महरु जर्जर पो भैसके कि ? सामाजिक विकासको सिद्धान्त अनुरुप ढुङगे युग, दास युग, सामन्ती युग, पुंजिवादी युग हुँदै मानवीय समाजले ठुलो फडको हानिसकेको छ । तर हाम्रो धर्म, ढुङ्गे युगमै भएको भान हुन्छ ।
युगौँ युग बितिसक्दा पनि हाम्रो धर्ममा परिष्करण गरिएको छैन, अपडेट भएको छैन । कुनै अलौकिक शकिले परिष्करण गर्छ कि भनेर पर्खेर हामी बसिरहेका छौं कि ? वास्तवमा धर्म, हाम्रै कृयाशिल मगजको उपज हो । यस संसारमा मानव समाजको अन्त्य हुनासाथ धर्म पनि नाशिन्छ अनि हामीबाटै स्रिजित धर्मलाई समयसुहाउँदो परिष्करण गर्नु हाम्रो दायित्व हो । तसर्थ धार्मिक होऔँ, तर धर्मान्ध र धर्मभिरु चैं नहुने कि ।
मृत्यु पछिको जीवनबारे अज्ञानीमा त भ्रम छँदैछ, तर ज्ञानीहरुले समेत धर्मको नाममा आफ्नो परलोक सुधार्न लाखबत्ती बालेको देखेर म तिन छक्क पर्दछु । मलाई प्याच्च नास्तिक भन्न नहतारिऊँ । कुरो आस्तिक र नासित्कको नभएर मृत्यु पछिको अमुर्त जीवनबारे ‘मेरो घोत्ल्याँइ यस्तो छन् मैले पहिलो जन्ममा तपाईंको यति ऋण खाएको थिएँ, लौ लिनुहोस्’ भनेर अहिलेसम्म कोही फर्काउनु आएको छैन । अर्कोतर्फ आत्मा मर्दैन अरे ! आत्मा त अमुर्त हो । मानिस जिवित अवस्थामा छदा उसका इन्द्रेयिहरुको चलखेलबाट निस्कने अनुभुती नै आत्मा हो । उस्का हृदयभित्र प्रष्फुटित हुने ज्वारभाटा, संवेदना, उतारचढाव नै आत्मा हो, इन्द्रियहरुको अन्तर्कृयाबाट निस्कने समष्टी नै आत्मा हो । जब इन्द्रियहरुको मृत्यु हुन्छ, आत्मा आफसेआफ नामेट हुन्छ । हामी दाल, भात, तरकारी, अचारलाई समष्टिमा ‘खाना’ भन्छौँ, तर यी चीजलाई अलग अलग छुट्ट्यायौ भने ‘खाना’को अस्तित्व हराउँछ ।
शरिरको अंगहरुको क्रियाकलापबाट उपज हुने आत्मा शरीरसँगै नाश हुन्छ । तर म मरे पनि मेरो आत्मा मर्दैन, त्यो मलाई थाहा छ्, मैले अहिले नै देखिरहेको छु- मेरी छोरीको मुहारमा, उसको बानी-ब्यहोरामा, उसले बोकेका मानवीय संवेदनाहरुमा, गुण र दोषहरुमा । यस असार संसारलाई मैले एकदिन चटक्कै छोडनु पर्छ, मेरो भौतिक शरीर हुँदैन, तर मेरो आत्मा छोरीभित्र बाँचिरहेकै हुन्छ, श्वास लिईरहेको हुन्छ, नयाँ नयाँ अनुभुती बटुलिरहेको हुन्छ । शायद पुनर्जन्म यसैलाई भनिएको हो कि ?
समष्टिमा मैले इंगित गर्न खोजेको चाँहीँ, विद्यमान धार्मिक संस्कारहरुमा परिष्करण् आवश्यक देखिएको छ । हामीले अंगाली आएका कतिपय धार्मिक कर्मकाण्डहरुले हाम्रा दिनचर्यालाई नै असहज तुल्याउँदैछ । संसारमा भएका हरेक कुराहरु इभोलुसनको सिद्वान्त बाहिर रहन सक्दैन । धर्म र धर्मले स्थापित गरेका अनेकानेक मुल्य मान्यतामा समयसाक्षेप परिष्करण् हुन अत्यावश्यक भैसकेको छ । मानव जीवनलाई अनुशासित र विवेकी बनाउन धर्मको अविष्कार भएको हो । अब यो घाँडो सावित हुनुभन्दा अगावै यसमा सुधार गरेर हाम्रा पुर्वजहरुले चलाएको संस्कारलाई अर्थपूर्ण बनाउनु पर्छ । धर्ममा असहजता हुनुहुन्न । धर्मको मुलमन्त्र नै मानव जीवनलाई सहजता प्रदान गर्नु हो ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



