
आमा विरामी हुँदा आएनन्, अंश लिन अमेरिका/अस्ट्रेलियाबाट आए
लघुकथाः विवेक
रूपा अधिकारी
काठमाडौँ
‘हेलो बाबु सञ्चै छौ ? आमा सिकिस्तै परेकी छ । केही समय भए पनि बिदा मिलाई आइदेऊ बाबु । कतै तिमी आएपछि आमा ठिक पो हुन्छे कि ?’, अमेरिका रहेको छोरालाई आग्रह गरे श्यामदेवले ।
‘बुबा, भाइको आउन मिल्छ कि ? उसलाई फोन गर्नुस् न । मेरो त मिल्ने अवस्था नै छैन ।’
अस्ट्रेलिया रहेको कान्छो छोरालाई फोन गरे ।
‘बुबा, दाई अमेरिकाको पिआर लिइसकेकोलाई त विदा लिन कठिन पर्यो रे । म त झन् २-४ वर्ष भयो । नयाँ कम्पनी । विदा कसरी लिनु र ? बहिनी नेपाल नै छ । नजिक भएको के काम ? उसलाई आमा निको नहुन्जेलसम्म रेखदेख गर्न लगाउनुस है ।’

यसरी दुवै छोराले आफ्नो समस्या देखाई दुःखमा साथ दिन नखोजेको देखेर छोरा जन्मियो भनी गाउँभर मिठाई बाँडेको विगत तितो बनी बिझायो उनको मुटुमा । दुवै छोरालाई उनीहरूको सपना पुरा गर्न जीवनभर खर्चिएको पसिनाले पखालिदियो उनीहरूप्रतिको भरोसालाई ।
छोराहरुलाई खोजी गर्दै इन्तुचिन्तु परेकी श्रीमतीलाई रातदिन सेवा गरे । ‘छोराहरु कहिले आउँछन् रे ?’, उनको यो प्रश्नले शिथिल श्यामदेव ! तैपनि आइदिन्छन् कि भनी फोन गरिरहे । तर, छोराहरूलाई फोनमा समेत भेट्न सकेनन् ।
छोरीले दिलोज्यान लगाएर आमाको सेवा गरिन् । आमाले छोराहरुलाई पुकार्न छोडिनन् ।
समय बित्दै गयो ।
‘दाइ, आमालाई अहिले राम्रो भएको छ । बुबाआमाले हजुरहरूलाई अंशवन्डा गरी चारधाम जाने मन गर्नु भएको छ । तुरुन्तै घर आउनु होला । बुबाले यहि खबर दिनु भएको छ’, बहिनीले दुवै दाजुलाई मेसेज गरी ।
केही दिनपछि दुवै भाइसँगै घर पुगे । छोराहरूलाई भेटेर आमाको अनुहारमा चमक छायो । आमा निको हुन थालिन् ।
छोराहरू बाबुको समिप गई अंशवन्डाको कुरा गर्ने निर्णयमा पुगे । ‘बुबा हामी दुई भाइ सल्लाह गरी एक हप्ताको विदामा आएका हौँ । अंशवन्डा बुझी लिएर हामी फर्कनुपर्छ’, जेठो छोरोले बाबु सामु पोख्यो ।
उनीहरूको मनसाय बुझेको बाबुले जवाफ दिए, ‘तिमी दुईलाई देख्ने आमाको तीव्र इच्छा पुरा गर्न बहिनीले विवेक प्रयोग गरी । अंशवन्डा बुझ्नै भए पनि तिमीहरु आइदिएर आमाको ओखती बन्यौ । म ऋणी रहेँ बाबुहरु । बिरामी आमाको उपचार गर्दागर्दै जायजेथा पनि सबै सकियो ।’
छोराहरुले लाजले बाबुको अनुहार हेर्न सकेनन् ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)


वाउ,क्या चोटिलो ।मैले पनि यहि भोगेको थिए झन्डै 2 बर्ष