
आधुनिक समाज र किशोर अवस्था
प्रतिमा पन्थी
‘It takes a village to raise the child’ अर्थात एउटा बच्चा हुर्काउन पुरै गाउँ चाहिन्छ ।
यो वाक्यांश अफ्रिकाको एउटा गाउँमा भनिएको रैछ, जहाँका घरहरु साना साना हुँदा रैछन्, ती घरभित्र खेल्नको लागि पर्याप्त स्थान नहुँदा बच्चा बामे सर्ने भएदेखिनै घरबाहिरको संसारमा निस्किन्छन् । यस अवस्थामा घरका मान्छेबाहेक गाउँका सम्पुर्ण मान्छेहरुको निगरानि ति बालबालिका माथि हुदोरैछ ताकि उनिहरुले जीवन सिक्ने क्रममा कुनै गलत अभ्यास नगरुन् । र, ती सबै गाउँको दायित्व बालबालिकाहरुलाई असल कुरा सिकाउने र रेखदेख गर्ने रैछ ।
यो वाक्यांशको पृष्ठभुमि छोडी फर्केर हाम्रै नेपाली समाजमा हेर्दा पनि यो संस्कृति देखिन्छ । विशेषगरी गाउँ घरमा मान्छेले नभ्याउदा गाउँलेहरुले अरु बालबालिकाको निगरानी राखेको देखिन्थ्यो र सम्भवत आजकल पनि आधुनिकताबाट अलि टाढा रहेका दुर गाउँघरमा यस्तो चलन जिवित नै छ । यो परिवर्तनलाई बिडम्बना भन्ने कि आवश्यक, प्रश्नै छ । गाउँ उठेर सहर पसेको नयाँ आधुनिक शैलिमा, गाउँघरको छिमेकिलाई छोराछोरी छोडेर हिडेका पात्रहरुले सहरमा मन्टेसरी र चाईल्ड कियर सेन्टर पाएका छन् । गाउँले मिलेर छोराछोरीको हुर्काउने काम मोनिटाइज बनी नयाँ संरचनामा सिमित भएको छ । अनि जहिले प्रायः अरुसंग एक्कै छिनको सहयोग माग्न पनि दुई चार पटक सोच्नुपर्छ किनकि, यहाँ मानिसहरु आफुलाई व्यस्त देखाउन रुचाउँछन् ।
अहिलेको नेपाली समाज जहाँ एकल परिवारको व्यापकता छ, जुन संरचना भित्र कैद भइसकेपछि नयाँ बालबालिकाको वृतिविकास अन्तर्गत मानविय मितव्ययी र सद्भावना जगेर्नामा समाजको अस्तित्व छायामा परेको छ । किनकि समाज साँघुरिएको छ झुण्ड झुण्डमा । आफ्ना अभिभावकका केहि साथिको समुह र आफ्ना अभिभावकलाई मन परेका एक दुई छिमेकि र स्कुलका एक दुई मिल्ने साथी मात्र बालबालिकाले समाजको रुपमा पाएका छन् ।
बालबालिकाहरुले दैनिक जिवनको सामाजिक प्रकृतिसंग परिचित हुन सकेका छैनन् । त्यो वातावरण नै हराउदै छ ।
अझ यति नै मात्र कहाँ हो र, सोसल मिडिया र आधुनिक ग्याजेटको पहुच भएका अधिकांश बालबालिकाको समाज नै अनलाईन बनेको छ । उनिहरुले घर बाहिरका मान्छे, छिमेकि पनि चिन्दैनन् । इन्टरनेटले सिर्जना गरेको सामाजिक सञ्जालको विकाससंगै बालबालिकाहरूमा वस्तुतः मानविय सामाजिक संरचनाको लोप हुँदैछ ।
प्राचिनकालमा झुण्ड झुण्ड मिलेर समाज बनेको थियो आधुनिकताले समाजलाई फुटालेर फेरि झुण्ड झुण्ड र अझ आत्मकेन्द्रित मात्र बनाउदै छ ।
जस्तो सुकै सामाजिक संरचनाको विकास या लोप भएता पनि, किशोर अवस्था सधै मानव जीवनको संवेदनशील पाटो हो । नयाँ कुरा सिक्न अभ्यास गर्न मन लाग्ने, उत्साहित हुने, आफ्नो बारेमा धेरै कुरा थाहा पाउने, शारिरिक र भावनात्मक परिवर्तनहरुले सिर्जना गर्ने मानसिक अवस्था व्यवस्थापन गर्ने, जोसिने, भिड्ने, अचानक हुने संवेगात्मक भावहरू यस्ता हरेक कुरा किशोर अवस्थामा हुन्छ । जुन हामीले अनुभव गरेर वयस्क बनेका छौ ।
किशोर अवस्था काँचो माटो पनि भनेको सुनेको छु । हुन पनि यो यस्तो अवस्था हो जुन बेला व्यक्ति आफुभित्र ज्ञान सोस्नको लागि तयार बनेको हुन्छ । यहि समय हो हामीले हाम्रा घर र समाजका किशोर किशोरिहरुलाई कस्तो शिक्षा दिने भन्ने कुरामा अलि संवेदनशील हुनुपर्ने । किशोर किशोरीमा अर्को भनेको एकदम जित्ने आफ्नो तर्क मात्र सहि लाग्ने व्यवहार देखिन्छ । यस्तो अवस्थामा बारम्बार आफ्ना छोराछोरीलाई काउन्सिलिङ गर्न आवश्यक छ । किनकि किशोर अवस्थामा मष्तिस्क र मन (ब्रेन र माइन्ड) सहि निर्णय गर्नका लागि परिपक्क हुदैनन् ।
हाम्रोतिर संस्कार सिकाउने भनिन्छ । त्यो समयमा बालबालिकाहरुले जे जे सिक्छन् त्यो उनिहरुको विश्वासको केन्द्र बन्छ (core belief system) । नेपाली समाज रहनसहन र देखावटी रुपमा जति आधुनिक देखिए पनि हाम्रो विश्वासको केन्द्र परम्परागत छ । छोराछोरीकोलाई अरु … यसो गर्न हुन्न यसो गर्न हुन्छ भनेर धेरै सिकाउँछौ । जसभित्र पनि छोरालाई र छोरीलाई सिकाउने कुरामा पनि लैंगिक विभेद छ । यो क्रममा अभिभावकले सिकाउनै पर्ने र किशोर किशोरीले सिक्नै पर्ने यौन तथा प्रजनन संग सम्बन्धित कुरा हामिले कहिल्यै सिकाउँदैनौ । भनिन्छ, आमा बुबा छोराछोरीहरुो पहिलो गुरु हो तर पहिलो गुरु हुदैगर्दा हामीले बालबालिकाको जिवन शैली व्यवस्थित र सुरक्षित गर्न पुरा ज्ञान दिन सकेका छैनौ ।

पश्चिममा केहि देशमा एउटा परम्परागत अभ्यास छ जसलाई ‘द वर्डस् एन्ड द विज्’ (The Birds and The Bees) भनिन्छ । यो तेस्तो अभ्यास हो जसमा बाबु आमाले किशोर अवस्थामा प्रवेश गर्न लागेका छोरा र छोरीलाई राखेर ‘यौन सम्पर्क र सन्तान उत्पादन’ के हो, कसरी हुन्छ, यसका सम्बन्धमा सहि अभ्यास के के हुन् र गलत अभ्यास गरेमा तेस्ले निम्त्याउने जोखिमहरु के के हुन सक्छन् भन्ने सिकाउछन् । साथसाथै, यौन सम्पर्क र सन्तान उत्पादनको सम्बन्ध र उचित उमेरका बारेमा छोराछोरीलाई जानकारी दिन्छन र सचेत गराउछन् ताकि भोलिका दिनमा तिन्ले उत्तेजनामा गतल कदम नउठाउन । उनीहरुले आफ्ना छोराछोरीलाई भोलिका दिनमा कसैले यौन प्रस्ताव राखेमा उचित नलागे ‘नाई’ भन्न र कसैले ‘नाई’ भन्यो भने त्यसलाई सहर्ष स्विकार गर्न सिकाउँछन् । सहमतिमा हुने यौन सम्पर्कलाई पनि कसरी सुरक्षित बनाउने र गर्भ नरहने उपाएका बारे बुवाआमाले नव किशोर किशोरीहरुलाई सिकाउने गर्छन् । किशोर किशोरीलाई सामान्या नैतिक शिक्षा दिने क्रममा, कसैले जवरजस्ती गरेमा वा कसैलाई जबर्जस्ती गरेमा लाग्ने कानुन र दण्डको बारेमा पनि जानकारी गराउँछन् र छोराछोरीलाई अरुको ईच्छाको सम्मान गर्न सिकाउँछन् । उनीहरुमा यौन सम्पर्कका लागि बिहे नै हुनु पर्छ भन्ने छैन तर त्यसको लागि उचित उमेर र सुरक्षित उपाएका बारेमा भने बारम्बार अभिभावकले सम्झाइरहेका हुन्छ्न् । यो चलनले अभिभावक र छोराछोरी बिचमा साथी साथीको जस्तो वातावरणमा निर्माण गरेको हुन्छ । जहाँ छोराछोरीले आफ्ना भावनात्मक कुरादेखि आफ्ना ईच्छा, चाहाना, रहर सबै कुरा निर्धक्क सुनाउछन् र अभिभावकले साथी बनि सुन्दिन्छन् र विना कुनै मुल्यांकन सुझाव सल्लाह दिन्छन् ।
यता हाम्रो समाजमा अभिभावकले सिकाउने कुरा त टाढैको भयो यौन र प्रजनन् सम्बन्धि कुरा गर्न एक किसिमले बर्जित गरिएको छ । यस्ता कुरा गरेमा उत्ताउलो भइन्छ, बेइजत हुन्छ, भनी नराम्रो कुराको रुपमा लिने चलन छ । र, स्कुलको पाठ्यक्रममा समेटिएको आधा अपुरो शिक्षा पनि पुर्ण रुपमा किशोर किशोरीले मज्जाले बुझ्ने गरी दिईदैन । तर यौन सम्बन्धि विषयमा विशेषगरि किशोर किशोरीको मनमा खोजी हुन्छ, उनीहरुलाई रहस्य बन्छ, कौतुहलताको विषय बन्छ । समयमै आवश्यक ज्ञान नहुँदा विपरित या समलिङ्गी प्रतिको आकर्षण, यौन जन्य भावनाहरुको व्यवस्थापन गर्न किशोर किशोरीलाई सकस हुन्छ । उनीहरुले सहि निर्णय गर्न सक्दैनन । र, कतिपय अवस्थामा जटिल दुर्घटना घटेका पनि छन् । यौन सम्बन्धी कौतुहलता युवा अवस्थासम्म पनि रहने हुँदा किशोर किशोरी र युवाहरु इन्टरनेटमा भेटिने यौन समाग्रीहरुसंग जोडिएका छन् । जसले सहि सुचना प्रवाह गरेको हुदैँन । विकृति त विसंगत तेसै आउने होइन तेस्को रोकथामका लागि उपाय नगरेकाले निम्तिने हो ।
किशोर किशोरीहरुमा अहिले देखिएको अर्को समस्या भनेको लागु पदार्थ सेवन हो । लागु पदार्थमा पनि गाँजाको सहज पहुँच सिर्जना भएकाले आजभोलि स्कुल पढ्ने विद्यार्थीहरु जोखिममा छन् । १३\१४ बर्षका किशोरहरु आँखा लठ्ठ पारेर हिडेका देखिन्छ । एकै छिनको आनन्दले लामो लत बसालेको छ । गाँजा र चरेसमा लिप्त भएको किशोर किशोरीर युवाहरले घर, समाज र देशलाई कुन दिशामा डोर्याउने हो, सोचनिय छ ।
यी सबै कुराको निगरानी कस्ले गर्ने ?
भनिन्छ, प्रत्येक समस्याले समाधान पनि संगै लिएर आउँछ, किशोर किशोरीलाई यौन तथा प्रजनन स्वास्थ्य शिक्षाका लागि, यौन तथा लागुपदार्थ दुर्व्यसनी बाट बचाउनका लागि र यौन आकर्षण र भावना व्यवस्थापनका लागियि विषयसंग सम्बन्धित जीवन उपयोगी सिप विकास गराउनु उत्तम र सहज उपाय हो । विश्व स्वास्थ्य संगठन (WHO)ले हरेक किशोर किशोरीमा हुनुपर्ने १० वटा जिवन उपयोगि सिपको बारेमा उल्लेख गरेको छ जसमा क्रमशः आत्मजागरण, समानुभुति, समालोचनात्मक विश्लेषण, सिर्जनात्मक सोचाई, निर्णय क्षमता, समस्या समाधान, प्रभावकारी सञ्चार सिप र अन्तर वैयक्तिक सम्बन्ध पर्छन् । यि जीवन उपयोगि सिपहरुलाई UNESCO लगायत अन्य अन्तराष्ट्रिय संगठनहरुले पनि व्याख्या गरेका छन् । जीवन उपयोगि सिपको विकास हुदाँ साथिको दवावलाई पनि सजिलै ‘ईन्कार’ गर्ने सक्ने सिपको विकास हुने हुदाँ यो एकदमै उपयोगि शिक्षा हो । नेपालमा पनि शिक्षा, खेलकुद तथा प्रविधि मान्त्रायले ७/८ बर्ष अघि यिनै दशवटा जिवन उपयोगि सिपका आधारमा ४० वटा सफ्ट स्किलको विकास गरि व्याख्या गरेको थियो र यसलाई केहि जिल्लाका केहि स्कुलहरुमा परियोजनाको रुपमा लागु गरिएको थियो । यो किशोरकिशोरीहरुको लागि अत्यन्त आवश्यक विषयबस्तु हुँदा पनि सरकारको कोर परियोजनाको रुपमा अगाडि बड्न सकेको छैन । किनकि नेपाल सरकारको नेत्तृत्व हेर्दा झट्ट देखिने भौतिक विकासमा सिमित र मानविय सामाजिक व्यवहारको विकासमा संकिर्ण छ । जसको परिणामस्वरुप दिनदिनै घट्ने आपराधिक घटनाहरु हामी हेर्ने र सुन्न विवश छौ । आजको विकसित सहरमा किशोर किशोरीमा मानवियता र नैतिकता सम्बर्दनका लागि नत समाज छ न त सरकार ।
आधुनिकिकरणले मानविय सद्भावनामा क्षय गरेको छ । त्यसको पुनः निर्माण कस्ले गर्ने ?
गलत राजनितिक अभ्यास र व्यापक भष्ट्राचारले सबैको आत गलाएको छ । हरेक क्षेत्रका जिम्मेवार व्याक्तिहरुमा लापरबाही र उदासिनता देखिन्छ । यसको जिम्मा कस्ले लिने ? प्रत्येक दिन हिंसाका घटना देखिन्छन्, प्रत्येक दिन हत्या र आत्महत्याको समाचार सुनिन्छन्, अभिलेख नगरिएका हजारौ मुद्दा छन् । मानव मानव बिचमा मितव्ययिता कस्ले स्थापित गर्ने ?? सरकारको बजेट सबै ढुङ्गा, बालुवा, सिमेन्ट र छडमा बगेको छ पुर्वाधार निर्माणको नाममा । सद्भाव निर्माण र मानविय व्यवहार, सकारात्मक सोचाइ, असल अभ्यासको विकासमा कस्ले लगानि गर्ने ? सबै बजेट निर्जिव निर्माणमा खन्याएपछि कसरी हुन्छ सम्बृद्ध नेपाल ? के सम्बृद्धि भनेको बाटो, पुल, बिजुली, पानी र टावरमात्र हुन् ? अब पनि विकासको परिभाषा परिवर्तन गर्ने समय आएन र ?? कस्ले सुन्ने कस्ले बुझ्ने यो कुरा ?
आधुनिकताको चपेटामा परेको र विकासको मुलधारबाट छुटेको मानवियता विकासमा किशोर किशोरीदेखि युवासम्मलाई समावेश गर्नु पर्ने आजको आवश्यकता हो ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

