बेलायततिर बरालिएको एउटा मान्छे

कविताः विदेशिनुको पिडा

महेश अधिकारी

परदेशको जीवन मेरो देश दुख्दा रून्छ,
मनभित्र आफ्नै धरती सधैं छचल्किन्छ ।
बाध्यता थ्यो हिजोको दिन विदेशिनु पर्ने
पढ्छु भन्ने चाहनामै परिवारलाई हेर्ने ।।

गोडा दुई दशक बित्यो यो बिरानो ठाउँमा,
छोराछोरी यतै मस्त, आफ्नो तन गाउँमा ।
गाउँमा आमा मेरै खातिर कालिकामाई भाक्दै
काफल पाक्यो चरी वनमा मलाई नै डाक्दै ।।

जहाँ बस्यो त्यहीँको माया हुनुपर्ने थियो,
स्वार्थी मन रैछ क्यार, देश नै दुखिरह्यो ।
गाउँ बेशी, पानी धारो डाँडाकाँडा धाको
रोधीघरमा उनीसँग ठाडो भाका गाको ।।

Advertise
Hike & Write

कहाँ छिन ती मनमाया रोधि गाउँने साथी
रोटेपिंग र लिंगे पिंगमा मन साटेको राती ।
बालसखा, युवा दिनमा खेलेका ति यार
आज पनि खोज्छ मनले सात समुन्द्र पार ।।

जोगिएर बस्नु आमा कोरोनाको डर छ
दवाई केही छैन हेर्नु कन्दमुलको भर छ ।
उतिबेला रूघा बिमार त्यही बुटीले ठीक भो
आमा तिम्रो काखै जाती छोडेदेखि डर भो ।।

परदेशको जीवन मेरो, देश दुख्दा रून्छ
मनभित्र आफ्नै धरती सधैं छचल्किन्छ ।।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

One Comment

  1. हार्दिक आभार- “नेपालनाम्चा”, मेरा यी हरफहरूलाई स्थान दिनुभएकोमा🙏

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button