पुष्पलाल: एक विभूति, बहुविध निष्ठापात्र

एकराज पाण्डेको किताबले उठाएका विचार 

अरविन्द रिमाल 

मैले पनि आफूले देखेकाे र भाेगेकाे कम्युनिष्ट आन्दाेलनकाे यथामति वृतान्त आफ्नाे ‘१९९७ सालदेखि २०१७ सााल- एक अवलाेकन’ काे ५६ओैँ अध्यायकाे ‘नेपाली कम्युनिष्ट आन्दाेलनकाे संक्षिप्त चर्चा’ शीर्षकमा अनि ६२ओैँ अध्यायकाे ‘काठमाडौंँ नगरपालिकाकाे चुनाव र कम्युनिष्ट पार्टीको पहिलाे अधिवेशन’, ७३ओैँ अध्यायकाे ‘नेपाल कम्युनिष्ट पार्टीमाथि फुटकाे ग्रहण’ र ७६ओैँ अध्यायकाे ‘फुटबीच कम्युनिष्ट पार्टीको दाेस्राे महाधिवेशन’ शीर्षकमा तथा ‘डिल्लीबजारकाे लप्टनकाे हाेटेल’ निबन्ध सङ्ग्रहकाे आठाैँ अध्यायकाे ‘पुष्पलाल’, नवाैँ अध्यायकाे ‘पुष्पलालका सम्बन्धमा थप कुराहरु’ र सोह्राै अध्यायकाे ‘डा. केशरजङ्ग रायमाझी- कम्युनिष्ट राजनीतिमा सर्वाधिक बदनाम व्यक्ति’ शीर्षकमा गरेकाे छु ।

स्याङ्गजामा जन्मेर तानसेन, बुटवल हुँदै कम्युनिष्ट राजनीतिमा सङ्लग्न भएका एकराज पाण्डेले ‘मैले देखेकाे र भाेगकाे कम्युनिष्ट आन्दाेलन’ शीर्षककाे किताब लेेखेका छन् ।

हामी दुईकाे भाेगाईबीच अखण्डित नेपाल कम्युनिष्ट पार्टी तथा विभाजित कम्युनिष्ट पार्टीकाे इतिहास- अनुभवमा कम्तीमा २५ वर्षकाे फरक छ । यसबीच बाग्मती, गङ्गाजमुना, भाेल्गा तथा याङ्गसी नदीहरुमा खर्वाैँ खर्वखर्व घ्याम्पाे पानी बगिसकेका छन् । तर चर्चित व्यक्तित्त्व एकै र उही भएकाले, र उनी नै हामी दुई पात्रका साझा निष्ठा- आदर्श- त्याग- सहृदयीताकाे  गुणसम्पन्न प्रतीक भएकाले, मुख्य कुरा, हाम्रा राजनीतिक विश्लेषण, अवधारणा, मान्यताभन्दा भिन्न तरिकाले, अर्थात् आ-आफ्ना कालखण्डका नायकप्रति श्रद्धासुमनले नै बढी महत्त्व राख्दछ । त्यसैले पुष्पलालका सम्बन्धमा जसका पनि यस्ताे निष्ठाभाव हुन्छ, उनले र उनका रचनाहरुले आफूलाई भित्रसम्म छुने भएकाेले मैले एकराजभाइकाे उद्गारप्रति आफ्नाे मन्तव्य राखेकाे हुँ ।

पुष्पलालकाे त्यागमयी- संघर्षपूर्ण जीवनकालकाे अन्तिम पक्षतिर उनी फगत एउटा सानाे समूहकाे कम्युनिष्ट पार्टीका नेता रहेका भए पनि उनी समग्र नेपाल कम्युनिष्ट आन्दाेलनका पर्याय थिए र रहे ! उनीसँगै बाटाेमा हिँड्दा पनि म आफूले आफूलाई एउटा सिङ्गाे आन्दाेलनसँगकाे प्रवाहमा भएकाे अनुभव गरे सरह एकराजका अभिव्यक्तिले पनि ममा साेही अनुभूति गराए– खासगरी  कुशीनगर तथा काशीमा पुष्पलालसँग अन्तरङ्ग भेटवार्ताकाे प्रसङ्गमा । अतः पुष्पलालसँग एकराजकाे अन्तिम भेटवर्णन अत्यन्तै मार्मिक हुने नै भयाे । याे पढ्दा म भावुक नभइरहन सकिँन ।

यहाँ म ‘पुष्पलालकाे सम्बन्धमा थप कुराहरु’ शीर्षक आलेखका यी शब्द उद्धृत गर्न चाहन्छु: ‘पुष्पलालका विरुद्ध विभिन्नधारे कम्युनिष्ट गुटहरुले प्रहार गरेका एउटा साझा कथाकथित आक्षेप उनकाे ‘अकर्मण्यता’ बारेमा थियाे । … त्यस्ता ‘अकर्मण्यवादी’ पुष्पलाल पञ्चायती शासनप्रणालीकाे अन्त्यकाे लागि र प्रजातन्त्रकाे पुनर्बहालीकाे लागि नेपाली काँङ्ग्रेस तथा वामपन्थीसम्मिलित सम्युक्त जनआन्दाेलनका (वैचारिक) सह-अभियन्ता कसरी भए र किन भए भन्ने अत्यन्त महत्त्वपूर्ण सैद्धान्तिक प्रश्नकाे उत्तर आजसम्म पनि दिन सकिरहेका छैनन् वा थाहा भएर पनि बुझ पचाइरहेका छन् । याे इतिहासकाे घाेर विकृति हाे । वास्तवमा पुष्पलाल त त्याे नदीजस्तै हुन् जसबाट उनका सहयात्री, सहयाेगी तथा समर्थकहरु आ-आफ्नाे श्रद्धा-आदररूपी पात्रअनुसार जल झिक्दा कहिल्यै घटेन र जसमा निन्दकहरुले डुङ्गुरका डुङ्गुर फाेहरमैला फाल्दा पनि कहिल्यै प्रदूषित भएन, बरु आफ्नाे प्रवाहलाई एकनासे, अविचलरूपमा गन्तव्यसम्म पुर्‍याउन सचेष्ट एवम् क्रियाशील रह्याे ।’

यसअघि मैले ‘पुष्पलाल’ शीर्षक लेखमा यी शब्द लेखेकाे छु: ‘वामपन्थी मित्र हरिश्चन्द्र आचार्य नेपालका चार सुपुत्रहरुमा भगवान वेदव्यास, भगवान बुद्ध र विश्वेश्वरप्रसाद काेइरालापछि पुष्पलालकाे उल्लेख गर्न चुक्दैनन् । अघिल्ला दुईजना पाैराणिक पात्र हुन् भने पछिल्ला दुई राजनीतिकरूपका । वि.प्र.लाई आज पनि भगवानसरह मान्ने धेरै काँङ्ग्रेसीजन छन्, तर पुष्पलाललाई त्यसकाेटीमा राख्ने आचार्यजस्ता भक्त त अत्यन्त कम हाेलान् । आचार्यकाे जस्ताे दृष्टिकाेण नेताप्रति कार्यकर्ताकाे अगाध भक्ति र विश्वासकाे द्योतक हाे । त्यस्ताे हुनु स्वाभाविक नै हाे किनभने पुष्पलाल कार्कर्ताहरुलाई, साँच्चै, आफ्नाे ‘आँखाकाे नानी जत्तिकै माया’ गर्दथे । याे वाक्यांश त्यत्तिबेलाका कम्युनिष्टहरुमाझ एउटा अत्यन्त लाेकप्रिय उक्ति हाे ।’

यहाँ के उल्लेख हुनु विशेष महत्त्वपूर्ण छ भने हाम्राेजस्ताे कदाचित सहज परिस्थितिमा पुष्पलालप्रति कार्यकर्ताकाे मायाभन्दा धेरै गहन तथा सकसपूर्ण श्रद्धा- भक्ति आचार्य तथा एकराजजस्ता कार्यकर्ताकाे रहेकाे मान्नैपर्छ ।

अब सिद्धान्तहीन गठबन्धनीय राजनीतिमा लागेका वा गैर-गठबन्धनीय राजनीति चलाउनेहरुमा भएगरेका ‘पुष्पलालवादी’हरुकाे बारेमा भन्नुपर्दा ती मुख्यत: सत्ताबाज नै छन् । आफूले नेतृत्त्व गरेकाे पुष्पलाल स्मृति प्रतिष्ठानले नै  प्रकाशनमा ल्याएका ग्रन्थहरुमा पुष्पलालद्वारा अभिव्यक्त स्पष्ट अवधारणा तथा मान्यतालाई पनि देख्यानदेख्यै गर्दै राष्ट्रिय विभूतिहरुकाे मानमर्दन गर्न एकथरि  चुक्दैनन् भने अर्काथरि, त्यतातिरकाे दाेषकाे निन्दा- भर्त्सना पनि गर्दैनन्, अनि आफ्नाे तर्फबाट इतिहासकाे त्यस्ता घातक विकृतिलाई सच्याउने जस्ताे सकारात्मक कार्य पनि गर्दैनन् । याे हालैकाे पृथ्वीनारायण शाहकाे ३००ओैँ  जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसजस्ताे ऐतिहासिक घटनाक्रममा छर्लङ्गै देखियाे । अत: अबउप्रान्त पुष्पलालकाे राजनीतिक- कम्युनिष्ट याेगदानका मान्यता- मूल्याङ्कन गुटवादी नै, अर्थात् विकृत नै हुन्छ र हुनेछ, सार्थक वा यथार्थपरक ‘सैद्धान्तिक प्रस्थापना’ले युक्त क्यै हुनसक्दैन ।

यथार्थमा आफ्ना नेताकाे नाममा स्थापित प्रतिष्ठानकाे गरिमा बढाउनमा बाैद्धिक तथा सैद्धान्तिक कार्यसँगसँगै प्रतिमाकाे पनि ठूलाे महत्त्व रहने गर्दछ । यस अर्थमा सत्तावादी ‘पुष्पलालपन्थी’हरु नितान्त कङ्गाल रहेकाे पाइन्छन् । कीर्तिपुर चम्पादेवी डाँडाेमा स्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा जीवन्त आन्दाेलनका पर्याय रहेका पुष्पलालकाे प्रतिमा कर्मठतारहित अभिव्यक्तिशून्य फगत एउटा सामान्य सरकारी कर्मचारी सरहकाे छ भनेमा अन्यथा हुँदैन । प्रतिमा भनेकाे त कार्ल मार्क्सकाे स्मृतिमा लण्डनकाे Highgate Cemetaryमा तत्कालीन जर्मन जनवादी गणतन्त्रका अतुल्य शिल्पकार- कलाकारकाे  जस्ताे असाधारण एवम् विशिष्टतापूर्ण रचना हुनुपर्छ जसमा मार्क्सकाे क्रान्तिकारी एवम् सृजनशील जीवनीकाे महत्त्वपूर्ण पक्ष कुँदिएका छन् । यति गर्नेगराउने क्षमता- सामर्थ्य नभए पनि काठमाडौँकाे काेटश्वरस्थित टङ्कप्रसाद आचार्य वा हेटाैडा नगरचाेकमा स्थापित रूपचन्द बिस्टकाे प्रतिमा जत्तिकाे आकर्षक बनाउन नसक्ने त थिएनन्, यिनीहरु !  तर निष्ठाविनाकाे कामचलाउ राजनीतिक वृत्ति भएपछि र त्यसमाथि पनि अब त पुष्पलाल स्मृति प्रतिष्ठान सत्तावाजी राजनीतिक विश्वासघातकाे गठबन्धनीय कार्यालय समान गराइएपछि कसकाे के लाग्याे ?! अब त्यहाँभित्रबाट पुष्पलाल धराेहर नै अन्यत्र कतै हाइज्याक नहाेला भन्ठान्नु अन्यथा नहाेला ! किनभने भिल्लकाे राजमा मणिआदि ऐश्वर्य सामग्रीकाे कुनै माेल वा महत्त्व नहुने जस्तै गरी, पुष्पलालका धराेहर पनि अब कदाचित MCCका घाग बेपारी वा साहुनीहरुकाे हात नबेचिएला भन्ने के ग्यारन्टी ? आखिर ती पनि हाेली वाइनले बिटुलाइएका तत्त्व नै त हुन् !

अत:, २०४७ सालकाे प्रजातन्त्र पुनर्स्थापन आन्दाेलनका ऐतिहासिक उपलब्धिहरुलाई सात समुद्रपारिका बाह्य शक्तिकेन्द्र तथा दक्षिणी सत्ताधिकारीहरुकाे निहित स्वार्थमा धरासायी गर्ने  ‘लाेकतन्त्रवादीहरु’ले र तिनै बाह्यशक्तिकाे दुहुनाे साेझ्याउनका लागि नेपालकाे बचेखुचेकाे संसदीय शासनविरुद्ध सशस्र भाँडभैलाे मच्चाउने राजनीतिक आतङ्कवादी तत्त्वहरुले मिलिजुली नेपालकाे प्रभुसत्ता एवम् स्वाभिमान MCC नामरूपी युद्धपिपासु फाैजी सन्यन्त्रकाे अधीनमा गराउने पत्र लम्पसार पर्दै, जदाै गर्दै बुझाउन पुगेकाेमा के छक्क पर्नु, के चकित पर्नु ?! अब त विश्वेश्वरप्रसाद काेइराला, गणेशमान सिँह तथा पुष्पलालका उत्तरदान त किनबेचका वस्तु बराबर गराइए भने पनि कुनै आश्चर्य हुनेछैन ।

अब पुस्तककाे कुरामा आओैँ– निष्पक्ष तवरले भन्दा एकराजकाे पुस्तकमा व्यक्त प्रस्थापनाहरु पत्रकारिता काैशल तथा माझिएकाे भाषा-लेखनीकाे दृष्टिबाट पठनीय तथा प्रशंसनीय हुँदाहुँदै पनि यही काेटीमा पर्दछन् जसकाे समीक्षा वा मूल्याङ्कन गर्न म आफ्नाे असमर्थता नजनाइरहन सक्दिँन । तथापि, ‘नेपाल कम्युनिष्ट पार्टीको पाँचाैँ राष्ट्रिय सम्मेलन’ तथा ‘कमरेड पुष्पलालसँगकाे अन्तिम भेट’ लेख निक्कै हृदयस्पर्शी छन्, खासगरी पुष्पलाल सबैतिरबाट एक्लिएकाे विकट परिस्थितिमा भारतीय स्वतन्त्रता सेनानी कम्युनिष्ट अधिवक्ता कृष्णशङ्कर श्रीवास्तवले दुईदुई पटक सम्मेलन आफ्नाे घरपरिसरमा गर्न दिई पुर्‍याएका निस्वार्थ बन्धुत्त्वपूर्ण ऐक्यबद्धता तथा सहयाेगलाई विशेष गरी ध्यानमा राख्दा ।

समग्रमा लेख्नुपर्दा, एकराजकृतिले मलाई यसका चार विशेषताहरुकाे चर्चा गर्न मनलगाएकाे छ। पहिलाे याे पारा–

‘खासगरी खगेन्द्र जङ्ग गुरुङ्ग र ऋषिकेश शाहले नेपालकाे जातीय समस्यालाई अतिरञ्जित गराएर उठाउने गरेका थिए । बनारसमा १-२ महिना जति बसी अध्ययन गरी जातीय समस्याकाे एक थेसिस खगेन्द्रजङ्ग गुरुङ्गले क. पुष्पलाललाइ दिनुभएकाे थियाे । त्यसमा माग गरिए जस्ताे जातीय राज्य दिन नसकिने बताउँदै नेपालमा धेरै जातजातिकाे बसाइरहेकाेले याे सबै जातजातिकाे सहबासलाई खलबलिन दिनुहुन्न र कहीँ कुनै जातिकाे बसाेबास धेरै रहेकाे छ भने स्थानीय निकायमा उनीहरुकाे विशेष प्रतिनिधित्वकाे व्यवस्था गर्नुपर्छ भनी क. पुष्पलालले उनीहरुलाई जवाफ दिनुभएकाे थियाे । त्यसै अनुसार स्थानीय निकायमा त्यस क्षेत्रमा बहुमत कायम गरी बसाेवास गरेका जाति जनजातिलाई स्वशासनकाे अधिकार दिने नीति सम्मेलनले पास गरेकाे थियाे ।’ (नेपाल कम्युनिष्ट पार्टीको  पाँचाै राष्ट्रिय सम्मेलन, पाना १३) । हुन त यस उद्धरणबाट सबै कुरा सुस्पष्ट हुँदैन, तथापि याे विवरण पढ्दा मलाई कताकता हाम्रा लडाका चिन्तक पुष्पलालले Historical Notes पूरा गर्दा विश्व महामनीषि, वैज्ञानिक समाजवादका प्रवर्तक कार्ल मार्क्सले लण्डनकाे बृटिश म्युजियमकाे एउटा खास ठाउँमा बसेर विश्वका पीडित – उत्पीडित जनताकाे मुक्ति ग्रन्थ तयार गर्दाकाे सन्ताेष एकै प्रकारकाे थियाे भन्ने अनुमान नगरीरहन सकिँन !

Advertise
Hike & Write

दाेस्राे– पुष्पलालले एकराजलाई कुशिनगर घुमाउन लगी बुद्धकाे  क्रान्तिकारी – त्यागी जीवनकाे प्रेरणादायी वर्णनसँगै आफ्नाे कार्यगत तथा सिद्धान्तग्रन्थ रचना तयार गर्ने याेजना बताएकाे प्रसङ्ग पनि साह्रै मार्मिक  छ। यसै क्रममा आफ्नाे राजनीतिक जीवनकाे एकाकीपन पुष्पलाललाई कत्तिकाे खड्किएकाे मनाेभावकाे पनि यस वर्णनबाट अनुभव गर्न सकिन्छ — ‘सहानासँग विवाहपछि  खासै घुमिएकाे पनि छैन । यसबीच सहानालाई लिएर आसाम गुहाटी आदि ठाउँमा नेपाल- भारत जन मैत्री संघका साथीहरुलाई भेट गरेर नेपालमा हुने जनवादी संघर्ष[बारे]मा उनीहरुसँग एकपटक छलफल गर्नेछु’ । (‘कमरेड पुष्पलालसँगकाे अन्तिम भेट’, पाना १७)

परदेशमा निर्वासनमा छँदा हाेस् वा स्वदेशभित्रै नेताहरुकाे राजनीतिक जीवन तथा सृजनशील कार्यमा पत्नीसान्निध्यले सकारात्मक भूमिका खेलेकाे पाइन्छ । सुख-दु:खमा त्यसले समतुल्यता राख्न सघाउ पुर्‍याउँद छ । मार्क्सकाे जीवनमा जेनी, लेनिनकाे जीवनमा क्रुप्स्काया, महात्मा गान्धीकाे जीवनमा कस्तुर बा एवम् जवाहरलाल  नेहरुकाे जीवनमा कमला नेहरुकाे तथा हाम्रा टङ्कप्रसाद आचार्यकाे जीवनमा रेवन्तकुमारी आचार्य तथा विश्वेश्वरप्रसाद काेइरालाकाे जीवनमा सुशीला काेइरालाकाे सान्निध्यताकाे सार्थकता सर्वथा उल्लेखनीय छन् । पुष्पलालकाे जीवनमा  यसकाे अभाव स्पष्ट खट्केकाे पाइन्छ । तर एकराजविवरणमा यति संक्षिप्त चर्चाबाट पनि पत्नीप्रति पुष्पलालकाे असीम प्रेमभाव झल्किन्छ । यसरी पुष्पलाल हाम्रा झनै प्रिय छन् !

तेस्राे विशेषता– आफ्ना आदर्श व्यक्तित्वकाे, आफ्ना परम प्रिय नेतासँग उनकाे  संघर्षशील जीवनकाे आखिरी चरणमा यत्ति निकट सान्निध्यकाे गाैरव तथा साैभाग्य एकराज पाण्डेकाे आफ्नै राजनीतिक जीवनकाे अनमाेल धराेहर हाे, जाे सितिमितिले पाउन्नन् । यसबाट पनि याे पुस्तकले जीवन्तता पाइरहने छ।

चौथाे विशेषता– देशविशेषका कम्युनिष्ट वा क्रान्तिकारी संगठनमाझ  तिनताक देख्न, सुन्न, भाेग्न पाइने बन्धुत्त्वपूर्ण सहयाेगकाे सजीव गाथाकाे जाज्वल्य परिचय पनि याे पुस्तकबाट पाइन्छ।

एकातिर, आफ्नाे अस्वस्थ्यताकाे कारण लेखीसक्न धेरै दिन लागेकाे, अर्काेतिर, देशकाे राजनीतिक नैतिकता हदैसम्म तल गिरेकाे र अब अरु गिर्ने ठाँउ पनि नभएकाे परिस्थितिबाट  आफूलाई सह्माल्न अत्यन्त गाह्राे परिरहेकाेले गर्दा यस आलेखलाई पूर्णता दिन सकिएकाे थिएन । आज यति बेहाेरा मित्रजनमा जनाउँदै र एकराज पाण्डेलाई यति विचार बाहिर आउने  परिस्थिति  बनाउन सघाएकाेमा धन्यवाद ज्ञापन गर्दै सबैमा जय नेपालकाे अभिवादनसहित याे आलेखकाे बीँट यहीँ मार्ने अनुमति चाहन्छु !


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button