
बुटवलको बेहालः काँग्रेसले प्रजातन्त्रको खिल्ली उडायो, कम्युनिष्टले समाजवादको
दुर्गाप्रसाद शर्मा
बुटवल
समृद्ध नेपाल सुखी नेपाली । कति मिठो, कति गहकिलो, कति मार्मिक, कति आशावादी नारा । नेपाली नागरिकको मार्गचित्र कोर्ने नारा । आगामी पुस्ताहरुको ग्रहदशा, भाग्य, कर्म आदि देखाउने नारा । वृहत लक्ष्य र वृहत योजना, वृहत कर्मयोगि हात, स्वाभिमान र अनुशासन खोजेको नारा । राम्रो प्रतिफल खोजेको नारा । भोका नाड्डा, विरामी, अशिक्षित, गरिव निमुखा, वेसहारा दिनदुःखीको भलो खोजेको नारा । भाषण, आश्वासनमा सिमित राख्न बनेको हैन यो नारा । ठोस परिमाणको ठोस परिणाम खोजेको छ यो नाराले ।
भर्खरै पूँजीवादमा वामे सर्न खोजेको यो अवस्थामा समाजवादमा जान ठूलै फड्को मार्नु पर्ने हुन्छ तसर्थ पनि परम्परागत शैली, सिथिल कामको गति, पुरानै प्रवृति र पुरातन सोचले देश समृद्धितर्फ लम्कन सक्दैन । चलायमान युवाशक्ति विदेश पलायन छन् । विषयगत र स्वाभिमानी विज्ञहरु पलायन छन् । अमुक व्यक्ति, समुह र संस्थाको सेरोफेरो लगाउन नसक्ने र आत्मसम्मान भएका विभिन्न विधाका जनशक्तिहरुको खोजिनिती नभएकोले आत्मग्लानिका साथ सिमित दायराभित्र दिन व्यतित गर्दैको अवस्था छ । आस्थाभन्दा चाकडी र अनावश्यक गफ लगाउने फतौरेहरु, बढी कुरा गर्ने काम नगर्ने र नेताहरु, मन्त्रीहरुका पछाडि लाग्ने, सभासमारोहमा अगाडि देखिने, चुक्ली लगाउने अनि कुरा काट्ने, आस्थाका साथीहरुको मानमर्दन गर्ने ढोंगी र गफाडीहरुको बोलवाला रहेको अवस्थामा कसरी देशलाई समृद्धितर्फ डोराउने हो ?
प्रत्येक कुराहरुमा ठेस पुर्याउने, नागरिकहरुलाई झुठा आश्वासन बाँड्ने र काम नगर्ने जमातको कारणले देश समृद्धितर्फ लाग्न बाधक बन्दै छ । राष्ट्रका कार्यकारी प्रमुखहरुले राम्रा कुरा ल्याउन प्रतिवद्धता देखाउँछन्, लागि पर्छन् । तर, त्योभन्दा बढी चर्का नारा लगाउनेहरुले काम नगर्ने, लाभको पदमा बसेका तीनैतह अन्तर्गत भ्रष्ट्रचार र घुसखोरी गर्ने, कानुनी राज्यको उपहास गर्नेहरु, राज्यलाई डस्नेहरुको (यस्मा सबै र राज्यको भलो चिताउनेहरुलाई भन्न पटक्कै खोजिएको हैन) क्रियाकलापले समृद्धि ल्याउनमा अवरोध देखिएको छ । न न्यायपालिका, न कार्यपालिका, न व्यवस्थापिका न त चौंथो अंग मानिएको पत्रकारिता जताततै कानुनी राज्यको उपहास भैरहेको छ । र, यस्तै देखिन्छ पनि ।
कार्यसमयमा आफ्नो निजि काममा गई भत्ता, उपहार ग्रहण गर्ने, संघ सस्थामा वा अन्य निकायहरुको बैठकमा उपस्थित जनाउने, कार्यक्रमको छेउटुप्पो नबुझ्ने, कार्यक्रम, वैठक आदिमा एक चौंथाई समय नदिने अनि भत्ता टप्काउने र टाप कस्ने जस्ता ज्वलन्त उदाहरणहरु माथिदेखि तलसम्म प्रशस्तै छन् । व्यक्ति एक पद अनेकका पदलोलुपहरुको जमातले घेरिएको हाम्रो समाजले समृद्ध नेपाल सुखी नेपाली हुन देलान र ?
आइएनजीओ, एनजिओ, दलाल, नवदलाल, धनाढ्य, नवधनाढ्य वर्गको वर्चश्व रहेको विद्ययमान अवस्थामा राज्यले लिएको कसम, लक्ष्य पुुुरा हुुुने संकेत निराशकजनक देखिएको छ । भ्रष्टचारी, दलाल र माफियाहरुको एकछत्र संजालले विश्वभर माकुुुराको जालो फिँजाइएको छ । यो वा त्यो वाहनामा राष्ट्र«को दोहन गरिरहेका छन् अनि कसरी राष्ट्र«लाई समृद्धिको मार्गमा अगाडि बढाउन देलान् ?
इमान्दारी र कडा परिश्रम नगरी धन आर्जनको होड चलिरहेको छ । धन, दौलतप्रति हुरुक्क भई धनभन्दा प्यारो अरु केहि छैन भन्ने संकृण र द्रव्यपिचास मनोवृत्तिले प्रश्रय पाएको छ । कानुनी राज्यको उपहास भैरहेको छ । नैतिकता शून्यप्राय भएको छ । भजनमन्डलीको चौघेरामा राजनिती नाचिरहेको छ । इमान्दारी कुन चराको नाम हो भन्ने अवस्था छ । समृद्ध नेपाल सुखी नेपाली हुनको लागि अगुवाहरुको विशाल हृदय, विशाल छाती र आत्मशक्ति चाहिन्छ ।
केहि नमिठा दृष्टान्तहरुः सरकारको निर्णय न्यायलयमा गएर बल्झिन्छ र समयमा काम गर्न रोकिन्छ । विकास निर्माणको काम ठेकेदारले रोकिदिन्छ किन रोकेको भन्दा, स्थानिय नागरिकले वाधा उत्पन्न गरे भन्छ । सडक विभागले बाटो बनाउँछ । अनि ढल विभाग, खानेपानी विभाग, टेलिकम विभाग, विद्युत विभाग आदिले आ–आफ्नो अनुकुल बाटो खन्छन्, भत्काउँछन् र महिनौँ दिन बनाउंदैनन् सास्तीको सास्ती । खै तत् तत् मन्त्रालय वा सम्बन्धित विभागको तारतम्य मिलाएको । खै एक आपसमा समन्वय भएको ? जताततै अवरोध । दिगो काम किन हुन नसकेको यावत प्रश्नहरु उब्जिन्छन् । विकास निमार्णको काममा छुट्याइएको रकम बालुवामा पानी हालेसरह भएको छ । अनुगमन, पृष्टपोषण कहाँ रोकियो र किन भएको छैन ? सुशासन ल्याउन केले रोकेको छ प्रश्न यसैमा अडिएको छ । प्रश्न उठाउनेलाई खेदो खनिन्छ ।

प्रजातन्त्र प्राप्तिपछि नेपाली कांग्रेसले सबैले भन्दा धेरै वर्ष राज्यको वागडोर सम्हाल्यो । प्रजातन्त्रको खिल्ली उडायो । कम्युनिष्टहरुले राज्यको वागडोर सम्हाले । समाजवादको खिल्ली उडाए । दिगो र स्थायित्व सरकार कहिले र कसरी आउने हो, गर्भमै लुकेको अवस्था छ । तर पनि हामीले श¬भकामना दिनबाहेक अरु के दिन सकिन्छ र ? पर्खौँ र हेरौँको अवस्थामा हामी नागरिक पुगेका छौं ।
तथ्यांक हेर्दा सुकुबासीहरु सहरको कुनाकाप्चा, नदी, खोलानालाको छेउछाउ र बनजंगल नजिक बसोबास गरेको देखिन्छ तर त्यहाँ सुकुम्बासीभन्दा हुकुम्बासी र सुकिलामुकिलाहरुकै बोलवाला रहेको छ, विशेष गरी सहरी र सहरउन्मुख क्षेत्रहरुमा । भोलिको विकास र नाफाहेरी खोलाछेउ, वनजंगलको नजिक जहाँ खालि जमिन देखिन्छ, जुन जग्गा सामुदायिक बनमा पर्र्दैन त्यहिं गई धरापको रुपमा सुरुमा छेकवार गरेजस्तो गर्ने र बिस्तारै झुप्रा बनाउने बाटो बिजुली, पानी, टेलिफोन हत्याउने अनि जग्गाको कारोवार गरी महल ठड्याउने र घुर्की लगाई भोटको राजनिती गर्ने, त्यसपछि क्रमिक अन्य सुविधाहरु थप्दै जाने र जग्गा पास गरी पाउँ भन्दै विभिन्न निकायलाई प्रभावित पार्दै अगाडि बढ्ने अनि सुशासन खोज्ने हाम्रो नियति छ ।
खोला हिँडेको ठाउँमा बाढि आउँछ, पहाडको छेउछाउमा पहिरो जान्छ अनि बाढी र पहिरो पिडीत भनी नारा धन्किन्छ । बस्न कुन ठाउँ उपयुक्त छ भनी अगाडि नै सोच्ने कि नसोच्ने ? सम्बन्धित निकायबाट बजेट आउँछ दिर्घकालिनभन्दा अल्पकालिन किसिमबाट खर्च गरिन्छ र अर्को वर्ष त्यहि काम दोहोरिन्छ अनि बालुवामा पानी राखे जस्तै भएन र ? देख्दा र जान्दाजान्दै यस्तै यस्तै भएको छ । गहिरो जगविना तटबन्धको काम सुरु हुन्छ । बाढी आउँछ, सोहोरेर लग्छ । फेरि अर्को वर्ष त्यहि काम हुन्छ । पटकपटक दोहोरिन्छ । न पैसाको बचत न तटबन्ध । कसरी समृद्धिको मुहार देख्न सकिन्छ ?
खै कानुनी राज्यको अनुभुति, खै सुशासन ? सकेसम्म खोला, पहाड र जंगलको दोहन गर्ने । खोला साँघुरिदै जाने, बन मासिदै जाने अनि खोलाले छोडेको जग्गा र बन मासिएको जग्गा अधिकरण गर्ने र फेरि दोहन गर्ने प्रवृतिले गाँजेको अवस्था छ । नियन्त्रण कसरी हुने हो ?
३०–३५ वर्ष अगाडिको बुटवलको दृश्य सम्झौं । माथि चिडिया खोलादेखि मर्चवारसम्म र गढीटोलदेखि सेमलारको अन्तिम सिमानासम्मको तिनाउ (तिलोत्तमा) नदी किनारको हालत । नयाँ पुस्तालाई जानकारी नभए पनि पुराना पुस्ताको मन धुरुक्क रुन्छ होला, जस्ले देखे, भोगे र देखिरहेका छन् । के यो अव्यवस्थित बसोवासको अत्य होला ? तिनाउ नदी किनारैकिनार दक्षिणतर्फ हेर्दै जाने हो भने पक्की पुलको छत बनाई आरामले बसोवास गरी बसेको दृश्य देख्न सकिन्छ । नदी कटान जग्गा ओगटी बाक्लो बस्तीको कुरै नगरौं ।
मूलबाटो र दोहोरो ढल निर्माण कार्य बनाउने भत्काउने र अलपत्र छोड््ने । खै दुरदर्शिता, खै नियमन ? पसिना बगाई नागरिकहरुले तिरेको करको दुरुपयोग भएन र ? अनगिन्ती हविगतहरु धेरै छन् । समृद्धि त उडेर आउने कुरा हैन, काम गर्नुपर्छ । कर्मनिष्ट हनुपर्छ । प्रतिफल पाउनुपर्छ । ठोस र दिगो विकास देखिनु पर्छ । समृद्धि त सबै मिलेर ठोस परिणाम आउने गरी तोकिएको निर्धारित कामको उपज हो ।
हाम्रो देशमा देश खाएर शेष पल्टेका आदरणिय नेतागणहरु हुनुहुन्छ, राजनितिज्ञहरु हुनुहुन्छ, प्रवुद्ध वर्गको जमात छ, योजनाकार, अर्थविद, विभिन्न विधाका विज्ञहरु हुनुहुन्छ कमी केहि पनि छैन तर देशले गति लिन सकेको छैन । देशले शिक्षा र संचारमा फड्को मारे पनि नैतिक शिक्षा र व्यावहारिक ज्ञान नगराउनु तथा अनावश्यक संचार र नचाहिँदा संचार सामाग्री प्रयोगको कारणले हार्दिकता हराउँदै गएको छ, जिम्मेवारीको वोध छैन । देशलाई समृद्धितर्फ लग्नका लागि तत्तत् निकायले यस्तै साना मसिना कुराहरु पनि ख्याल राख्नु पर्छ होला नि ?
कुनै वस्तु च्यापिराखेको पुरानो खिया लागेको फलामको साफ्टमा रहेको नट खोल्नका लागि ठूलै झट्का नदिएसम्म नट साफ्टको थ्रेडबाट बाहिर निकाल्न सकिंदैन । त्यस्तै देशमा गाँजिएर बसेको विभिन्न नराम्रा प्रवृतिहरुलाई झट्का अनिवार्य दिनु पर्छ अन्यथा पछ¬तोबाहेक हातमा केहि रहने छैन । बुटवलको पिडा एउटा प्रतिनिधि पिडा हो । यस्तो अवस्था देशको धेरै ठाउँमा देखिन्छ ।
निम्न कुरामा ध्यान दिँदा राम्रो हुन्छ कि ?
# कार्यपालिका र न्यायपालिकाको कार्य गराई, अन्तरसम्बन्ध र न्यायसम्पादनको तारतम्य मिलाउनु अनिवार्य देखिन्छ ।
# विषेशतः निर्माण कार्यहरुमा सम्बन्धित मन्त्रालयहरु र मातहतका विभागहरुसँग समन्वय गरी आवश्यक कार्य सम्पादन गर्नु अगाडि बढाउने । समन्वय भएमा बनाउने र भत्काउने कार्य रोकिन्छ ।
# विकास निर्माणकार्यहरुका लागि आश्विन महिनादेखि नै वजेट निकासा गर्ने र फटाफट काम गर्दै जाने साथै नियमन गर्ने निकायले प्रत्येक कामको नियमित प्रगति रिपोर्ट माग्ने, अनुगमन र मुल्यांकन गर्ने ।
# डलर र भारुका खेती गर्नेहरुलाई राज्यको नियन्त्रणमा राख्नुपर्ने ।
# कानुनी राज्यको आभाष हुने गरी दण्ड सजाय तोकिनु पर्ने ।
# कार्यसम्पादन र मुल्यांकनको आधारमा उत्कृष्ट कार्य गर्ने व्यक्ति, संघ संस्थालाई पुरस्कृत गर्नुपर्ने ।
केहि सिराबाट उदाहरणिय कार्य गर्दै जाने हो भने समृद्ध नेपाल, सुखी नेपाली हुन धेरै वर्ष लाग्दैन । दरो आत्मबल र इच्छाशक्ति चाहिन्छ ।
नागरिकको मन कुँडिएको छ । विकल्पको बाटो खोजिरहेको छ । समयमै होस् नपुर्याए भावी सन्ततिले रेख लगाउने बाटो प्रशस्त रहने छ ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



