मायाको मोहनी मदिरा झैं मादक

माया

दीन पन्थी

प्रकृति आफ्नै चालमा चल्छिन् । प्रकृतिका चालमा चल्छन् प्राणीहरु । प्रकृतिका नियमहरु आफ्नै लयमा लयबद्ध छन् । ती हाम्रा मनमाफिक चल्दैनन् । कालका चालहरु निर्मम छन् । ती हामीलाई पर्खेर बस्दैनन् । घडीको टिकटिकसितै दगुर्छन् ती । कालको तालमा चल्छ जगत् । कालले उफार्छ हामीलाई । कालले थचार्छ हामीलाई ।

सृष्टिको व्यापकतामा जे हुनुपर्ने हो त्यही भइरहेछ । हाम्रा लागि त कहिले हुनुपर्ने हुन्छ, कहिले नहुनु पर्ने भइदिन्छ । हामी चाहन्छौं–घाम हाम्रा लागि चम्कोस्, हावा हाम्रा लागि चलोस्, वर्षा हाम्रा लागि बर्सोस् । हामी प्रार्थना गर्छौं । के गर्नु ? वर्षासितै चट्यांग आउँछ, आँधी आउँछ, असिना आउँछ । हामी हाम्रो अनुकूलतामा रमाउँछौं । प्रतिकूलतामा खिन्न हुन्छौं हामी ।

प्रकृतिले चाहेका कुरा हुन्छन् जगत्मा । हामीले नचाहेका पनि हुन्छन् । प्रकृतिको बाटो सिधा छ । हाम्रा छन् टेढामेढा बाटाहरु । हाम्रा छन् सुख र दुःखका परिभाषाहरु । हामी देखिरहेछौं– एउटा तन्नेरी बूढो हुन्छ, बूढो पुनः तन्नेरी हुँदैन । फूल जस्तै, फल जस्तै, पात जस्तै मान्छे पनि एक पल्टमात्र पलाउँछ, फुल्छ, फल्छ, वैलाउँछ, झर्छ । जीवनको व्याख्या संक्षिप्त छ । यस जगत्मा जसले कराही बसालेको छ, उसको पाकिरहेछ । जसको खेती हो त्यसको फलिरहेछ ।

प्रत्येक वर्ष फुल्छ– फूल, । प्रत्येक वर्ष पाक्छ बाली । हामी त पाक्ने बाली हौं– फलिरहेछौं, झरिरहेछौं । नझर्दासम्म त्रासमा, आशमा झुन्डिन्छौं । जीवन निस्सार छ भोग्नेलाई । जीवन निरर्थक छ बाँच्नेलाई । निरर्थकतामा अर्थ खोज्दै बिलाउँछौं हामी । फूल कसको लागि फुल्छ ? फल कसको लागि फल्छ ? मकै कसका लागि पाक्छन् ? मान्छे कसका लागि बाँच्छ ? उत्तर खोज्दै म निरर्थक शून्यमा भट्किन्छु ।

शिश्नोदरपूर्तिका चाहहरुमा जीवनका क्षणिक लीला चल्छन् । लीला हो संसार । लीलाले भुलाउँछ मान्छेलाई प्रपञ्चमा । यही लीलालाई म भगवान्का लीला भन्छु । अनन्त सन्देह, सन्त्रास र संकटबीच कोमल सम्भावना, ममता र जिजीविषा बोकेर उदाउँछिन् लीलामयी माया । मायाका वशमा वशीभूत छ जगत् । मायाका जादूमय टुनामा सम्मोहित छ जगत् ।

Ad

जगत् केमा भुलिरहेछ ? जीवन केमा अल्झिरहेछ ? कसको आज्ञा र निर्देशनमा चलिरहेछन् यी लीलाहरु ? भोजनका स्वादमा, प्रशंसाका मादमा, विषयवासनाका उन्मादमा, प्रपञ्चका भासमा कसरी डुब्छ जगत् । भमरा झैं रसमा, पुतली झैं रुपमा, माछा झैं बल्छीमा कसरी पर्छ ? जञ्जालमा माकुरा झैं कसरी जेलिन्छ मान्छे ? केही छैन अरु । सर्वत्र मायाको मोहनीमय लठ्याउने जादू मात्र छ । वशीकरण टुना मात्र छ मायाको ।

जगतलाई जोगाउन आइन् माया । मादक मुस्कान र कटाक्ष छर्दै आइन् माया । मदहोस बनाउन आइन् माया । सृष्टिलाई चलाउन आइन् माया । जीवनलाई उत्सवमय, उल्लासमय, रसमय बनाउन आइन् माया । माया छन् र पो ममता छ, जिजीविषा छ । माया छन् र पो राग छ, रस छ, प्रणय छ, जीवन छ । मायाको निर्देशनमा जीवनको रंगमञ्च जम्छ ।

मायाको आदेशमा जीवनको अभिनय चल्छ । निस्सार जीवनमा सार भर्छिन् माया । मरुमा मरुद्यान सजाउँछिन् माया । मायाको प्रेरणाले फूलमा परागसेंचन हुन्छ । मायाको प्रेरणाले भालेपोथीमा प्रणयभाव प्रकट हुन्छ । अनन्त रस, अनन्त सृजना र अनन्त जिजीविषा छन् मायाका पोल्टामा । अभावमा भाव भएर आउँछिन् माया । विरागमा राग भएर आउँछिन् माया । विरहमा प्रणय बनेर आउँछिन् माया । फुस्रो वैराग्य भाग्छ मायाको उपस्थितिमा ।

मायाको छहारीमा लठ्याउने जादू हुन्छ । तृष्णा, वासना, ममता भएर मनमनमा राज गर्छिन् माया । मायाविना जगत् शून्य बन्छ । स्वस्फूर्त सृष्टिकी कारण बन्छिन् माया । मनमनमा रहर, जाँगर भर्छिन् माया । मायालाई भ्रम भनेर टकटकिन्छन् बैरागीहरु । मायालाई मिथ्या ठानेर परपर सर्छन् सन्न्यासीहरु । मायाको मायाजालबाट फुत्कन सक्तैनन् कोही पनि । मायाले फुल्छन् फूलहरु । सृष्टिमा सम्मोहन छ मायाको ।

योगीहरुका हठ पग्लेका छन् मायाको टुनाले । सन्न्यासीका त्याग लत्रेका छन् मायाको कटाक्षले । महर्षिहरुका तप भंग भएका छन् मायाको मोहनीले । मायाका गूढरहस्य बुझ्दैनौं हामी । भ्रममा, विपर्ययमा भट्किन्छौं हामी । झिलिमिली छ, मायाजगत् । मायाको मोहनी मदिरा झैं मादक छ । मायाको मोहनीमा मदमत्त झैं मस्त्त बन्छ जगत् । मायाको मधुमयी रसमा डुब्छ संसार । त्यहाँ डुबेपछि उत्रन चाहन्न कोही । मायाले व्याप्त जगत्मा लीलामय जीवनको अभिनय चल्छ । हामी त्यसका नट, विट र विदूषक बनेर नाच्छौं, हाँस्छौ, उफ्रन्छौं मात्र ।

सन्तानमा वात्सल्य बनेर पुग्छिन् माया । प्रेमीहरुमा प्रणय बनेर पुग्छिन् माया । गुरुजनमा भक्ति बनेर पुग्छिन् माया । आर्तहरुमा करुणा बनेर पुग्छिन् माया । माया एउटी छन् । अनेक रुपमा पुग्छिन् अनेक ठाउँ । मायाको कोमल स्पर्शले हामी आह्लादित हुन्छौं । निराशामा आशा भर्छिन् माया । जीवन जिउन आधार दिन्छिन् माया । आलस्यमा फूर्ति भर्छिन् माया । नित्य आनन्द छ मायाको काखमा । सन्तानको मायामा असीम कष्ट भोग्छन् आमाहरु ।

मायाकै प्रेरणामा पिठ्यूँमा बच्चा बोकेर रुखरुख फुङ्गाल्छन् बाँदरहरु । मायाकै प्रेरणाले बचराहरुको मुखमा चारो पुर्‍याउँछन् चराहरु । देशको मायामा ज्यूज्यान अर्पन्छन् शहीदहरु । जादू झैं, टुना झैं, सम्मोहन झैं हुन्छ मायाको प्रभाव । च्यात्न नसकिने हुन्छ मायाको जाल । सृष्टिको निरन्तरता र जीवनको स्थिति मायामै अवलम्बित छ । जनन, धारण, पालन सबैकी कारण बन्छिन् माया ।

मान्छे मायाले बाँच्छ । जीवनकी आधार हुन् माया । जिजीविषाकी, सौन्दर्यकी, रागकी, प्रणयकी, सृजनाकी आधार हुन् माया ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button