
रेसुङ्गालाई हेर्दा मलाई लाज लाग्छ
बसन्ता पोख्रेल
धुर्कोट-१ नयाँगाउँ, गुल्मी
वसन्त ऋतुको सुरुवात हुँदै छ । त्यसैले होला, घाम लाग्दा पनि मनमा चञ्चलपन अनि प्रेमको न्यानो आभास हुन्छ । कायकुती लाग्छ । हुन त मलाई मात्र होइन, यो सबैमा अनौठो लाग्ने ऋतु रहेछ कि ? अनेक प्रश्न गर्न मन लाग्छ मलाई रेसुङ्गासँग । अरुलाई प्रेमको कुरा सोध्ने भने त ओहो बैँसले मात्तिएकी, किन नहोस् मन फुरुक्क भनेर सुनाउँछन् । तर मेरो प्रिय रेसुङ्गा हरेक पल साथ दिन्छ । बार्है महिना रेसुङ्गाले मोहनी लगाउँछ मलाई मात्र होइन, सबैलाई । तर मलाई भन्दा पनि मैले रेसुङ्गालाई ज्यादै प्रेम गर्छु ।
अनेक प्रश्न मनमा प्रकृतिसँग सम्बन्धित भएर उब्जिने यो मन्लाई म एक चित्त भई रेसुङ्गालाई हेरेर मुस्कुराउन पुग्छु । यही त होला प्रेम अनि एकान्तमा म मुस्कुराउन पुग्छु । देख्नेले भन्छन ,फेरि हेर न मायामा टोलाएर कसरी मुस्कुराएर बसेकी । उत्तर के दिनु र ? रेसुङ्गासँगको मेरो प्रेम भन्न खोज्यो, उल्लु बनाएर छोड्छन् साथीहरु ।
कस्तो अनौठो यो संसार ! प्राकृतिक रूपमा सबै जिल्लाका केही न केही पहिचान हुन्छन्, अझ गुल्मीमा रेसुङ्गा । म पनि प्रकृतिप्रेमी । प्रेम गरेँ रेसुङ्गालाई, अझ एकोहोरो । सुत्ने बेलामा रेसुङ्गाको सिरानी बनाएर सुत्छु त बिहानी पख उठेर झ्याल खोल्छु रेसुङ्गा मेरो सामु देख्छु । जहाँ जान्छु, रेसुङ्गा देख्छु । मलाई त हरेक नजरमा हरेक ठाउँमा रेसुङ्गा मात्रै देख्ने बानी परेछ । अझ फागुन चैतमा मलाई कोइलीले सुनाउँछन् दुःख र विरहका गीत, रेसुङ्गाको शीरमा बसेर । म पनि त मेरो दुखेसो यही रेसुङ्गाको शीरमा बसेर सम्झन थाल्छु ।
उमेर पनि चञ्चले भएर होला, रेसुङ्गासँग खुब प्रेम गर्न मन लाग्छ । अझ पागल बन्न मन लाग्छ । कहिलेकाँही यस्तो लाग्छ, मलाई रेसुङ्गालाई खुबसँग अंगालोमा कसेर अँगाल्न मन लाग्छ । तर म पातली भएर होला, एउटा सिरक त अँगाल्न सक्दिन । झन् तम्घास बजारलाई अँगालेको त्यो रेसुङ्गालाई कसरी सक्छु र ? तर कल्पनामा म रेसुङ्गालाई अंकमाल गर्छु, सिरानी बनाउँछु अनि साथी पनि रेसुङ्गालाई । बेला बेला आफै लाज लाग्छ, रेसुङ्गालाई देखेर, बिहानी किरणसँग देखिएको रेसुङ्गा अनि भर्खर उठेर फ्रेस हुन हेर्ने म, रेसुङ्गाले मलाई नै हेरेको छ कि जस्तो लाग्छ । ती दुवै हात फराकिलो हेर न, कसरी अँगाल्न आएको छ मलाई बिहान बिहानै । लाज लाग्छ । मुस्कान ल्याउँछ, ऊ अँगाल्न आएको देखेर म पनि त उसैलाई हेरेर बस्छु केही समय । बोल्न नसकेर होला । बजारलाई अँगालेको छ दुवै हातले । कति नथाकेको हो रेसुङ्गा ? मलाई पनि यसरी प्रेम गरेर थाक्नु हुँदैन भनेर पाठ सिकाउँछ ।

बोलाउँछन् मलाई कोइलीले गीत सुन्न । अझ विशेष वसन्त ऋतुमा ,नयाँ पालुवासँगै घुम्टो फेर्छ रेसुङ्गा । कति राम्रो ड्रेसअप हो रेसुङ्गाको हरियाली । प्रकृति भएर होला, प्रकृतिसँग सम्बन्धित चिठी लेखे जस्तो संदेश पठाउँछ मलाई रेसुङ्गाले । गुराँस फुल्यो अनि रात्तै भयो कि भेट्नलाई सन्देश दिन्छ, म पनि सन्देश स्वीकारेर जान्छु अनि गुराँस रेसुङ्गाका लालुपाते राता ओठ जस्तो लाग्छ, चुम्बन गर्छु र सम्झनामा तस्बिर गुराँससहित रेसुङ्गाको लिएर फर्कन्छु ।
रेसुङ्गालें खुब माया गर्छ मलाई पनि । म रेसुङ्गालाई भेट्न जान्छु । उसले मायाको चिनो लागि काफल दिन्छ मलाई । जिस्काउँछन् चराहरु काफल पाक्यो काफल पाक्यो भन्दै । लाज लाग्छ मलाई अनि आन्नद पनि । म रेसुङ्गा जस्तै बन्न चाहन्छु एकनास अनि त्यसैगरी । प्रेम त रेसुङ्गाले तम्घासलाई अंगालेजस्तै, अँगाल्न सिकायो । सम्झन्छु बेला बेला रेसुङ्गाले दिएको गुराँस र गरेको चुम्बन अनि मलाई लाज लाग्छ रेसुङ्गासँग । मजस्तै रेसुङ्गाजस्तै आत्मिय प्रेम गर्ने र गरेर हेर्ने हो भने किन मान्छे मान्छेको प्रेम तोडिने थियो होला ? र, फेरि कुरा जोड्न पुग्छु म मानिस र रेसुङ्गासँग ।
रेसुङ्गा निकै निश्चल, गोधुली साँझजस्तो शान्त, स्वच्छ पानीजस्तो निर्मल, अमर र प्रेम पनि सागर जस्तो गहिरो गरेको देख्दा लाग्छ मलाई, केही सिकाउँदै छ रेसुङ्गाले अनि सिक्नु छ हामी सबैले ।
हाम्रो रेसुङ्गा प्यारो रेसुङ्गा ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



