
अमेरिका बस्ने नेपाली इन्जिनियरको ‘दोबाटो’ जिन्दगी
दोबाटो
केशवराज ज्ञवाली
मनमा एउटा सपना थियो । त्यहि सपनाको सप्को समातेर म उभिएको थिएँ, त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा । २००७ जनवरी १०, रातिको दश बजे मेरो पिठ्यूँमा खैरो झोला, हातमा बोर्डिंग पास र अमेरिकाको भिसा लागेको पासपोर्ट थियो । एयरपोर्ट पुर्याउन आएका सबैलाई बिदा दिइसकेको थिएँ । सबै चेकजाँच सकियो । आमाको गर्भबाट बिरानो संसारमा जन्मेको शिशुजस्तो म पनि जन्मिन तयार थिएँ नया संसारमा, अमेरिकामा । बिमान चढ्ने काम मात्रै बाँकी रह्यो ।
विमानस्थलको, वैदेशिक उडान कक्षको स्पिकर बोल्यो– ‘काठमाडौँबाट भियानातर्फ जाने यात्रु महानुभावहरू कृपया गेट नं. ५ तर्फ प्रस्थान गर्नुहोला ।’ त्यो आवाजको बुई चढेर कसैले मलाई पालैपालो अंग्रेजी र नेपालीमा मलाई गेट नं ५ तर्फ बोलाइरहेको थियो । मेरो भोलि ५ नं गेटपछाडि ढोका खोलेर पर्खिरहेको थियो ।
लगेजमा तौल कम गर्न, सबभन्दा बाक्लो स्वेटर र त्यसमाथि हिमाल नै चढ्न हिँडे जसरी ठूलो ज्याकेट लगाएको थिएँ । खुट्टामा गह्रुँगो न गह्रुँगो बुट जुत्ता थियो । मलाई कसैले भनेको थियो । म जान जागेको ठाउँ, साउथ डकोटामा एकदम हिउँ पर्छ । जाडो हुन्छ । म पूरा तयारी गरेर उड्दै थिएँ । अहिले सम्झिँदा रमाइलो लाग्छ । थुप्रो कपडामा पुरिएको म हाँसो उठ्दो देखिएको थिएँ होला । अनौठो त पक्का देखिएको थिएँ ।
मान्छेहरु एक एक गर्दै भीमकाय प्लेनको पेटमा गएर बसे । खुट्टादेखि टाउकोसम्म रातो पोशाकमा सजिएकी बिमान परिचारिकाले प्लेनको ढोका बन्द गरिसकेकी थिइन् । पछाडि फर्किने अवसर थिएन । हुन त मलाई त्यहाँ कसैले जबरजस्ती ल्याएको थिएन । मैले भेट्न खोजेको सपनासम्म पुग्ने बाटो, मेरो बोर्डिंगपासमा लेखेको सिटमा बसेर पुगिन्छजस्तो लागेको थियो । त्यो सिटमा बस्न मैले घर नजिकैको राम्रो तलब सुविधायुक्त काम छोडेको थिएँ । वर्षौं लागेर बनेको सामाजिक जीवन र संजाल छोड्दै थिएँ । ती सबैले मेरो जुत्ताको वजन बढाइरहेका थिए । म खुट्टा घिसारिरहेको थिएँ, त्यो सिटतर्फ ।
मनभरि अमेरिका हिँड्ने निर्णय ठिक भयो कि बेठिक खेलाउँदै प्लेनको सिटमा बसेँ । झ्यालपट्टिको सिट थियो । अलि उकुसमुकुस भयो । जुत्ता र ज्याकेट खोलेँ । प्लेन रनवेमा दौडिन थाल्यो । प्लेन जति बेगले अगाडि बढ्दै थियो, बाहिरको संसार त्यतिकै बेगले पछाडि छुटिरहेको थियो । मेरो शरीर प्लेनसँग अगाडि गइरहेको थियो तर मन भने दोब्बर बेगले पछाडि दौडियो । म मनमनै आफु जन्मेको ठाउँमा पुगेँ, पढेको स्कुलमा पुगेँ, परिवारको माझमा पुगेँ, साथीहरूको चिया गफमा पुगेँ । मलाई त्यो प्लेनको सिटसम्म ल्याउने बिचारको उदगम बिन्दुमा पुगेँ ।
सिभिल इन्जिनियरीङको स्नातक तह सकेर झण्डै चार वर्ष जति नेपालका विभिन्न ठाउँमा काम गरेको थिए । पहिलो ६ महिना सरकारी र बाँकी गैर सरकारी संस्थामा । बाजुरा, मुगु, पाँचथर, चितवन र नवलपरासी, मेरा कर्मस्थल बनेका थिए । ती सबैमा काम गर्दा आउने जाने विदेशी संस्थाका ठुला पदाधिकारीहरू र तिनका नेपालको केन्द्रमा बसेका हाकिमहरूसँग स–सानो संगत भइरहन्थ्यो ।
ती सबैलाई मौका मिल्दा सोध्थे, ‘कहाँसम्म पढेका छौ । कुन युनिभर्सिटीमा पढेको । कसरी त्यहाँसम्म पुग्यौ ?’
धेरैको जवाफमा कतै न कतै विदेशी विश्वविद्यालयको डिग्री जोडिएको भेटेँ ।
काम गर्दै जाँदा बिस्तारै संसार हेर्ने र सकेसम्म संसारका सबै महादेशमा काम गर्ने लालसा उठ्यो । बिस्तारै त्यो एउटा सपना जस्तो सँगै हिँड्न लग्यो । जब मलाई विश्व खाध्य संगठनको एउटा प्रोजेक्टको लागि मुगु जिल्लाको प्रोजेक्ट म्यानेजर बन्ने प्रस्ताव आयो, मैले त्यसको सट्टा काठमाडौँ जाने र विदेशी पढाईको लागि कोशिस गर्ने निर्णय गरेँ । मनमनै भनेँ, ‘म पनि कुनै दिन एउटा युवालाई भन्नेछु । मैले फलाना विश्वविद्यालयबाट जलश्रोत इन्जिनियरीङमा मास्टर्स गरेको छु ।’
अमेरिकामा पढ्न लामो तयारी चाहिने रै’छ । काठमाडौँमा बसेर जि आर इ र टोफेल गरेँ । तीन–चारवटा क्याम्पसमा निवेदन दिएँ । निवेदन दिने काम सकियो । म नयाँ कामको खोजीमा लागेँ । एउटा विदेशी संस्थाको प्रोजेक्ट अफिसरको रूपमा काम गर्ने अवसर आयो । बाढी र नदी कटान सम्बन्धी अनुसन्धान र रोकथामको काम थियो । मेरो रुचिको विषय । नवलपरासी बसेर काम गर्नुपर्ने । घरबाट झन्डै साढे दुई–तीन घण्टा टाढा । हरेक हप्ता घर जान पाइने । काम एकदम मन पर्न थाल्यो । मलाई त्यहाँ अन्तर्वार्ता लिएको भन्दा एक तह माथिको नियुक्ती दिइएको थियो । गुनासो गर्ने ठाउँ थिएन । मलाई मेरो व्यावसायिक जीवन, आफुले चाहेकै दिशामा गइरहेको जस्तो लाग्न थालेको थियो ।
काम सुरु गरेको झण्डै तीन–चार महिनापछि अमेरिकाको कलेजबाट चिठी आउन थाले । त्यसमध्ये दुईवटामा अनुसन्धान सहायक भएर काम गर्ने अवसर थियो । उक्त काम वापत कलेजको फिस तिर्नुपर्दैनथ्यो र केही पैसा पनि पाइन्थ्यो । गरिरहेको काम एकदम मन परेकोले छोड्न मन लागेन । अमेरिकामा पुगेर पढेको र त्यसपछिको भविष्यमा रमाउनु एउटा कुरा तर साँच्चिकै आफ्नो ठाउँ छोड्नु अर्को कुरा । कलेजलाई इमेल लेखेँ । यसपटक आउन सक्दिनँ । यदि अर्को सेमेस्टरमा मिल्छ भने आउँछु । साउथ डकोटाको कलेजबाट जवाफ आयो । अर्को सेमेस्टरमा आउँदा हुन्छ । समस्या टर्यो, अब जानु परेन । लामो सास तानेँ । त्यो साँझ घर गएँ । कसैलाई केही भनेको थिइनँ ।
साँझको खाना खाएपछि एक डोक्सी तेल लिएर बुवा आमाको खुट्टामुनि बसेँ । बेलिबिस्तार लाएँ । आमाले सोध्नुभो– ‘फेरि जानुपर्ने भए, कैले जानुपर्छ ?’
‘पुसको अन्तिम सातातिर ।’
आमाले औला भाँच्नुभयो– ‘पाँच महिना त रै’छ ।’
‘खै नजाऊँ कि क्या हो ? अलि दोमन भयो ।’ मैले बुबालाई हेरेँ ।
‘होइन, पढ्न त जानुपर्छ । यतिको अवसर फेरि नपाइन सक्छ’, बुबाले सल्लाह दिनुभयो ।
थप चार महिना बितेको पत्तो भएन । फेरि कलेजको इमेल आइपुग्यो । जाने भन्ने निर्णय भइसकेको थियो । मन नलागी नलागी तयारी सुरु गरेँ । भिसा लागेको दिनबाट, अमेरिका आउनुपर्ने समय १ महिना बाँकी थियो । शुरुमा एकदम उत्साहले र पछि केही अल्छी मान्दै गरेको अमेरिका जाने प्रक्रियाले मलाई त्यो प्लेनमा चढाएको थियो । ती सबैकुरा सम्झिँदा, प्लेन भियानामा अवतरण गर्न लागेको थियो । मलाई त्यहाँबाट वाशिंगटन डीसी, कोलोराडो हुँदै रयापीड सिटी, साउथ डकोटा पुग्नु थियो । पुगेको पर्सिपल्ट क्याम्पस सुरु हुने थियो ।
क्लास सुरु हुनुभन्दा एकदिन पहिला प्रोफेसर भेट्न गएँ । एउटा मयूर झ्याल उपहार बोकेर । प्रोफेसरलाई नमस्कार गर्न हात उठे । आफै उठेका हातलाई आफ्नै मनले सम्झायो । यो नेपाल होइन, तिम्रो नमस्कार यहाँ कसैले बुझ्दैन ।
हात अघि बढाएर भनेँ, ‘हेलो, म केशव राज ज्ञवाली ।’
साढे छ फीट अग्ला प्रोफेसर केनरले उज्यालो र चौडा मुस्कानसहित झुकेर मेरो हात समाते । कतै टाढाबाट आएका आफन्तलाई जसरी, सन्चो बिसन्चो सोधे, बाटोमा गार्हो भए नभएको सोधे । बिरानो ठाउँमा पाएको आत्मीयताले मन, गर्मीको बरफ जसरी पग्लियो । म धन्यवादपूर्ण भएँ ।
पहिलो सेमेष्टर, म आइपुग्न एकदम ढिला भएकोले प्रोफेसर आफैँले मेरो क्लास रोजिदिएका थिए । तीनवटा कम्प्युटर सफ्टवेयर (मोडलिङ) क्लास र अर्को एउटा । त्यतिबेलासम्म कम्प्युटरको ज्ञान खासै थिएन । मलाई ती क्लासहरूले राम्रो विद्यार्थी हुनुको भ्रम तोडिदिए । मैले अंग्रेजी बोल्दा र मेरो प्रोफेसरले अंग्रेजी बोल्दा, दुवैले बुझ्दैनथ्यौ । धेरैपटक बोल्नुभन्दा इमेलको सहारा लिन्थे ।
कलेजले दिएको पैसाले खान बस्न ठिक्क हुन्थ्यो । फोन किन्ने पैसा थिएन । साताको एकपटक साथीको फोन मागेर घरतिर कुरा गर्थेँ । अत्यन्तै सानो सहरको सानो क्याम्पस भएकोले नेपालीहरू थिएनन् । अर्को एकजना ब्याचलर पढ्दै गरेको भाइ थिए । पढाईको काम र खर्च चलाउन उनलाई काम गरिरहनु पथ्र्यो । उनी एकदम व्यस्त रहन्थे ।
साउथ डकोटामा अक्टोबरदेखि मार्चसम्म एकदम जाडो हुन्छ र हिउँ पर्छ । गाडी नभई काम चलाउन एकदम गाह्रो हुन्छ । मसँग गाडी थिएन । म अरू केही भारतीय विद्यार्थीहरूसँग क्याम्पस नजिकै बस्थे । हिउँ पर्दा कहिलेकाहीँ तापक्रम–१० डिग्रीसम्म पुग्थ्यो । त्यस्तोमा तिनै गह्रुँगा जुत्ता र ठूलो ज्याकेट भिरेर कलेज जान्थे । कहिलेकाहीँ घामको नाकमुख नदेखेर हप्तौ बित्थ्यो । आफुले रोजेको बाटो कहिले ठिक त कहिले बेठिक लाग्थ्यो । धेरै महिनासम्म किराना पसलेको तराजु जस्तो, मनको तुलो ढलपल ढलपल गरिरह्यो ।
क्याम्पसमा अनुसन्धान सहायकको रूपमा काम गर्थेँ । प्रोफेसर अलि नयाँ किसिमको अनुसन्धान गर्दै थिए । हामी ४ जना विद्यार्थी उनलाई सघाउँदै थियौँ । हाम्रो काम हरेक साता मिटिङ बस्ने र हप्ताभरिको कार्य योजना बनाउने हुन्थ्यो । काम भर्खर शुरु भएकोले धेरैजसो समय, अनुसन्धानमूलक लेख पढ्नु, त्यसको सारांश तयार गर्नुपथ्यो । सामूहिक छलफलबाट त्यो लेख, गरिरहेको अनुसन्धानमा काम लाग्ने नलाग्ने तय हुन्थ्यो । त्यतिबेला कक्षा ४ बाट शुरु भएको सरकारी स्कुलको अंग्रेजीले बेस्सरी सतायो ।
एकदिन क्यान्टिनमा खाना अर्डर गरिरहेको थिएँ । झण्डै दोहोरयाई तेहरयाई भन्नुपर्यो । दिक्क लग्यो । बल्लतल्ल बुझाएर, खाना लिएर टेबलमा बसेँ । अगाडिको कुर्सीमा एकजना मान्छे आएर बस्यो । ऊ मलाई हेरेर हाँस्यो । मैले पनि मुस्कानले जवाफ दिएँ ।
आर यू फ्रम नेपाल ? मैले टाउको हल्लाए र सोधेँ, ‘कसरी थाहा पायौ ?’
उसले मेरो ज्याकेटमा भएका सगरमाथाको चित्र देखाउँदै भन्यो, ‘माउण्ट एभरेष्ट ।’
कुरा गर्दै जाँदा थाहा भयो । ऊ नेपाल पुगेको रै’छ, प्रोफेसनल फोटोग्राफरको रूपमा । उसले हात बढायो र भन्यो– ‘काज ।’
काज मूलतः जापानीज थियो । कामको सिलसिलामा अमेरिका आउँदा अमेरिकन युवतीसँग प्रेममा पर्यो र अमेरिकन भयो । मसँग भेट्दा भर्खर आर्किटेक्चर पढ्न सुरु गरेको थियो । ५६ वर्षको काजको उत्साह देखेर म छक्क परेँ ।
‘तिमी त क्याम्पस सकिँदा रिटायर पो हुने रै’छौ ।’
जवाफमा काज बेस्सरी हाँस्यो ।
एकदिन कुरैकुरामा काजलाई भनेँ– ‘मैले त बोलेकै बुझ्दैनन् । एउटा स्पीकिंगको क्लास लिउँ कि जस्तो लागेको छ ।’
काज फेरि हाँस्यो, ‘तिमीले क्लास लिन पर्दैन । मलाई त सुरुसुरुमा कफी माग्दा कोक दिन्थे । तिमी त मभन्दा धेरै राम्रो बोल्छौ । अलि ढिलो बोल्ने गर । सब ठिक हुन्छ ।’
काजको सल्लाह आजसम्म पनि सम्झिरहन्छु ।
बिस्तारै अरू साथीहरू थपिँदै गए । भारतीय विद्यार्थीहरूको आफ्नै ग्रुप थियो । म बढी अमेरिकनसँगै हिँड्थेँ । हुन पनि यताको कुरा सिक्नु छ भने यतैको मान्छेसँग संगत गर्नुपर्छ जस्तो लाग्थ्यो । यस्तैमा म एउटा अमेरिकन परिवारसँग सम्पर्कमा आएँ । फेनीन परिवार । उनीहरूको घर र मेरो डेरा नजिकै थियो । बिस्तारै बिस्तारै म हरेक शुक्रबार त्यहाँ जान थालेँ । कलेज सकिने समयसम्म म उनीहरूको परिवारको सदस्य जस्तै भइसकेको थिएँ । उनीहरूसँग नियमित सम्पर्क, आउने जाने क्रम आजसम्म कायम छ । अमेरिकामा मलाई सबैभन्दा अप्ठेरो पर्दा, मैले पहिलो फोन उनीहरूलाई गरेको छु । हरेकपटक उस्तै आत्मीयता र सौहाद्र प्राप्त गरेको छु । मन मिल्न, छालाको रङ्ग, भाषा, संस्कृति मिल्नैपर्छ भन्ने केही छैन ।
सेमेष्टर सकियो । पहिलो सेमेष्टरको नतिजा मेरै अपेक्षा अनुसारको थिएन । दिक्क लाग्यो । प्रोफेसर र अरू चिनजानका साथीहरूसँग कुरा गरेँ । सबैको एउटै भनाइ थियो, नयाँ सिष्टममा त्यो रिजल्ट राम्रो हो । पहिलो सेमेष्टर धेरै विदेशी विद्यार्थीहरूको त्यस्तै–त्यस्तै हुन्छ ।
जति दिक्क लागे पनि हार मान्नु विकल्प थिएन ।
गर्मीको छुट्टी शुरु भयो । अनुसन्धानको फिल्डवर्क पनि सुरु भयो । बिहान ४ बजेदेखि झण्डै रातिको दश बजेसम्म काम हुन्थ्यो । आधाजसो साउथ डकोटाको क्षेत्रमा ४८ वटा निश्चित ठाउँहरूको पानी र माटोको नमुना लिनुपथ्र्यो । हरेक पटक बर्षातपछि पानी र माटोको नमुना संकलन गर्नु पथ्र्यो । ती सबै स्थानको सर्भे पनि गर्नुपर्ने भएकोले प्रशस्त समय लाग्थ्यो । बर्षात्को भाविश्यबाणी भएको बेलामा रातभरि कम्प्युटरमा बसेर संकलन क्षेत्रमा पानी परे नपरेको हेर्नु पथ्र्यो । चारजना आलो पालो गथ्र्यो । बर्षात्को पानी नदीसम्म आइपुग्ने समय हिसाब गरेर नमुना संकलनको लागि जानु पथ्र्यो । त्यो वर्ष साउथ डकोटामा एकदम पानि पथ्र्यो । हामी दिन रात दौडिरह्यौँ ।
गर्मी बिदाको अन्त्यतिर अर्को सहरबाट घुम्न आएका नेपाली विद्यार्थीसँग बाटोमा भेट भयो । त्यति लामो समयपछि नेपाली बोलेको सुनेर, म यस्सै ति अपरिचित मान्छेसँग कुरा गर्न पुगेँ । नेपाली बोल्दा र भेट्दामात्रै पनि त्यति खुसिलाग्दो रहेछ भन्ने त्यो भन्दा पहिले थाहा थिएन । सेप्टेम्बरमा फेरि क्लासहरू सुरु भए । एउटा संकल्प गरे र सम्झाए आफैलाई, यो पढाइका लागि मैले नेपालमा धेरै कुरा छोडेर आएको छु । आफै असन्तुष्ट हुने पढाइको काम छैन । मेहनतको बिकल्प अझ बढी मेहनत मात्रै हो ।

सायद बानी परेकोले पनि हुनुपर्छ । त्यसपछि त्यति गाह्रो भएन । अब पढाइ सकिन लागेको थियो । सबै जागीर खोज्ने ध्याउन्नमा थिएँ । प्रोफेसरले करियर सेन्टरमा जाने सल्लाह दिए । अमेरिकाको युनिभर्सिटीहरूमा करियर सेन्टर भन्ने अफिस हुदो रैछ । त्यहाँ जागीर खोज्न, अन्तर्वार्ताको तयारी आदिमा सहयोग गर्दा रैछन् । कलेजको सम्पर्कमा भूतपूर्व विद्यार्थीहरूको काम गरिरहेको कम्पनीमा उनीहरूमार्फत जाँदा, काम खोज्न सजिलो हुने रैछ । करियर सेन्टरबाट धेरै सम्पर्क सुत्र पनि फेला परे ।
तीन–चार महिनाको अन्तरालमा झण्डै १००–१५० जति जागीरमा निवदेन दिँदा, ३ वटामा अन्तर्वार्ता भयो । क्याम्पस सकिँदा मसँग दुईवटा जागिरको प्रस्ताव थिए । म अमेरिका आउँदा यता बस्छु भनेर आएको थिइन । मन फेरि दोबाटोमा उभियो । अमेरिकन अनुभवको लोभमा यतै काम गर्ने विकल्प रोजेँ ।
नेपालबाट आएको झण्डै १५ महिनापछि पढाइ सकियो । दिक्षान्त समारोहको अघिल्लो साँझ घोत्लिरहेँ । मैले के सिकेँ ? विषयगत ज्ञान । त्योबाहेक ? लाग्यो, पढ्नु भनेको एउटा तहपछि आफ्ना प्रश्नहरू आफैँ निर्माण गर्नु र तिनीहरूको उत्तर खोज्नु हो । गुरुको सामान्य निर्देशनभन्दा पर स्वतन्त्र बुझाइ र त्यसको खोजी गर्नु हो । अमेरिकामा मैले स्वतन्त्ररुपमा सिक्ने तरिका थाहा पाएँ ।
ग्राजुएसनपछि म काममा जान तयार थिएँ । मेरो प्रोफेसरले मलाई अफिसमा बोलाएर भने– ‘मलाई तिम्रो सहयोग चाहियो । फिल्डमा सबै काम ब्यबस्थापन गरिदिने मान्छे छैन । यो काम तिमीलाई जिम्मा दिन चाहन्छु ।’
मैले मेरो जागीर शुरू गर्ने निधो गरिसकेको थिएँ । भनेँ, ‘मलाई एकपटक मेरो अफिसमा सोध्न देऊ । उनीहरूले माने भने मलाई केही छैन । तीन–चार महिनाको कुरा हो । तपाइले मलाई पढ्ने अवसर दिएर यत्रो सहयोग गर्नुभयो । मलाई पनि सहयोग गर्न पाउदा खुशी नै लाग्नेछ ।’
मैले काममा जान लागेको कम्पनीले पनि तीन महिनाको ढिलाई स्वीकार गरयो । म अझ तीन महिना कलेजमै हुने भएँ ।
जुलाइको मध्यतिर एउटा खोलाको पानी र माटोको नमूना जम्मा गर्दै थियौँ । म चिप्लिएर झण्डै चार–पाँच फीट जति तल खसेँ । दायाँ घुडा ढुंगामा बज्रियो । एकछिन त्यही खोलाको किनारमा पल्टेँ । एकदम दुख्यो । केही समयपछि खोच्याउँदै काम सकाएँ । त्यो साँझ घर फर्किंदा दुखाइ केही कम भएको थियो । एक–दुई दिनमा गइहाल्ला जस्तो लाग्यो, त्यति चिन्ता लागेन । भोलिपल्ट बिहान उठ्दा, दायाँ घुँडा सुन्निएर मादल जत्रो भएको थियो । तुरुन्तै इमर्जेन्सीमा गयौं । घुडाको लिगामेन्ट च्यातिएको र बेस्सरी ठोकिएकोले आन्तरिक रक्तश्राव भएको रै’छ । सर्जरी गर्नुपर्ने भयो ।
घरतिर भन्न मन लागेन । भन्यो भने पनि आत्तिने कुरा मात्रै हुन्छ । कोही दौडेर आउन सक्ने हैन । अपरेशन, चेकजाँच आदिको खर्च कामबाटै बेहोर्ने हुनाले त्यसको चिन्ता थिएन । मलाई खासै ठूलो सर्जरी जस्तो लागेको थिएन । तर सर्जरीपछि बल्ल थाहा भयो । अब झण्डै १ महिना बेडमै हुन्छु । अलि अलि हिँडडुल गर्न पनि वैशाखीको सहारा लिनुपर्नेछ । फिजीयोथेरापी र फलोअप चेकअप गर्नुपर्ने हुन्छ । त्यसपछि झण्डै २ महिना काममा जान नसकिने भयो । पहिले नै अफिस ज्वाइन गर्न ढिला गरेको थिएँ । फेरि अनुरोध गर्नुको विकल्प भएन । सबै कुरा प्रष्टसँग खोलेर इमेल लेखेँ । हुँदैन भन्यो भने, नेपाल फर्किन्छु जस्तो लागेको थियो । केही दिनपछि कम्पनीको इमेल आयो । म थप दुई महिनापछि काममा जाने भएँ ।
अस्पतालबाट बाहिर निस्किँदाको समस्या अर्को थियो । मलाई सुरुका केही दिन, बाथरुम जान पनि सहयोग चाहिन्थ्यो । दिनमा दुईपटक कसैले फिजीयोथेरापीसम्म ड्राइभ गरेर लगिदिनुपथ्यो । फेनीन परिवारले मलाई फेरि सहयोग गर्यो । म त्यसपछिको दुई महिना उहिहरुको घरमै बसेँ । त्यो समयमा उनीहरूले एकदमै सहयोग गरे । भारतीय साथीहरूले, पालो मिलाएर मलाई फिजियोथेरापीमा लैजाने र ल्याउने काम गरे ।
त्यहाँ मेरो परिवार वा आफन्त थिएनन् । नेपाली बोल्ने वा पहिलेदेखिको कोही साथी थिएनन् । तर सबैको सहयोगले केही कमी वा गाह्रो भएन । म द्रवित भएँ । मलाई त्यो दुर्घटना र सहयोगपछि, जहाँ पुगिन्छ त्यहाँ आफ्नो वरिपरि घुलमिल भइरहनु राम्रो अभ्यास हो जस्तो लाग्छ । दुई महिनापछि केही साथीहरू मेरो अफिस हुने सहरसम्मै छोड्न पनि आए । आजपर्यन्त ती सबै साथीहरू सम्पर्कमा छन् ।
अब फेरि नयाँ सुरुआत गर्नु थियो । नया जागिर, सानो सहर । त्यहाँ पनि कोही नेपालीहरू थिएनन् । बिहान सबेरै काम सुरु हुन्थ्यो । पहिलो केही महिना सफ्टवेयरहरू सिक्दै बित्यो । मलाई सबै कुरा छिटो छिटो सिक्नु थियो । कम्प्युटर र सफ्टवेयरहरू अलि अलि कलेजमा सिकेको थिएँ । तर अझ धेरै सिक्न बाँकी थियो । म बिहान काम सुरु हुने समयभन्दा १ घण्टा अगाडि अफिस पुग्थे र साँझ पनि झण्डै १ घण्टा पछिसम्म बस्थेँ । म अफिस पुग्दा, जहिले पनि मेरो हाकीम, अफिसमा आइसकेका हुन्थे । म काम सकेर फर्किदा पनि उनी काममै व्यस्त हुन्थे । त्यो सिलसिला त्यहाँ काम गरुन्जेल चलिरह्यो । ठूलो पदमा हुनु वा जिम्मेवारी लिनु भनेको अरूभन्दा ज्यादा खट्नु रै’छ ।
मलाई सरकारी जागीरमा जान मन थियो । नेपालमा केही समय काम गरेर छोडेको थिएँ । यता भने ग्रीनकार्ड नभई सरकारी जागीरमा जान मिल्दैन थियो । पहिलो कम्पनीले ग्रीनकार्डको प्रायोजन गरेको थियो । ग्रीनकार्ड आएको केही वर्षपछि मैले सरकारी जागीर खोज्न सुरु गरेँ । त्यतिबेला बसेको ठाउँ अत्यन्तै चिसो भएकोले, अलि न्यानो ठाउँमा पनि जान मन थियो । दोस्रो जागीरको खोजीमा आवेदन दिँदा, पहिलेको जस्तो समय लागेन । अलिकति कामको अनुभव भइसकेको थियो । ग्रीनकार्ड पनि भएकोले, काम गर्न थप अनुमतिको आवश्यकता पनि थिएन । आफ्नो अनुभव र रुचिको आधारमा आवेदन दिएका धेरै जसो ठाउँबाट सकारात्मक उत्तर आयो । पहिलोपटक खोजी खोजी भेटेको काम, दोस्रोपटक चाहिँ रोज्न पाइयो ।
झण्डै सात वर्ष पहिलो कम्पनीमा काम गरेँ । सुरु गर्दा लागेको कम्प्युटरको डर भागिसकेको थियो । मैले त्यो कम्पनी छोड्दा सबै सफ्टवेयर व्यवस्थापन पनि हेर्थेँ । त्यतिबेला लाग्न थालेको थियो, अब कुनै पनि नयाँ सफ्टवेयर सिक्न सक्छु । अनुभव भन्नु, आफुले पहिले कहिल्यै नगरेको काम पनि गर्न सकिन्छ भन्ने आत्म विश्वास हो रैछ । त्यहाँबाट त्यही कमाएँ ।
अमेरिका आउँदा केहि समयको लागि मात्रै भनेर आएको थिएँ । अहिले त्यो केही समय १२ वर्ष पुगेको छ । पहिलो सात वर्ष गैरसरकारी क्षेत्रमा र बाँकी अवधि सरकारी जागिरमा । अमेरिकाको १२ वर्ष प्राविधिक अनुभव मुख्य गरी बाटो बस्तीको डिजाइन, बर्षातको पानी र बाढी व्यवस्थापनमा केन्द्रित रह्यो । यो १२ वर्षे अनुभवले धेरै कुरा सिकाएको छ । कामप्रतिको इमानदारिता, लगन र सरकारी कार्यालयहरूको सेवामुखी शैलीबाट बढी प्रभावित छु । ठेक्कापट्टा दिँदा वा अरू करार गर्दा अपनाइने विधि, एकदम पारदर्शी हुन्छ । त्यसले कामलाई विशुद्ध प्राविधिक मूल्याङ्कन गर्न सहयोग गर्छ । कामको शैली र दक्षताको आधारमा हुने मूल्याङ्कनले काम गरिरहने प्रेरणा र सन्तुष्टि दिइरहन्छ ।
अहिलेसम्मको यात्रामा धेरै नियमित जस्ता लाग्ने घटनाहरू छन् । नेपालबाट अमेरिका आउने विद्यार्थीसँग घट्ने नियमितता तर ती सबै साना–ठूला घटना मेरा लागि अनौठा र नौला रहे । मैले भोगेका संघर्ष र प्राप्तिहरू, व्यक्तिगत र सामान्य हुन् । यिनीहरूभित्रको विशिष्टता मेरा लागि मात्रै हो । यहाँका भोगाईहरुको पाठ कुनै दिन थोरै भए पनि नेपाल पुर्याउने लोभ लागिरहन्छ । यता त्यस्तो लोभ गर्ने नेपालीहरु प्रशस्त छौँ । त्यो लोभ आफ्नो माटोको मोहले जगाएको हो ।
नेपालमा जमिन हल्लिँदा यता मन काँप्छ । उता बाढी आउँदा मन बगेर उतै पुग्छ । रात बिरात नेपालको नम्बरबाट फोनको घन्टी बज्यो भने, मुटु अलि छिटो दौडिन्छ । कतिपटक आफ्ना साना ठुला दुख र समस्याहरु उता भनिदैन । किन चिन्ता थप्नु जस्तो लाग्छ । कतिपटक उताका पनि समस्यामा र सुखमा सामेल हुन् सकिदैन । व्यक्तिलाई परिवार र समाजसँग बाधिराख्ने यस्ता मिहिन दुख र सुखबाट टाढा हुदा, सम्बन्धका डोरीहरू खुकुला हुदै जान्छन् । यो टाढाबाट आकर्षक देखिने विदेशको कठोर बास्तविकता हो ।
हरेक दिन पटक पटक आइरहने एउटै विचार छ, म यहाँ आएर बसेर ठिक गरेँ कि गरिनँ ? म सायद नेपालमै बढी उपयोगी हुन सक्दो हुँ ? मन हरेक दिन दोबाटोमा उभिइरहन्छ, फर्कौ कि यतै बसौँ ? मनको तराजुमा कहिले यताको त कहिले उताको पक्ष गर्हुङ्गो हुन्छ । जीवन र शरीर अहिलेलाई यहिँ छ । यो अहिलेको भौतिक सत्य हो । तर मन सधै उतै छ, परिचय उतैको छ, यो मनले अंगालेको सत्य हो । भौतिक सत्य र मनको सत्य फाटेको यो दोबाटोमा जीवनका दिन रात हिँडिरहन्छन् । म र अरु धेरै विदेश बसेकाहरुले हरेक दिन यो दोबाटो उभिएर आफ्नो बाटोको निर्णय गरिरहन्छौँ ।
आँगन छाडेपछि (आप्रवासी नेपाली इन्जिनियरहरुको संघर्ष र सपनाको कथा) पुस्तकबाट
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

