
म हजुरआमालाई उसका आँखाले कसरी तरुनी देख्छ ?
कथा
इन्दिरा दीक्षित
आज पनि डेबिड आएन ! यसरी विनाखबर ऊ कहिल्यै हराएको थिएन ।
दुइचार दिन कतै जान परे भनेरै जान्थ्यो । पार्कमा एक्लै बसेर सोच्दै थिएँ, के भयो होला त्यसलाई ? उसो त ऊ काम विशेषले सिड्नी छोडेर कतै गए पनि तुरुन्तै फर्कन्थ्यो । आज पुरा पाँच दिन भइसक्यो, अत्तोपत्तो छैन । आधा घण्टा जति पार्कमा बसेर म पनि आफ्नो घरतिर लागेँ । घर पुगेपछि पनि डेबिडको यादले छोडेन ।
छोराछोरी यतै बस्ने भएकाले र उनका आग्रहमा पटकपटक आइसकेकोले सिड्नी मेरा लागि नौलो शहर होइन । फेरि पनि यो विशाल शहरमा एक्लै कतै आउजाउ गर्न म जस्ता नेपालीहरुका लागि कठिन हुन्छ । घरबाट एक्लै जाने पनि कता हो र ? चिनेजानेका इष्टमित्र धेरै भएता पनि नेपालमा जस्तो भेटेर गफिने फुर्सद कस्को हुन्छ र ? औपचारिक जमघटबाहेक सिड्नीमा आफन्तसँगको भेटघाट प्राय असम्भव जस्तै हुन्छ ।
यसपटक नातिनी जन्मेकीले उनको मुहार हेर्ने खुसियालिमा करिव तिन महिनाअगाडि सिड्नी आइपुगेँकी थिएँ । यता आएदेखि मेरो दिनचर्या भनेको बिहान सबेरै जुरुक्क उठेर घर नगिचैको पार्कमा एक घण्टा जति चक्कर लाउनु अनि घर फर्कनु हुन्थ्यो । यसै सिलसिलामा डेबिडसँग भेट भएको थियो ।
बिहान सबेरै कमैमात्र मान्छे पार्क घुम्न आउँथे । केही एशियन अनुहार परेका बाहेक गोराको अनुहार प्राय देखिन्थेन । तर किन हो कुन्नि ? डेबिड चाँडै नै पार्कमा पुिगसकेको हुन्थ्यो । सुरुसुरुमा हाम्रो हेराहेर मात्र हुन्थ्यो । ऊ मलाई हेरेर अनमन भावले मुस्कुराउँथ्यो । म पनि त्यसै गरिदिन्थेँ । त्यसपछि ऊ कताकता दौडिंदै परपर निक्लेर जान्थ्यो । म आफ्नै तालमा पार्कको फन्को मारेर घर फर्कन्थेँ । निकै समयसम्म हेराहेरमा सिमित रहेको हाम्रो दैनिकी एक दिन डेबिडलेनै भँग ग-यो ।
म आफ्नै सुरमा हिँड्दै थिएँ । एक्कासि पछाडिबाट ‘हलो लेडी’ भन्दै बोलेको सुनेँ । फर्केर हेर्दा डेबिड रहेछ । अचम्म मान्दै मैले पनि हलो भनेकी थिएँ । पार्कमा घुम्न थालेको करिब एक महिनापछि मात्रै मुसुक्क हाँसेर हाइहलो सुरु भएको थियो ।
एक दिन, दुइ दिन गर्दागर्दै सिड्नी आएको पनि दुइ मैना बितिसकेको थियो । दिनहुँजसो सबेरै पार्क जानु मेरो दिनचर्या जस्तै बनेको थियो । एक दिन गएन भने दिनभरी केही बिर्सिए जस्तै हुन्थ्यो । मलाई किन हो पार्कमा समय बिताउन सारै रमाइलो लाग्थ्यो । थरिथरिका मान्छे, मान्छेपिच्छिको लबाइ, फरक बोलिचालि, अनि उनका कृयाकलापले सहजै अनुमान लगाउन सकिन्थ्यो कि ति आगन्तुकहरु अवश्य पनि एशियन या युरोपियन मूलका हुन् ! अस्ट्रेलिया महादेश या देश जे भए पनि यहाँका आदिवासी ज्यादै न्यून छन् । सबैजसो अरुनै देशबाट बसाई सर्दै आएकाले भरिएको मुलुकमा आआफ्नै ढँगका रितिरिवाज सबैले बोकेर ल्याएका हुन्छन् । फलस्वरुप हामीजस्ता पर्यटकले थोरै अनुमान लगाउन सक्छौ कि देखिएका आगन्तुक कताबाट आएका हुन् । शनिबार र आइतबार बिदाको दिन भएर होला, पार्कमा सबेरैदेखि मेला लागेझै थरिथरिका मानिसहरुको रमझम देख्न पाइन्छ । यत्तिकै टहल्नुदेखि दिनभर पिकनिक मनाउनेहरुको पनि ओइरो चल्छ । मलाई पनि घर फर्कन हतारो नहुने अनि पार्कमा पनि रमाइलो देख्न पाइने भएकोले अल्लि अबेरसम्म बसेकी हुन्थेँ । आज पनि बिदाको दिन परेकोले केहिबेर रमाइलो हेर्ने विचारले छेउको कुर्सिमा बस्दै वरिपरिको तमासा हेर्दै थिएँ ।
यत्तिकैमा नजिकै आएर डेबिडले भन्यो, ‘क्यान आइ सिट् ह्यर ?’
मलाई आश्चर्य लाग्यो, कहिल्यै नबोल्ने मान्छे आज किन हो नजिकै बस्न खोज्दै छ ! ‘ह्वाइ नट ?’, मैले पर सर्दै भनेँ ।

सँधै जसो जम्काभेट हुँदा बाङ्गो मुख बनाएर हाँसु–नहाँसु गर्दै लम्केर हिँड्थ्यो । दुइ महिना भइसक्यो यो मान्छेलाई देखेको तर मैले उसको अनुहार राम्ररी हेरेकै थिइनँ । आज नजिकै आएर बसेकोले अनुहारमा पुलुक्क हेरेँ । ऊ मलाई नै हेर्दै रहेछ । सायद मसँग गफिने मुडमा भएजस्तै लाग्यो । यो नचिनेको विदेशी गोरेसँग मलाई के काम छ र बोल्नु ? बोल्न मन लागे सुरुवात उसैले गरोस् ! म चुपो लागेर बसिरहेँ । एकैछिनको मौनतालाई तोड्दै डेबिड बोल्यो, ‘क्यान यु स्पीक इंग्लिस् ?’
मैले मुस्कुराउँदै भनेँ ‘लिटिल लिटिल !’
डेबिड दँग परेजस्तै लाग्यो ।
‘माइ नेम इज डेबिड’ भन्दै त्यसै दिन उसले आफ्नो नाम बताएको थियो अनि विनयी भावमा मेरो नाम, मेरो देश सबै सोधेको थियो । एसियाका अरु मुलुक घुमेको भए पनि ऊ नेपाल पुगेको रहेनछ । अचेल नेपाली धेरै मात्रामा सिड्नी आउन थालेकाले नेपालको नामचाहिँ सुनेको रहेछ । त्यसै दिन गफको सिलसिलामा मैले डेबिडको अनुहार राम्ररी हेरेकी थिएँ ।
झपक्क परेको खैरो दाह्री, चाँदजस्तै परेर खुइलिएको तालुमाथि पातला खैरा कपाल, नीलोमाथि राताराता धर्सा परेका उसका बडेबडे आँखा, उसको गोरो अनुहारभरी अनेकन मसिना कालाबुट्टाले भरिएको थियो । ४५ देखि ५० बीचको जस्तो देखिने ६ फिटभन्दा अग्लो डम्म परेको शरिर भएको मान्छे नजिकै आएर बोल्दा त्यतिबेला मनमा चसक्क डर लागेझै भएको थियो । साच्चै ! झट्ट हेर्दा ऊ कुनै अँग्रेजी सिनेमाको खलनायकजस्तै देखिन्थ्यो । करिव दश मिनेट जतिको सोधिखोजीपछि डेबिड आफ्नो बाटो लाग्यो । म आफ्नो बाटो लागेँ ।
त्यसै दिनदेखि डेबिडको र मेरो सधैजसो पार्कमा भेट हुन्थ्यो । अघिपछि धेरैबेर बसेर गफ गर्ने फुर्सद नहुने भएकोले बिदाको दिनमात्रै केही समय कुराकानी हुनथाल्यो । अर्को पटक उसले मेरो बारेमा अझै जान्न खोजेझै सोध्यो, ‘कता बस्छौ ?’
मैले जवाफ दिएकी थिएँ, ‘नगिचै मेरी छोरीको घर छ । अहिले त्यहिँ बस्छु ।’
डेबिडले त्यस दिन मेरो परिवारका बारेमा सोध्यो । मैले पनि नढाँटिकन जे जसो हो, सबै भन्दिएँ । उसले आश्चर्य मान्दै भनेको थियो, ‘ओ नो ! आइ कान्ट बिलिभ दिस्, यु आर लुकिङ स्टिल योँग, बट ! यु आर सो लक्की ।’
मैले मुस्कुराउनुबाहेक उसको कुराको केही जवाफ थिएन । मलाई पनि उसको बारेमा जान्न मन थियो तर आजको समय सक्किसकेको थियो । एकअर्कालाई बाइ भन्दै हामी आ-आफ्नो बाटो लाग्यौँ ।
घर पुगुन्जेल पनि डेबिडका कुरा मेरो दिमागमा घुमिरह्यो । म त वयस्क सन्तानकी आमा अनि एउटी नातिनी कि हजुरआमा भएकी मान्छेलाई उसका आँखाले कसरी तरुनी देख्छ ? यताका मान्छे सितिमिति अरुको मन नदुखाउने खाले हुन्छन् । जे कुरा पनि सभ्य र शिष्ट तरिकाले भन्छन् । सायद उसले पनि म मख्ख परोस् भनेर झुटै भए पनि तरुनी देखिन्छ्यौ भनेको हुनसक्छ । आहा ! कति राम्री भन्यो भने यताका होस् या उताका जताका भए पनि आइमाइहरु मख्ख पर्छन् भन्ने कुरा प्राय सबै लोग्नेमान्छेले जानेका हुन्छन् । मेरो मनस्थिति नबुझिकनै उसले भनेका शब्दप्रति गहिरिनुको के औचित्य हो र ! सोच्दासोच्दै दश मिनटको बाटो न हो, घर पुगिएछ ।
आज बिदाको दिन भएकोले छोराछोरीले कतै पिकनिकको आयोजना गरेका रहेछन् । घर पुगेपछि छोरीले भनिन्, ‘मम् ! चाडै गरेर निस्कने है ! धेरैबेर घुम्न मिल्दैन, बच्चीलाई लिएर अबेरसम्म के बस्नु र ?’
ए ! ल ! आज पनि अचानक योजना बनेछ । म मनमनै दँग परेर छोरीलाई सघाउन थालेँ । पाँच दिनसम्म घरमा दिनभरी एक्लै बस्दा उङ्ताएको मन बिदाको दिन परिवारसँगै कतै घुम्न जाँदा रमाइलो लाग्नु स्वभाविक नै थियो । तर किन हो कुन्नी डेबिड नामको भूत जतिबेला पनि मेरो दिमागमा बसिरहन्थ्यो ।
अरु दिन हाइहलोमै सिमित रहेपछि फेरि शनिबार त पक्का गफ हुन्छ । सधैंजस्तै म अल्लि छिटो पार्कमा पुगेर घुमघाम सकेर सधैको बेन्चीमा बसेकी थिएँ । एकैछिनमा डेबिड मुस्काउँदै ‘हलो लेडी ! हाउआर यु ?’ भन्दै नजिकैको बेन्चमा बस्यो । जुनबेला पनि उसको ‘लेडी’ सम्बोधन मलाई उति मन परेन, अब त उसलाई मेरो नाम नै थाहा छ नि । फेरि पनि लेडी ? हुन त यो आदर्नीय शब्द हो तर पनि मलाई यस्ता शब्द सुन्ने बानी नभएकोले होला उति मन नपरेको, डेबिडको लेडी सम्बोधनमा मैले कुनै प्रतिवाद गरिनँ ।
मुस्कुराउँदै भनेँ, ‘म ठिकै छु ।’
(क्रमशः)
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

