
सहकारी: एकका लागि सबै, सबैका लागि एक
वित्तिय पहुँचमा सहकारी
शर्मिला गौतम
सहकारी संस्था जहाँ आफ्नो घनिष्ठता पारिवारिक सदस्यसँग जति हुन्छ, त्यति नै निकटतम र मजबुत सम्बन्ध सधेँको लागि कायम भइकन पनि आफ्नो भावी पुस्ता समेतलाई उत्तराधिकारी हस्तान्तरण गरेर सस्थालाई जिवन्तता दिने घरदैलोको साथी भन्दा फरक नपर्ला ।
‘एकका लागि सबै, सबैका लागि एक’ अनि सदस्यको प्रत्यक्ष सहभागिता र सहकार्यमा संचालन गरिने व्यावसाय यसले निर्दिस्ट गरेको हुन्छ, आफै स्वमालिक, स्वलाभ हानिको भागिदार, स्वनियन्त्रण पद्दतिलाई अबलम्बन गर्दै स्वव्यवस्थापन गर्दै दिगो सस्थामा रुपान्तरण गर्नु यसको मूल मर्म हो । हुँदा खाने र हुने खाने वर्गबीचको सन्तुलन मिलाउने, साझा योजना बनाएर अगाडि बढ्ने, समान उद्देश्य बोकेका ब्यक्तिहरुको जीवनस्तर उकास्नेदेखि उनीहरुको जिउँदाको जन्ती मर्दाको मलामीसम्मको यात्रामा सामेल हुने संस्था हो सहकरी । जहाँसम्म यस्तो निकटको संस्थाको रुपमा सहकारी मात्रलाई लिँदा पनि कुनै आपत्ति नरहला । साँच्चिकै भन्दा सहकारीको सौन्दर्य र फरकपन यसलाई नै मान्न सकिन्छ ।
सहकारीको मुल्य, मान्यता र सिद्धान्तलाई शिरोपर गरी आइपर्न सक्ने विभिन्न बाधा तथा चुनौतीलाई पार लगाउँदै सँस्थालाई दिगो बनाउन निरन्तर संचालक समिति, सदस्य र कर्मचारीको त्रिपक्षीय भूमिका अपरिहार्य रहन्छ । सदस्यहरुको जीवनस्तरमा आर्थिक, सामाजिक एवं साँस्कृतिक पक्षमा सकारात्मक परिवर्तनको लागि संयुक्त स्वामित्व र प्रजातान्त्रिक नियन्त्रणमार्फत उद्दम विकास गर्न स्वेच्छिक रुपमा एकीकृत भएका ब्यक्तिहरुको एक स्वायत्त सँस्था सहकारीलाई राज्यको तिन खम्बे अर्थभित्र राखिएको छ ।
सहकारी संस्थाले आर्थिक विकासका लागि उत्पादनशील क्षेत्रमा लगानीका अवसरहरु जुटाइ मजबुत सदस्य निर्माण गरी मजबुत सहकारी बनाउन उल्लेखनीय भूमिकामा रहनु आजको महत्त्वपूर्ण बिषय हो । कुनै पनि आर्थिक क्रियाकलाप संचालन गर्नको लागि पुजी अपरीहार्य छँ । F.W Raiffeisen को इतिहासलाई पल्टाएर हेर्दा उनले जर्मनीका ग्रामिण कृषकहरुको अकाल स्थितिको सुधार गर्न गरिब किसानहरुको संगठन बनाएर बचत गर्न र सोहि बचतबाट ऋण दिने कामको सुरुवात गरे श्रमिक एवं कृषकहरुलाई उक्त ऋणलाई उत्पादनमूलक कार्यमा लगाई जीवनस्तर उकास्ने काम गरे । त्यस्तै FranzSchulze ले पनि जर्मनीको शहरी इलाकामा मजदुरहरुको स्थितिमा सुधार गर्न विभिन्न संगठनमार्फत बचत तथा ऋणको कारोबार सुरु गरेको पाइन्छ । सहकारीको इतिहासको पाना पल्टाएर हेर्दा पनि उत्पादनमूलक कार्यमा लगानी भएपछि मात्र सामाजिक रुपान्तरण भएको पाइन्छ ।

सहकारीले सदस्यलाई घरदैलोमै वित्तीय पहुँचको एउटा केश प्रस्तुत गर्दा ग्रामिण उद्यम तथा विप्रेषण आयोजना (सम्वृद्धि) र साना किसान लघुवित्त विकास बैंक पार्टनर सस्थाको रुपमा काम गर्दै गर्दा उदयपुर जिल्लाको साना किसान कृषि सहकारी संस्था लि. लाई साझेदार सहकारीको रुपमा सम्झौता गरी विभिन्न क्रियाकलाप संचालन भइरहेको छ । यस आयोजनाले आपूर्ति श्रृंखलासँग सम्बन्धित काम पनि गर्ने भएकाले यस सहकारी सँस्थाले बाख्रापालन कृषक समूहहरुको लागि वित्तिय पहुँच सजिलै पुराएको छ । सहुलियतपूर्ण कर्जा यति सजिलै कृषकहरुले पाउनु भनेको वास्तवमै खुसीको कुरा हो । बैंकहरुको झन्झटिलो कागजी प्रक्रिया र ऋणको लागि लामो समय कुर्नुपर्ने समस्याबाट किसान गुज्रिनु परेको आजको यथार्थता हो । आखिर वास्तविक किसानले यो समस्या कहिलेसम्म भोग्नु पर्ने ? कागजी रुपमा फाइल मिलाएर नक्कली किसानहरुले पनि सहुलियतपूर्ण कर्जाको दुरुपयोग गरिराखेको पनि समाचार सुन्दा र पढदा दुख लाग्छ, जसका कारण कृषि क्षेत्रको समग्र विकासमा विश्वासघात भएको छ ।
सहकारी संस्था सदस्यको दैलोमा पुगेर उसको आवश्यकता अनुरुप वित्तिय पहुँच पुर्याइ उद्यमशीलताको विकास भएको उदाहरणीय काम नै सहकारी क्षेत्रको दिगो तथा सुरक्षित यात्राको प्रतिविम्व हो । सहकारी संस्थामा संचालक समिति, कर्मचारी र शेयर सदस्यलाई ओदानको रुपमा लिन सकिन्छ, जुन त्रिपक्षीय सन्तुलनविना सफल हुन सक्दैन । सहकारिताको यात्रामा जबसम्म सदस्यहरु व्यावसायिक रुपमा सुरक्षित हुन सक्दैनन्, संस्था सुरक्षित हुन सक्दैन ।
समग्रमा नेपालको आर्थिक मेरुदण्डको रुपमा सहकारी संस्थालाई लिँदा सुशासन तथा उचित व्यवस्थापनसँगै दक्ष मानव संशाधन, उत्पादनमूलक क्षेत्रमा लगानीलाई दिगो संचालनका आधारमा लिन सकिन्छ । नीति नियम, मूल्य मान्यता, सिद्धान्तको परिपालना, प्रविधिमैत्री सहकारी संस्थाको निर्माण गर्न सकेमा प्रतिस्पर्धी बजारमा दिगोपन ल्याउन सकिन्छ ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



