पितृसत्ताको बर्को र धर्को महिलामा पनि

महिला अधिकारवादी आन्दोलनले उत्तर खोजेका प्रश्नहरु

प्रतिमा शर्मा
अधिवक्ता

नेपालको राजनीति, राजनितिक दस्तावेज र पार्टी स्कुलहरुमा सामन्तवादी, विस्तारवादी, साम्राज्यवादी माक्र्सवादी, माओवादी, नक्सालवादी, समाजवादी, साम्यवादी, पूँजीवादी, आतंकवादी आदि चरित्र र दर्शनबारे चर्चा, व्याख्या,छलफल र बहस आदि गरिन्छ तर महिलावादीको बारेमा बहस किन गरिँदैन ? के आमनेता कार्यकर्तालाई थाहा छ, महिलावादी दृष्टिकोण भनेको के हो ? के महिला सशक्तिकरणको कुरा गर्नेहरुले महिलावादी आन्दोलन र महिलावादी दृष्टिकोणबारे स्पस्ट बुझेका छन् ?

यहाँ भाँतीभाँतीका महिलावादी छन् । कसैले आफुलाई आमुल परिवर्तनकारी र क्रान्तिकारी महिलावादी भन्छन्, कसैले माक्र्सवादी समाजवादी महिलावादी, कसैले पूँजीवादी महिलावादी, त कसैले उदारवादी महिलावादी भन्छन् र कसैकसैले आफुलाई समसामयिक महिलावादी पनि भनेका छन् । कोही व्यक्तिले म महिलावादी हुँ भन्दैमा के उ महिलावादी नै हो त ? होइन । महिलावादी हुनका लागि कम्तिमा महिला स्वयंले पूर्णरुपमा अधिकारसम्पन्न हुनुपर्छ, आफ्नो बौद्धिकता, यौनिकता र भविष्यको निर्णय आफै गर्न सकिन्छ भन्ने कुरालाई स्वीकार गरी आफ्नो मौलिक हक अधिकार पूर्णरुपमा प्रयोग गरेको वा महिलावादी दृष्टिकोणबारे आफु सुसूचित भई, आफ्नो जीवनपद्धतिमा लागू गरेको अवस्था र महिलाको हक, हित, सशक्तिकरण र नेतृत्व विकासका लागि काम गरेका तर आफ्ना कर्मचारी, स्वयंसेवक, टीममेम्बर, लाभान्वित समुह र समुदायसँग काम गर्दा सामन्तवादी प्रबृत्ति नभएका र लैंगिकमैत्री व्यवहार गरेको अवस्था हुनुपर्छ । के हामीले आफुलाई पितृसत्तात्मक सामन्तबादी सोचाई र व्यवहारबाट मुक्ति दिलाएका छौं ? यदि छैनौं भने महिला अधिकारवादी कसरी हुनसक्छौं ?

रहरले वा कहरले चाहे महिला वा पुरुष होस्, कसैले नामको लागि म महिला अधिकारवादी हुँ भन्दैमा वा महिलावादी लेखिएको नाना र छाना लगाउँदैमा वा महिलावादीको व्यानरमुनि बस्दैमा ऊ महिला अधिकारवादी हुन सक्दैन । महिला अधिकारवादी हुनको लागि व्यक्तिको पितृसत्तात्मक सामान्तवादी चरित्रमा आमुल परिवर्तन आएको हुनुपर्छ, सोचाई र व्यवहारमा अरुले पनि महसुस गर्ने गरी रुपान्त्रण आएको हुनुपर्छ । स्मरण होस्, महिलावादी भनेको पुरुषविरोधी पनि होइन तर पितृसत्ता विरोधी हो । र, पितृसत्ताको बर्को, धर्को, सिद्धान्त र आचरण पुरुषमा मात्र होइन, महिलामा पनि हुन्छ । साथसाथै, महिला मात्र होइन, पुरुष पनि महिलावादी हुनसक्छन् जसले महिलावादी दृष्टिकोणको अर्थ र महत्वलाई वोध गरी आफ्नो जीवनपद्धति बनाउन सक्छन् ।

महिलावादी आन्दोलन तथा महिलावादी दृष्टिकोण के का लागि हो ? के महिलावादी आन्दोलनलाई राजनितिक एजेन्डाको रुपमा उठान गरेका छौ ? महिलावादी आन्दोलनको अस्तित्व स्वतन्त्र छ ? महिलावादी आन्दोलनमा पितृसत्ताको प्रभाव र प्रभुत्व छैन ? के हामीले स्वतन्त्ररुपमा आफ्नो लागि आन्दोलन गरेका छौं कि पितृसत्ताको अनुयायीहरुलाई सहयोग गरेका छौं ? वा पितृसत्ताकै प्रभावमा फसेका छौं ? के हामीले महिलावादी आन्दोलनलाई राजनीतिसँग एकाकार गरेका छौं ? के यहाँ महिलावादी दल छन् ? के हामीले भोट दिँदै आएका दल र नेताहरु महिलावादी हुन् ? सानातिना माग गरेको आधारमा के महिला स्वतन्त्र हुन सक्छन् ? सानातिना कुरा हामीले माग गर्ने, अरुले किस्ता किस्तामा केही दिएजस्तो गर्ने, केहि समयपछि खोस्ने प्रबित्तीलाई कहिलेसम्म स्वीकार गर्ने ? यस्ता धेरै प्रश्नहरुको उत्तर खोजी गरेर महिलावादी आन्दोलनलाई संगठित गर्न ढिलो भएन र ?

Ad

आफ्नो यौनिकता सम्बन्धी हकअधिकारको बारेमा आवाज उठाउन, खुलेर यौनिकताको कुरा गर्न, आफ्नो भविष्यको बारेमा आफैले निर्णय गर्न, आफ्नो शरीरमाथि आफैले नियन्त्रण गर्न, राज्यका संरचनाहरुमा निर्णायक भुमिकाको दावी गर्न, महिला सशक्तिकरण गर्दै सबै क्षेत्र र तहमा महिला नेतृत्व विकास गर्न र नमुना नेतृत्वदायी भूमिका खेल्नको लागि महिलाहरु सक्षम छन भन्ने दृष्टिकोण नै महिलावादी दृष्टिकोण हो । त्यसैगरी महिलाहरुको मौलिक तथा मानवअधिकारहरुको बारेमा आवाज बुलन्द गर्ने विधि, पद्दति र प्रक्रियाहरु नै महिलावादी आन्दोलन हुन् । यी सबै कुराहरु एउटा दुइवटा कागजमा लिपीवद्ध गर्नुमात्र महिलाहरुको जीत होइन, हरेक महिलाले आफ्नो अस्त्तिव, मर्यादा, स्वतन्त्रता, मानवअधिकार, कानुनीहक अधिकार, जिम्मेवारीको महसुस र समाज तथा राज्यप्रतिको कर्तव्य बोद्य गरी व्यवहारमा प्रकट भएको हुनुपर्छ ।

आफ्नो स्वतन्त्र अस्तित्वको महत्व र उपस्थितीलाई किन नजरअन्दाज गर्दछौं ? के हामीले जहिलेसुकै आफ्नो अधिकार साधुले चामल मागे जस्तै माग्ने हो ? के हामीले आफैले पद, प्रतिष्ठा, र राज्यसत्ता सिर्जना गर्ने हैसियत राख्दैनौं ? के हामी राजनेता बन्न सक्दैनौं ? के हामीले राजनितिक दलको स्थापना गरेर पुरुषहरुलाई विभिन्न पद, भूमिका र प्रतिष्ठा दिने हैसियत बनाउन सक्दैनौ ? सधैं माग्नेको हैसियतबाट माथि उठेर दिने हैसियत बनाउने बाटोमा किन नलाग्ने ? यदि हामीले हाम्रै नेतृत्वमा कम्पनी, गैरसरकारी संस्था र सहकारी संस्था बनाएर उदाहरणीय काम गर्न सकेका छौँ भने राजनीतिक दल बनाएर राज्यसत्ता कब्जा गर्ने बाटोमा लाग्न किन लाग्दैनौं ?

महिलाले नेतृत्व गरेको, महिलाको स्वतन्त्र अस्तित्व भएको, महिलाका सुन्दर विचारहरु र लैंगिक समानताको सिद्धान्तलाई स्थापित गर्ने उद्धेश्यले महिलाको पार्टी र संगठन बनाउने कुराको बहस चलाउँदा समाजको रितिथिति विरुद्धको कार्य हुन्छ भन्ने व्यक्तिहरुमा पितृसत्ताको गहिरो छाप छ । हामीमा यस्तो सोचाई रहँदासम्म कहिलै पनि महिला अधिकरबादी हुन सक्दैनौं र प्रत्यक्ष वा परोक्षरुपमा पितृसत्तालाई जोगाउन नै मलजल गरिरहेका हुन्छौं । पितृसत्ताको छाप, प्रभाव र सोचाइबाट बाहिर नआउँदासम्म वा त्यस्तो सोचाइबाट बाहिर आउने हिम्मत नभएसम्म यो देशमा महिलाको स्वतन्त्र अस्तित्व कसरी प्राप्त हुन्छ ? पितृसत्तात्मक सामन्तवादीहरु राज्यसत्तामा हावी हुँदासम्म निर्मला र रुवीजस्ता लाखौं छोरीहरुले न्याय कसरी पाउँछन् ?

यदि यो राज्यसत्तामा महिला अधिकारवादी दृष्टिकोण हुँदो हो त, बलात्कारी, अपराधी, गुण्डागर्दी, देशद्रोही, भ्रष्टचारी, लैंगिक हिंसाका हिमायती, हिंस्रक र सामन्तवादी शासकहरु निति बनाउने र कार्यान्वयन गर्ने ठाउँमा होइन, मुडा बनाउने ठाउँमा तालिम लिदै गरेका हुन्थे । देशमा भइरहेका सबै प्रकारका बेथितिहरु जस्तै बलात्कार, अपराध, गुण्डागर्दी, भ्रष्टचारी, लैंगिक भेदभाव र हिंसा, सामाजिक भेदभाव, उपेक्षा, अविकास, अस्थिरता, बेरोजगारीता आदि अन्त्य गर्ने उद्देश्यले राज्यसत्ता कब्जा गर्नसक्ने महिलाहरु सत्ताबाट सधै बाहिर बसेर माग्नुभन्दा हिम्मत गरेर अग्रपंक्तिमा आउनु जरुरी छैन र ? महिला अधिकारवादीहरु थरीथरीका गुट, उपगुट र समुहमा विभाजित भएर होइन, राम्रो कार्य, देश र नागरिकका लागि अब इष्र्या र घमण्ड छोडेर एक ठाउँमा आउने बेला भएन त ?

दिगो विकासको लागि मानवअधिकारको संस्थागत विकास गर्न, अस्थिर र नालायक राजनितिलाई स्थिर र लायक बनाउन, नेतृत्व विकास र पुस्तान्तरण गर्न, महिला, बालबालिका, दलित, आदिवासी र मधेसी विरुद्धका हानिकारक अभ्यासहरुलाई रुपान्तरण गर्न, नयाँ पुस्तामा सकरात्मक उर्जा दिन, आम पीडित पक्षले न्यायको अनुभूत गर्नका लागि महिलाहरुको नेतृत्वमा देश हाँक्नु एक मात्र विकल्प हो ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button