अस्ट्रियाको तीज कार्यक्रममा जे देखियो

बाबा राजेश्वरी थापा
भिएना, अस्ट्रिया

दुई महिनाअगाडि इनास अस्ट्रियाको नवगठित कार्यसमितले तीज दर कार्यक्रमको सार्वजनिक सूचना र निमन्त्रणा अस्ट्रियावासी नेपालीहरुलाई सामाजिक संजालमार्फत पठाएको थियो। यसै संस्थाले पोहोर साल पनि आफ्नो तीज कार्यक्रम भव्य रूपमा मनाएको अस्ट्रियावासी नेपालीहरुले भुलेका थिएनन् र कार्यक्रमप्रतिको चासो र कार्यक्रममा सहभागी हुने इच्छा धेरैले व्यक्त गरेका पनि थिए ।

२०२१ सेप्टेम्बर ४ को साँझ इनास अस्ट्रियाले अस्ट्रियाको लागि कार्यवाहक नेपाली राजदुत ईला मैनालीको प्रमुख आतिथ्यमा तीज दर साँझ सम्पन्न गर्यो । भिएनामा भएका अधिकांश महिला दिदीबहिनीहरु आफ्नो परिवारको साथमा सहभागी भए भने दाजुभाईहरुले पनि चेलीहरु यस महान चाडको उपलक्षयमा आयोजना गरिएको यस कार्यक्रममा प्रसन्न मुद्रामा सहभागी भएका थिए । कार्यक्रमकी प्रमुख अतिथि कावा राजदूत मैनालीले पानसमा बत्ती बालेर शुरु गरेकी थिइन् । र, उपस्थित नेपाली समुदायलाइ तीजको शुभकामना दिएकी थिइन् । स्वागत मन्तव्य उपाध्यक्ष नबिन कार्कीले गरेका थिए । उपाध्यक्ष सम्झना बोहोरा र महासचिव शीला अधिकारीले कार्यक्रममा सहजकर्ताको भूमिका निकै रोचक र हसिलो मुद्रामा निर्वाह गरेका थिए । नेपाली संघ संस्थाका पदाधिकारी र सल्लाहकारहरुलाई सम्मान, दोसल्ला र पुलका गुच्छा प्रदान गरिएको थियो । समाजका अग्रज र अभियन्ताहरुलाई आसन ग्रहण गराई सम्मान प्रकट गर्नुको साथै संस्थाका पदाधिकारीहरुले भएसम्म र देखेसम्म आमन्त्रित सबै पाहुनाहरुलाई स्वागत गर्दै न्यानो अभिवादन गर्दा सहभागी सबैले वातावरण निकै आत्मीय भएको महशुस गरेका थिए ।

कलाकारहरु कन्चन बोहोरा र विद्या टन्डनको जोडी र मुना गुरुङ, लारिसा तामांग अनि दिब्य ढकालको समुहले आकर्षक नृत्य गरेको थियो । कलाकारहरुको नृत्यपछि चेलीबेटीहरुले तीजको गीतमा कम्मर मर्काइमर्काइ नाचेका थिए । कार्यक्रमलाई संस्थाकी अध्यक्ष र समाजकै सक्रिय युवा सन्तोषी भण्डारीले समापन गरेकी थिइन् । कार्यक्रममा साल्जवुर्गदेखि आफ्नो सम्पूर्ण परिवार लिएर एनआरएन अस्ट्रियाका १९-२१ का आइसिसि सदस्य राजकुमार उपाध्याय सहभागी भएका थिए ।

नेपाली संस्कृतिक भेषभुषामा र्याप, नृत्यलगायत अन्य आकर्षक कार्यक्रम, राफल चिठ्ठा, मुखै रसाउने नेपाली परिकारहरुले सहभागीहरुको मन जित्नु साथै संस्थाका पदाधिकारीहरु औपचारिक कार्यक्रम सकिएपछि पनि आगन्तुकहरुलाई गरेको आतिथ्यले धेरै चेलीबेटीहरुलाई माइतिघरको तिर्सना मेटेको अनुभव नेपालनाम्चासँग धेरैले व्यक्त गरे। इनास अस्ट्रियाको तीज दर कार्यक्रममा करीब ३०० सयको हाराहारीमा नेपाली र विदेशी पाहुनाहरुको सहभागिता थियो । स्टेजको अति आधुनिक ढंगले गरेको सजावट निकै राम्रो र कार्यक्रम हलको प्रकाश तथा ध्वनिको राम्रो व्यवस्थापनले कार्यक्रम निकै रमाइलो भएको एनआरएन अस्ट्रियाका उपाध्यक्ष कुमार अधिकारीले नेपालनाम्चालाई बताए ।

कार्यक्रमको व्यवस्थापन पक्ष निकै राम्रो भएको र नेपाली संघसंस्थाले आयोजना गरेको कार्यक्रममा यति धेरै सहभागिता भएको सायद यो पहिलो पटक होला भनेर लामो समयदेखि अस्ट्रियामा बसोबास गर्दै आएका बाबुराम बिमलीले नेपालनाम्चालाई बताए ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button