
प्राण उपहार हो, यसैलाई प्रेरणा बनाऊ
प्रेरणा
प्रतिमा पन्थी
मिल्छ कहाँबाट प्रेरणा जीवनको
जीउनु बेअर्थ भइसक्यो …
जीउनु संकटको भारी भइसक्यो …
जीउनुमा केवल अन्धकार देख्छु !
आफ्ना सबै पराई देख्छु !
सुन न साथी, दुखेको मन!
देहमा तिम्रो आत्मा रहुन्जेल
प्रेरणा त तिम्रै प्राणमा रहन्छ !
तिम्रो दुखेको मन
दुनियाँबाट टाढिएको मन …
एकपटक छामी हेर आफ्नो मन
तिमी खुसी हुँदाको पल सम्झ
यो विश्वास आफै माथि गर
कि … तिमीमा सामर्थ्य छ
खुसी हुन सक्ने,
तिमीमा गुण छ ।
संकट र अन्धकार
उज्यालो र अँध्यारो जस्तै हो
हाम्रो जगत पनि त
अध्यारोमा धकालिन्छ …
अनि छरिन्छ प्रकाश उज्यालो बनी
बिहानी बनी …
एक पटक छाम आफ्नै मनलाई
तिमीभित्र पनि हेर
प्रकाश पलाउने छ
आशा पलाउने छ
तिम्रो पनि नयाँ बिहानी आउनेछ
किनकि यो त प्राकृतिक हो ।
छाम आफ्नै मन
ती काँडा, ती बोझ
आफ्नै लाग्नेछन्
तिमी बोक्न या बिसाउन
आफै सक्षम छौ
तिमी पाउनेछौ आफैलाई त्यसबेला ।
तिम्रो लागि तिमी नै प्रेरणा बन्नेछौ
छाम आफ्नै मन
र, खोज तिमी भित्रको धैर्यतालाई
संकट र पिडा त जीवनका विभुषण हुन्
यी छन् र त जीउनुको वास्तविक अर्थ रहन्छ
सुख दुःख सबै मनकै उपज हुन्
छनोट मात्र तिम्रो हुन्छ
सत्य स्विकार गर
एक पटक छामी हेर, तिम्रो मनले के भन्छ ।
आफ्नो मनलाई छाम
एउटा गहिरो ध्यानमा बस
प्राण उपहार हो, यसैलाई प्रेरणा बनाऊ
सबै उत्तर आफैभित्र पाउनेछौ
तिमीमा शितलता आउनेछ
नयाँ उर्जा र रस भरिनेछ
तिम्रो जीवन उदाउने छ
एकपटक छाम आफ्नो मनलाई ।
(नोटः आत्महत्याविरुद्ध मेरो अभियान)
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

