
‘मोतीराम पहिलो पत्रकार’
मोतीराम जन्मजयन्तीमा भर्चुअल गजल
अन्तरराष्ट्रिय नेपाली साहित्य समाज नेपालको लुम्बिनी प्रदेश समितिले युवाकवि मोतीराम भट्टको १५५औं जन्मजयन्तीको उपलक्षमा भर्चुअल (जूम) मार्फत विशेष गजल वाचन कार्यक्रम गरी युवाकविप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।
अनेसास नेपाल लुम्बिनी प्रेदश समिति अध्यक्ष किरण आचार्य सभापति, साहित्यकार डा.घनश्याम परिश्रमी न्यौपाने प्रमुख अतिथि र अनेसास नेपालका उपाध्यक्ष एवम् अनेसास लुम्बिनी प्रदेशका संयोजक दिव्य गिरी अतिथि रहेको यस विशेष गजल वाचन कार्यक्रमा युवाकवि मोतीराम भट्टप्रति श्रद्धाञ्जली अर्पण गर्दै अठार जना गजलकारहरूले गजल वाचन गरेका थिए ।
प्रमुख अतिथि न्यौपानले युवाकवि मोतीराम भट्टले थोरै समयमा नेपाली साहित्यको साथै पत्रकारिताको क्षेत्रमा पनि उल्लेख्ख योगदान दिएको र उनैले नेपाली साहित्यमा गजल विधालाई भित्राएको चर्चा गरे । मोतीराम पहिलो पुरस्कार पाउने नेपाली साहित्यकार हुन् भन्दै मोतीरामलाई समस्यापूर्तीको निम्ति भारतका रवेन्द्र हरिश्चन्द्रले दस रुपैयाँ पुरस्कार दिएको उल्लेख गरे । यसका साथै मोतीराम पहिलो पत्रकार पनि भएको जानकारी गराए । मोतीरामले तेह्र वर्षको उमेरमा नै नेपाली भाषा र वाङ्मयको क्षेत्रमा धेरै काम गर्नुका साथसाथै नेपाली गजलका प्रवत्र्तक र मोतीमण्डलीमार्फत सबैलाई गजल लेखनमा प्रेरित र उत्साहित पनि गरे भन्दै मोतीराम श्रृङ्गारिक तथा व्यङ्ग्यात्मक साहित्यकार भएको धारणा व्यक्त गरे ।
विशेष गजल वाचन कार्यक्रममा डा. न्यौपाने, दिव्य गिरी, मन गहिरे, चन्द्र प्रकाश, टंक पन्थ, पुष्प अधिकारी अञ्जली, सीता काफ्ले, कल्पना पौडेल, महानन्द ढकाल, नवराज आचार्य, शंकर गैरे, विष्णु पादुका, यज्ञलाल सुवेदी, चन्द्रावती अधिकारी, छवि आफ्नै, दुर्गा पौडेल, लक्ष्मि ज्ञवाली र गोम विक्रमले गजल वाचन गरेका थिए ।
कार्यक्रमका सभापति आचार्यले मोतीरामले नेपाली साहित्यमा धेरै महत्वपूर्ण योगदान दिएको र आजको यस कार्यक्रम मोतीरामप्रति श्रद्धाञ्जली अर्पण गर्न विशेष गजल कार्यक्रमको आयोजना गरेको विचार व्यक्त गर्दै कार्यक्रममा उपस्थित सबैलाई हार्दिक धन्यवाद ज्ञापन गरिन् ।
कार्यक्रमलाई अनेसास नेपाल लुम्बिनी प्रदेशको सचिव कल्पना खरेलले सञ्चालन गरेकी थिइन् ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)




समाचार सम्प्रेशन गरिदिएकोमा धन्यवाद । मोतीराम भट्टप्रति भावपूर्ण श्रद्दाञ्जली ।