
चार सयको ज्याकेट नौ सयमा
लघुकथाः नौ सय
हरिप्रसाद गौतम
अरू ग्राहकले खुरुखुरु पाँच सय तिरेर लिने गरेको पातलो ज्याकेटलाई ‘चार सय पचासमा मिलाउनू है, भित्रपट्टि राम्ररी फिनिसिङ भएको पनि रहेनछ’ भन्दै एक जना अधबैंसे ग्राहकले निकै बेरसम्म किचकिच गरेको सुनेपछि मलाई अलि असह्य भयो ।
हाम्रो पसलमा पातला ज्याकेट सेलमा राखेर बेच्ने जिम्मा मैले कान्छी बहिनी निरुलाई सुम्पेको थिएँ । त्यो ग्राहकले मोलतोल गर्न थालेपछि मैले दुईटा पाइन्ट र एकजोर जुत्ता पनि बेचिसकेँ तर ऊ अझै किचकिच गरेको ग-यै थियो । बहिनीले उसलाई ‘भैगो नकिन्ने हो भने अन्तै जानोस्’ भन्दा पनि ऊ त्यही ज्याकेटमा गढेको देखेपछि ग्राहकको मनोविज्ञान बुझेर मैले नयाँ चाल चल्ने विचार गरेँ ।
म भएतर्फ भिड कम हुनासाथ म बहिनी भएको ठाउँमा पुगेँ । ग्राहकले चारसय पचासको रटान छाडेकै थिएन । मसँग पनि उही मूल्य दोहो-याउँदै भन्यो, ‘साहुजी ! प्लिज चार सय पचासमा मान्नोस् न है ।’ मैले उसको शिरदेखि पाउसम्म फेरि हेरेँ । उसको घडी र मोबाइल हेरेँ । तिर्न नसक्ने हो भने त पापै लाग्छ भनेर राम्ररी नियालेँ । उसले चार सय पचास होइन, त्यसको दोब्बर नौ सय नै हाल्न सक्छ भन्ने अडकल गरेर बोलेँ, ‘होइन हजुर यो पिस त अर्को प्याकेटबाट मिसिएछ, यसलाई त हजारभन्दा कम मूल्यमा दिन मिल्दैन, ठिकै छ बरू तपाईंलाई नौसय पचाससम्म गर्न मिल्छ भन्दै मैले त्यसलाई पट्याएर अलि पर सारेँ । ग्राहक ट्वाँ प-यो । अघि नै पाँच सय तिरेर लगेको भए हुने रहेछ भन्ने उसलाई लाग्यो । मैले उसलाई ‘अरू कुनै लैजाने भए हुन्छ नि चार सय पचासमै छानीछानी जुन लगे पनि हुन्छ भनेँ’ र वास्ता नगरेझैँ गर्न थालेँ । उसलाई त्यही मन परेको छ भन्ने मलाई थाहा थियो ।
उसले फेरि अनुरोध ग-यो । मैले नौ सय पचास भनेँ । अरू ग्राहक छिर्दै थिए । उसले चुपचाप नौ सय निकाल्यो । मैले अझ पचास थप्नु न भन्दै अघि पर सारेको त्यही चार सय पचासवाला ज्याकेट प्याकिङ गरिदिएँ । उसले नौ सय मात्रै छ भन्दै अलि पेल्न खोजेझैँ ग-यो । मैले नमानेजस्तो गरेँ । ऊ हाँस्दै पोको बोकेर गयो । म गदगद हुँदै ‘फेरि फेरि पनि आउनू ल दाजु’ भन्दै अर्को काउन्टरमा गएँ । बहिनी विचरा हेरेकोहे-यै भई ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



