
चिन्ताले चितालाई भन्दो हो, ‘तैंले त मरेको मान्छे मात्र जलाउँछस्’
सुप्रिया खनाल
जब उमेर बड्दै गयो अनि बुझ्दै गइयो जिन्दगी त पिडा नै पिडाको संग्राहालय पो रहेछ । यहाँ त कयौं खुसीहरूलाई पिडाभित्र कैद गर्नुपर्ने रहेछ । बन्द कोठाभित्र खुल्मखुल्ला अनवरत रुपमा झरेका आँशुहरुलाई घामको सुनौलो किरणसँगै ओठको मुस्कानको सहायतामा लुकाउनु पर्ने रहेछ ।
कहिलेकाँही यस्तो लाग्छ, भगवानले मुस्काउनको लागि ओठ त सबैलाई दिए तर मुस्काउने अधिकार भने कोही कोहीलाई मात्र । सोच्ने गर्थें, पहिला पहिला मान्छे किन मर्छन् होला ? आत्महत्या किन गर्छन होला ? जब पिडा र संघर्ष के हो बुझ्न थालेँ, तब थाहाँ भयो जब हरेक बाटाहरूमा अन्धकार छाउँछन्, तब विकल्प भनेकै आत्महत्या हुँदो रहेछ । अरूले देखे जस्तो सजिलो हुन्न यहाँ कसैको जिन्दगी पनि । बडो मुश्किल हुन्छ याँ मरिसकेको मनलाई जिउँदो शरीरसँग तालमेल मिलाउन पनि । मनभरी भरिएका पिडाहरू । ओठमा झुटो मुस्कान । परिवारको जिम्मेवारी अनि ओझेलमा परेको आफ्नो भविष्य । यसको चिन्ताले त मान्छेलाई चिताको बाटो रोज्न बाध्य गराउँछ । चिता र चिन्ताको घमासान लडाईंमा चिन्ताले चितालाई बडो धाक लगाउँदै भन्दो हो, के फुर्ती लगाउँछस् यार, तैंले त मरेको मान्छे मात्र जलाउँछस्, म त जिउँदोलाई पनि मर्नु न बाँच्नु बनाएर जलाइदिन्छु।
यहाँ कोही आफ्नो हुँदैन । हरेक पल आफ्नो साथमा हुने र इमान्दारीपूर्वक आफ्नो कर्तव्य निभाउने भनेको त पिडाले मात्र हो । सुख र खुसी छउञ्जेल साथ रहेका नाटक देखाउनेहरु भोलि सानो मद्दत गर्नुपर्यो भने मुख मोडेर जाने गर्दछन् । हुन त एउटा रूखको महत्त्व पनि शीतल छहारी दिन सकुन्जेल मात्र हो । खडेरीमा पात झरोस् त मात्र, मान्छेले गिँडेर दाउरा बनाएर अंगेनोमा लगेर झोस्छन् ।
पिडा जिन्दगीको एक अमूल्य पाटो हो भने हाम्रो जीवनमा आउने खुसीहरू पारिजातका फूलजस्तै । मध्यरातमा फुल्छन्, सुगन्ध छाउँछन् अनि उज्यालोको मुख देख्न नपाउँदै झर्छन् र ओइलिएर जान्छन् । त्यसैले सानो सानो कुरामा चित्त बुझाउन सिक्नुपर्छ यो सोचेर कि संसारका सबै खुसीहरू हाम्रो लागि बनेका हुँदैनन् ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

