
त्यसरी सुरु भएको थियो नेपाल टेलिभिजनमा कृषि कार्यक्रम
सम्झना
अर्जुन बिष्ट
भोलामान सिंह बस्नेत नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र म (अर्जुन बिष्ट) कृषि विकास बैंकमा क्रमशः प्रमुख जनसञ्चार अधिकृत र प्रवक्ताको जिम्मेवारीमा थियौं । नेपाल टेलिभिजनबाट नियमित कृषि कार्यक्रम कसरी प्रारम्भ गर्न सकिन्छ भनेर उहाँ सल्लाहका लागि मेरो रामशाहपथस्थित कार्यालयमा आउनु भएको थियो । त्यही समय उहाँले फिलिपिन्सस्थित अन्तर्राष्ट्रिय धान अनुसन्धान विकास केन्द्र इरीबाट प्रकाशित तथा उहाँले नेपाली भाषामा अनुवाद गर्नुभएको पुस्तक मलाई सप्रेम उपहार दिनुभएको स्मरण ताजै छ ।
सूर्यनाथ उपाध्याय कृषि मन्त्रालयको तत्कालीन कृषि सचिवको जिम्मेवारीमा हुनुहुन्थ्यो । कृषि सचिवले यो कार्यक्रम कसरी दिगो रुपमा सञ्चालन गर्न सकिन्छ एउटा खाका वा मोडालिटी तयार गर्न भोलामान सिंह बस्नेतलाई अह्राउनु भएकाले उहाँ मेरो कार्यालयमा आउनु भएको रहेछ ।
प्रारम्भमा यो कार्यक्रम कृषि मन्त्रालय (नेपथ्यमा नार्क), नेपाल टेलिभिजन र कृषि विकास बैंकको संयुक्त सहयोगमा सञ्चालन गर्ने हामीबीच प्रारम्भिक छलफल भयो । नेपाल टेलिभिजनले प्रसारण निःशुल्क गरिदिने, विषय विज्ञहरु अन्तवार्ताका लागि आमन्त्रण गरिंदा उहाँहरुको पारिश्रमिक र कार्यक्रम रेकर्डमा संलग्न नेटिभीका प्राविधिक र कार्यक्रम सञ्चालक (होष्ट) लाई यातायात खर्च कृषि मन्त्रालय र कृषि विकास बैंकबाट संयुक्त रुपमा व्यहोर्ने निष्कर्ष हामीले निकाल्यौं । त्यही मोडालिटी अनुसार नार्कको सभाकक्षमा तत्कालीन कृषि सचिव श्री उपाध्यायको अध्यक्षतामा बसेको पहिलो बैठकमा कृषि मन्त्रालय अन्तर्गतका पदाधिकारीहरु यो कार्यक्रम सञ्चालन गर्न कठिन छ भन्ने जिकिर गरिरहंदा कृषि सचिव श्री उपाध्यायले सचिव पदमा मेरो कार्यकाल तीन महिनामात्र बाँकी छ, जसरी हुन्छ यही हप्ताबाट मेरो कार्यकालमै इतिहास रच्नेगरी कार्यक्रम सञ्चालन शुरु हुन्छ, यसको लागि त्रिपक्षीय एमओयू तयार गर्ने निर्णय माइन्यूटमा लेख्ने आदेश दिनु भएपछि कृषि कार्यक्रम प्रारम्भमा साप्ताहिक रुपमा प्रसारण आरम्भ भएको थियो । कृषि विकास बैंकलाई भने एक महिनामा दुईवटा कृषि कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी दिइएको थियो । कृषि विकास बैंकका तर्फबाट कृषि विकासका लागि आवश्यक पर्ने वित्तीय स्रोत साधन, अनुदान र तिनका सर्वसुलभतामा किसान वा उद्यमीहरुको पहुँच कसरी पुर्याउन सकिन्छ भनेर सामाग्रीहरु तयार गर्ने मेरो जिम्मेवारीभित्रका विषय थिए । सरकारले हरेक वर्ष बार्षिक बजेटमार्फत ल्याउने कृषि सम्बन्धी प्राथमिकता प्राप्त कार्यक्रमहरुलाई लक्षित गरी कृषि बैंकले पनि हरेक वर्ष बैंकको वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा गर्ने परम्परा नै थियो । यही क्रममा पंक्तिकारले झण्डै ४ वर्ष कृषि कार्यक्रम तयार तथा प्रसारणको जिम्मेवारी पूरा गरेको थियो ।
विगत ४ वर्षदेखि पुनः उहाँ र म नेपालका प्रथम वनस्पतिविद् प्रयागराज पाण्डे प्रतिष्ठानमा आवद्ध हुँदा उहाँ र हामीबीच बाक्लै भेटघाट हुन्थ्यो । २०७८ साउन ३० गते शनिवार उहाँको अकल्पनीय अवसानले नेपालको समष्टिगत कृषि क्षेत्रका लागि एक अपूर्णनीय क्षति हुन पुगेको छ । उहाँको दिवंगत् आत्माप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।
अलविदा भोलामान सर ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



