भाइरसको डरले लठ्ठीलाई सर्प देखिरहेँ

सिर्जना शर्मा

सन् १९९४ ताकाको कुरो । म स्वास्थ्य मन्त्रालय अन्तरगतको परिवार स्वास्थ्य माहाशाखामा संचार अधिकृतको रुपमा कार्यरत थिएँ । नारी चेतना केन्द्रको संस्थापक सदस्य समेत भएका नाताले उक्त संस्थाले ओखलढुङ्गामा गर्न लागेको महिला विकास तालिममा प्रतिभा सुवेदीले सहजिकरणका लागी निम्ताएपछि खुसीले गद्गद् भएँ । कारण कवि सिद्धिचरण श्रेष्ठको ‘मेरा प्यारो ओखलढुङ्गा’ पुग्न पाउने रहर यसै निँहुमा पुरा हुने भयो भनेर ।

उडेको आधा घन्टापछि जहाज अवतरण हुने बेला भो भनी साथी प्रतिभा र म कुरा गर्दै थियौँ । तर त्यो त बाक्लो कुहिरोमा पो पस्यो न कतै केही देखिनु छ, न अवतरण हुने कुरोको जानकारी । यात्रुहरु ससंकित मुद्रामा गाँईगुँई गर्न थाले । विमान परिचारिका ‘मौसमको खराबीले….’ भन्दै माइकबाट जानकारी दिन थालिन् । हामी आत्तियौँ । सन्तानप्रति आमाबाबु दुबैको जिम्मेवारी बरोवरी हो । तर, आमाहरु सन्तानको सुन्दर भविष्यका लागी समेत आफू जिम्मेवार तथा शशक्त हुन चाहन्छन् । हामी दुबैका सन्तानहरु कलिलो उमेरका थिए । आफ्नो अवसान हुने डर भन्दा पनि छोराछोरीले आमा सदाका लागि गुमाउने हुन कि भन्ने सोचले छटपटी गरायो । यो क्षण बाँचिहाले त बच्चा नहुर्की कतै जान्न भन्ने सोच पनि हामी दुबैको मनमा आयो । १०, १२ मिनटको कहालिलाग्दो उडानपछि जहाज रुम्जाटार विमानस्थलमा सकुशल अवतरण भयो । ढुक्कको लामो स्वास फेर्दै हामी बासको लागि यूनाइटेड मिसनको गेष्टहाउसतर्फ लाग्यौँ ।

भोलीपल्ट तालिम शुरु भो । टाढाटाढा गाउँबाट सहभागी हुन आएका महिलाहरुको हर्षको सिमानै थिएन् । साँझ उनीहरुले आफ्ना जीवन र संघर्षका कुरा पनि सनाए । दुर्गम जिल्लाको अति दुर्गमगाउँ र त्यहाँ जीवन बिताइरहेका महिलाको कथाव्यथा मन रुवाउने थियो । यो लेखनमा भने उनीहरुका आँसुको टिपोट हैन, नारी मनोबलका उतारचढावबारे एउटा रोचक प्रसंग लेखेकी छु ।

सन् १९८६ तिरबाट एचआइभी भाइरसका बारे रेडियोमा खबर जानकारी आउन थालेको थियो । आमसन्चारका माध्यम औँलामा गन्न मिल्ने थिए । टिभी सिमित व्यक्तिको घरमा मात्र हुन्थ्यो । एफमए, अनलाइन् तथा अन्य सामाजिक सन्जालको शुरुवात भएकै थिएन् । रेडियो नेपलबाट सार्वजनानिय सूचना सन्देस प्रसार हुन्थ्यो । तर एउटा रेडियो च्यानल सुनेर नयाँ विषयको पर्याप्त जानकारी सहजै कति पाउनु ? एचआइभीको नामै सुन्दा डराउँथे मानिसहरु ।

तालिमका बेला साँझको खान खाएपछि सहभागीसँग एकछिन नाचगान, रमाइलो तथा दःुखसुखका कुरा हुन्थ्योे । एक साँझ भने एउटा अनौठौ कुरा सुनाइन् एक सहभागील,े ‘…मेडम् काठमाडौँबाट पाहुँना आछन् नि, एउटीलाई त एड्स लाग्या छरे ।’ त्यो महिला बारे थपथाप कुरा पनि सुनाइन् उनले । …एडस् अनि आफूहरु बसेकै गेष्टहाउस्मा संक्रमित । सहभागी प्रायले त एचआइभीबारे केही सुनेकै रहेनछन् । एउटीले भने अनुहार कचाककुचुक पार्दै लामो जिब्रो टोकिन् ।

सुत्न कोठामा गएपछि प्रतिभा र मबीच संक्रमित महिलाको विषयमा कुराकानी हुन थाल्यो, ‘के होला त त्यो कुरा सिर्जना ? एड्स लागेको व्यक्तिको आयू त धेरै हुन्न । काठमाडौँकी महिला यहाँ किन आएकी होला फेरि?’

‘…मन गणन्ते कुरा हो यो’, मैले जवाफ दिएँ । फेरि आफैले भनेँ, ‘काठमाडौँमै हुँदा एउटीलाई एचआइभी पोजेटिभ आएपछि बेपत्ता छ भन्ने हल्ला मैले नि सुनेकी हुँ । उही महिला पो हो कि यो ?…मन शान्त पार्न यताउती हिँडेको पनि हुन सक्छ ।’

‘खैइइइ । अर्काको कुरा कसरी बुझ्नु ?’, प्रतिभाले अलमल्लमा लामो स्वास फेरिन् ।

भोलिपल्टको हाम्रो यात्राको तरखर राँगादीप गाविस जाने थियो । यात्रामा हिड्यौँ । ओहोऽऽ नजिकैको पल्लो गाउँ भए पनि भिरालो बाटो । हिँडनै गाह्रै भो । अघि बढ्नु पर्ने गोडा सर्र्र् चिप्लिएर तल पुग्न थालेपछि हाँसोमजाक चर्कै भो । अनि साथमा हिँडेकी एक सहभागी झमकुमारीले प्रतिभाको हात समाएर बल्लबल्ल उकालो चढाइन् । मलाई भने कसैले एउटा दरो टेक्ने लौरो दिएका थिए । लौरो टेक्दै बिस्तार उकालो लागेँ । गाउँमा पुगेपछि हाँडीमा भुटेको मकै खादै महिलाहरुसँग छोटो समयका लागि भए पनि बात मार्न थालेपछि मन सेक्सपियरको सुन्दर नाटक रेडियोमा सुने झैँ आनन्दमा डुब्यो ।

अघिको उकालो बाटो फर्कने क्रममा ओरालो भीर भयो । ओर्लन झनै कठिन । टेक्दा गोडा सर्र्र् तल बग्थे । चिप्लिहाले गर्लाम गुर्लुम मुन्टो भाँच्दै फेदीमा पुगिने डर । यस पटक प्रतिभा पनि लौरोकै साहाराले ओर्लिन् । आफ्नो त अघिकै लौरो जतन साथ राखेकी थिएँ । बल्लबल्ल बस्दै घिस्रिदै पुग्यौँ फेदीमा । फेदी पुगेपछि हामीसंगै हिँडेकी एक महिलाले भनिन्, ‘यो लौरो लक्षिनको रछ । हिजोको मेडम पनि यही लौरो लिएर गाउँ पुग्नु भाथ्यो अरे’, उनले लौरौ समाएर तलदेखि माथिसम्म हेर्दै भनिन् ।

देवकुमारी नामकी ती महिलाको कुराले मलाई कसैले अनुहारमा तातो पानी छर्के जस्तो भो । ‘लौन त्यो एडस् संक्रमित भनिएकी महिलाले पनि यही लौरो बोकेकी थिई … ?’, मेरो हात सक्ककायो । मन डरायो । ‘यो भाइरस त अहिलेसम्मकै खतरनाक हो रे । …मलाई एचआइभी स¥यो भने के गरुँला ?’, त्यसदिन पटकपटक मैले लठ्ठीलाई सर्प देखिरहेँ । तालिम सकेपछि हामी कोठामा गयौँ । प्रतिभा र मेरो बीच एचआइभी संक्रमीतले बोकेको यही लौरो र संक्रमण सरीहाले पछिको परिणामका विषयमा आधारात बढी हाँसोमजाक मात्र हैन, सोकसुर्ता पनि चलिरह्यो । हामी निक्कै अवेर निदायौँ । महिलाको मनोबलको एउटा नमुना घटना हो योे । त्यो बेला छोरी बुहारीलाई परिवार तथा समाजले हरकुरामा डराउनु पर्छ भन्ने शिक्षा दिएको हुन्थ्यो । अहिले यो कुरा सम्झँदा हामी पेट मिचिमिची हाँस्छौँ ।

२५ वर्षपछि एचआइभी भन्दा निक्कै खतरनाक कोभिड भाइरस चीन हुँदै विश्वमा फैलिएकोे छ । तर, मानिसहरु त्यो बेलामा जस्तो अनावश्यक त्रास र निरास भएका छैनन् । मनोबलको जरो ज्ञान हो । महिला वा पुरुष कसैकोे मनोबल कमजोर हुनुको कारण सम्बन्धित विषयको पर्याप्त ज्ञान नहुनु हो । आधारभूत ज्ञान भएपछि व्यक्तिमा आत्मबल बढछ । अहिलेको समयमा राज्य तथा नीजी क्षेत्रबाट मिडियाको व्यापकता यति विशाल भएको छ कि कुनै पनि विषय चर्चामा आउनुसाथ त्यो क्षणभरमै सर्वत्र पुगिहाल्छ । यसो हुँदा मानिसहरु समस्यासँग आत्तिने हैन स्वतहः सतर्क हुन र जुध्न थाल्छन् । अहिले महिला स्वास्थ्यकर्मी तथा स्वयंसेविकाहरु कोभिडको रोकथाम र उपचारमा कत्ति पनि नहिचकिचाई दिनरात खटिएका छन् । उच्च मनोबलका साथ सेवा प्रदान गरी उनीहरुले लाखौँको ज्यान बचाएका छन् ।

नारी मनोबलको नाडी छाम्न उनीहरुको लगनशीलताको उदाहरण काफी छ ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button