झ्याल बन्द नगरे म कसरी खुशी हुनसक्छु ?

खुशी कुन चरीको नाम हो ?

सुमित्रा श्रेष्ठ

अपरिचितको फोन आयो । आवश्यक पर्नेले त गर्छन् नि । अहिलेको दुनियाँमा कसलाई फुर्सद काम नभई फोन गर्न ? सकारात्मक सोचाइले फोन उठाएँ ।

एक युवाको फोन रहेछ, ‘हजुरको सेन्टर बन्द छ त ? कतिबजे खुल्छ ?’

‘अँ बाहिर छु । १ बजे अफिस पुग्न सक्नुहुन्छ भने म अफिस हुन्छु ।’

‘हस्’ भन्दै उसले फोन काट्यो ।

१ बजे अफिस पुग्दा उसलाई गेटमा भेटेँ । ऊ मेरो पछिपछि आयो । परिचयपछि सेसन अघि बढ्न खोज्यो । तर, उसको अनुहार सुस्तरी रातो बन्दै गयो ।

सोधेँ, ‘पानी पिउनु हुन्छ ?’

‘पिउँछु ।’

उसले पानी पियो । टाउको निहुराएर रोएजस्तो लाग्यो ।

‘टिशु चाहियो भने लिनुहोस् । चिन्ता गर्नु पर्दैन । तपाईलाई सजिलो हुन्छ भने मात्र मनको कुरा बताउन सक्नुहुन्छ । तपाईको कुरा यहाँ सेक्रेट हुन्छ । जब मनको कुरा शेयर गर्न सक्नुहुन्छ अनि मात्र म सहयोग गर्न सकुला । टेक इट इजी ।’

उसलाई टाउको उठाउन टाइम लाग्यो । अनि सुस्तरी अफिसको झ्याल बन्द गर्न भन्यो । म झसङ्ग भएँ । यो त मेरो लागि पहिलो च्यालेन्ज थियो ।

‘किन लगाउने ? आजसम्म यसरी नै चलेको छ। निस्फिक्री रहन सक्नुहुन्छ । यहाँको कुरा बाहिर जाँदैन’, मैले भने ।

उसले रिसाए जसरी भन्यो, ‘नत्र म कसरी खुसी रहन सक्छु ?’

असहज लागे पनि म भने उसलाई कसरी सहयोग गर्न सकुँला भन्नेमा नै थिएँ । मैले फेरि पनि ‘म र उसको सम्बन्ध क्लाइन्ट र मनोविमर्शकर्ता भएको’ जानकारी गराएँ ।

सायद उसको मनले केही सोचेजस्तै मैले महसुस गरेँ । फेरि उसलाई बुझ्ने कोशिश गर्दे भनेँ, ‘म तपाईंलाई बुझ्न सक्छु, तपाईं के चाहनुहुन्छ । मेरो काम मात्र परामर्श हो, तपाईं के चाहनहुन्छ परामर्श कि अरु केही ?’

ऊ थुचुकक बस्यो । ऊ असहज अवस्थामा रहिरहेको उसको बड़ी र अनुहारमा प्रस्ट पढ्न सकिन्थ्यो । रिस त मलाई नि उठेको थियो तर आफ्नो कर्तव्य सम्झेर उसलाई फेरि सोधेँ, ‘के चाहुनुहुन्छ ? तपाईंको मनको असजिलोबाट छुटकारा वा अरु केही ?’

‘सरी म्याम, म अरु कुनै कुरा खोजिरहेछु, जुन म भन्न सक्दिनँ ।’

उसले लामो सास तान्यो अनि मैले नि लामो सास तानेँ । धेरैबेर रूम शुन्य रह्यो । मैले उसको हाउभाउ पढ्ने कोशिश गरिरहेँ ।

ऊ अलि कुल देखियो । अर्को प्रश्न तेर्साएँ, ‘तपाईं यहाँ आउनु भएको उद्धेश्य पूरा भयो त ? अब त मसँग १० मिनट मात्र छ तपाईंलाई दिन । अनि तपाईंलाई थाहा छ नि म मेरो सेन्टरबाट सेवा दिए बापत फी पनि लिने गर्छु ?’

उसले लामो सास तान्यो र सुस्तरी भन्यो, ‘म खुशी चाहन्छु म्याडम ।’

मैले फेरि सोधेँ, ‘विगतका दिनमा तपाईलाई के के गर्दा खुसी लागेको थियो ? धेरै कुरा छन् आमाको माया पाउँदा, परिवारसँग हाँसी खुसी बस्न पाउँदा, पार्टनरसँग सेक्स गर्दा, कराते खेल्दा, बाउसँग झगडा गर्दा, फुटबल टिममा हाम्रो जीत हुँदा … ।’

‘तर म्याडम अझ पनि थाहा छैन खुसी कुन चरीको नाम हो ?’

अर्को क्लाइन्ट आइसकेको र ऊसँगको समय सिद्धिएको जानकारी दिएर मैले सोधेँ, ‘अहिले तपाईंलाई कस्तो भइरहेछ ?’

थोरै टाउको सिधा गर्दै भन्यो, ‘भारी शरीर अलि हल्का हो कि ?’

‘अरु … ?’ फेरि मैले थपेँ ।

‘खै, अहिले यो भन्दा भन्न सकिनँ’, उसले भन्यो।

‘के फेरि मन हल्का गर्न आउनु पर्ला त ?’

‘आउँछु’ भन्ने उत्तर आएपछि ‘के डायरी लेख्ने गर्नु हुन्छ’. एकपटक फेरि सोधेँ ।

‘अँह … स्कूल पढ्दा लेख्थेँ । अब त पुरै आवारा’, उसले भन्यो ।

‘तपाईंलाई मन पर्ने र मन नपर्ने कुराको बारेमा कुरा गरौंला अर्को हप्ता हुन्छ ? तर यसको लिस्ट तपाईसँग हुनुपर्छ’, अन्तिममा त्यति भन्दै उसलाई बिदा गरेँ । ऊ भने ‘सरी म्याम’ भन्दै बाहिरियो ।

मेरो दिमागमा भने उसको खुसी कुन चरीको नाम हो भन्ने आइरह्यो ।

वास्तवमा प्रत्येकको मन मनमा खुशी के हो ? कहाँ पाउने ? भन्ने प्रश्न आइरहेको हुनुपर्छ ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button