
ए नवराज लम्साल, तँ लेख्नैका लागि लेख्छस् कि देखेकै सत्य लेख्छस् ?
'अग्नि' आउँदैछ । तर, यहाँ 'धरा'कै कुरो । साँच्चै भन्ने हो भने कुरोको चुरो ।
सत्तरी वर्षपछि महाकाव्य युगको पुनर्जन्म
प्रा.डा. मोहनप्रसाद तिमल्सिना
‘पहिलो माटो दोस्रो आमा
संस्कृतिको काख तेस्रो
चौथो म हुँ पाचौँ मेरो
जिन्दगीको परिवेश हो ।’
धराको सूत्र वाक्य हो यो । यस हरफमा २०३६ सालमा वीपीले कुनै कुरामा द्विविधा भए माटो मुठीमा राखेर माटोलाई सोध भनेझैँ माटोलाई जीवनकै प्रथम शर्त बनाएका छन् लम्सालले । धरा डा. नवराज लम्सालको दोस्रो महाकाव्य हो । यसअघि कर्णमार्फत उनले सुरु गरेको उनको महाकाव्य यात्राको यो दोस्रो मोड हो । देश, प्रकृति, संस्कृति, इतिहास र भूगोलको बुट्टा कुँदेर उनले धरा सिँगारेका छन् । देशको बहुलता, जातजाति र पहिचानको विशाल रूपलाई संश्लेषित गरेर कलाको वान्कीले काव्यमय गहिराइमा उचाइ चुमेका छन् उनले । गद्य र पद्य दुवै बाटो उनको सहज देखिन्छ र उनको लेखनयात्रामा उनको ज्ञानको गहिराइ र अनुभवका आधार मिसिएका छन् । वास्तवमा यो नेपाली काव्यजगत्ले प्राप्त गरेको महान् उपलब्धी हो ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाबाट सुरु भएको आधुनिक नेपाली महाकाव्यको मूलधारको सशक्त प्रतिनिधि हो धरा । शाकुन्तल तथा सुलोचनापछि नेपाली साहित्यले लिएको मूलबाटो त्यही बाटोमा हिँडिरह्यो । तत्कालीन आन्दोलनको राजनैतिक चेतनालाई काव्यिक सम्वोधन गर्न उनले कर्ण लेखे । कर्ण सीमान्तकृत पात्र हो र उसको नायकत्व महाभारतमा पनि स्वीकारिएको छैन । वेदव्यासले नदेखेको कर्णभित्रको कर्णत्व उनको गणतान्त्रिक चेतनाले दिएको उपज हो । कक्षा दश पढ्दै २०४२ मा जेल पुगेका लम्सालको राजनैतिक चेतना पनि उच्च छ । कर्ण नयाँ युगको त्यही नयाँ चेतनाको प्रतिफल होे । नेपाली विद्वत् जमाजले नवराज लम्साललाई त्यहाँ सही ढङ्गले बोध गरेन र धरा महाकाव्य पनि सायद् कमैले पढे । नवराजमाथि एकप्रकारले अन्याय भएको कटुसत्य हो तर त्यो उनका लागि मात्र होइन नेपाली साहित्य जमातले महाकाव्य लेखनमाथि गरेको बेवास्ता पनि हो । यसले तत्कालीन नवराजलाई केही घाटा देखिएला तर समग्रमा नेपाली साहित्यमाथिकै कमजोर आँकलन सावित हुनेछ र इतिहासले वर्तमानका साहित्यिक आचार्यलाई कुरीकुरी गरिरहने छ । उनी भन्छन् –
तँ शिव हुन सक्तैनस् पिए पनि हलाहल
परन्तु बाँच्नुपर्ने छ विष पिएर कल्कल ।
देवकोटाले स्वच्छन्दतावादको बेजोड नमुना र चिन्तनको उत्कर्ष दिएपछि काव्यको त्यो उचाइ कसैले भेटेन । नरसिँह अवतारलाई छाड्ने हो भने यो लामो युगको महाकाव्य लेखन गर्व गर्न लायक छैन । विचार, वाद र राज्यसत्ताको छायामा हुर्केकाहरुको कथा बेग्लै हो तर काव्यकै चेतमा काव्य हेर्ने दिन आउँदा समालोचनाकै नयाँ भाष्य लेखिने छ र नयाँ पुस्ताले नयाँ ढङ्गले बोध गर्ने छ । मेरो प्राध्यापन जीवनको चार दशक र यी दिनमा मैले क्याम्पसको कक्षा कोठामा देवाकोटा र विशेषतः महाकाव्य पढाउँदै आएको सापेक्षतामा एउटा कुरा भन्नैपर्छ देवकोटाको जोडदार प्रशंसा गर्नेहरूले नै खास अर्थमा देवकोटा पढेकै छैन, बुझेकै छैन । नवराजलाई पढेनन् र बुझेनन् भनेर किन प्रलाप गर्नु ? नवराज स्वयंले यो कुरा बुझ्न जरुरी छ कि उनी गहिरो यात्रामा छन् । ढोडको आगो बलेको जमानामा अग्राख बाल्न खोज्नेले प्रतीक्षा गर्नैपर्छ । शालीन उद्घोषण र वस्तुनिष्ठ कार्यक्रम सञ्चलक लम्साल रेडियो नेपालको मात्र मानक होइन, बीबीसी नेपाली सेवालाई समेत कलाको नयाँ बिट दिने मान्छे हो । अचेल उनका भाषण र रेडियो÷टिभी अन्तर्वार्तामा उनले दिएको आक्रामक भाषणको पनि जरुरत छैन । उनी बोल्ने होइन, बोल्ने समालोचकले हो । आजको समालोचक बेलेनन् भने पनि भोलिको इतिहासले न्याय गर्छ । यो सत्य हो । नवराजलाई उनको स्वभाव अनुरुपको शालीनता नै सुहाउँछ ।

देवकोटा नेपाली राष्ट्रियता र पौरस्त्य वाङ्मयका बेजोड गाथागायक हुन् । लेखनाथ पौडेल अध्यात्मका कवितात्मक उचाइ हुन् र माधव घिमिरे कलाका उपल्लो साधक हुन् । धराका हरफमा कतै देवकोटाको जस्तै स्वच्छन्दता पाइन्छ त कतै पौडेलको जस्तै अध्यात्म चिन्तन । छन्द कवितामा लम्सालको बगाइ घिमिरेको उत्तराधिकारी भएर कुँदिएको छ । सर्गैपिच्छे शीर्षक दिइएको धरामा अन्योल, प्रज्ञा, को हौ के हो तिम्रो परिचय, वसन्तपुर, म अस्मिता, देशले के दियो ? देश खेज्न कहाँ जाऊँ ? जस्ता शीर्षकका कविता स्वच्छन्दतावादको पराकाष्ठा हो भने चित्तचौतारोको कल्पना, गीताको पराअपरा, आभामण्डलभित्रको मको खोजी र अन्तर उज्यालो पौडेलको चिन्तनको धाराको अर्को प्रवाह हो । समयले कहिलेकाहीँ नपत्याउँदो मान्छे जन्माउँछ र उसलाई चिन्न समय लाग्छ । लम्साल समयले चिन्न नसक्ने गरी धरामा देखा परेका छन् । स्वयं हिमाल, पहाड र मधेश पात्र छन् । धेरै जातजातिको कुरा छ । तिनको संस्कृति छ र उनले भूगोलको रेखारेखा छोएका छन् ।
एकै देश अनेक जात थरमा राई र लिम्बू म हुँ
साँच्चै धीर धिमाल वीर बलियो कोचे र मेचे म हुँ
राज्यै छैन र राजवंश भनिने त्यै राजवंशी म हुँ
गन्गाई र सतार पूर्वतिरका पूर्वीय थारू म हुँ ।
…
चण्डी पालम गाउँदै रस भरेँ कोशी तरेँ पश्चिम
सेतो सोलु पुगेँ र सेब्रु धुनमा चाखेँ हिमाली रङ
तोङ्बा तान्न र टोक्न टक्क सुकुटी कैले सिकेँ खै कुनि
सल्लेरी हिउँ फाँटमा सगरको माथा उभेको मुनि ।
पहाडी भूगोलबाट उठेको एउटा ब्रह्मणपुत्रले तराईलाई कसरी बुझेको छ ? यो ठूलो सत्य हो । यही हो राष्ट्रियता बाँध्ने सूत्र । उनले लेखेका छन् –
भन्छन् मध्य मधेस वा सुनखलो सम्मो तराई म हुँ
ऊर्जा उब्जन उब्जनी जनकको राज्यस्थली राज हुँ
बत्ती झल्मल झर्झरा छ झिझिया फाँटै खुलेको कति
मै हुँ त्यो मनमोह मोह मिथिला उस्का सयौँ संस्कृति ।
धरामा पूर्ण राजनैतिक छाया छ र समयको स्वर छ । प्रशस्त निराशा छन् तर आशाको लयमा । अबको बाटो भनेर उनले अन्त्यमा जे लेखेका छन् त्यो देशको निकासको मूलद्वार हो । आफूले आफैँलाई उनले प्रश्न गरेका छन् र देशको वेथितिमा आफ्नो जिम्मेवारी कति हो भनेर आफैँलाई प्रश्न गरेका छन् । यो उनको उत्तरदायित्वबोध हो र राज्य हाँक्नेहरूलाई ठूलो प्रहार हो ।
ए नवराज लम्साल
तँ कस्तो देश देख्दछस् ?
लेख्नैका लागि लेख्छस् कि
देखेकै सत्य लेख्दछस् ?
हामी फुत्त कतैबाट खसेका होइनौँ र लामो विरासतको शृङ्खला हौँ । पुर्खा बिर्सेर ममात्रै भन्नु बाउ बिर्सेर आफ्नो बयान गरेजस्तो हुन्छ भन्ने उनको तर्कले पूर्वको गुणग्राहितालाई स्वीकारेको छ । यो महान् कुरा हो । संस्कृत पृष्ठभूमिको अध्ययन र देशपरदेशको बोध तथा जिल्लाजिल्ला र गाउँगाउँ पुगेर उनले आर्जेको ज्ञानको छाया छ धरा महाकाव्यमा । यो लहडको खेती वा कवि हुन खोज्ने बेअर्थ रहर होइन । उनी प्रतिभाले नै कवि हुन् । सामथ्र्यले नै महाकाव्यकार हुन् ।
पूर्वमा महाकव्य हुन आवश्यक तत्वहरूको उनले मजासँग प्रयोग गरेका छन् । राष्ट्रिय झण्डा, आमा, प्रकृति र स्वप्नहरूको संयोजनमा उनले हिमाल, पहाड र तराईमधेशको जसरी बयान गरेका छन् त्यो उच्च कोटीको देशभक्ति हो । भावनामा बगेर मेरो देश भन्नु एउटा कुरा र वस्तुनिष्ठ भएर संस्कृतिको सापेक्षतामा देशभक्तिको गाथा गायन अर्को कुरो । उनले सही विश्लेषणको काव्यिक यात्रा गरेका छन् । झिझियादेखि सेब्रु र चण्डीदेखि पालम, देउडादेखि सुदूरका सबै सन्दर्भ, झ्याउरेदेखि कर्खा र लुम्बिनीको शान्तिमात्र होइन जातजातिको नामै लिएर आफैँ ती जाति भएको जुन तर्क छ त्यसले जात फटाएर राजनीति गर्नेहरूलाई थप्पड हानेको छ ।
क्षेत्री, बाहुन हुँ पुरोहित हुने, झाँक्री, थकाली म हुँ
गुम्बाका गुरुबा म हुँ गुरुङ हुँ शेर्पा र धामी म हुँ
…
लार्के मै हुँ किसान हुँ मगर हुँ माली हुँ घर्ती म हुँ
थारू पश्चिम दाङ वा धनगढी सौका र डोट्याल हुँ
गुप्ता, यादव, झा र राजपुत हुँ डोल्पो र ताङ्वे म हुँ
मै छन्त्याल कुमाल झाँगड दुरा बोटे र भोटे म हुँ ।
बेथिति र विभाजनको जग राजनीति हो । त्यसलाई उठाएर राजनीतिमाथि नै प्रहार गर्नु र सहिष्णुतापूर्ण एकताको मूल बाटोमा आउन आग्रह गर्नुको उनको ध्येयले सफलता प्राप्त गरेको छ । देवकोटाले सुरु गरेको नेपाली साहित्यमा राष्ट्रवादी चिन्तनको यो नयाँ क्षितिज हो । देवकोटा आज फेरि एक पटक फैलिएझैँ लाग्छ । करिब ७ दशकपछि त्यो भव्य विरासतको पुनर्गायन भएको छ । देवकोटाबाट लम्सालमा आउँदाका बीचका ७ दशकको अध्ययन नगरेकाहरूले त्यो पुस्ता जोडिएको यो महान् कर्म पटक्कै बुझ्दैन । नपढी लेख्न सकिन्न र लेख्न पनि कला सामथ्र्य चाहिन्छ । व्युत्पत्ति, अभ्यासभन्दा प्रतिभामाथि हुन्छ । यो प्रतिभाकै प्रमाण हो । प्रतिभाले माटो पुजेको यो शब्द आरती हो ।
साँचो हो –
वीरहरूको देश हो यो
स्वाभिमानी देशभक्तहरूको छाती हो यो
तातो रगतले सीमा कोरेर किल्लाहरूमा
इतिहास लेख्नेको कथा
पढ्नु पढ्यौँ र पढायौँ वीरता र बहादुरी
लेख्नु लेख्यौँ र देखायौँ संसारलाई
तर देशसँग केही माग्नुअघि यत्ति भनिदेऊ –
आज आफैँ
वीर र वैभवशाली हुने काम हामीले के के ग¥यौँ
देशकै छातीमा उभिएर यत्ति भन –
कति इन्च छाती दिएका छौ यो देश उभिन ?
वर्तमानको लेखनमा रस, अलङ्कार, रीति, वक्रोक्ति, छन्द र गुणहरूको यस प्रकारको प्रयोग सायद कमै होलान् । गद्य र पद्यको यो मिश्रण र ठाउँठाउँमा गीतको प्रयोग सुहाएको छ । जातजाति र तिनको पहिचान सहितको नाम प्रयोग गरेका पङ्तिहरूमा आएका रुपक अलङ्कारले पाठक हुरुक्क हुन्छन् । विषय एउटा कुरा हो शिल्प अर्को कुरा । विषयसँगै लम्सालसँग शिल्प पनि सशक्त भेटिन्छ । संस्कृत महाकाव्य परम्पराकै झल्को दिने तर आधुनिक चेतनाको यो मिश्रण नेपाली साहित्यको इतिहासले पाएको नयाँ उपहार हो । यो देवकोटा युगपछिकै उत्कृष्ट महाकाव्य हो । यसको सही मूल्याङ्कन र यसमाथि सही न्याय हुन पूर्वाग्रहले नभरिएको मस्तिष्क सहितको नयाँ पुस्ता चाहिन्छ । यत्ति चाहिँ ठोकेर भन्न सकिन्छ वर्तमानले नवराज लम्साल पढेन, धरा पढेन । कर्ण पनि पढेन । कर्ण लेखनको धार र धरा लेखनको धार फरक छ । दुई महाकाव्यमा दुई अवतार देख्न सकिन्छ र पुनर्लेखन छैन । यसरी केस्रा छुट्टिनुको दम लम्सालमा छ र यो नै लेखकीय समथ्र्यको सीमा र प्राप्ति हो । एकै भाव र एकै कुरामा पिठो पिँधेझैँ बीसौँ कविता पिँध्ने यो युगमा यी दुई महाकाव्यलाई दुई फरक चेतना तहमा नबुझ्नु कुनै नयाँ कुरा होइन, हुँदै होइन । तर समयले यसको मूल्याङ्कन गर्नैपर्छ । कर्ण वीर र करुण रस सँगै बगेको महाकाव्य हो भने धरा राष्ट्रभक्तिको मूल प्रवाहमा बगेको छ । पहिलो सर्गको विषय स्थापना र उनको अध्यात्म चिन्तन पढ्दा शाकुन्तलको पहिलो सर्गसँग दाँजेर हेर्न मन लाग्छ । उठान नै उचाइबाट छ र पङ्तिपङ्तिमा गीता, पुराण र वेदका ऋचाहरूका भाव प्रतिध्वनित भएको छ । एउटा सर्ग धादिङ शीर्षकमा छ र उनले जन्मथलोको मुक्तकण्ठले प्रशंसा गरेका छन् । झट्ट हेर्दा यो जिल्ला गायनजस्तो लाग्छ । त्यहाँ त्यहीँको भूगोल, प्रकृति र संवेदना छ तर गाउँबाट आफू उठेको र प्रकृतिको काखबाट सपनाहरु सजाउँदै सहर आएको कथ्य साथैमा छ । आज गाउँका सुदूर बस्तीबाट सहर पसेका र यहीँ पहिचान बनाएका सबैको कथा हो यो । उनले आफ्नै बालापन र बालसुलभ चाञ्चल्यको उद्बोधन मार्फत यात्रा प्रारम्भको सुखद छनक दिएका छन् । कालीदासको प्रकृतिप्रेममा रुसोको ब्याक टु नेचर मिसिएको मीठो संयोग हो यो ।

धराको अर्को मुख्य पक्ष देश आफैँ मान्छे भएको स्वैरकल्पना हो । देशले केही गरेन र केही दिएन भन्नेहरुको कुरा देश आफैँले सुने के भन्ला ? यही मूल प्रश्न धराको जग हो र उत्तर नै पूर्ण काव्य हो । देशले के दियो र देश खोज्न कहाँ जाऊँ भन्ने दुई शीर्षक मात्रले पनि उनको प्रश्नको जवाफ उनैलाई दिएको छ । राजधानी र काठमाडौँ दुई शीर्षक हुनुमा पनि काव्यिक रहस्य र संस्कृतिबोध छ । जनकपुर पहिले कि काठमाडौँ पहिले ? किन फैलियो खप्तड र किन धसियो सेती ? किन ताने अर्जुनले धारा र कागवेनीमा श्राद्ध गर्नेका पितृ स्वर्ग पुगेपुगेनन् ? उनले विश्वासमा कतै हस्तक्षेप गरेका छैनन् तर ती सबै कुरा लेखेर पाठकलाई स्वतन्त्र छोडिदिएका छन् । पाठकमाथिको उनको विश्वास हो र कवि उपदेशक वा नारावाज नभएर विषय उठानमात्रै गर्नुको स्वतन्त्र पक्ष हो । यही हो उनको सबभन्दा विशिष्ठ पक्ष । उनी सामाजिक संस्थाका प्रवक्ता वा दलका कार्यकर्ताजस्ता देखिन्नन् तर तिनले भनेका कुरा काव्यको अन्तर्यमा कहीँ छुटेको छैन । यही हो कवि हुनुको शाश्वत सार । डा. लम्साल यस समयका उम्दा कवि हुन् । वसन्तपुर र म अस्मिता दुई शीर्षक जोडेर हेर्दा पनि चिन्तनको नयाँ बाटो देखा पर्छ । इतिहास, भूगोल र संस्कृति नचिनेको कवि कसरी कवि हुन्छ ? उनका रचना सूक्तिमय छन्, चाहे गद्य होस् वा पद्य । म अस्मिता शीर्षक पढ्दा देशको विरासतले रक्तनली तातो हुन्छ । पाठकहरू रोमाञ्चित हुन्छन् ।
म सीमा हुँ, म सामथ्र्य हुँ
म किनारा हुँ, म मूलधार र मूलबाटो हुँ
म अपरा हुँ, म परा हुँ
बुझ – म जड हुँ, म चेतन हुँ
कहिलेकाहीँ तिमीहरू सुगौली भन्छौ
कहिलेकाहीँ काली र टिस्टा भन्छौ
कहिले पशुपतिनगर र सुस्ताको कुरा गर्छौ
कहिले बगर भन्छौ, कहिले पानी
कहिले प्रकृति भन्छौ र कहिले प्राकृतिक स्रोत भन्छौ
म सबै हुँ र सबैभन्दा माथि हुँ
हृदयको ढोका खोल बाबु
म को हुँ ? एक चिम्टी ज्ञानको झिल्कामा
र एकै झुल्को उज्यालोमा कसरी चिनाऊँ तिमीलाई ?
पाँच जना पूर्व प्रधानमन्त्रीको ब्लर्व राइटिङ राखेर गरिएको नियाँ प्रयोग खूब मन परेको छ । जबसम्म यी कुरा राज्यसत्ताका सञ्चालकहरूले पढ्दैनन् र बुझ्दैनन् त्यतिखेरसम्म बीसपचास कवि बसेर गनगन गर्नुको अर्थ छैन । देश बिगार्ने पनि राजनीति र बनाउने पनि राजनीति नै हो भने देशको यो महिमा र महत्ता गायन तिनलाई पढाउनु जरुरी छ । हेर, मेरो देश यस्तो छ तर खबरदार बिगारौला नि भनेर खवरदारी गर्ने हकमा उनको यो प्रयोग सही छ । ठूला भनिनेहरूलाई साहित्यको मूल प्रवाहमा जोड्नुलाई कसरी नराम्रो भन्नु ? तिनैलाई थप्पड हानेर फेरि तिनैलाई साक्षी राख्ने हिम्मतलाई सम्मान गर्नुपर्छ । मनोविकारका तिक्ततामा खेल्नेहरूले आफ्नै पुस्तक बोकेर हिँड्न हिच्किचाउन् तर उनले देश लेखे र देश हाँक्नेलाई खवरदारी गरे त के बिगारे ? यो आँट र आवश्यकता दुवै हो । विचार, शिल्प र सामथ्र्यको त्रिवेणी बनेको धरा नेपाली साहित्यको उपल्लो उपलब्धी हो । उनले १० वर्ष लगाएर लेखेको भनिएको धरा नेपाली साहित्यको विगत ७० वर्षको महान् र सार्थक उपलब्धी हो । डा.लम्सालले अन्त्यतिर भनेका छन् –
बाबाको भोग हो देश
आमाको सिउँदो यही
मेरै मुहार हो देश
मजस्तो देखियूँ सही ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



