‘अरुको भलो चिताउनेको कहिल्यै कुभलो हुँदैन’

ब्राम्हणपुत्र लकडाउन डायरी–२८

भरत शर्मा

‘आफैंमा निर्भर भएर मात्र हामीले लक्ष्य प्राप्त गर्न सक्छौं । मोक्ष यात्रा गर्न सक्छौं ।’

बिहानैदेखि सामाजिक सञ्जालमा बुद्धवाणी आइरहेका छन् । शान्ति, भाइचारा र आत्मिक उर्जा दिने सन्देश आइरहेका छन् । सनातन धर्मको एउटा पाटोे बौद्वावतार र बुद्वका उपदेशले मानिसको मन प्रफुल्ल बनाउने गर्छ । शोक र मोहको कारण मन हो । मन यति चलायमान छ कि एकैछिनमा कहाँ–कहाँ पुग्छ !

आज गौतम बुद्वलाई सम्झना गर्ने दिन । उनको जन्म, ज्ञान र समाधिको भएको दिन मानिन्छ आज । आज उनका बारेमा लाखौं शब्दहरु खचिर्एका छन् । तर, बुद्धले धेरै कुरा गरेनन्, धेरै लेखेनन्, मात्र तीन कुरामा जोड दिए ।

शील, प्रज्ञा र समाधि ।

शील भनेको नैतिकता हो । अनुशासन हो ।

प्रज्ञा भनेको आफू हिँड्ने बाटो हो । ज्ञानमार्ग हो ।

समाधि भनेको आफु हिँड्ने बाटोको लक्ष्य हो । ध्येय हो ।

यति मात्र हो, मानिसले जीवनमा शील, प्रज्ञा, समाधिको अर्थ बुझेर हिँड्न सक्यो भने बुद्व दर्शनका सर्वआयामलाई भेट्न सकिन्छ ।

रोचक के भने संसारमा सबैभन्दा बढी मूर्ति बनाइएका र विश्व यात्रा गरेका पनि गौतम बुद्व नै हुन् । बुद्व र बुद्ध परम्पराबारे संस्कृत, अंग्रेजी र विश्वका अन्य धेरै भाषामा अथाह पुस्तक पनि प्रकाशित छन् ।

आउनुस्, आज बौद्व सर्किटतिर लागौं ।

लुम्बिनी त पक्कै जानु भएको होला । त्यहाँ जाँदा तपाईं हामीले बुद्वलाई भेट्न सक्यौं कि सकेनौं त्यो महत्व महत्वपूर्ण कुरा हो । लुम्बिनीमा सयौं बुद्धहरु छन्, अनेक मन्दिर छन् । अनेकौं देशका बौद्ध परम्परा अनुसारको मन्दिर छन् । बौद्वयात्रीहरु सबै बुद्धलाई भेट खोज्छन् । त्यहाँ रहेका बुद्धका अवशेषहरु देखेपछि प्रफुल्तित हुन्छन् ।

पर्यटकहरु लुम्बिनी कस्तो रहेछ भनेर जान्छन्, हेर्छन् र फर्कन्छन् । त्यहाँ सयौं भिक्षु र भिक्षुणीहरु बुद्धलाई भेटन भनेर बसेका छन् । बुद्वको जन्मस्थानमा एकपटक गएर कमसेकम यात्रा गर्नु भयो भने जीवनमा केही प्रतिशत भए पनि बुद्वत्व प्राप्त भएको अनुभव हुन्छ ।

बुद्वले तपस्या, ज्ञान प्राप्ति र ज्ञानलाई प्रचार–प्रसार गर्न शुरु गरेको बोधगया र सारनाथ पनि बुद्व सर्किट यात्राको लागि जानै पर्ने स्थान हो । लुम्बिनीपछि काशीनजिक रहेको सारनाथ निकै बौद्धमार्गीहरु जाने स्थान हो । सारनाथमा बुद्वले ज्ञान प्राप्त गरेपछि आफ्ना शिष्यहरुलाई ज्ञान दिने काम त्यही स्थानबाट शुरु भएकाले होला संसारका बौद्वमार्गीहरु एकपटक सारनाथ घुम्न जाने इच्छा राख्छन् ।

नेपाल, भारत, श्रीलंका, थाइल्याण्ड, मलेसियालगायतका देशहरुलाई जोडेर बौद्व सर्किट एउटा अभियानको कुरो पनि आएको थियो । चीनमा भने बौद्व सर्किटको आन्तरिक यात्रा गजबको रहेछ । चीनको हनान प्रान्तको प्राचीन सहर लोयाङमा रहेको ‘लोङ मन गुफा’भित्र रहेका बुद्व मूर्ति हेर्नका लागि चीनका विभिन्न सहरबाट हरेक बर्ष हजारौंको संख्यामा दर्शनार्थी आउने गरेका रहेछन् । करिव १५ महिनाको बसाईँमा सबैभन्दा बढी मैले दर्शन गरेको भनेको बुद्वलाई नै हो । शहरभित्र अन्य पौराणिक बौद्ध दर्शनीय स्थल पनि रहेको प्राचीन शहरमात्र होइन, चीनका अनेक प्रान्तहरुमा बौद्ध दर्शनका लागि अनेकन मन्दिरहरु छन् । आज मात्र चीनमा नेपालस्थित राजदूतावासभित्र रहेका बुद्व मूर्तिमा चिनियाँ भिक्षुहरुले प्राथना गरे ।

काशीमा बस्दा सनातनी पर्यटकलाई काशी विश्वनाथ, गंगा घाट घुमाएपछि सारनाथ यात्राको पालो आउथ्र्यो । मैले त सबैभन्दा बढी यात्रा गरेको बौद्व तीर्थस्थली नै ‘सारनाथ’ हो । सयौं सनातनी यात्रीहरुलाई सारनाथ घुमाउने अवसर पाउनुलाई भाग्य सम्झेको छु ।

कोराना महामारीका बेला मनमा शान्ति, आत्मबल र मनोबलको आवश्यकता भनेर विज्ञहरुले पटक–पटक भनिरहेका बेला गत बर्ष र यस बर्ष पनि बुद्वजयन्तीको अवसरमा कुनै सभा समारोह हुन सकेन । बौद्वमार्गीहरुले मनमनै सम्झेर मनमा शान्तिको कामना गर्नु शिवाय केही छैन ।

ज्योतिषी समयगणनाले भन्छ, २०७८ सालमा संवतसर पनि राक्षस भएकाले नेपालमा मात्र होइन, दक्षिण एसियाली देशमा आपता आइरहने छ । ऋतु परिवर्तनको बेला छ । यस बर्ष बर्षा ऋतुमा पहाडमा पहिरो जाने, तराईमा बर्षा हुने र हिमालमा हिमपात हुने सम्भावनालाई पनि मध्यनजर राख्नु पर्ने संकेत देखिन्छ ।

यस्तो बेला हामी सबैले धैर्यतासाथ मनशान्ति कायम राखी सुरक्षित रहनु नैं उत्तम मार्ग हो । महामारीमा बुद्धले सिकाउनुभएको ‘विपश्यना’ ध्यानले पनि मानिसको मनलाई एकाग्र बनाउन मद्दत गर्छ ।

अन्त्यमा फेरि एकपटक बुद्व वाणी, ‘अरुको भलो चिताउने व्यक्तिको जीवनमा कहिल्यै कुभलो हुँदैन ।’

(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा,मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button