
महाशय ! कसले भन्यो कम्युनिष्टहरुले धर्म मान्दैनन् ?
व्यक्तिगत विचार
अर्जुनकुमार भट्टराई
पहिलेदेखि नै धेरै चर्चामा रहेको विषय कम्युनिष्टहरुले धर्म मान्दैनन् भनेर हामीले विभिन्न सन्दर्भहरुमा सुन्दै आएका छौं । तर यो तथ्य गलत छ किनभने कम्युनिष्ट सिद्धान्त बोकेका मानिसहरु जत्ति धर्मको पालना गर्ने मानिस अर्को छैन ।
आउनुहोस्, यो तथ्यलाई प्रमाणित गरौं ।
हामीले बुझेको धर्मको परिभाषा अपुरो छ । हामीले सोच्दै आएको धर्म भनेको पुजापाठ गर्नु, व्रत लिनु, बिभिन्न कर्मकाण्ड गर्नु, आफ्नो कुल परम्परा अनुसारको आचरण गर्नु, मन्दिर, देवालय, गिर्जाघर, मस्जिद, गुम्वा आदि स्थानमा जानु आदि कुराहरुलाई धर्म सम्झिरहेका छौं । वास्तवमा यस प्रकारका आचरणहरु त संस्कार, संस्कृति, रीतिरिवाज आदिको परिपालन गरेको मात्र हो ।
वास्तवमा धर्म भनेको कुनै वस्तु वा मानवमा अन्तर्निहित विवेक, गुण, विशेषता, उपयोगिता आदि कुराहरु हुन् ।
एउटा पङ्खाको विशेषता वा गुण भनेको हावा फाल्नु हो । यदि हावा फालेन भने त्यो पङ्खाको धर्म सकियो भन्ने बुझिन्छ । त्यसै गरी छाताको धर्म भनेको घाम पानीबाट छेक्नु हो । यदि छाताले आफ्नो गुण अनुसारको काम गरेन भने उसले धर्मको पालना नगरेको बुझिन्छ । यस्तै गरेर हरेक सन्दर्भहरुलाई उसले प्रदान गर्ने उपयोगिता वा विशेषताको आधारमा धर्म निभाएको छ कि छैन भनेर विश्लेषण गर्न सकिन्छ ।
स्थापनाकालदेखि नै कम्युनिष्टको विशेषता, गुण, विवेक, उपयोगिता वा धर्म भनेको निसहाय र निमुखा जनताहलाई कुनै न कुनै बहानामा लुट्नु, सार्वजनिक, नीजि सम्पत्तिहरुमा तोडफोड गर्नु, आगजनी गर्नु, राष्ट्रिय सम्पत्तिलाई अतिक्रमण गर्नु, कित्ताकाट, घृणा र बिभाजन ल्याउनु, भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाउनु, प्रकृतिको चरम दोहन गर्नु, निर्लज्ज नाफाखोरीलाई प्रश्रय दिनु, कालाबजारी गर्नु, सांसद तथा व्यापारीहरुलाई किनबेच गर्नु, समाजवाद, गणतन्त्र र क्रान्तिको नाममा जनता मार्दै आफ्नो अभिष्ट पुरा गर्नु, सर्वहारावर्गको उत्थानको सपना देखाएर तिनीहरुलाई दवाउनु, आफ्नो देशको गौरव, मौलिकता र विशेषता, संस्कार, संस्कृति आदिलाई नामेट गर्नु, अवस्था र परिस्थिति अनुसार फाइदाका लागि छेपाराले झैं रङ्ग वदल्नु, भूईंफुट्टा वर्ग र नवधनाढ्यमा परिणत हुनु, जसरी भए पनि आफ्नो स्वार्थ परिपुर्ति गर्नु आदि पर्दछन् भन्ने तथ्य विश्वव्यापी रुपमा कम्युनिष्टको चरित्रले पुष्टि गरिरहेको कुरा हो ।
उनीहरुले जहिले पनि आफ्नो गुण, विशेषता र चरित्र देखाइ रहेका हुन्छन् । उनीहरुले यथासक्य आफ्नो धर्म निभाइरहेका हुन्छन् । मैले आजसम्म आफ्नो धर्म नमानेको कम्युनिस्ट देखेकै छैन ।
जनताको नाममा ठूलाठूला नारा दिएर जनता नै सर्वशक्तिमान हुन् भन्ने उद्गार व्यक्त गर्ने कम्युनिष्ट प्रधानमन्त्रीले गरेको शपथग्रहण त हामीले देखिसक्यौं । देशको हितमा काम गर्छु भनेर कुर्लने प्रधानमन्त्रीको अपुरो सपथको अभिप्राय के होला ? बुझ्नु भएको छ ?
यसको सिधा अर्थ के हो भने पूर्ण शपथ लिएपछि कम्युनिष्ट चरित्र, विशेषता, गुण आदि अनुरुपको धर्मपालना गर्न मिल्दैन भनेर नै हो । त्यसैले नझुक्किनुहोस् कि कम्युनिष्टले धर्म पालना गर्दैनन् भनेर ।
अब हामी सर्वसाधारण जनताले पनि आफ्नो धर्म पालना गर्ने समय आएको छ । यस्ता प्रकारका व्यक्तिहरुको शासनलाई जरैदेखी फाल्दै शिक्षित, प्रशिक्षित एवम् दीक्षित व्यक्तिहरुको शासन(सत्ता स्थापित गर्ने महान दायित्व हामीमा आएको छ ।