आज रमिता हुँदैछ, रमिता देशको संसद भवनमा हुनेछ

कोम खत्री

रमिताको मुख्य आकर्षण टाउकाहरूलाई गन्ने प्रतियोगिता हुनेछ । १ सय ३६ टाउकाहरू गनेर पु-याउन सत्तापक्षले अनेक यत्न गर्नेछ । विपक्षीहरूले पनि त्यति सङ्ख्या पु-याउन नदिन भएभरको बल प्रयोग गर्नेछन् ।

महामारीको यस्तो विषम् परिस्थितिमा पनि टाउको गन्ने प्रतियोगिता ?

कतिलाई अनौठो लाग्ला तर होइन देशमा यी टाउकाहरूको मोल अन्य टाउकाहरूभन्दा धेरै माथि छ । आफ्नो टाउकोको मोललाई सर्वश्रेष्ठ बनाउनका खातिर यो देशमा केवल एउटा मात्र शर्त छ । त्यो हो आफ्नो पाइला संसद भवनभित्र छिराउनु ।

त्यहाँ कसरी पुग्ने भन्ने प्रश्न त्यहाँ त्यति महत्वपूर्ण हुँदैन । जसरी छिराए पनि हुन्छ । मारेर, काटेर, बुथ कब्जा गरेर, आफन्तलाई रिझाएर, पैसाले किनेर, गुण्डागर्दी गरेर, लुटेर आदिआदि जेजस्तो जानेको सीप लगाए पनि हुन्छ तर त्यहाँसम्म पुग्नु भने अनिवार्य हुन्छ ।

त्यसपछि बल्ल त्यो टाउकोको मूल्य ह्वात्तै बढ्छ र अमूल्य बन्छ । अनि आफ्नो पक्षमा टाउकाहरूको सङ्ख्या पु-याउनका लागि टाउकाहरूको किनबेच र तानातान हुन्छ । अनि त त्यस टाउकाले भनेको जति मान, शान र मान समेत पाउँछ र अमर बन्छ ।

देशमा ती टाउकाहरूबाहेक अरू टाउकाहरूको कुनै मोल र अर्थ छैन । अरू टाउकाहरू निर्जिव भएर पशुपतिको आर्यघाटमा खरानी हुने पालो कुर्दै ढलिरहेका हुनेछन् । तर, तिनलाई गन्ती गर्ने मानिस पाउन देशमा हम्मेहम्मे पर्छ । कति टाउकाहरू अस्पतालमा हावा र बेड नपाएर प्राङ्गणमैं ढलिरहेका हुनेछन् । तिनलाई गन्ने मानिसहरू पनि त्यहाँ पाउन मुश्किल पर्छ । कति टाउकाहरू घरभित्रै रोग, व्यथा, भोक र शोक पालेर निसास्सिएका हुनेछन् तर पनि तिनलाई गन्ने मानिस त्यहाँ पाइनेछैन ।

किनकि, यी सामान्य टाउकाहरूको त्यो मुलुकमा कुनै मोल छैन । तिनीहरू मरे पनि बाँचे पनि कसैलाई मतलब हुनेछैन ।

त्यसैले हे देशवासीहरू !
तिमीहरू औषधि, हावा, खानेकुरा आदिआदि नपाएर छटपटाएर कुर्लिनुको कुनै औचित्य छैन । किनकि, यो देशमा तिमीहरू जस्ता सामान्य मानिसहरूको टाउकाको कुनै मोल छैन । यसलाई तिमीहरू आफ्नो नियति सम्झनू र ती अनमोल टाउकाहरू गन्ने प्रतियोगिताको रमिता हेरेर चित्त बुझाउनू !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button