
मित्रको मिडियामोहले मध्यरात केसम्म भयो ?

भरत शर्मा
कर्मलगत्तै फलप्राप्ति हुनुुभन्दा पहिलेको अवस्थालाई ‘अपूर्व’ भनिन्छ । अपूूर्वका बारेमा विद्वान्हरुका फरक–फरक धारणा पाइन्छ । श्रीमद्भगवतगीता पुस्तक अध्ययन र श्रवण गर्दा कर्मफल बारेमा स्पष्ट बुझिन्छ ।
यहाँ म कर्म र फलको बारे होइन, ‘मोह’ भावको बारेमा केही कुरा गर्न लागिरहेको छु । हामीहरु मोहको बशमा परी आफूलाई आश्रयदाता हुँ भनी ठान्दैछौं । आफू र आफ्नो परिवार पोषणको कर्तव्य पूरा गर्ने निहँुुले हामीभित्र मोहभाव बढ्दो छ ।
पछिल्लो दशकयता सामाजिक सञ्जालमा हामीहरुलाई भाइरल हुने मोह यति बढेको छ कि त्यसबारे हामी सबैले आफुलाई प्रश्न गर्दा हुन्छ ।
गत बुधबार एकजना मित्रको जन्मदिन परेको रहेछ । उनले फेसबुकमा जन्मदिनको फोटोसहित अनेक शब्दहरु लेखेर पोष्टाएका रहेछन् । त्यसदिन मैले फेसबुक हेर्न भुलेछु । विदेशी रसपानपछि मध्यरातमा फोन गरेर उनले गुनासो गरे, थर्काए, र, भने, ‘तपाईंले मेरो जन्मदिनको पोष्टमा शुुभकामना पनि लेख्नु भएन ।’
पुराना र हितैषी मित्रको शुुभकामना मोह देखेर म दंग परेँ । चीनमा रातको एक बज्न लागेको थियो, नेपालमा १० बजेर ४५ मिनेट । लामो कुरा गर्न खोजे, विगतका कथाहरु कोट्याउन थाले, मैले भनेँ, ‘म भोलि कुरा गर्छु ।’ अझै कड्केर उनले भने, ‘भोलि होइन, आजै, अहिल्यै मेरो कुुरा सुन्नुु पर्छ ।’
मैले शुभकामना–मोहमा परेका मित्रको फोन काटेँ, मोवाइल बन्द गरेर निदाउने प्रयत्न गरेँ । मद्यपान गरेर रातमा साथीहरुलाई फोन गर्ने मित्रलाई सामाजिक सञ्जालमा ‘अनफलो’ गर्ने निर्णय गरेँ ।
अनफलो गरेपछि साथीका कुरा सम्झेर म निदाउन सकिनँ, रात जागा भयो । त्यसपछि श्रीमद्भागवत महापुराण भित्रको जडभरत प्रसङ्ग कथा ट्याबमा सुनेँ । जडभरत सुख र दुःखबाट टाढा रहेको पात्र हुन् । उनको जीवन र कथा रोचक छ । हिजोआज हामीहरु खुशी भन्दा बढी दुुःखी भएका छौं । मेरो विचारमा सामाजिक सञ्जाल दुःखको मूल कारण हो । यो मेरो ठम्याईमा तपाईहरु सहमत हुने र नहुने दुवै छुट छ ।
अहिले चीन र नेपाल दुुवै देशमा चिसो बढेको छ । समय नै चिसो हुने हो, चिसोको कारण हामीले शारिरीक दुःख भोगिरहेका छौं । चिसो मौसममा घाम ताप्न पाइयो भने घाम ताप्ने समयसम्म हामीलाई खुुशी बनाउँछ, त्यसपछि उही दुःख हो ।
कहिले जाडो, कहिले गर्मी, हावाहुरी आदि अनेकप्रकारका आधिदैविक, आधिभौतिक, र आध्यामिक दुःखहरु बुुझ्न नसकेर होला हामी त्यसै दुःखी भएका छौं ।
कर्म, फल र मोहको कुरा अलि बढी शास्त्रीय तहबाट बुुझ्नु राम्रो होला । हामीले आ–आफ्नो जिम्मेवारीअनुसार कर्म गर्ने हो, फल प्राप्तिमा सन्तुुष्ट हुने हो, त्यसपछि मोहलाई कम गर्दै जाने हो ।
आफूूले गरेको काम, आफ्नो पेशा र आफ्नो कर्तव्यप्रति इमान्दार नभएसम्म खुसी हुन सक्दैनौँ, अध्यात्मशास्त्रका अनेक ग्रन्थहरुमा यि कुरा आइरहन्छन् । खासमा हामीहरुले आफूलाई प्रश्न गर्न सकिरहेका छैनौं । कर्मलाई बन्धन ठानेका छौं । फलप्राप्तिमा हाम्रो आशक्ति बढी छ । हामीभित्र भएको मोहलाई त्याग गर्न नसक्नुका कारण हामी दुःखी भएका छौं ।
यस्ता ज्ञानका कुरा श्रीमद्भागवत महापुराण ग्रन्थमा पढ्न र सुन्न पाइन्छ । त्यसपछि हामीभित्र रहेको मोह कम हुँदै कर्ममार्गमा लिप्त हुन्छौं भन्ने मेरो बुुझाइ छ ।
अब शास्त्रीय कुरा होइन, व्यवहारिक कुरा गरौं । सामाजिक सञ्जाल बन्द हुने निर्णय हुँदा नेपालमा राजनीतिक परिवर्तन भयो । सरकारले जनताको कुरा बुुझेनन्, जनताले सरकारको सोच नबुझ्दा के अनर्थ भयो, परिणाम जेन–जी आन्दोलन ।
आन्दोलनपछि नेपालको परिदृश्यमा ग्रह, गणित र ज्योतिषलाई आधार मान्ने हो भने आगामी दिन देशको लागि अझै कठिन समय देखिन्छ ।
गायक थानेश्वर गौतमको स्वरमा बज्ने गीत जस्तो…
रात किन हुन्छ हजुर,
दिन किन हुन्छ,
थाहा छैन, जिन्दगी
कठिन किन हुन्छ ?
यो गीतको अर्थभाव हाम्रो सनातनशास्त्रभित्र भेटिन्छ ।

दिन र रात प्रकृतिको नियम हो, तर घर, स्त्री, धन, भाइ, बन्धुु आदिमा हाम्रो आशक्ति र मोहका कारण जिन्दगी कठिन हुन्छ भन्ने उत्तर हाम्रो सनातन शास्त्रमा भेटिन्छ ।
हाम्रो सुन्दर हिमाल, पहाड र तराईका फाँटहरु भएको देश नै कठिन अवस्थामा छ । मेरा आदरणीय ज्योतिषी गुरुसँगको वार्ता हुँदा उहाँले फ्याट्ट भन्नुुभयो, ‘भरतबाबुु, देशमा शासक कंश भए, अहिले रावणहरु जोडघटाऊ गर्न खोज्दै छन्, हामीले खोजेको कृष्ण र राम हो । राम र कृष्ण छट्टाउने दिन फागुन २१ गते तोकिएको छ । हामी जनता उही कंश, रावणको पछि लागेका छौँ, अनि देश ?’
‘अहंकार, सत्ता मोह, लालच र राजनीतिक दलका शीर्ष रावणहरुले कृष्ण र रामलाई आउन दिने छाँट देखिँदैन । त्यसैले हाम्रो र अबको जेनजी पुस्ताको भविष्य अन्योलमा छ ।’ गुरुले पनि आशा र सकारात्मक कुरा गर्नुभएन किन ? पत्रकारको काम प्रश्न गर्ने हो, गरेँ । गुुरूले उत्तर दिनुु भयो ।
ऋषि याज्ञवल्क्यले वृहदारण्यकोपनिषद् भनेका छन्,
‘अमृतस्य तु नाशास्ति वित्तेन’
अर्थः सम्पत्ति परम सुख प्राप्त गर्ने साधन होइन, त्यसबाट सुखको आशा पनि गर्न सकिन्न ।
हाम्रा शीर्ष भनिएका नेता कंशहरुले घरमा धन थुुपारे, पहिले आफू बने, त्यसपछि पार्टीलाई धनी बनाए, त्यसपछि विचौलियालाई धन राख्न दिए, अनि देश कंकाल बनाए ।
गुरुको शास्त्रीय राजनीतिक विश्लेषण तपाईंलाई कस्तो लाग्यो कुन्नी ? गुरु वचन मेरो लागि अमृतवाणी जस्तै लाग्यो ।
शीर्ष नेताको आफनो घर, घरभित्रका धन, सम्पत्ति, मोहका कारण जोडेका मोहजन्य भौतिकबस्तुु जलेर खरानी हुँदा समेत शीर्ष नेतामा मोह र अहंकार कम नभएको देख्दा मेरो गुरुजीको मनमा चोट परेको रहेछ । गुरुले एकघण्टासम्म शास्त्रीय शैलीमा देशबारे ब्याख्या गर्नुभयो, मैले ग्रहण गरेँ, एउटा प्रसङ्ग मात्र आज लेखेँ ।
अब हेर्नसु, म चीनबाट नमस्कार गरेर चीनमा बसेर कर्म, फल, मोह र कठिन समयको बारेमा लेख्दैछुु । चीनमा बनेका अग्ला भवन, चिल्ला सडक, सडकमा कुदेका सुकिला गाडी, कर्ममा लिप्त चिनियाँ नागरिक, चीनका नेता, सस्तो खाना, नाना र छाना पाएका चिनियाँहरुको जीवनशैली देखेपछि लाग्छ, हाम्रा उत्तर छिमेकी देश धनी छ, जनता खुशी छन् । छिमेकी देश धनी र जनता सुखी हुँदा कतै हामीलाई आपत्ति दुःख पर्दा साथ दिन्छन् कि भन्ने विश्वास गर्न सकिन्छ । तर हाम्रो सनातन शास्त्रले भनेको छ, आशा राख्नु पनि दुःख र मोहको कारण हो । हाम्रा दुवै छिमेकी धनी छन्, तर हामी बीचमा बस्ने नेपाल र नेपालीहरु धन नभए पनि मनका भने धनी छौं, हामी हाम्रा दुःख र पीडालाई सकेसम्म नभनौं । छिमेकीले देलान् र हामी खाउँला भनेर आशा, मोहमा नपरेको राम्रो । त्यसैले हामीले हाम्रो आफ्नै भूमिमा पाखुरी खियाएर आर्जित कर्मको फल जस्तो मीठो केही हुँदैन, तर समय कठिन छ, शासक र सत्ताका प्यालाहरुका कारण । तपाईंहरुले भन्नुुहुन्छ, विदेशमा बसेर खोक्रो आर्दशका कुरा किन ? मेरो शरीर विदेशी भूमिमा भए पनि मन त स्वदेशमै छ ।
केही दिन अघिमात्र नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा बस्ने नेपालीले नकारात्मकता मात्रै फैलाउने काम गरे भनेर गुनासो गरेका थिए । यो गुनासोे एकदम सही छ । विदेशमा बस्ने नेपालीका लागि नेपालको बारे थाहा पाउने सामाजिक सञ्जाल र नेपाली सञ्चारमाध्यम मात्र हुन् । यि दुवै सञ्जाल र सञ्चारमाध्यमले देशका बारेमा राम्रा र सकारात्मक कुरा लेखेनन्, बोलेनन्, देखाएनन्, अनि विदेश बस्ने नेपालीले के राम्रो कुरा गरुन् त ? देशमा केही छैन भन्ने भाष्य गलत हो तर देशमा केही गर्नुपर्छ भन्ने भाष्य बनाउन कोही लागेको देखिएन ।
सञ्चारमाध्यम, सामाजिक सञ्जाल नेताको पछाडि लागे, नेताका कुरा लेख्ने र उनकै कुरामात्र सुनाउने प्रवृत्तिले विदेशमा बसेका नेपालीहरुले नकारात्मक खबर देखे र सुनेपछि कसरी सकारात्मक कुरा गर्छन् त, महोदय ! देशमा जेनजी आन्दोलनपछि पनि नयाँ र रचनात्मक काम हुन्छ भन्ने आशालाग्दा खबरहरु सञ्जाल र सञ्चारमाध्यमले दिनुुपर्ने समय आएको छ ।
देवभूमि, साक्षात भगवान्को बासस्थान भएको देश नेपालमा शासन सत्तामा कंश र रावणहरुकै कारण हाम्रो छोरा पुस्ताले दुःख भोग्नुु पर्ने दिन आउँदै छ भनेर बाबुु पुस्तालाई चिन्ता लाग्नु स्वभाविक हो । हामी ४० कटेका युवाहरु ‘यता न उता मूलाबारी भित्ता’ उखान जस्तै विदेश जान पनि नसक्ने, देशमा पनि केही गरौं भने पनि अनेक अवरोध । हिजोमात्र सहपाठी मित्र डिल्लीराम भट्टराईले भने, ‘नेपालमा गा¥हो छ अहिले ।’
हो, समय कठिन हुँदा नै हामीले बोल्ने र लेख्ने हो । देशमा केही भएको छैन, केही हुँदैन भन्ने भाष्य निर्माण नहोस् । हामी र हाम्रा छोरा पुस्ता मिलेर देशको लागि केही गर्नुपर्ने बेला आएको छ । जेनजी पुस्ताको सोच, समयको माग अनुसार शासक चल्न सकेनन् भने मेरा गुरुले भन्नुुभएको छ, ‘अब फेरि एकपटक नेपालमा अर्को विध्वंश नहोस्, होसियार !
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

