जागेका ब्राम्हणपुत्र ‘शीर्षक सम्पादकको जिम्मा’ भन्दै अल्छी भए

शीर्षक सम्पादकको जिम्मा

भरत शर्मा

माता कुन्तीले द्वापर युुगका जगतगुरू श्रीकृष्ण भगवानसँग एउटा चीज माग्नु भयो । तर, श्रीकृष्णले आफ्नै फुुपु अर्थात् माता कुन्तीको माग पुरा गर्न नसक्ने भएपछि अब म तपाईसँग बसेर केही समय बिताउँछु र केही नयाँ कुरा सिक्छु भन्ने अठोट गरे । यो कथा प्रसंग महाभारत र श्रीमद्भागवत महापुराणमा सुन्न र पढ्न पाइन्छ । मलाई यो कथाले सारै नै मन छोएको छ । माता कुन्तीले सामान्य कुरा माग्नुु भएको थियो तर भगवानले दिनसक्नु भएन । श्रीकृष्णलाई समेत सोच्न बाध्य बनाउने एउटै माग थियो, कुन्ती माताको ‘विपत्ति अर्थात दुःख’ ।

सायद यस्तो माग गर्ने यो कलिकालमा कोही हुँदैनन् । माता कुन्तीले यो माग्नुको कारण छ, किनकी ‘विपत्ति र दुःख’ प्राप्त भयो भने सँधै भगवानको नाम स्मरण हुन्छ । हामीले सँधैजसो हाम्रा पुर्खाले मान्दै आएको कुलधर्म संस्कार, कुलदेवता, पितृदेव र आफ्ना परम गुरुलाई सम्झना गरिरहनु पर्दछ, त्यसको लागि हामीलाई विपत्ति र दुःख चाहिन्छ भन्ने सन्देश हो । यो कलिकालमा मैले कतै भगवान श्रीकृष्णसँग भेट गर्ने अवसर पाएँ भने के माग्ने होला भनेर आफूले आफैलाई प्रश्न गरिरहेको छु ।

मन मिल्ने साथीसँग घण्टौँ बसेर गफ दिन सजिलो छ तर पढ्न थाल्यो कि निन्द्रादेवीले दुःख दिन थाल्छिन्, पछिल्ला समय अरुका कुरा सुन्ने भन्दा आफना कुरा धेरै बोल्ने प्रवृत्ति बढ्दो छ । सुन्ने, बोल्ने र पढ्नेभन्दा लेख्ने काम कठिन भएको पनि माता कुन्तीको प्रश्न र भगवान श्रीकृष्णले उत्तर दिन नसकेको जस्तै हो । हामीले लेखेको, बोलेको कुराले हामी र हाम्रो समुुदाय, समाज र राष्ट्रलाई के फाइदा पुुग्छ भनेर सोच्न छोड्यौं । त्यसैले त आज हामी विपत्ति र दुःखमा छौं ? यो मेरो, हाम्रो र तपाईको प्रश्न हो ।

गतसाताको ‘अल्छी ब्राम्हाणपुत्र जागे, लौ न ! अब के हुने हो’ शीर्षकमा लेख लेखेपछि नेपाल र चीनबाट अनेक सुुझाव र सल्लाह आए । चिनियाँ मित्रहरुले भने, ‘चीनमा बसेर हामीसँग संगत भएदेखि तपाई अल्छी भएको देखेको छैन, तपाईसँग सन् २०१९ भेटेको हो । तपाईं कसरी अल्छी ? हामी चिनियाँहरु ‘अल्छी’ शब्द सुन्न पनि चाहन्नौं । चीनमा बस्ने, चिनियाँसँग संगत गर्ने तपाई कसरी अल्छी ?’

नेपाली भाषा फररर बोल्ने, पढ्ने, सुन्ने र लेख्ने अनि नेपालमा गणतन्त्रपछिको राजनीतिक परिदृश्यमाथि विद्यावारिधी गरिरहेका मेरा मित्रले भने, ‘तपाईको लेख पढेर मभित्र भएको अल्छीपन हटाउन मद्दत पुुग्यो । म पनि अबदेखि हरेक दिन एकपेज लेख्न शुरु गर्छु ।’ उनलाई एकछिन शास्त्र पढाएँ, ‘हेर्नुस्, पहिले आफूले आफैलाई आत्मालोचना गर्ने हो । अब तपाईको गुरु तपाईं नै हो । तपाईं पनि शिक्षक, म पनि शिक्षक, हाम्रो जीवन सायद अब कक्षा कोठा, विद्यार्थीको भविष्य र यस्तै लेखनमा बिताउनु पर्दछ । त्यति नै बेला अशोक सिलवालले लेखेको ‘अप्प दीपो भवः’ पुस्तक कार्यालयको टेबुलमा रहेछ । पुस्तक हातमा लिँदै अध्यापक ह्वाङलाई अल्छीपन अनि विपत्ति र दुःख भनेको के हो भन्ने कुन्ती माताको प्रश्नबारे १५ मिनेट जति व्याख्यान दिएँ ।
चिनियाँ पाठकको प्रश्नको उत्तरलाई यही विट मारेँ ।

अब नेपालतिर, शीर्षक रोचक भएर हो कि धेरैपछि लेखेको भएर हो, सोचेभन्दा बढी प्रतिक्रिया पाएँ । लेखमा मैले मीन राशिलाई साँढेसाति रहेको छ, मेरो पनि मीन राशि भएकोले त्यसको कारण मभित्र अल्छीपन भएको हो भनेर स्पष्ट कारण खुलाएको थिएँ । सबैभन्दा बढी चासो मीन राशिका विषयमा भयो । गतसाताभरी नै मलाई मेरो फलानो राशि हो, कस्तो के छ भनेर प्रश्न गर्नेहरु धेरै भए । सकेसम्म सबैका प्रश्नको उत्तर दिने प्रयास गरेँ ।

त्यसो त, म ज्योतिष शास्त्रको विद्यार्थी अर्थात् ज्योतिषी छात्र हुँ । ज्योतिषका बारे केही कुरा जानेको छुु, धेरै कुरा सिक्दै छु । पात्रो अर्थात् पञ्चाङ्ग हेर्न सिकेको ३८ बर्ष भयो । पण्डित हजुरबाले तिथि, बार, नक्षत्र, योग र करण भनेको यो हो, पात्रो भनेको हाम्रो संविधान हो, हाम्रा सबै चाडपर्व, हाम्रो ग्रह गति, र जिन्दगीको कथा पढ्न सकिन्छ, त्यसैले पात्रो भित्र लेखिने सबैकुरा हरेक बर्ष राम्रोसँग पढ्नु, बुुझ्नु र लोकले बर्षको पहिलो दिन ‘विखु’ परेको छ कि छैन हेरिदिनु भन्नेदेखि विवाह, व्रतबन्ध, श्राद्र, व्रत, तीर्थ जाने साइतदेखि हाम्रा सबै नित्य, नैमित्य कर्महरु कहिले गर्ने भन्ने प्रश्न गरिरहन्छन्, त्यसको उत्तर दिन पनि ब्राह्मणपुत्र भएपछि पहिलो पढ्नुुपर्ने शास्त्र ज्योतिष र पात्रो हो भनेर त्यतिबेला हजुरबुुबाले दिनुुभएको ज्ञान अहिले आएर काम लागेको छ । म ज्योतिषी हजुरबुुबाको नाति हुँ, ‘नातिले गर्छ भाति’ भन्ने नेपाली उखान छ, त्यो उखानलाई हाम्रा प्रधानसम्पादक जिवेन्द्र सिम्खडाले सम्पादन गरेर लेख्ने र भन्ने गर्नुभएको छ, ‘नातिले गर्छ जाति’ । नेपालमा मात्र होइन, चीनमा पनि हजुरबाहरुले नातिलाई धेरै माया गरेको देखेको छुु । मलाई पनि सबैभन्दा बढी माया हजुरबा र मेरो गुरुले गर्नुभएको याद छ । परिवार, आफन्त र मित्रले रित पुु-याउने मात्र हो ।

मैले नेपालको संविधान अहिलेसम्म पुरा पढेको छैन, सारहरु र आफूलाई चाहिने केही बुँदा मात्र पढेको छु । तर ‘पात्रो’ हामी सबैको प्रमुख संविधानशास्त्र हो । त्यसैले म जहाँ बसे पनि जहाँ घुमे पनि पात्रो, श्रीमद्भगवतगीता र शिवस्तोत्र पुस्तक साथमा बोकेर हिँडछु ।

प्रसङ्ग मीन राशिको थियो । हो, यस बर्ष शनिदेव वर्षभरी नै मीन राशिमा रहनाले निम्न राशिका व्यक्तिलाई अढैया र साँढेसाति शनिदशाको प्रभाव रहनेछ । कुुम्भ राशिलाई बर्षभरि अन्त्य साँढेसाति, मीनलाई बर्षभरी मध्य साँढेसाति, मेष राशिलाई बर्षभरि आद्य साँढेसाति, सिंह र धनुराशिलाई वर्षभरि नै अढैया शनिदशा रहेको छ ।

नौ ग्रहहरुको काम घुमिरहने हो, यो हरेकको जीवनमा आउँदै गर्छ, तर शनिदशा भएको बेला चाहिँ के हुन्छ ? यो सबैको जिज्ञासा हो, साढेसाति परेको बेला झुटा आरोप लाग्ने, शरीरमा आलस्य पैदा हुने, मानसिक चिन्ता बढ्ने, काममा ढिलासुस्ती हुने, मान सम्मानमा अपमान हुने, चोटपटकको भय हुने, सञ्चित धनको नाश हुने, सापटी दिएको पैसा फिर्ता नहुने, आफ्नै पैसा फिर्ता माग्नुुपर्दा अपमान सहनुपर्ने आदि इत्यादि । त्यसमध्ये केही समस्या मैले यस पटक भोगिरहेको छु । सायद तपाईंहरु मध्ये कसैले भोग्नुुभएको होला ।

शनिदेव अलि कडा रहेछन् । हैट, यस्तो कडा शनिदेवलाई हटाउन के गर्नुपर्छ भन्ने प्रश्न तपाईं र मेरो पनि हो ।

ज्योतिषीहरुले भन्नुहुन्छ, ‘शनि ग्रहको प्रभाव कम गर्न हरेक शनिवार पिपलको रुखमा जल चढाउने, शनिस्तोत्र पाठ गर्ने, देवीपूजा गर्ने ।’ यतिमात्र होइन, मैले केही थप गरेको छु, बाहिरबाट घरमा पुुग्ने बित्तिकै जल अभिषेक गर्ने, पाँच मिनेट मौन रहने, मौसम अनुसार तातो, चिसो पानी पिउने अनिमात्र घरमा सदस्यसँग बोलचाल गर्ने, सकेसम्म कम बोल्ने, मौन रहने, हरेक दिन साक्षात सूर्य भगवान र भगवानको साक्षात् देवघर ‘हिमाल’ र श्री पशुपतिनाथको दर्शन गर्नेलगायतका कयौं पूजा, पाठ, श्रवण र कीर्तनका विधिहरु बताउने गरेको छु ।

यस्तो समयमा स्त्रीजाति, अंहकारी र घमण्डी मित्रहरुसँग संगत छ भने अलि टाढा बस्ने, असल मित्रहरुसँग परिसंवाद गरिरहने आदि उपायहरुले शनिदेव खुसी भएर विपत्तिबाट छुटकारा पाउन सकिन्छ । योे सल्लाह जसले प्रयोग र परीक्षण गर्छन्, उनीहरुका लागि साढेसाती खासै केही होइन । हाम्रा ऋषिमुनीहरुले भनेको कुरा हो, स्त्री जातिको चरित्र र पुरुषहरुको भाग्य देवताहरुलाई पनि थाहा हुँदैन । ग्रहदशा लागेको बेला स्त्रीजाति र गलत संगतका कारण चाहिँ अलि बढी विपत्ति र दुःख आउन सक्छ । द्वापर युगमा कुन्ती माताले भगवान कृष्णसँग माग्नुुभयो, तर कलियुुगमा माग्नुपर्दैन, आफै आउँछ । त्यसो त, शनिदशा भएका सबै राशिलाई एउटै हो ? त्यसो होइन, व्यक्तिको जन्मकुण्डलीको आधारमा स्वगृही, मित्रगृही, उच्च राशि स्थानमा शनि भएका व्यक्तिहरुका लागि शनिको सकारात्मक फल हुने छ । त्यसका लागि ज्योतिषशास्त्र पढेका, सत्पात्रसँग परामर्श गर्नुपर्छ, । तर होसियार, ज्योतिषको नाममा धर्नाजनमा लागेका नामको अगाडि केवल ज्योतिषी लेख्ने र अनावश्यक भविष्यबाणी गर्नेले दिने सल्लाहले फेरि तपाईंहरुलाई अर्को भाउतो लाग्ला । अहिले बजारमा ज्योतिषी र शनि र कालसर्प दोषका नाम र उपायका नाममा लाखौं स्वाहा भएका दुुःखहरु सुनेको छु । त्यसैले शनिदशा हटाउने उपाय तपाईं, हामी, र मभित्र छ । सत्पात्रको सल्लाह, अध्ययन, जप र ध्यानले त्यो हटाउन सकिन्छ ।

अब अन्तमा, मेरो, हाम्रो र हामी सबैको कुरा गरेपछि देशको कुरा गरौं न । देशमा पनि विपत्ति छाएको छ । देशलाई आपत्ति हुँदा जनतालाई दुःख हुने नै भयो, अब यो विपत्तिबाट छुटकारा पाउने उपाय के होला ? प्रश्न, मेरो, हाम्रो र हामी सबैको सामूहिक हो ? हाम्रा राष्ट्रका सम्पत्ति नाश भए, हाम्रा हजुरबादेखि हामीले तिरेको तिरो, कर रकमले बनेको राष्ट्रिय भवन नाश भयो, हामीले भोट दिएका नेताका पनि नेता शीर्ष नेताको इतिहास खरानी भयो । कयौं बर्षदेखि विश्वका महान व्यक्तिले दिएका कयौं ‘अमूल्य उपहार’ हरु जले । यस्तो विपत्ति र दुःख त हाम्रा नेताहरुले मागेका थिएनन् । कहाँबाट कसरी भयो ? किन भयो, कसका लागि भयो ? अब के हुन्छ ? शनिदशाको कारण हो कि कतै राहु केतुको कारण हो ? देशमा राष्ट्रपिता र देशलाई माया नभएको शासकहरु भएर हो कि ? जिज्ञासा सामूूहिक हो, प्रश्न गर्न सकिन्छ, प्रश्नपछि त्यसको उत्तर दिन सक्नुपर्छ । जनताले प्रजातन्त्र ल्याए, बहुदल ल्याए, गणतन्त्र पनि ल्याए । सबै तन्त्रमा दलहरुले मात्र शासन गरे, जनताले प्रश्न गरे, नाना, खाना र छानाको सरल सुुविधा माग्दा दलहरुका शीर्ष, मध्य र आद्य नेता भन्नेहरुले तिमीहरुको काम भोट दिने मात्र हो, प्रश्न गर्ने होइन भन्ने ‘अंहकारी’, ‘घमण्डी’ र क्षुद्र वचन बोलेपछि हाम्रा भाइ, भतिजा र छोराहरुले के गरे, गरे ! हाम्रा शासकहरुलाई शनिदशा नै लागेको प्रमाणित गरिदिए ।

हाम्रा शासक र गणतन्त्रका नवराजाहरुको दशा बारे अर्को हप्ता चर्चा गरौंला, प्रतीक्षा गर्नुहोस् ।

‘अल्छी ब्राह्मणपुत्र’को जय होस् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button