संविधानको रक्षा काँग्रेसको कार्यभार
नेपाली कांग्रेसको स्थापना नै संवैधानिक सर्वोच्चता र विधिको शासनको लागि भएको हो ।
जनकजीवन उपाध्याय
नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाली कांग्रेसको राजनैतिक भूमिका सत्तरी बर्ष अघिबाट आजका मितिसम्म अपरिहार्य सावित भएको छ । त्यसलाई इतिहासले प्रमाणित गरेकै छ । सधै राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई आफ्नो आदर्श र सिद्धान्त मान्दै कुनै पनि अधिनायकवाद वा सर्वसत्तावादलाई समुल अन्त्य गरी समतामूलक समाजको निर्माणमा कहिँकतै कसैसँग गलत ढंगले सम्झौता नगरी नेपाल राष्ट्रको हित नै सर्वोपरी हो भन्ने विश्वास नेपाली जनतालाई गराउन सफल छ ।
तर, आज लामो संघर्ष र बलिदानपछि सार्वभौम सत्तासम्पन्न नेपाली जनताबाट निर्वाचित संविधानसभाले निर्माण गरेको संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ माथि वर्तमान ओली सरकारबाट असंवैधानिक ढंगले प्रहार भएको छ । नेपाली कांग्रेसको स्थापना नै संवैधानिक सर्वोच्चता र विधिको शासनको लागि भएको हो । त्यसकारण संविधानको मर्म र भावना विपरीत सरकारले चालेको यस किसिमको कदम संघिय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउनेतर्फ उन्मुख देखिन्छ ।
त्यसैले संविधान रक्षाको लागि नेपाली कांग्रेसले अन्तर पार्टीभित्र आम सहमति कायम गरी इतिहासले दिएको जिम्मेवारी निसर्त पुरा गर्नु पर्दछ । वर्तमान अवस्थामा नेपाली कांग्रेसको दायित्व भनेको जनतामा रहेको सार्वभौम सत्ता र राजकिय सत्तामाथि भएको आक्रमणलाई निस्तेज पार्ने नै हो । त्यसकारणले पार्टीगत र निजि गुटगत स्वार्थभन्दा माथि उठ्न जरूरी छ ।
कसैको पक्ष वा विपक्षमा विभक्त नभइ समुल राष्टको हितमा आफ्नो तर्फबाट जिम्मेवारी पुरा गरी सच्चा देशभक्त पार्टीको पहिचान कायम गरौं । इतिहास साक्षी छ, साँच्चै इमान्दारीसाथ भन्ने हो भने नेपालमा भएका सबै प्रजातान्त्रिक आन्दोलनमा नेतृत्व दिन सफल नेपाली कांग्रेस त्यहि आन्दोलनबाट प्राप्त उपलब्धि रक्षाको लागि सक्षम छ, प्रमाणित गरेर देखाऔं ।
नेपाली जनताको विश्वासयुक्त पार्टी बनाउने अवसर छ ।
(उपाध्याय काँग्रेस नेता हुन् ।)