
माउन्ट एभरेस्ट, सगरमाथा र सुधीर विवाद
केशवप्रसाद भट्टराई
२०१६ सालमा इतिहास शिरोमणि बाबुराम आचार्यको परामर्शमा वीपी कोइरालाले माउन्ट एभरेस्टलाई सगरमाथाको नाम दिए र त्यही मौलिक नाऊले सगरमाथामाथिको नेपाली दावीलाई त्यसै आधारमा चीनले स्वीकार गर्यो । त्यसअघि १८६५ मा ब्रिटिस भारत सरकारले त्यसलाई आधिकारिक रूपमा माउन्ट एभरेस्ट नाम दिएको थियो । तर, १८५६ देखि नै त्यसलाई माउन्ट एभरेस्ट भन्न थालिएको थियो ।
जर्ज एभरेस्ट भारतका प्रथम नापी विभागका महानिर्देशक थिए र उनको कार्यकालमा सन् १८५२ मा भारतीय नापी अधिकारी तथा गणितज्ञ राधानाथ सिक्दरले सगरमाथाको उचाई पत्ता लगाएका थिए र यसले संसारको सवैभन्दा अग्लो पर्वतको मान्यता पाएको थियो । तत्कालीन ब्रिटिस भारत सरकारले एक भारतीय नागरिकलाई त्यो सम्मान दिन शायद चाहेन र अङ्ग्रेज अधिकारीलाई त्यो सम्मान दियो ।
माउन्ट एभरेस्टको नामाकरण हुनुअघि त्यसले कुनै नाम पाएको थिएन । त्यसलाई पिक १५ को नामले चिनिन्थ्यो । सन् १८४९मा ग्रेट ट्रिगोनमेट्रिकल सर्भे अफ इन्डियाले यसको उचाईको नापीगर्ने घोषणा गरेर नापी कार्य शुरु गरेको थियो ।
…
हिमालय पर्वतकोबारेमा त पश्चिमाहरूले पहिलो शताव्दीदेखि नै उल्लेख गर्न थालेका पाइन्छ तर सन् १७१५ मा काश्मिरतिरबाट ल्हासाको यात्रामा हिँडेका इटालियन पादरी इपोलिटो डेसिदडेरीले एउटा अद्भूत र त्राषद विराट पहाडको उल्लेख गरेका थिए ।
त्यसको झन्डै आधा शताव्दीपछि ब्रिटिस भारतका प्रथम सर्भे जनरल मेजर जेम्स रेनल नापीको क्रममा भुटानसम्म पुगे र त्यहाँ उनले वर्षैभरी हिउँले ढाकिने पहाडहरूको लामो शृंखला देखे र उनैले संसारको सवैभन्दा अग्ला पर्वतहरू एसियाको उक्त भूखण्डमा अवस्थित रहेको घोषणा गरे र त्यसपछि संसारको ध्यान त्यस तर्फ केन्द्रित भयो ।
कलकत्ता उच्च अदालतका तत्कालीन न्यायाधिश र पूर्वीय दर्शन र संस्कृतिका विद्वान विलियम जोन्सले भागलपुरमा गङ्गा किनारबाट करीव चार सय किलोमिटरको दूरीमा आफूले एउटा अद्भूत र विराट पहाड देखेको उल्लेख गरे ।
मेजर जेम्स रेनलका उत्तराधिकारी हेनरी कोलब्रुकले १७९० को दशकमा हिमालका उच्च पर्वत शृंखला हरूको नापी गर्ने चासो देखाए । पछि उनी बिहारको पूर्णियाको सहायक कलेक्टरको हैसियतमा रहँदा उच्च हिमाली शृंखलाहरूको गणितीय नापो लिन लागे र उनले विलियम जोन्सले भन्दा धेरै निकट अर्थात करीव दुई सय ४० किलोमिटरको दूरीबाट गणना गर्दा सगरमाथाको उचाई २६ हजार फीट भन्दा माथि रहेको निष्कर्ष निकालेका थिए ।
आधिकारिक रूपमा सगरमाथाको उचाई नाप्न नेपाल भएर नै जानु पर्ने र त्यतिखेको नेपाल पूर्वमा भुटानदेखि पश्चिममा पंजावसम्म फैलिएको हुनाले नेपालबाहेकको भागबाट त्यहाँ जान नसकिने भएकोले त्यो त्यसै अड्किएररहेको थियो । १८०७ ताका ब्रिटिस भारतीय अधिकारीहरू आफ्नो भूभागछुने ठाउँको कर्णाली र राप्ती नदीतटमा आएर र गोरखपुर, पिलिभित आदि स्थानबाट सगरमाथा हेर्न र त्यसको अध्ययन गर्न थाले । एवं क्रमले अध्ययन र अनुसन्धान हुँदै जाँदा यसको नाम एभरेस्ट र सगरमाथा रहन गएको र यसको उचाईको आधारमा यो संसारको सवैभन्दा उच्च शिखर प्रामाणित हुन आएको सन्दर्भ यहाँ बुझ्न सकिन्छ ।
…
वैज्ञानिक आधारमा यसको वास्तविक उचाई पहिलो पटक राधानाथ सिक्दरले पत्ता लगाएका थिए भने सुधिर चौधरीले एक भारतीयको अथक परिश्रम र उनले पाएको उपलव्धिको जस उनले किन नपाउने ? त्यसैले भारतले त्यसको लागि दावी गर्नु पर्दछ भनेर उनले भन्दा त्यहाँ कहाँ अनुचित भयो मैले बुझ्न सकिन ?
उनको भिडियो हेर्दा मैले सगरमाथामा भारतले दावी गर्नु पर्दछ भनेको त मैले बुझिन ।
सगरमाथाबारे कुनै रूची र सरोकार नभएको, सगरमाथा देख्दै नदेखेको र उक्त नाममा स्वयम् कर्णेल एभरेस्टले पनि सङ्कोच मान्ने गरेको उनको नामले भन्दा सिक्दरको नामले सगरमाथा चिनियोसे भनेर एउटा भारतीय नागरिकले भन्दा के गल्ती भयो मैले बुझिन ।
यहाँ प्रधानमन्त्री ओलीको कहाँ गल्ती भयो त्यो पनि मैले बुझ्न सकिन ।
अर्को देश र अर्को देशको नागरिकसँग आफ्नो देशको प्रधानमन्त्रीलाई गलत आशयले जोडेर गरिने गलत प्रचारले आफ्नो र देशकै प्रतिष्ठामा आधात पुग्छ कि ? मेरो अज्ञानतालाई क्षमा गर्दै बुझ्ने जान्नेले कृपया बुझाइदिनु होस् न !
