
संसदीय मर्यादा र विवादित भाषण

सरमान सुब्बा ‘सरिक’
भर्खरै मात्र उत्तर सिक्किमको जङ्गु निर्वाचन क्षेत्र अन्तर्गत नाम्प्रिकदाङमा नामसुङ पर्वको अवसरमा 30 दिसम्बर 2022 मा आफ्नो मुख्य अतिथिको सम्भाषणमा माननीय संघ विधायक तथा आर एम डी डी मन्त्री सोनाम लामाद्वारा दिइएको विवादित बयान अहिले चर्चाको विषय रहेको छ । उनी बौद्धमार्गी लामाहरुको प्रतिनिधित्व गर्दै सिक्किम विधानसभामा संघ सीट आरक्षणबाट निर्वाचित विधायक मात्र होइन, तर राज्यको एक उच्च ओहोदामा ग्रामीण प्रबन्धन विकास विभागको मन्त्री समेत रहनु भएको एक जिम्मेवार व्यक्ति पनि हुन् जसलाई आम भाषामा भी आई पी भनेर बुझ्छौं ।
राज्यको एक जिम्नेवार व्यक्तिले जातीय पर्वमा बोलिने भाषा र जनसभाहरुतिर बोलिने भाषामा भिन्नता छुट्याउन सकेन भने त्यो व्यक्ति राज्यको भी आई पी दर्जाको नभएर आम एउटा साधारण दर्जाको मानिस गनिन्छ भनेर विभिन्न राजनीतिक दल तथा बौद्धिक जमातमा तर्क वितरक चलिरहेको छ । बौद्ध धर्ममा लामा एक पूजनीय तथा धार्मिक रक्षक पनि हुन् । सोनाम लामा लामाहरूद्वारा निर्वाचित एक जिम्मेवार प्रतिनिधि भएको कारणले उनको स्थान अन्य लामाहरुको भन्दा उच्च छ । अर्को कुरा बौद्ध मार्गीहरु अहिंसाको पुजारी हुन् । बौद्ध दर्शन अनुसार मन, बचन र कर्मले कसैलाई हिंसा नगर्नु भन्ने भनाई रहेको छ । नाम्प्रिकदाङको नामसुङ पर्व कार्यक्रममा आफ्नो मुख्य अतिथिको आसनबाट सोनाम लामाले जे बयान दिए त्यो निन्दनीय विषय थियो ।
एउटा बौद्ध मार्गी तथा गुरु (लामा) ले मूल प्रसङ्गदेखि बाहिरिएर राजनैतिक जनसभामा बोलिने वक्तव्य दिनु भनेको बौद्ध दर्शन र नियमको उल्लङ्घन पनि हो भनेर धेरै बौद्धिक जमातले तर्क गरिरहेको छ । विशेष कार्यक्रम तथा समारोहमा मुख्य अतिथि भएर जाँदा आफुले कस्तो वक्तव्य दिने भनेर अघिबाटै होमवर्क गरेको हुनुपर्छ । जातीय पर्वको समारोहमा जातीय संस्कृति तथा भाषा र जतीय उत्थानको चर्चा गरिनु पर्छ । साहित्यिक कार्यक्रममा भाषा र साहित्यमाथि बहस गरिनु पर्छ । धार्मिक कार्यक्रमहरुतिर अध्यात्मिक बहस गरिनु पर्छ र राजनीतिक कार्यक्रमहरुतिर राजनीतिको कुरा गरिनु पर्छ । आफ्नो प्रतिपक्षी मित्रहरुलाई जति गाली गर्नु छ त्यो राजनैतिक जनसभातिर गर्न सकिन्छ । हुन त सोनाम लामा एस के एम दलबाट टिकट पाएर निर्वाचित विधायक तथा मन्त्री हुन् । त्यसकारण उनले राम्रो काम गरेको छ या राम्रो वक्तव्य दिएको हो भने त्यसको क्रेडिट एस के एम पार्टीलाई पनि जाँदछ तर उनले यसरी नै विवादित बयान दिई रहने हो भने त्यसको नकारात्मक असर आफ्नै दललाई जाने गर्दछ ।
हुन त भारतीय राजनीतिमा यो एउटा सामान्य विषय हो । युपी, बिहार, नयाँ दिल्लीतिर यो भन्दा पनि घटिया स्तरका राजनीतिक बयानबाजी भएको सुनिएको छ । सिक्किम एउटा भारतको सानो राज्य भएकोले सिक्किमको राजनीतिसित राष्ट्रिय मिडियाले खासै चासो राख्दैन । एक समय नरबहादुर भण्डारीको समय थियो । सन् 1980 देखि तल माथि हुँदै सन् 1993 सम्म भण्डारीको नेतृत्वमा सिक्किम संग्राम परिषद पार्टीले सरकार चलायो । सिक्किमको इतिहासमा १४ वर्षसम्म सरकार चलाउँदा उनले आफ्नो सम्भाषणको क्रममा मुखमा जे जे शब्द आयो त्यही शब्द प्रयोग गर्थे । जनताहरु ताली पड्काउँदै मनोरञ्जन मानेर हाँस्थे । बोरा किन्नु पैसा लाग्छ, लिम्बु किन्नु एकै ट्वाक रक्सी भए पुग्छ भनेर भाषण छाँट्थे । लिम्बुहरु ताली बजाउँदै हाँस्थे गलल…। राईले अण्डेवियर लगाउँदैन भन्थे । राईले मज्जा मानेर सुन्थे । जनै जुम्राको लिङ्गे पिङ हो भनेर आफ्नै जातको मान्छेमाथि खिसी गर्थे । तरै पनि छेत्री बाहुन समुदायबाट कुनै प्रतिक्रिया आउँथिएन । सबै जात विशेषलाई मनपरी गाली गर्थे उनले तर कतैबाट टिका टिप्पणीहरु हुन्थेन । अहिलेका समय सम्वेदनशील समय हो ।
भण्डारीको समय, चामलिङको समय र गोलेको समयमा धेरै फरक छ । भण्डारीको समयमा जनतामा राजनैतिक चेतना कम थियो र नेताले जे भन्दा पनि त्यो विवाद हुन्थेन । तर अहिले राजनैतिक चेतना जागेकोले गर्दा नेता भन्दा जनता बाठा भएका छन् । मञ्च पाएको खण्डमा नेताले भन्दा आम जनताले धेरै राम्रो र होसियारीपुर्वक भाषण छााँट्न सक्छन् । समय सँगसँगै अपडेट हुनु सक्नु पर्छ भन्ने कुरा साधारण भन्दा पनि साधारण जनताले बुझिसकेकाले नेता याने कार्यक्रममा मुख्य अतिथिले कुन समयमा कसरी बोल्ने, कुन कार्यक्रममा के बोल्ने र के नबोल्ने यस्ता कुराहरुमा ध्यान पुर्याउन सकेन भने थुप्रै समस्याहरु देखा पर्दै जान्छ।विशेष शिक्षाको क्षेत्रमा उत्तर जिल्ला धेरै अगाडि छ तथापि राजनैतिक रुपमा जागरुकतको कुरा गर्न पर्दा अन्य जिल्लाहरु भन्दा पछाडि नै छ । जहाँ जहाँ राजनीतिक जागरुकता छैन त्यहाँ त्यहाँ प्राय: नेताहरुले यस्तै विवादित बयानबाजी गरेर मतदाता आफ्नो पक्षमा तान्ने प्रयास गरेको घटना पनि नयाँ होइन। एउटा बुझ्नु पर्ने कुरा के छ भने विश्वको इतिहासमा कुनै पनि नेताले स्थायी रुपमा महत्वपूर्ण ओहोदा ओगटी रहन सम्भव छैन ।
हिजोको मुख्यमन्त्री आज विपक्षी भएर बसेको छ । आजको मुख्यमन्त्री भोलिको दिनमा विपक्षीको भुमिका निर्वाह गर्नु पर्ने पनि हुन्छ । सोनाम लामाले सँधै भरी एउटै नेतृत्वको छत्र छायाँमा रहेर पार्टीको सेवा गर्नेछ भनेर किटान गर्न पनि सकिँदैन । हिजसम्म गोले सरकारलाई तथानाम गाली गर्ने अभिनाश याखा विपक्षी दल एस डी एफबाट बसाई सरेर वर्तमान सत्तारुढ दल एस के एममा गएको छ । रन बहादुर, राम बहादुर सबै एस के एममा टालिएको छ । एस के एम पार्टी सँधै भरी सत्तामा रही रहन्छ भनेर दाबी गर्न सकिन्न । एस के एम पार्टी सत्तादेखि बाहिरिएको दिन सोनाम लामाहरुले पनि बेडिङ्ग कसेर अन्य पार्टीमा बसाई सर्दैन भन्न सकिन्न । चामलिङ सरकारको समयमा जनप्रतिनिधि रहेका प्राय: सबै नेताहरू एस डी एफ पार्टीबाट अन्य पार्टीमा बसाई सरीसकेका छन् जसरी भण्डारी सरकारको समयका जन प्रतिनिधिहरु चामलिङको पार्टीमा बसाई सरेका थिए ।
आज सोनाम लामाहरुले आँखा चिम्लेर जे जे भन्दैछ एस के एमका समर्थकहरुले पनि आँखा चिम्लेर वाह! वाह! भन्दै ताली बजाउछन् तर भोलि त्यै सोनाम लामा अर्को पार्टीमा गएर आफुले त्यागेको पार्टीलाई तथानाम गाली गरेको खण्डमा के भन्ने ? यदि राजनैतिक जनसभामा हो भने सोनाम लामाको बयानबाजी सामान्य कुरा हो तर जातीय पर्वतिर यसरी राजनीतिक भाषण छाँट्नबाट राजनैतिक दलका नेताहरु जोगिनु पर्छ । सोनाम लामाले नाम्प्रिकदाङको पर्वमा आफ्नो मुख्य अतिथिको आसनबाट विपक्षी दलहरुलाई तथानाम गाली गर्दा असर पर्यो या परेन त्यो ठुलो कुरा होइन तर यस प्रकारको भाषाण गराईले सिक्किमेली समाजमा कस्तो प्रभाव परिरहेको छ त्यो महत्वपूर्ण कुरा हो । यो युग समाजिक सञ्जालको युग हो । नामप्रिकदाङ मेलामा चिव्चाएको आवाज नाम्प्रिकदाङमा मात्रै घन्किँदैन । फेसबुक, व्हाट एप्स, युट्युबको माध्यमबाट एक सेकेन्डमा विश्वको कुना कुनामा पुग्छ । यसरी सिक्किमेहरुको मानसिकता राज्य बाहिरकोहरुले सहजै बुझ्न सक्छ र उनीहरुले हाम्रो कमजोरीहरुबाट फाइदा उठाउँछन् ।
हुन त सिक्किममा विधान सभा चुनाव आउन एक वर्ष जति मात्रै वाँकी रहरको छ । बिधानसभा चुनावको समय नजिकिँदै गई रहेकोले पनि उनी आवेशमा आएको हुनसक्छ । मलाई लाग्छ मन्त्री सोनाम लामाले त्यसदिन जे जे बोल्यो त्यसको जिम्मेवारी उनीसित सम्बन्धित पार्टी नभएर उनी स्वयं हुन किन भने महत्वपूर्ण ओहोदामा आसिन व्यक्तित्वलाई कहाँ के बोल्नु पर्छ भन्ने कुरा आफैले जानेको हुनुपर्छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)