पृथ्वीनारायणमा ज्ञानेन्द्रको छायाँ देख्ने दृष्टिदोष
अनिरुद्र न्यौपाने
राज्य बिस्तार र एकीकरणको कठिन यात्रा पार गर्दै जतिवेला पनि उत्तर वा दक्षिण तर्फका राज्यको अंग बन्न सक्ने जोखिममा रहेका वाइसे र चौवीसे राज्यलाई एउटा दरिलो मुलुकका रुपमा एकीकरण गरेर पृथ्वीनारायण शाहले हामी सबै नेपालीलाई गौरवशाली इतिहाससहितको साझा पहिचान दिएका छन् । फौजी आक्रमण, जय र पराजयको जटिल प्रक्रियाबाट बनेको विशाल नेपालका राजा पृथ्वीनारायण शाहले आफुबाट पराजित राज्यका जनतालाई पनि यहि भूमिमा सम्मानपूर्वक बस्न सक्ने प्रवन्ध गरेर अठारौं शताव्दीमा पनि एकाइसौं शताब्दीको जस्तो लोकतन्त्र र सामाजिक न्यायका मानक निर्धारण र कार्यान्वयन गरे ।
एकीकरणको प्रमूख कार्यभार सम्पन्न भएपछि सबै जाति र भाषाका जनताबीचको परस्पर एकता र मेलमिलापबाट मात्र मुलुक बलीयो बन्न सक्छ भन्ने सन्देश आफ्नो दिव्योपदेशमार्फत दिएर उनले मुलुकको एकताको आधार स्पष्ट पारेर गए । उनको दिव्योपदेशमध्ये ‘नेपाल चार वर्ण छतिस जातको साझा फुलबारी हो, सबैलाई चेतना भया’ भन्ने सन्देश राष्ट्रिय एकताका सन्र्द======मा सबैभन्दा महत्वपूर्ण छ । उनको दिव्योपदेशमा भनिए झैं नेपाल एउटा बगैंचा हो । यहाँका सबै जातजाति भनेका बगैंचामा फुलेका अनगिन्ती फूल हुन्, जसले यो बगैंचालाई शोभा दिइराखेका छन् । सबै फुलले सहज तरिकाले फक्रने मौका नपाउने हो भने यो देशको एकता कायम रहन कठिन छ ।
नेपालको भौगोलिक एकीकरणको कार्य सम्पन्न भइनसक्दै निधन भएका कारण मुलुकको भावनात्मक एकीकरणका लागि पृथ्वीनारायण शाहले पर्याप्त समय पाएनन् । यद्यपि नेपालीहरूका बीचमा परस्पर सम्मान र एकताले मात्र मुलुक बलियो हन्छ भन्नेमा उनी दृढ थिए भन्ने उनको उनको दिव्योपदेशमा झल्कन्छ । यस्ता महान् आत्माको स्मरण गर्नु हाम्रो दायित्व मात्र नभई आफ्नै आत्मसम्मानको विषय समेत हो । विशाल नेपालको त्यस्ता रचनाकारप्रति अनुग्रहित नहुने कुनै पनि नेपाली सच्चा राष्ट्रबादी हुनै सक्दैन । अफसोच, उनलाई बर्षको एकदिन सम्झने र उनको जन्म जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउने कुरालाई राजनीतिक परिवर्तनसँगै परिवर्तनकारी शक्तिले नै आफ्नो क्षणिक राजनीतिक लाभहानीको विषय बनाइदिए ।
निरंकुश राजतन्त्रको अन्त्य र पूर्ण लोकतन्त्रको बहालीका लागि भएको २०६२/६३ को जनआन्दोलनमा सबै वर्ग, क्षेत्र, भाषा र सम्प्रदायका जनताको अभूतपूर्व सहभागिता रह्यो । आन्दोलनको सफलतासँगै सबै नेपालीका बीचको भावनात्मक एकीकरण थप मजबुत बनाउने आधार नयाँ संविधानले कोरेको छ । विभिन्न आयोग गठनदेखि संघ, प्रदेश र स्थानीय तहलाई बलियो बनाउँदै निर्वाचनको पद्धति सुधारमार्फत सवै क्षेत्र जाति र सम्प्रदायका जनताको राज्य सञ्चालनमा सहभागिता प्रवद्र्धनका लागि संवैधानिक र कानूनी प्रबन्ध भएका छन् । यी सबै व्यवस्थाको कार्यान्वयन गर्नु भनेको राष्ट्रिय एकताका प्रतिकले अढाइ सय बर्षअघि प्रस्तुत गर्नुभएको अवधारणालाई मूर्त रुप दिनु हो । संविधान कार्यान्वयनको यो प्रक्रियामा हरेक पल पृथ्वीनारायण शाहको दिव्योपदेश मनन गर्नुका सट्टा शाहको अपमान गर्नु भनेको नेपाल, नेपाली र यो संविधानको पनि अपमान गर्नु हो ।
पृथ्वीनारायण शाहको दिव्योपदेशलाई उनका उत्तराधिकारीहरूले घोके, बाचन गरे तर मनन् कहिल्यै गरेनन् । शासक वर्गले राष्ट्र निर्माताको दिव्योपदेशलाई राजनीतिक लाभको भाषणबाजीका लागि मात्र उपयोग मात्र ग-यो । परिणामतः गौरवपूर्ण इतिहास बोकेको राजसंस्था स्वेच्छाचारी र अदुरदर्शी राजाहरुकै कमजोरी र विवेकहिनताका कारण गुम्न पुग्यो । राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना समेतको माग अघि राखेर २०६२/६३ सडकमा आएका जनताको मुख्य तारो तत्कालिन राजा ज्ञानेन्द्र थिए तर जनआक्रोसलाई देशको हित प्रतिकुल उपयोग गर्न चाहने तत्वले राष्ट्र निर्माताप्रति अपमान गर्ने प्रयोजनमा पनि जनआक्रोसलाई उपयोग गर्न खोज्यो । कतिपयले अठारौं शताव्दीमा राज्य एकीकरणको लडाईंका क्रममा भएका भनिएका कमी कमजोरीलाई एकाइसौं शताव्दीमा निर्धारण भएका मानवअधिकारका मापदण्डको कसीमा तुलना गर्दै पृथ्वीनारायण शाहको योगदानलाई अर्थहिन बनाउने गलत प्रयास समेत गरे । बाइसे र चौबीसे राज्यमा विभाजित नेपाललाई एउटै विशाल राष्ट्रको स्वरूप प्रदान गरेका उनलाई ठूला देशको राजा बन्ने महत्वाकांक्षा पूरा गर्ने नाममा विभिन्न जातजातिलाई दमन र शोषण गरेको तानशाहका रूपमा चित्रण गरियो । एक्काइसौं शताब्दीमा समेत हिंसा र हत्यालाई राज्यसत्ता कब्जा गर्ने आधारका रूपमा व्याख्या गर्ने एउटा पक्षले तत्कालिन स्वार्थका लागि राजाका बारे गलत प्रचार गर्यो भने अन्य पक्षले पनि उनको अपमानमा नै आफ्नो राजनीतिक भविश्य देखे । विश्वव्यापी रूपमा युद्धमार्फत अर्को राज्यमाथि विजय गर्ने प्रचलन सामान्य रहेको त्यो युगमा भएका केही घटनालाई एक्काइसौं शताब्दीको मानवअधिकारको विश्वव्यापी मूल्य र मान्यताको कसीमा तुलना गरेर पृथ्वी नारायण शाहलाई त्यस किसिमको आरोप लगाउनु किमार्थ पनि उपयुक्त होइन ।
जनआन्दोलनको सफलतासँगै पृथ्वीनारायण शाहको आत्मामा समेत तत्कालिन राजा ज्ञानेन्द्रको छायाँ देख्न थालियो । सरकार र केही राजनीतिक दलले उनको जन्म जयन्ती मनाउनुलाई समेत जनविरोधी कार्य ठाने र महान् आत्माको हदैसम्म अपमान गरे । दिनडाहाडै उनको शालिक तोडफोड हुँदा सरकार मूकदर्शक बन्यो र त्यसमा संलग्न अपराधीलाई कारबाही गरेन । उनको उपदेशलाई आत्मसात् गर्नु त परै जाओस् उनलाई वर्षमा एक पटक सम्झनु समेत बेकार ठानियो ।
जनआन्दोलन सफल भएर लोकतन्त्र प्राप्ति भएसँगै रोपीएको जातीय विग्रहको भेल संविधानमार्फत नियन्त्रण गरिएको भए पनि सबै जातजातिको बृहत एकता र मेलमिलापलाई राष्ट्रिय अभियानका रुपमा अघि नबढाएसम्म संवैधानिक व्यवस्थाले मात्र नेपालको भावनात्मक एकता सम्भव छैन । यो अभियानमा राष्ट्रनिर्माताको दिव्योपदेशले मागदर्शन गर्न सक्छ । बृहत राष्ट्रिय एकता कायाम गर्नका लागि पृथ्वीनारायण शाहको दिव्योपदेशमा अन्तरनिहित विषयवस्तुको पहिचान र सही विश्लेषण गरिनुपर्छ । यो देश सबै जातिको साझा फुलबारी हो । यो नै नेपालको पहिचान हो र नेपालको सुन्दरता पनि हो । कुनै पनि देशको विकास त्यो देशका जनताको आपसी मेलमिलाप, पारस्परिक सहयोग, एकले अर्कोप्रति गर्ने सम्मान र त्यो देशको सरकारले सबै नागरिकलाई गर्ने समान व्यवहारमा निर्भर रहन्छ । नेपालमा विशेष गरी दलितका नाममा ठूलो विभेद छ । कथित ठूलो र सानो जातको नाममा एकले अर्कोप्रति गर्दै आएको भेदभाव सम्मानपूर्ण जीवनयापन गर्न पाउने आधारभूत मानवअधिकारको खिलाप छ । एउटा सधंै सम्मान खोज्ने र अर्को सधैं अपमान सहने अवस्था रहँदासम्म राष्ट्रिय एकता सम्भव छैन । त्यसैले समस्याको पहिचान र समाधान दुवैका लागि राष्ट्र निर्माताप्रतिको सम्मान भाव देखाउने इच्छाशक्ति हुनु अपरिहार्य छ ।
पृथ्वीनारायण शाहले नेपाल बगैंचाको कुनै पनि फूलको शोभालाई कम वा बढी आँकेका छैनन् । सबै जातजातिको आफ्नै पहिचान र महत्वलाई उनले उच्च सम्मान गरेका छन् । एउटा फुलबारीमा भएका कुनै पनि फूलले प्रदान गर्ने शोभा अर्को जातको फूलले प्रदान गर्ने शोभाभन्दा नितान्त फरक हुन्छ र सबैको मौलिक सुन्दरताको समष्टि नै बगैंचाको सुन्दरता हो । बगैंचालाई सुन्दर बनाउन सबै फूलको आ–आफ्नै महत्व हुने हुनाले सबैलाई मालीले उत्तिकै हेरविचार गरेजस्तै राज्यले सबै नागरिकलाई उत्तिकै अवसर र सम्मान दिनुपर्ने आशय उनको दिव्योपदेशमा भेट्न सकिन्छ । विगतमा नेपालको संस्थापनले जातीय भेदभाव अन्त्य गर्ने कुरालाई पर्याप्त ध्यान दिएन । देश भित्रका कयौं जातजाति र सम्प्रदायले आफूप्रति राज्यले विभेद गरेको महशुस गर्दै आए । जनआन्दोलनको जगमा संविधानसभाबाट बनेको संविधानले कानूनतः त्यस्ता विभेदको अन्त्य गरेको भएपनि त्यसलाई सम्वन्धित पक्षले महशुस नगर्दासम्म मुलुक भावनात्मक रुपमा एक हुँदैन । राष्ट्र निर्माताले अढाइ सय बर्षअघि निर्धारण गर्नुभएको राष्ट्रिय एकताबारेको दृष्टिकोणलाई मुर्त रुप दिन यी कानूनी ब्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्नु अब राजाको नभई जनताका प्रतिनिधिको दायित्व भएको छ ।
पृथ्वीनारायणकै शब्दमा नेपाल सानो दुःखले निर्माण भएको मुलुक होइन । त्यतिका राज्यलाई एउटा व्यक्तिको जीवनकालमा एउटै राज्यमा समाहित गराउनु सजिलै सम्भव हुने कुरा पनि थिएन, जुन उनले गरे र हामीलाई विशाल मुलुक उपहार छोडेर गए । त्यस्ता महान व्यक्तित्व मुलुकले पाउनु हाम्रो सौभाग्य हो । पृथ्वीनारायण शाह साँचो अर्थमा लोकतन्त्र र मानव अधिकारका पक्षपाती थिए । ‘प्रजा जसदेखि राजी रहन्छन्, उसैलाई काजी दिनु’ भन्ने उनको वाणीले उनलाई त्यस्तो राजाका रूपमा स्वीकार गर्ने स्पष्ट आधार प्रदान गर्दछ । त्यस बेलाको समयमा अहिलेका प्रजातन्त्रवादी भनिएकाहरूको जस्तो मात्र स्वभाव उनमा भएको भए देशका लागि योगदान गर्न नसक्ने आसेपासेले नै काजीको पद पाउँथे । निर्वाचनमार्फत् कार्यकारी चयन गर्ने व्यवस्थाको परिकल्पनासमेत नगरिएको त्यस्तो समयमा प्रजाको चाहनाको नेतृत्व हुनुपर्ने विचार अत्यन्त महत्वपूर्ण छ । नेपालको इतिहास त्यस्ता महान राजाको योगदानले तयार भएको हो ।
जुन मुलुकले राष्ट्रनिर्माताको सम्मान गर्दैन, त्यहाँको राष्ट्रियता दरिलो हुँदैन । जब देशको इतिहासप्रति त्यो शासकले अपमान गर्न थाल्छन्, तब मुलुक परनिर्भर बन्दछ । राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता र सम्मान चाहने नेपाली जनताले पृथ्वीनारायाण शाहलाई अपमान गर्नु उपयुक्त होइन । त्यसैले नेपाल र नेपालीको सम्मानका खातिर हिजोको गल्ति सुधार गरी नेपाल सरकारले राष्ट्र निर्माता र एकताका प्रतीकको जन्म जयन्तीलाई राष्ट्रिय दिवसका रूपमा भव्यताका साथ मनाउनु आवश्यक छ । पृथ्वीनारायण शाहका वर्तमान उत्तराधीकारी नेपाली जनता र जनप्रतिनिधि हुन् । उनको सम्मान गर्नु आम नागरिक र सरकारको दायित्व हो