
मृत्युपुर्वको माया-सद्भाव राम्रो कि मृत्युपश्चातको संस्कार ?
मिरा पुडासैनी
धनराज आफ्नो समयका एक बलियार प्रभावशाली मान्छे हुन् । उनको श्रीमतीको मृत्युपछि र बर्ष दिनभरि गर्नु पर्ने मृत्युपश्चात्का संस्कारमा उनले कुनै कसर राखेनन् । हिन्दु मृत्यु संस्कारका लागि गरिने १३ दिने कृया, त्यसपछि हरेक महिना मासिक (श्राद्द), पैंतालीस दिनको काम र बर्खान्त सबै उनले दिल खोलेरै गरे ।
त्यति सम्भ्रान्त परिवारका त उनी थिएनन् । बाँचुन्जेल उनले श्रीमतीलाई कहिल्यै सुख दिएनन् । श्रीमतीको कदर, सम्मान कहिल्यै राख्न नजानेका उनकै कारणले गर्दा उनको परिवारमा उनकै छोरा बुहारीहरूले पनि कहिल्यै इज्जत गरेनन् । श्रीमतीलाई केवल नोकर्नीकै दर्जामा राखेर उनले गरेको अत्याचार धेरैको निम्ति मलजल भएको थियो उनकी श्रीमतीलाई होच्याउने, तल देखाउने । यसरी बाँचुन्जेली कहिल्यै श्रीमानले मन नपराईएकी, हेला गरेकी उनले ६०-६५ बर्षसम्म भात भान्सा र चुलो चौकोमा कसैको साथ र सहयोग पाईनन् । एक छाक तातो पानी तताएर कसैले उनीलाई खान दिएनन् । उनको मृत्यु उनको निम्ति त वास्तविक मुक्ति नै थियो । तर उनले श्रीमतीको मृत्युपश्चात् पितृदोष नलागोस् भनेर गरिएका सबै संस्कारहरू प्रत्यक्ष सहभागी हुनेहरूले, उनको पछाडि धेरै कुराहरू काटे । अगाडि बढेर भन्ने हिम्मत कसैको भएन र पनि उनी धेरै समयसम्म चिया पसल, टोल छिमेक, गल्ली र घर घरमा चर्चाका विषय भई नै रहे ।
उमेरमै श्रीमती गुमाएका गोविन्दको जीवनका अन्तिम ४-५ वर्ष निक्कै नै कष्टकर बिते, ओछ्यानमै मल मुत्रमा डुब्नु परेको यथार्थ कसैसगँ लुकेको थिएन । अन्तिम अवस्थामा उनलाई भेट्नेहरू भन्ने गर्थे रे, नर्क कस्ले देखेर आएको छ र तर नर्कका बारेमा हामीले सुनेका भन्दा कष्टकर थिए उनका आखिरी दिनहरू । उनले नै कमाई दिएर राखिदिएको अथाह सृजना, बेलैमा श्रीमती गुमाएर पनि दुई सन्तानका निम्ति भनेर दोस्रो विवाह नगरी कटाएका जवानीका दिनहरू, उनले सन्तान हुर्काउन र आमा विनाका छोराहरूलाई आफ्नो खुट्टामा टेकाउने बनाउन गरेको दुःख र संघर्षका कथाहरू समाजमा छर्लङ्ग थियो । विदेशिएको छोराले आउन नसक्ने विभिन्न बहानाको फेहरिस्त देखाएर वावुको अन्तिम दर्शन गर्न आएन । अनि संगै भएको छोराको परिवारले उनका आखिरी दिनमा गरेको तिरस्कारलाई देख्नेहरूले पनि आँखा छोपिदिएका थिए ।
बावुलाई उसले गर्ने गरेको अपहेलनाको खिलाफ परिवार र समाजले कहिल्यै केही भन्न सकेनन् वा बलेकै आगो त ताप्ने हो नि झै तथस्ट बनिदिए सबै, सहि र गलतलाई गलत भनेर भन्न नसक्ने हाम्रो समाजले उनको जेठो छोराले बावुको मृत्युपछि हिन्दु परम्परा अनुसार मृत्युपछिको कष्टकर १३ दिने संस्कार र वर्ष दिनपछि गरिने सम्पूर्ण कृयाहरूको तारिफ भने गरिरह्यो ।
७ वर्षसम्म प्यारालाईसिस भएका बुवालाई स्याहारेर पनि बुद्धिकृष्णका वुवाले आफ्नो अन्तिम श्वास छोराकै काखमा फेरे । सरकारी सेवामा पनि अव्वल ठहरिएका सेवा निवृत सहसचिव उनले बाँचुन्जेल पनि बुवा आमा र परिवारलाई समेटेर राखेका थिए अनि उनलाई बुवा वितेकै महिनामा विदेशी राजदुत नियुक्ति भई आफ्नो कार्यको निम्ति रवाना हुनु पर्ने भएकाले उनले परिवारकै सल्लाहमा १३ दिने सस्कारलाई ५ औं दिनमा सम्पन्न गर्न लगाई र विदेशको ठाउँमा आशौच वार्दा पर्न सक्ने कठिनाई नहोस् भनेर सम्पूर्ण वाधा पर्ने खानपान र पहिरन फुकाउने निर्णयलाई हत्तपत कसैले रूचाएका थिएनन् । तर उनले श्रीमती र आमाको सहमतिमा सम्पूर्ण कार्य गरेर कार्यक्षेत्र जाने दिनसम्म समाजका सामन्ति कट्टरपन्थी सोच भऐका मानिसहरूबाट धेरै कुराहरू सुन्नु परेको थियो । तर बाँचुन्जेल अनि अन्तिम अवस्थाका ७ महिनामा उनले बुवालाई गरेको सेवालाई समाजले त्यतिन्जेल बिर्सिसकेको थियो । के मृत्यु पश्चातका सारा संस्कारहरू जसरी भनिएको त्यसरी गर्न नसक्दैमा उनलाई पितृदोष को भागिदार हुनु पर्ला त र ?
यस्तो छ समाज हाम्रो अनि कसरी न्याय पाउँछिन् ती निरीह आमाले जस्ले बाँचुन्जेल एक पेट राम्ररी मिठो मसिनो खान पाईनन्, एक सरो सफा अनि राम्रो लुगा उनको आङमा कहिल्यै परेनन् । छोरीहरूले कहिलेकाहीँ माईती आउँदा ल्याईदिने केही खानेकुरा अनि एक दुई जोडि लुगा मात्र उनका आङमा पर्थे । ती लुगा लगाउँदा अनि खानेकुरा खाँदा पनि उनले जहिल्यै बुहारीहरूको विभिन्न तानाहरू सुन्नु पर्थ्यो । तर श्यामबाबू तिवारीका दाजु भाईले निक्कै धुमधामले आमाको एक वर्षको काम सकाएका थिए । सुगर, प्रेसरलगाएत बुढ्यौली रोगले निक्कै थलाएर उनको मृत्यु भईसकेपछि उनका दुई भाई छोराहरूले धुमधामले आमाको जिउनी खेत बेचेर ६० लाख पर्ने कार किनेका थिए । तर दुस्ख सुखमा त्यो परिवारलाई सहयोग गर्ने दिदीबहिनीप्रति उनीहरूले उदारता देखाउन सकेनन् । न त कहिल्यै बाँचुन्जेली आमालाई केही नगरेको हिनताबोध उनीहरूमा देखिन्थ्यो । समाजले पनि तिमीहरूले नराम्रो गर्यौ, यसो गर्नु हुँदैनथ्यो भनेर कहिल्यै उनीहरूलाई भनेको थियो ।
यी माथिका प्रतिनिधी घटनाहरू हाम्रै समाजका ऐनाहरू हुन् । हिन्दु धर्म प्राचीनकालदेखि चल्दै आएका विभिन्न धर्म र आस्थाहरूको बृहत् सम्मिश्रण हो । त्यति जानकार नभए पनि जन्मेदेखि मृत्युसम्म हिन्दु धर्ममा विभिन्न १६ संस्कारहरू गरिदैं आएको कुरा भर्खर मेरै परिवारमा पनि मेरी बुढीसासु आमाको मृत्युको १३ दिनसम्म घरमा नै रहेर केही कुराहरू प्रेतकल्पका बारे बाचन गरिने गरूड पुराणका माध्यमबाट बुझ्ने मौका मिलेकोमा मैले देखेका घटनाहरूलाई जोडेर मृत्यु पश्चचातका सस्कारबारे केही लेख्ने जमर्को मात्र गरेको हुँ । यो धृष्टता कसैप्रतिको आग्रह वा पुर्वाग्रह केही पनि हैन ।
हिन्दु परम्परामा मृतकको लाशलाई नदी किनारमा जलाउने परम्परा छ । हिन्दूहरूका निमित्त जीवनको अन्तिम संस्कार अन्त्येष्टि संस्कार हो । मृतकका नातेदारहरूले मृत्युपछिको जीवनमा मृतकलाई सजिलो होस् भन्नाको निम्ति यो संस्कार सम्पन्न गर्दछन् । समयक्रमसँगै यसका अनेक विधिहरू थपिँदै गएर यो एउटा महत्त्वपूर्ण संस्कार हुनपुग्यो । हिन्दूहरूका निमित्त यस लोकको जीवनभन्दा परलोकको जीवन ज्यादै महत्त्वपूर्ण मानिएकोले अन्त्येष्टि संस्कारलाई अनिवार्यरुपले सावधानीपूर्वक गर्ने गरिदो रहेछ । हिन्दू धर्मले आत्मा र शरीर अलग हुनुलाई मृत्यु मान्दो रहेछ । मृतकको आत्मा पारिवारिक माया मोहका कारणले आफ्नो गन्तव्यतिर नभई घरको वरपर नै बसिरहन सक्ने र हानी पुर्याउन सक्ने हुनाले यस्तो नहोस् भन्ने डरले नै अन्त्येष्टि संस्कार गरिदो रहेछ । दाहसंस्कार गरेर मृतक आत्मालाई पवित्र बनाउनुको साथै पितृलोकतिर बिदा गरिदै गर्दा कुनै पनि कुराको अभाव नहोस् भनेर विभिन्न खाद्यान्नहरू, कपडाहरू र मार्गप्रशस्त गर्नको निम्ति गाईदान गरिदो रहेछ । १३ दिने काजकिरिया, मासिक श्राद्ध तथा वर्षेनी मृतकको नाममा गरिने श्राद्ध मृत्यु संस्कारका प्रमुख कर्म हुन् ।
किरिया अवधिमै शोकाकूल परिवारले गरुड पुराण सुन्ने चलन छ, जुन विष्णु पुराणका १८ पुराण मध्येको एक हो । यस पुराणका अनुसार मानिस मृत्युको अवस्थामा पुग्दा बोल्न चाहन्छ, सुन्न चाहन्छ, तर सक्दैन । बिस्तारै केही समयपछि उसको बोल्ने, सुन्ने शक्ति हराउँछ । क्रमश उसको शरीरबाट एक एक अङ्ग गरी आत्मा औंलामा पुग्छ, जसलाई यमदूत आएर यमलोकमा लैजान्छ भन्ने कुरा गरूड पुरानमा उल्लेख गरिएको रहेछ । यसै क्रमका यमदूतले मृत आत्मालाई नर्कको दुःखबारे बताउँछ । यो सब सुनेर आत्मा चिच्याएर रुन थाल्छ किनकि यमलोक पुग्ने बाटो अत्यन्तै कठिन हुन्छ । तातो हावा, तातो बालुवा, तातो तेलको कराही, भोक, तिर्खा, विभिन्न द्वारहरू त्यो पार गर्दै आत्मा यमलोक पुग्छ । यदि आत्मा सफल भयो भने पुनः जिवात्मामा प्रवेश गर्ने अनुमति पाउँछ । उसमा अझै माया मोह बाँकी रहने हुनाले जब मृतात्मा पुनः आफ्ना मनपरेका आफन्तको शरीरमा पस्न खोज्छ, यो बेलामा पनि यमदूतले अनेक परीक्षा लिइरहन्छन् । यस अवधिमा यदि मृतकका आफन्तले पिण्ड दान गरेनन् भने त्यो आत्मा भूतप्रेत बनेर पृथ्वीमा भौंतारिइरहन्छ भन्ने विश्वासमा मृत्यु भएको १० दिनसम्म मृतकका आफन्तले पिण्डदान गर्छन् । यी त भए गरुड पुराणभित्रका मृतआत्मा सम्बन्धी केही कुराहरू ।
हाम्रा मृत्यु संस्कारका सामाजिक मूल्य मान्यताहरू अरू धर्मका भन्दा भिन्न भए पनि समग्रमा मृतकप्रति र उनीहरूका आफन्तप्रति समुदायका अरू व्यक्तिले देखाउने सेवा, सद्भाव र सहयोगहरू पीडाका घडीलाई पार लगाउने अर्थमा चाहिँ समान नै मानिन्छन् ।
गरूड पुराण सुनेपछि मेरो दिमागले ठम्याएको एउटै कुरा भनेको पितृदोषका कारणले दह्रो गरी गडेको विश्वास छ। पितृकर्म नगर्दा वा पितृ दोष स्वरूप परिवारका सदस्य निरन्तर बिरामी हुनु, वंश रोकिनु, सन्तान जन्मने बित्तिकै मृत्यु हुनु, मानसिक अशान्ति, व्यापारमा घाटा, विवाहमा अवरोध, दुर्घटना, खराब सपना, काम बिग्रनुलाई यसका उदाहरणका रुपमा लिने गरिदो रहेछ ।पितृदोष निवारणका लागि गर्नु पर्ने उपायहरू गरूणपुराणले भने अनुसार पिण्ड दान, सर्पपूजा, ब्राह्मणलाई गोदान भोजन, कुवा, इनार खनाउने, मन्दिरमा पिपल र वर रोप्ने, आदि बताइएको छ । ब्राह्मणलाई यस अवधिमा गराईएको भोजन सिधै पितृसम्म जान्छ भन्ने मान्यता रहेछ । मानिसले अग्रज या प्रियजनको मृत्युलाई श्रद्धा भाव त गरी नै हाल्छ । यो भन्दा बढी हाम्रा सामाजिक मूल्य मान्यता तथा परापुर्व कालदेखि लेखिएका धर्म ग्रन्थहरूको मनोवैज्ञानिक प्रभावचाहिँ श्राद्ध गरेर र पिण्डदान गरेपछि ती मृतकका आत्माले भेट्टाउँछन् भन्नेमै केन्द्रित गरिएको हुनाले नै मृत्यु पश्चात् नसक्नेले पनि ऋण नै गरेर भए पनि एक वर्षसम्मका सम्पूर्ण कार्यहरू गर्ने गरेको मैले बुझे, सायद त्यहि नै हुन सक्छ सायद ।
यसो हो भने माथि मैले उल्लेख गरेका केही प्रतिनिधि घटनाहरूलाई यससगँ जोड्नु पर्दा मृत्युपश्चात गर्नु पर्ने कर्मका निम्ति जे जति कुराहरू लेखिए र ती आजका दिनसम्म अक्षरस पालना गरिदै आए, हामी र हाम्रा पुर्वजहरूले किन मृत्यु अघिका माया अनि सद्भावका संस्कारहरू यसरी बनाउन सकेनन् त भन्ने कुरा खड्किनै रह्यो । के वास्तवमा सम्भव छैन त मृत्युअघि सद्भाव रु किन नदेखिने डर अनि त्रासका निम्ति मृत्युपश्चातका संस्कारहरू जुन हदसम्म गएर पनि पूरा गराउन खोज्ने समाजले यदि यसैगरी मृत्युपुर्व पनि विभिन्न नजिर तथा सम्भावना देखाउँदै बनाईदिएको संस्कारहरूमा एउटा मात्रै थपिदिएको भए सायद माथि उल्लेखित घटनाका मृत्यु भईसकेका पात्रहरूले बाँचुन्जेली न्यायोचित जीवन बिताउन सक्नु हुन्थ्यो कि भन्ने लागिरह्यो ।
मरे पछि डुमै राजा भन्ने उखान त छ नै तर जुन पितृदोषले मानिस त्रसित छ कहिले काहीँ गरिबी, चेतनाको कमी, सेवाको पहुँच नहुँदा आइलागेका दुर्घटना पनि हुन सक्छन् जुन चेतनाको विकाससँगै परिवर्तन हुन पनि सक्लान कि, त्यतापटि ध्यान दिने पो हो कि रु मृत्युपछि सबथोक सकिन्छ तर समाजमा जीवित छँदा सहज जीवनयापन गर्ने गराउनु पर्ने विषयमा सहयोग र सहकार्य, माया र सद्भावको कमि हुन नदिनको निम्ति समाजको योगदान हुनु आवश्यक छ जस्तो महसुस भयो । समाजमा गरिव तथा सिमान्तकृत मात्र हैन, यस्ता सक्षम परिवार पनि छन्, जसले परिवारका सदस्यलाई सहयोग र हेरचाह गरेका छैनन् । अर्कोतिर अभावका कारण पनि ज्येष्ठ या अस्वस्थ सदस्यलाई खानपान, औषधीमूलो अनि माया र सम्मान दिन सकिरहेका छैनन् । बाँचिरहेका मान्छेलाई आफन्त गुमाउनुको पीडा त छँदै छ, त्यसमाथि मृत्यु संस्कारले निक्कै कष्ट, आर्थिक तथा सामाजिक बोझ पनि थपिइएको हो कि भन्ने महसुस भयो । पारिवारिक सम्बन्ध नै तिक्ततापूर्ण बनाएर बसेकाहरूले पनि आफ्ना परिवारका सदस्यको मृत्युपछि भने बडो सतर्कताका साथ मृत्युसंस्कारलगायत वर्षै पिच्छे श्राद्ध गर्ने र पितृदोषबाट मुक्त हुन मार्ग खोजिरहेको हो कि भन्ने मनोभाव देखिन्छ ।
मैले माथि उल्लेख गरिएका प्रतिनिधि पात्रहरूले जिवित छँदै नै मृत्युपछि गरिए जस्तै, मृत्युपुर्वको सम्बन्धलाई प्रगाढ बनाउन सकिएको र एक अर्काको सहअस्तित्वलाई स्वीकार्न सकेको भए मृत्युपछिका पितृदोषको भयबाट बच्न सघाउ गर्थ्यो होला नि है । यो सबै कुराहरू गर्नेहरूका निम्ति पक्कै हैन तर यो कुराचाहिँ पक्कै पनि साँचो हो कि पितृ दोषको त्रास तब मात्र हुन्छ, जब हामीले गल्ती गरेका हुन्छौ नि ! हैन र र ? त्यसैले मृत्यु पुर्व हामीले के गरेका छौ भन्ने कुराले हाम्रो मृत्युपश्चातका संस्कारलाई न्याय दिलाउला न कि सँस्कारका नाममा अनावश्यक तडकभडक र समाजलाई देखाउनका लागि कुनै पनि पितृदोषबाट मुक्त हुन कोहि सक्छ जस्तो लाग्दैन । मेरो कच्चा दिमागले वारम्वार प्रश्न गरिरहन्छ, मृत्युपुर्वको माया सद्भाव राम्रो कि मृत्युपश्चातको संस्कार ? तर मैले मृत्यु संस्कारलाई गलत भन्न खोजेकै हैन ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



