अब नेकपा के हुन्छ ?
अभय श्रेष्ठ
१) पहिलो कुरा त एमाले र माओवादी एकीकृत हुनु नै गलत थियो । विचार र सिध्दान्तको एकता भए टिक्थ्यो कि ! दुई अध्यक्षको स्वार्थको एकता नटिक्नु स्वाभाविक हो । चुनावी तालमेलसम्म ठिक थियो, एकता गलत । विश्लेषक आहुतिको कुरा ठिक रहेछ । (म पनि उत्साहित नै थिएँ । गलत रहेछु ।)
२) कथम् वैशाखमा चुनाव भयो भने धेरै ठाउँमा काँग्रेसले लठ्ठी उठाए पनि जित्छ । ऊ आफूले नलगाएको बालीको फसल उठाउन सफल हुन्छ । दुवै नेकपाका शीर्ष नेता सबैको लज्जास्पद पराजय हुन्छ ।
३) संसद् बौरियो भने प्रचण्ड सत्ताका खलेपु खेलाडी बन्छन् ।
४) संसद् बौरिएन, चुनाव र आन्दोलन पनि भएन भने ओली सरकारले बुताले भ्याएसम्म छ/छ महिना गरी संकटकाल ठोक्दिन्छ । राष्ट्रपतिबाट सदर भइहाल्छ ।
५) अलिपछि प्रचण्ड र माधवकुमार नेपालको पार्टी पनि टुक्रिन्छ । पूर्व एमालेहरू मिल्छन् ।
६) ओलीपक्षीय ‘खलेपु’ राष्ट्रवाद बजारमा बिक्न छाड्छ । बजारमा पठाउन ऊ समृध्दिको पुरानै फास्टफुड विज्ञापनमा ज्यान फालेर लाग्छ ।
७) आफ्ना मान्छेले बाटोमा दिसा गरे पनि सुन फालेको व्याख्या गर्न पोख्त छन् ओली । प्रचण्ड र माधवकुमार नेपाल आफ्ना मान्छे चिन्दैनन् । अत: चाँडै नै ओलीले शक्ति फर्काउँछन् ।
८) चुनाव भयो र बहुमत ल्याएर काँग्रेस सरकारमा गयो भने उसको नियति अहिलेको नेकपाकै जस्तो हुन्छ । बल्ल फेरि टुक्रिएका नेकपाहरूले ठुँड जोड्न थाल्छन् । तर, राजावादी भ्यागुताहरू अहिलेजस्तै कान्लामुनि टर्टराइरहन पाउँछन् ।