फोटोको धन्सार शुभारम्भ
काठमाडौँ, १९ मंसिर । विश्वभरका फोटोग्राफरका सिर्जनालाई जनसमक्ष पु-याउने उद्देश्यले साझा मञ्चका रुपमा धन्सार डटकमको शुभारम्भ गरिएको छ । अमेरिकाकाको वासिङ्टन डिसीमा मुख्य कार्यालय रहेको धन्सारले विश्वभरका फोटोग्राफरको क्यामेरामा कैद भएका तस्वीर, दृश्य र संगीतलाई सार्वजनिक गर्नेछ ।
राजधानीमा आयोजित कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मीले धन्सारको शुभारम्भ गर्दै भने, ‘यस्तो पोर्टल नेपालमा आजसम्म थिएन । र, आवश्यक थियो । यो पर्यटनसँग पनि जोडिएको छ । नेपाल चिनाउनु छ, सबै ठाउमा बोर्ड पुग्दैन । यसले त्यस्तो ठाउँमा काम गर्छ भन्ने मेरो विश्वास छ ।’
नेपालका भौगोलिक अवस्थिति, कला, संस्कृति, सम्पदा विश्वमाझ चिनाउने उपयुक्त माध्यम भएको उनले बताए । कला, संस्कृति र प्रकृतिमा नेपाल विश्वमै धनी रहेको उल्लेख गर्दै उनले नेपाल चिनाउने तस्वीर तथा श्रव्यदृश्य सामग्री बोर्डलाई उपलब्ध गराउन पनि आग्रह गरे ।
धन्सारका प्रमुख कार्यकारी अधिकृत बिनोद अधिकारीले ‘डिजिटल लाइब्रेरी’का रुपमा आफूहरुले यो मञ्च सार्वजनिक गरेको जानकारी दिए ।
फोटाग्राफरहरुले आफूले कैद गरेको तस्वीर तथा श्रव्यदृश्य केही निःशुल्क तथा शुल्क लिएर धन्सारमार्फत बिक्री गर्न सक्ने मात्र होइन, धन्सारमाफत आकर्षक तस्वीर तथा श्रव्यदृश्यको खोजी तथा खरिद गर्न समेत सकिने बताइएको छ।
धन्सारमा विभिन्न विधाका तस्वीर तथा श्रव्यदृश्य राख्न सकिने छ भने प्रतिदिन एक प्रयोगकर्ताले १० वटा तस्वीर राख्न सक्ने धन्सारले जनाएको छ । बिक्री भएका तस्वीर तथा श्रव्यदृश्य सामग्रीको शुल्क सम्बन्धित फोटोग्राफरले प्राप्त गर्नेछन् भने धन्सारमा तस्वीर तथा श्रव्यदृश्य सामग्री उपलब्ध गराउने व्यक्तिले आफ्नो सिर्जनाको मूल्य आफै तोक्न सक्ने जनाइएको छ ।