दार्चुलाः हाम्रो प्रेमिल गन्तव्य

कविता
कमल कार्की

सुदूर पश्चिमोत्तर दुर्गम
हाम्रो भौतिक, प्रेमिल मिलनविन्दु
प्रेमिल संसारको सुनौलो सांग्रिला
हाम्रो रोजाइको सुरक्षित गन्तव्य दार्चुला ।

कोपिला घामलाई हुर्काएर
सुगन्ध छर्दै अपरान्ह हुँदै सन्ध्यामा
लम्पसार पर्ने सूर्यका धारिला रश्मी
तेर्सिएर बास बस्ने सुनौलो क्षितिज दार्चुला ।

साइबेरियाका चराले फेवाकिनार देखेझैँ
हाम्रो मनचरीले देखेको फेवाकिनार दार्चुला
जहाँ बिलकुल नयाँ परिवेश, सबैथोक नौला
हाम्रो स्वच्छन्द, खुला प्रेमिल गन्तव्य दार्चुला ।

कालीको गढतिर, भँगाला सँगै तर्ने वाचा
उकालो भिर, निर्जन वन सुसेल्दै छिचोल्ने कसम
नौलो हावा, नौलो रङ, मिठो स्वाद
रोजिएको, खोजिएको पूर्ण कल्पवृक्ष दार्चुला ।

खै, अचेल दार्चुला सुगम भएछ कि
तिम्रो मन नै मेरो लागि दुर्गम भएछ
सबै परिचित पो भएछन् कि
तिम्रो मनमा म अपरिचित भएछु कि !

लिपुलेक, लिम्पियाधुरा, सबै चिनिए, पूराना भए
हाम्रा सम्पर्क, शब्द-भाव, दैनिकी सबै नौला भए
परिस्थिति नै हो कि तिम्रो परिवर्तित मन
दार्चुलाको मानस संसार मृगतृष्णा नै भयो !

तर दुबो हो हाम्रो प्रेम, अनु !
आऊ वसन्त आयो पलाउन देऊ
मैले त कुम्लो कसी सकेँ
तिम्रो यादको सामल पोको पारेँ
आऊ, तिमीलाई हाम्रो वाचा सम्झना भए
सँगै लागौं दार्चुलाको यात्रा ।

(तपाईं पनि आफ्ना कविता नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button