श्री ३ जङ्गबहादुरको बेलायत यात्रा पर्यटनको कोशेढुङ्गा

केही दिनअघि राजन सिम्खडाले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्प कडेंललाई आफ्नो 'पुस्तक हिँडे' पुगिन्छ उपहार दिँदै गर्दाको फोटो 'नेपालनाम्चा'को इमेलमा आइपुग्यो । र, 'पर्यटनको राष्ट्रिय पाटो' शीर्षकभित्रको पुस्तक अंश पनि । प्रस्तुत छ, सोही सामाग्रीको सम्पादित अंश ।

राजन सिम्खडा

गणेश हिमालको फेदमा ऋषि श्रृङ्गीले तपस्या गरेका थिए । पौराणिक तीन श्रृङ्गी ऋषिमध्ये अर्का श्रृङ्गी ऋषिले गुल्मीको रेसुङ्गामा तप गरेका थिए । अठार पुराणका रचयिता वेद व्यासले साधना गरेको गुफा दमौलीमा छ । रामायण लेख्ने र रामचन्द्रका छोराहरू लवकुशलाई आश्रय र शिक्षादीक्षा दिने बाल्मीकि ऋषिको आश्रम चितवनको दक्षिण–पश्चिम कुना त्रिवेणीमा छ । जुन नदी किनारमा ऋषि कौशिकले तपस्या गरेका थिए, त्यो नदी सप्तकोसी नामले अविरल बगिरहेको छ ।

यी त प्रतिनिधि पात्र मात्र हुन्, गंगा किनार सभ्यता विकासक्रमका बेला हिमालय पर्वतलाई आफ्नो शिर बनाएको यो पवित्र भूमिमा आएर सयौं ऋषिमुनीले तपस्या र साधना गरेको पाइन्छ । साँच्चै, हाम्रो मातृभूमिले पौराणिक र ऐतिहासिक कालदेखि नै मानिसको ध्यान तानेको हो । मिथिला अर्थात जनकपुरमा अयोध्याका राजकुमार राम नै आएर सीतालाई विवाह गरेर लगे । द्वापर युगमा यदुनन्दन कृष्ण दलबलसहित काठमाडौं उपत्यका आएको, उपत्यकाको पानी बाहिर बगाइदिएको र उनकै यादव वंशजले यहाँ शासन गरेको कुरा गोपाल वंशावलीमा उल्लेख छ । त्यस्तै चीनबाट आएका महामुनी मञ्जुश्रीले चोभारको गल्छी काटी जलाशय सुकाएर उपत्यकामा बस्ती बसाएको श्रुति पनि हामी इतिहासमा पढ्न पाउँछौं ।

ऐतिहासिक ग्रन्थहरूमा उल्लेख भएअनुसार भारतका सम्राट अशोक कलिङको युद्धपछि बौद्धमार्गी भए । उनी इशापूर्व तेस्रो शताब्दीमा बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणमा आएका थिए । यहाँ आएर उनले निर्माण गरेका अशोक स्तम्भ र चैत्य अझै सुरक्षित छन् । इश्वीको सातौं शताब्दीमा प्रख्यात चिनियाँ यात्री हुवेन साङले भारत, श्रीलङ्का र बर्मा हुँदै नेपालको काठमाडौं र लुम्बिनीसम्म भ्रमण गरेका थिए । चिनियाँ अर्को यात्री फाइयानले पनि नेपाल भ्रमण गरेको पाइन्छ । इशाको आठौं शताब्दीमा शान्तरक्षित, कमलाशीष, पद्मसम्भव, दीपाङ्करलगायत बौद्ध दर्शनका विद्वानहरु बौद्धधर्म प्रचारका लागि नेपालको बाटो भएर तिब्बत पुगेका थिए । तिब्बतमा सन् ६२९ देखि शासन गरेका श्रङचङ गम्पोको नेपालकी राजकुमारी भृकुटीसँग विवाह भएको थियो । त्यसपछि तिब्बतमा बौद्ध धर्म निकै फस्टायो । तिब्बती राजा श्रङचङ गम्पोले चिनियाँ राजकुमारीसँग पनि विवाह गरेका थिए । तिब्बतमा ती चिनियाँ राजकुमारीलाई श्वेत तारा र हाम्री चेली भृकुटीलाई हरिततारा भनेर पुकारिन्छ ।

मल्ल कालमा इसाइ धर्म प्रचारक पादरीहरू नेपाल आएका थिए । नेपाल एकीकरणका नेतृत्वकर्ता पृथ्वीनारायण शाहका पालामा इसाइ धर्म प्रचारक केही पादरीसहित स्थानीय क्रिश्चियन धर्मावलम्बीहरूलाई देश निकाला गरेको पाइन्छ । तर उनका उत्तराधिकारीहरूले हाम्रो दक्षिणी छिमेकी भारतमा उपनिवेश कायम गरेको बेलायती साम्राज्यसँग सम्बन्ध सुधारेका र पछि युद्ध पनि गरेका थिए । सन् १८१६ को सुगौली सन्धिपश्चात काठमाडौंमा बेलायतको ‘रेसिडेन्टी’ नै खुलेको र बेलायतीहरूको आवतजावत बाक्लिएको पाइन्छ ।

सुगौली सन्धिको झन्डै तीन दशकपछि कोत पर्वमार्फत सत्ता हत्याएका जङ्गबहादुर राणाले सन् १८५० मा बेलायत र फ्रान्सको भ्रमण गरे । खासमा यो भूभागबाट युरोप पुग्ने उनी नै पहिलो उच्चपदस्थ व्यक्ति थिए । पर्यटकीय कोणबाट हेर्ने हो भने जङ्गबहादुरको बेलायत यात्रालाई कोशेढुङ्गा मान्न सकिन्छ । श्री ३ जङ्गबहादुर बेलायत र फ्रान्स गएर नेपालको प्रचार मात्र गरेनन्, बेलायती र फ्रान्सेलीलाई नेपालसम्म आउने वातावरणसमेत बनाए ।

पूर्वीय दर्शन र हिन्दु धर्मका कारण पहिलेदेखि नै पुण्यभूमिका रूपमा परिचित नेपालमा पश्चिमाहरू पनि आउन थाले । डेलियल राइट, ओल्ड फिल्ड, बालिच, श्लागिनबेट, गिमिट, शिशिल बेन्डाल र सिल्भाँ लेभी यस्ता विशिष्ट पर्यटक हुन्, जसले त्यसबेला नेपाले भ्रमण गरे र यहाँका सम्पदाबारे विश्वभर प्रचार गरिदिए । उनीहरूले भारत र नेपालको इतिहास, जनजीवन र संस्कृतिबारे विभिन्न पुस्तक लेखे । यसबाट नेपालबारे विश्वमा प्रचार भयो । हिमालयन साङ्ग्रिलाको रूपमा विदेशीमाझ नेपालको ‘क्रेज’ बढ्दै गयो ।

सन् १९५० पछि नेपालको पर्यटनले आधुनिक मोड लियो । राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएसँगै नेपालले विश्वका विभिन्न मुलुकसँग दौत्यसम्बन्ध कायम ग¥यो । सन् १९५३ को मई २९ तारिखमा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेपछि नेपाल सगरमाथाको देशका रूपमा विश्वप्रख्यात भयो । विस्तारै पर्वतारोही बढ्न थाले ।

थोमस कुक विश्वकै पहिलो ट्राभल एजेन्ट हुन्, जसले सन् १८४१ जुलाईमा पहिलोपटक रेल चार्टड गरेर ५ सय ७० पर्यटकलाई बेलायतको लिस्टरदेखि लवरोसम्मको यात्रा गराएका थिए । उनले सन् १८६५ मा लन्डनमा ‘थोमस कुक एन्ड सन्स’ नामक ट्राभल एजेन्सी खोलेका थिए । त्यही कम्पनीले नब्बे वर्षपछि सन् १९५५ मा नेपालमा पनि पहिलोपटक ६० जना पर्यटक टोली पठाएको थियो । नेपालमा पर्यटक आगमनको पहिलो व्यावसायिक सुरुवात त्यही थियो ।

त्यसैताका रुसी नागरिक बोरिस लेस्वान्स्कीले काठमाडौमा पर्यटक लक्षित पहिलो होटल खोलेका थिए । कान्तिपथस्थित हाल निर्वाचन आयोग र उपराष्ट्रपति कार्यालय रहेको राणाकालीन दरबार बहादुर भवनमा सञ्चालित थियो रोयल होटल । सन् १९६० मा कोलोनल जिम्मी रबर्टले नेपालमा पदयात्रा गरेका थिए । त्यसपछि यहाँको पदयात्रा संसारभर प्रख्यात भयो । त्यसपछि सन् १९६४ मा बेलायतकै पूर्वसैनिक अधिकृत कर्णेल जिम्मी रोबर्टस्ले नेपालमा पहिलोपटक माउन्टेन ट्राभल्स नामक ट्राभल-ट्रेकिङ कम्पनी खोलेका थिए ।

विश्व पर्यटनको विकासलाई पछ्याउन नेपालमा सन् १९५७ मै पर्यटन विकास बोर्डको स्थापना भएको थियो । सुरुमा उद्योग मन्त्रालयअन्तर्गत रहेको बोर्ड १९५८ पछि स्वतन्त्र निकाय बन्यो । सन् १९६२ मा पर्यटन विभाग र सन् १९७७ मा पर्यटन मन्त्रालय नै गठन भयो । सन् १९७९ मा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालको स्थापना भयो । सन् १९९८ मा नेपाल पर्यटन बोर्ड स्थापना भयो ।

पर्यटन विकासका यी यावत गतिविधिबीच सन् २०१० सम्म आइपुग्दा नेपाल विश्वको दसौं उत्कृष्ट पर्यटकीय गन्तव्य बनेको छ र त्यस्तो सूचीमा अझै कायम छ । विश्वको दसौं पर्यटकीय गन्तव्य भए पनि नेपालले त्यसअनुसारको आर्थिक समृद्धि भने हासिल गर्न सकेको छैन । हामीले सम्भावनाको सदुपयोग गर्न सकेका छैनौं ।

अन्तुडाँडादेखि रारातालसम्म, सगरमाथादेखि शुक्लाफाँटसम्म, जनकपुर, लुम्बिनीदेखि मुस्ताङसम्म, ओलाङ्चुङगोलादेखि काठमाडौं, पोखरा, ढोरपाटन र सिन्जा उपत्यकासम्म अर्थात् हाम्रा हिमाल, पहाड, तराईमा भएका जैविक र सांस्कृतिक सम्पदा तथा भौगोलिक र भाषिक विविधताका आधारमा भन्ने हो भने हाम्रो मुलुक अनुपम सङ्ग्रहालय हो । यो आफैंमा बोटानिकल गार्डेन र चिडियाखाना पनि हो । त्यसैले नेपाल एकैखालका पर्यटकको गन्तव्य हैन, विविधखालका पर्यटकको बहुआयामिक गन्तव्य हो । यहाँ पर्यटनका धेरै क्षेत्रमा विविध सम्भावना छन् ।

-याफ्टिङ, आइस स्केटिङ, रक क्लाइम्बिङ, बन्जी जम्पिङजस्ता साहसिक पर्यटनको खानी हो नेपाल । पदयात्राका दृष्टिले नेपाल विश्वकै उत्कृष्ट गन्तव्य हो । एभरेस्ट बेस क्याम्प, डोल्पो ट्रेक, हिङ्खु र होङ्गु उपत्यका, उपल्लो मुस्ताङ, लाङटाङ भ्याली, अन्नपूर्ण सर्किट, जोमसोम र मुक्तिनाथ, जुम्लादेखि रारासम्म, जिरीदेखि लुक्लासम्म, रुबी भ्याली, धौलागिरि सर्किट, सोलु, लमजुङ घलेगाउँ, अन्नपूर्ण क्षेत्रलगायत धेरै पदमार्ग हाम्रा अनुपम सम्पदा हुन् । यी पदयात्रा मार्गको संरक्षण गर्दै आवश्यक पूर्वाधार विकास गर्ने हो भने नेपालको समृद्धिमार्ग नै सावित हुन सक्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button