जसले नेपालमा आधुनिक पर्यटनको जग बसाले
जीवा लामिछाने
नेपालमा आधुनिक पर्यटन र हस्पिटालिटी उद्योगको जग बसाल्ने व्यक्ति (पायोनियर) रुसी नागरिक बरिस (बोरिस) लिसानेभिच हुन् भन्ने सुन्दा कतिलाई अचम्म लाग्ला ।
बरिस लिसानेभिचको जन्म तत्कालिन रुसी साम्राज्यको ओडेस्सा राज्य (हाल युक्रेन) मा सन् १९०५ मा भएको थियो । सन् १९२४ मा उनी फ्रान्समा बसाई सरे । उनी कुशल ‘ब्याले डान्सर’ थिए । ब्याले डान्स प्रदर्शनीको सिलसिलामा बेलायत, दक्षिण अमेरिका, इन्डोचाइना लगायत धेरै देश घुमेपछी सन १९३४ मा उनी कलकत्ता आए । त्यति बेला कलकत्ता शहर भारतमा युरोपेली शानसौकात देखाउने केन्द्रका रुपमा प्रख्यात थियो । कलकत्तामा उनले त्यति बेलाको निक्कै चर्चित ‘थ्री हन्ड्रेड क्लब’ स्थापना गरे । यो क्लबमा भारतभरिबाट राजा-महाराजा र कुलीन बर्गका मानिसहरु मनोरंजकालागि आउने गर्थे । नेपालका राजा त्रिभुवन पनि त्यस क्लबका नियमित भीजिटर थिए (बिपी कोइरालाले पनि नेहरुसंग आफ्नो कुराकानीको प्रसंगसहित ‘आत्म वृतान्त’मा यो कुरा उल्लेख गरेका छन्) ।
राजा त्रिभुवनको निमन्त्रणामा उनी काठमाडौँ आए । काठमाडौँमा उनले अहिले निर्वाचन आयोग रहेको (बहादुर भवन) मा राजकुमार बसुन्धरा शाहसंग साझेदारीमा ‘रोयल होटेल’ खोले । यो होटेललाई नेपालको पहिलो आधुनिक होटेल मानिन्छ । रोयल होटेल बन्द भए पछी सन् १९६९ मा लाल दर्बारमा उनले ‘याक एण्ड यती होटेल’ स्थापना गरे । याक एण्ड यति होटेलको चिम्नी रेस्टुरेन्टले उनको सम्मानमा अहिले पनि प्रसिद्ध रुसी सुप ‘बोर्श’, सलाद र किएभ कटलेट सर्भ गर्छ । सन् १९८५ मा बरिस लिसानेभिच काठमाडौँमा निधन भयो । उनका सन्तानहरु नेपाल मै बसोबास गर्छन ।
फ्रेन्च लेखक मिचेल पिस्सेलसंग बरिसको नजिकको मित्रता थियो । ‘टाइगर फर ब्रेकफास्ट’ पुस्तकमा बरिस लिसानेभिचको संघर्ष गाथाको सजीव चित्रण छ । त्यति बेलाको काठमाडौँ, नेपाल र भारतका राजा-महाराज र अभिजात्य बर्गको शौख-रहनसहन, बेलायतकि महारानी एलिजाबेथ द्वितीयको नेपाल भ्रमण, राजा महेन्द्रको राज्यारोहण, लन्डनदेखि काठमाडौँ सम्मको जीप यात्रा, पर्वतारोहीहरुको नेपाल आगमन आदि अनेक रोमान्चक प्रसंग छन् ।
रुसमा बरिस लिसानेभिचलाई निक्कै सम्मानका साथ सम्झिने गरिन्छ । उनको जीवनगाथामा केहि डक्युमेन्ट्री फिल्म पनि बनेका छन् ।