राजा महेन्द्रको देहान्तस्थल दियालो बङ्गलालाई अब ‘पर्यटकीय’ बनाइने

ऐतिहासिक महत्वको दियालो बङ्गलालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्दै सर्वसाधारणका लागि खुला गर्ने तयारी गरिएको छ । नेपाल ट्रष्ट सञ्चालक समितिको हालसालैको बैठकले बङ्गलालाई पर्यटकीयस्थलका रूपमा प्रवद्र्धन गर्ने निर्णय गरेको हो । नेपाल पर्यटन बोर्डसँग समन्वय गरी कार्यविधि मस्यौदा सञ्चालक समितिसमक्ष पेश गर्न व्यवस्थापनलाई सहमति दिने निर्णय गरिएको छ ।

ट्रष्टका प्रवक्ता डा भीष्मकुमार भुसालले बङ्गलामा टिकट लिएर सर्वसाधारणलाई प्रवेशको अनुमति दिन लागिएको बताए । हाल बङ्गला क्षेत्रका भवनहरू मर्मतसम्भार र रङरोगन गरेर आवश्यक अस्थायी संरचना निर्माण गरी पर्यटन प्रवद्र्धन गर्न बङ्गला खुला गरिँदैछ । उनले भने, ‘शुरुमा हामी बोर्ड र भरतपुर महानगरसँग परामर्श गरेर काम अघि बढाउँछाँै ।’

नारायणगढ बजार नजीकैको बङ्गला जङ्गलको एकान्तमा छ । २०२६ सालमा निर्मित बङ्गलामा राजपरिवार बेलाबेला जाने गर्दथे । राजा महेन्द्रको निधन यही दरबारमा भएको थियो । दरबारभित्र पहिलो तलामा ठूलो बैठक कक्ष छ । जसको भित्तामा पूर्वराजारानी महेन्द्र र वीरेन्द्रको तस्बीर देख्न सकिन्छ । भ¥याङमा २०२६ सालमा राजा महेन्द्रले सिकार गरी मारेको घडियाल गोही सजाएर राखिएको छ । भित्तामा बाघको टाउको जस्ताको तस्तै अवस्थामा छ ।

दरबारमा पाँचवटा खोपी (बेडरुम) छन् । १ नं खोपी मुमा रत्नराज्यको हो भने २ नं राजा र ३ नं रानी, ४ र ५ राजपरिवारका अन्य सदस्यको भएको त्यहाँ कार्यरत कर्मचारीहरू बताउँछन् । राजपरिवारले प्रयोग गरेका सामग्री अहिले पनि यथावत छ । छेउमा दरबारका महिला सुसारेका लागि ‘नानीगञ्ज’ छ भने सँगै राजाको सुरक्षा गार्डका लागि ‘एडिसी क्वाटर’ र केही पर ग्यारेज छ । त्यहाँको पौडी पोखरीमा अहिले पानी छैन । कपडा फेर्नका लागि बनाइएको आडैको घरमा ट्रष्टको कार्यालय छ ।

भुसालका अनुसार ५७ बिघा १३ कट्ठा सात धुरमा बङ्गला क्षेत्र फैलिएको छ । बङ्गलाको पश्चिमतर्फ नारायणी नदीले पनि दरबार क्षेत्रको सौन्दर्य बढाएको छ । दरबार परिसरको बगैँचा अहिले पनि यथावत छ । चितवन देशको तेस्रो पर्यटकीय गन्तव्य हो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button