अविस्मरणीय यात्रा, तास्मानियाको !

डा. विष्णुबहादुर जीसी

अस्ट्रेलियाको राजधानी लगायत यहाँको ठूलो भूभागको दक्षिणतर्फ अवस्थित Bass Strait बास जलडमरु/ जलसन्धिले छुट्याएको तास्मानिया (Tasmania) एउटा सुन्दर टापु हो । यहाँ हरियालीले भरिपूर्ण जंगल, स्वच्छ हावा, हिमालहरू, सुनौला समुद्री किनारहरू, र अनगिन्ती सुन्दर तालहरू रहेकाले तास्मानियालाई “प्राकृतिक स्वर्ग” भनेर पनि चिनिन्छ । । यो प्राकृतिक स्वर्गभूमि को नाम पहिलेदेखि सुन्दै आएको तर भौतिक रूपमा त्यहाँ पुग्न अवसर नजुटेको अवस्थापछि तास्मानियाको राजधानी होबर्ट (Hobart) र वरपर क्षेत्रमा भ्रमण गर्ने साइत जनवरी छ २०२५ का दिनमा जुर्यो । प्राकृतिक सौन्दर्यतासँग असल मनहरूको पनि संयोजन भएको साक्षात्कार गर्न पाउँदा खुसीको सीमा नै रहेन । त्यही खुसीको सम्झनाले ल्याएको पिरलो र प्रसङ्गको एउटा स्वरूप हो यो आलेख ।

केही वर्ष पहिलेदेखि नेपालमा चिनजान भएका साथीहरू जिल र मारगोट हामीलाई रिसिभ गर्न विमानस्थलमा पर्खिरहेका रहेछन् । हाम्रो भ्रमण अझ सुरक्षित र सुविधायुक्त होस् भन्ने दृष्टिले हाम्रो छोरा विविध र बुहारी अनुसा पनि हामी सँगसँगै जाने प्रबन्ध मिलाएको कुरा दुई दिन अघि जनवरी ४ मा मात्र थाहा भयो । हामी खुसी भयौं र ढुक्क पनि । त्यसैले ६ बजेको फ्लाइटका लागि बिहान ५ बजे हामी दुई समेत चारैजना एयरपोर्ट पुग्ने र उत्रने सँगसँगै भयो । छोराले तासमनिया घुम्नका लागि तीन दिनको गाडी बुक पनि गरेकाले अब हामीहरु Hobart एयरपोर्टबाट छुट्टिनुपर्ने अवस्था आयो । हामी दुईजना मारगोट को गाडीमा पूर्व योजना अनुसार जिलको आलिसान गेस्टहाउसमा पाहुना बन्ने भयौँ भने छोराबुहारी आफैले बुकिङ गरेको होटेलतर्फ लागे । गेस्ट हाउसमा झोला राखेपछि हामी दुईजना र अस्ट्रेलियन दुईजना साथीहरू Hobart सहरको बीचबाट बग्ने Derwent नदीको किनार किनारको रमाइलो दृश्य अवलोकन गर्दा साथै उनीहरूसँगको कुराकानी र आतिथ्यपूर्ण व्यवहारले हामी मनमनै खुसीले विभोर थियौँ । बीचबीचमा ओर्लेर कफी खाँदाको आनन्द अविस्मरणीय नै थियो । यही क्रममा हामी सहरको धेरै ठाउँमा पुग्यौँ भने Mt Nelson बाट Hobart सहरको मनोरम दृश्यको अवलोकन पनि गर्‍यौं ।

जिलले बेलुकी आफ्नो घरमा डिनरका लागि बोलाउनुभयो भने अरु दिनको लागि सबै किसिमका खाने पकाउने खाद्य पदार्थहरू हामी बसेको ठाउँमा ल्याइदिनु भयो । दोस्रो दिन मारगोटको गाडीमा म र बिमला अनि विविधको गाडीमा जिल र अनुसा माउन्ट फिल्ड राष्ट्रिय निकुञ्जका लागि प्रस्थान गरी बाटोमा मनोरम दृश्यहरूको अवलोकन गर्दै डेढ घण्टाको यात्रामा त्यहाँ पुग्यौ । यात्रापछि राष्ट्रिय निकुञ्जको प्रवेश शुल्क तिरेर सानो खोलाको छेउछाउ हुँदै हामी सबै छ जना पदयात्रा आरम्भ गर्यौ । पर्यटकहरूको आकर्षणको लागि व्यवस्थित गरिएका प्राकृतिक झरनाहरू मध्ये रसेल फल जस्ता केही ठाउँहरूमा पुग्न सकियो । बाक्लो र अग्लो रुखहरू बीचको पदमार्ग अत्यन्त रमाइलो, सहज र व्यवस्थित रहेछ । ठाउँ ठाउँमा राखिएका साइन पोस्ट र सूचनाहरूले नवआगन्तुकको लागि समेत हिडडुल गर्न कुनै समस्या भएन । निश्चित ठाउँमा धेरै अग्लाअग्ला रुखहरू पनि थिए र त्यो ठाउँलाई Tall Tree Area को साइन पोस्ट लगाइएको थियो । ति रुखहरुको टुप्पोसम्म हेर्न हामीहरुलाई हम्मेहम्मे भयो । लाग्छ यि रूखहरू करिब ५०० फिट अग्ला थिए । प्राप्त जानकारी अनुसार त्यहाँका केही रुखहरुलाई Tallest Flowering Plants on Earth पनि भन्ने गरिँदो रहेछ ।

प्रकृतिको बेजोड नमुना यो क्षेत्र घुम्न पाएकोमा अत्यन्त खुसी लाग्यो । फर्कँदा राजबेरी रेस्टुरेन्टको गार्डेनमा फुलाइएका सुन्दर फुलहरूको मनमोहक दृश्य अवलोकन गर्दै आफ्नै गार्डेनमा उत्पादित ताजा फलफुलबाट बनाइएको स्वादिष्ट आइसक्रिमको स्वादका बारेमा सबैको एउटै स्वर रह्यो । साथै केही अगाडि बढेपछि salmon Ponds क्षेत्रमा सशुल्क प्रवेश गर्दा त्यहाँको अभियान, व्यवस्था र सुन्दरता हेर्दा मनमा खुसी र कौतुलता बढेर आयो । सुरुमा साल्मनलाई यहाँको वातावरणमा अनुकूल बनाउने प्रयास त्यति सफल नभएपछि ट्राउट पालनमा ध्यान केन्द्रित गरिएको रहेछ । त्यसैले हाल यहाँ ट्राउट माछा उत्पादनका लागि स्थानीय वातावरण अनुकूल भएकाले धेरै ट्राउट माछा पाल्ने गरिएको छ । Salmon Ponds हाल पनि ट्राउट र साल्मन उत्पादन गरी तासमानियाका ताल तथा बाँधहरूमा पठाउने कामका लागि महत्वपूर्ण केन्द्रको रूपमा रहि आएको छ । अहिले यहाँ मुख्य रूपमा वन्य ट्राउट (Wild Trout) का अण्डा सङ्कलन गरि ह्याचरीमा हुर्काइन्छ र तिनीहरूलाई तास्मानियाका विभिन्न जलाशयहरूमा छोडिन्छ । सन् १८६४ मा स्थापना भएदेखि साल्मन पोंड्सले तास्मानियाको ट्राउट माछापालनलाई विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । साल्मन पोंड्स अहिले ऐतिहासिक र शैक्षिक स्थलको रूपमा पनि परिचित छ । यहाँ स्थित व्यवस्थित म्युजियम, पोखरीहरू, माछाहरू,ससाना झरना,सुन्दर बगैँचा, मनोरम दृश्यका कारण मानिसहरूले समय बितेको पत्तै पाउँदैनन् ।

Hobart फर्किसकेपछि त्यही बेलुकी हामीहरु चारजना, छोराको गाडीबाट १२७१ मिटर उचाइको Mt Wellington पुग्यौ । यहाँ टुप्पोमा गाडी पार्किङ गर्ने राम्रो व्यवस्था रहेछ । गाडीबाट ओर्लन बित्तिकै त्यहाँ वरपरसम्म देखिने र ओलिङटनकै काखमा रहेको सिधै तल नदीको किनारमा अवस्थित सुन्दर Hobart सहरलाई राम्ररी देख्न सकिन्थ्यो । त्यहाँ राखिएको बाइनाकुलरबाट टाढा टाढा र Bruny आइल्यान्ड पनि ठम्याउन सकियो । मैले Wellinton र गुल्मीको रेसुङ्गा लाई एकसाथ राखेर यिनीहरूको विशेषताको अनुभूति गर्ने कोसिस गरे । रेसुङ्गाको काखैमा सुन्दर तम्घास अवस्थित छ भने वेलिङटङको काखैमा सुन्दर Hobart । प्राकृतिक छटाले भरिपूर्ण रेसुङ्गा र वेलिङटङ सहर पनि । रेसुङ्गाको उचाइ करिब ३०० मिटर बढी अर्थात् १५२९ मिटर छ भने वेलिङटङमा धेरै पूर्वाधार निर्माण गरिएको छ । कुनै किसिमको धुलो धुवा छैन, टाढा टाढासम्म छर्लङ्ग देख्न पाइन्छ । पानी परेमा ओत लाग्ने राम्रो व्यवस्था गरिएको छ ।

मारगोटले हामीहरूलाई भोलि पनि आफ्नो गाडीमा घुमाउने कार्यक्रमलाई सबैको सल्लाह अनुसार थपघट गर्ने भइयो र सोही अनुसार आठ जनवरीका दिन हामीहरू चारजना विविधको गाडीमा ब्रुनी आइल्यान्ड तर्फ प्रस्थान गर्यौ । Hobartबाट हिँडेको करिब एक घण्टामा Ferry माथि गाडी र गाडीभित्र हामी बसेर ब्रुनी आइल्यान्डमा प्रवेश गर्यौ । सुन्दर हरियालीको बीच र नदीको किनार किनार हुँदै Truganini Look out को पार्किङमा गाडी राखेर दृश्य अवलोकनका लागि सिडीहरू चढ्न सुरु गर्यौ । माथि जाँदै गर्दा वरपरको दृश्य झनै रमाइलो देखिन थाल्यो । यो लुकआउट चढ्नका लागि करिब स्वयम्भू चढेजति पाइला हिँड्नु पर्ने भएता पनि यहाँको दृश्य र काठले बनाइएका सिडीहरु चढ्न कुनै अप्ठ्यारो महसुस भएन । सायद हामीले देखेको लुकआउटमध्ये यो एउटा उत्तम लुकआउट थियो भन्ने मेरो ठम्याई छ । ट्रुगानिनी लुकआउट एक लोकप्रिय दृश्यस्थानका रूपमा मानिन्छ, जहाँबाट उत्तर र दक्षिण ब्रुनी टापुलाई जोड्ने भूसन्धिको सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ ।

आजको अन्तिम गन्तव्यस्थल Cape Bruny Light House को आधार शिविरमा गाडीबाट बाहिर निस्कँदा त्यहाँको दृश्यले हामीलाई रोमाञ्चित बनायो; दुवैतिर देखिने समुद्र,नजिकै राम्रो होटल,वरपर हरियाली, डाँडाको टुप्पोमा लाइट हाउस र ससाना बुट्यानहरूको बीचबाट त्यहाँसम्म पुग्ने बाटो आकर्षकपूर्ण देखियो । हामीहरू पनि क्षणभरमा लाइट हाउस पुग्यौं । त्यहाँबाट टाढा टाढासम्म देखिने समुद्र, समुद्री छाल, समुद्रले जमिनमा प्रहार गर्दा बनेका भौगोलिक अवस्थाहरूको मनोरम दृश्य अवलोकनका लागि र त्यसलाई आफ्नो क्यामरामा कैद गर्न आतुर थियौँ, सबैजना । ती दृश्यहरू र त्यो क्षणलाई आआफ्नो क्यामेरा र मनमा कैद गर्दै हामी Hobart फर्कनुपर्ने समय भएछ । फर्कने क्रममा स्थानीय बासिन्दाले सञ्चालनमा ल्याएको, नाम चलेको Get Shucked Oysters Farm and Barमा हामी तीनजनाले पनि Sea food को मिठो स्वादको अनुभव गर्यौ भने बिमलाले अरु खानामा रुचि देखाइन् ।

Hobart फर्केपछि विविधले हाम्रा साथीहरू जिल र मारगोट लगायत सबैलाई डिनरको आयोजना गरेको कार्यक्रममा गफगाफ, हाँसो ठट्टा र साह्रै रमाइलो भयो । भोलि बिहान जनवरी ९ का दिन मारगोट र जिलले पुरानो, ऐतिहासिक र पर्यटकीय सहर Richmond Gaol हुँदै यरपोर्टसम्म पुर्‍याइदिनु भयो । छोरा बुहारी हामीभन्दा धेरै अगाडि नै त्यहाँ पुगिसकेका थिए । । हाम्रो भ्रमणलाई अविस्मरणीय बनाउने यी त्रिमूर्तिहरू जिल, मारगोट र तास्मानियालाई त्यहीँबाट बिदा गर्यौ, कुनै अर्को समयमा भेट्ने अपेक्षाका साथ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button