घुम्नुका फाइदा अनेक प्लस अपार

डा. ओम बानियाँ
साइकोथेरापिष्ट तथा मेमोरी ल्याब प्रमुख

मानिस एक घुमक्कड प्राणी हो । प्रायः हरेक सामान्य मानिसलाई घुम्नडुल्न मन लाग्छ । घुमाइ अर्थात् ट्राभलिङ एक रमाइलो यात्रा मात्र होइन, मानिसको प्राथमिक आवश्यकता पनि हो । यात्राबाट मानिसले स्वच्छ हावा, पारिलो घाम, आनन्द, व्यायाम र स्वतन्त्रता प्राप्त गर्दछन् । त्यसैले ट्राभलिङले मानिसको तनमन स्वस्थ र निरोग राख्न महत्वपुर्ण भमिका खेल्दछ ।

दैनिक रुपमा गरिने पैदल हिँडाइ वा दौडाइ तथा व्यायामका साथै कम्तीमा पनि तीन महिनामा एक पटक नौलो वा रमाइलो ठाउँमा घुम्न जाने हो भने शरीरको पुरा सिस्टमलाई व्यवस्थित गर्न सघाउ पुराउँछ । साथै घुमाइ पछि मानिसले विश्राम, शान्ति, आनन्द, ऊर्जाशील तथा ताजगी महसुस गर्छन् । मानिसको चुस्तिपूmर्ति तथा कार्यक्षमताको रफ्तार पनि निकै बढ्छ । त्यसैले पनि मलाई घुम्न निकै मन पर्छ । तर मलाई अग्लाअग्ला घर भएका ठुलाठुला सहरहरु भन्दा हिमाल, पहाड, गाउँबेसी तथा हरियाली ठाउँहरु घुम्न मन लाग्छ । उकालीओराली तथा पहाड घुम्नुको मजा नै अर्को हुन्छ ।

अचानक योजना बन्यो । बेलायतबाट भेटघाटका लागि माइत आउनु भएको हेमा दिदीले मुक्तिनाथ यात्राको कुरा उठाउनु भयो अनि हामी ८ जनाको टोली अर्को दिन नै मुक्तिनाथ यात्रामो निक्लियौ । बुटवलबाट निस्किएका हामी साँझ लेतेमा बास बस्यौ । अर्को दिन बिहानै मुक्तिनाथ पुगेर १२ बजे त्यहाँबाट फर्केर गलेश्वर दर्शन गरी बाग्लुङमा बास बस्यौ । अर्को दिन पंचकोट आदि ठाउँहरुको भ्रमण गरी कुश्मा, धम्पुस घुम्दै हाम्रो पुर्खौली गाउँ हेम्जा । हेम्जामा अहिले साइलो हजुरबा र हजुरआमा, अनि काकाकाकीहरुको परिवार बसोबास गर्नुहुन्छ ।

हाम्रो हजुरबा माइलो हो, उहाँ हाम्रो बुवा र कान्छो बुबा जन्मेपछि बिट्रिस र जापानको लडाइँमा परेर शहिद हुनु भएको हो रे । कान्छो हजुरबा पनि ३ वर्ष पहिला ८२ वर्षको उमेरमा बित्नु भयो । कान्छी हजुरआमा चाहीँ काकाकाकीसँग पोखराको तालचोकमा बस्नुहुन्छ ।

हेम्जामा ९३ वर्षिय हजुरबा र ८२ वर्षिय हजुरआमा, काकाकाकी र भाइबैनीहरुसँग भेटघाट गरेपछि हामी तालचोक आयौ । तालचोकमा बसेर बेगनाश ताल, रुपताल, फेवाताल, पुम्दीकोट लगाएतका ठाउँहरु घुम्यौ । मामामाइज्युहरु र आफन्तहरुलाई पनि भेट्यौ । यस किसिमको भेटघाटले सम्बन्ध झन सुदृढ हुन्छ । आपसी प्रेम र सद्भाव बढ्छ ।

वास्तवमा घुमाइबाट मानिसले शारीरिक तथा मानसिक स्वास्थ्यका लागि एक होइन, अनेकौं फाइदा प्राप्त गर्छन् । यहाँ उल्लेखनीय कुरा के भने ट्राभलिंगका लागि विदेश जानुपर्छ भन्ने छैन, आफ्नै देशको नौलो गाउँठाउँ गए पनि हुन्छ । यसरी आफ्नै देश घुम्दाखेरि देशको परंपरा, संस्कृति तथा रहनसहन बुझ्न पाइन्छ, आन्तरिक पर्यटनको समेत प्रर्वद्धन हुन्छ । नेपाल जस्तो डाँडाकाँडा, हिमालपर्वत, झरना, नदिनाला, तालतलैया तथा उकालोओरालो देश घुमघाम गर्दा फोक्सोले, मुटुले, स्नायुप्रणालीले तथा पुरा शरीरले व्यायाम पाउँछ । मनमस्तिष्क गदगद हुन्छ । यो तथ्य वैज्ञानिकरुपमा समेत पुष्टि भएको छ ।

घुमघामको सबै भन्दा महत्वपुर्ण स्वास्थ्य फाइदा भनेको तनाव कम गर्नु हो । यात्राले आनन्दलाई बढवा दिन्छ, तनवापुर्ण परिस्थिति सामना गर्न सहयोग गर्छ । शरीरमा कोर्टिसोलको स्तर कम गर्छ, जसले गर्दा मानिसले बढी आनन्द महसुस गर्छन् । सन् २०१३ को एक अध्ययन अनुसार एकदुई दिनको रमाइलो यात्रापछि ८० प्रतिशत अमेरिकनहरुमा तनाव निकै कम भएको देखियो ।

आधुनिक युगमा स्वास्थ्यको ठुलो समस्या भनेको नै तनाव हो । तनावका कारण कारण नै ९० प्रतिशत नसर्ने रोगहरु पैदा हुन्छन् । मधुमेह, मुटुको रोग, थाइरोडिज्म, पाचनक्रियाको गडबडी, स्नायु तथा मानसिक समस्या आदि तनावकै कारण पैदा हुन्छन् । त्यसैले यस्ता रोगहरुबाट बच्न तथा मुक्ति पाउन तनाव कम गर्नुको विकल्प छैन ।

ट्राभलिङले मस्तिष्क स्वस्थ राख्न निकै महत्वपुर्ण भुमिका खेल्दछ । पिट्सबर्ग विश्वविद्यालयका स्नायवैज्ञानिक डा. पाउल नुस्बाउमले ट्राभलिङले मस्तिष्कलाई स्टीमुलेट गर्ने र मस्तिष्कीय पदार्थमा नयाँ सम्बन्ध विकासमा प्रोत्साहन गर्ने कार्य गर्दछ । नुस्बाउमले अगाडि भन्छन्, जब तपाइँ नयाँ स्थानको यात्रा गर्नुहुन्छ, तपाइँको दिमाग नयाँ उत्तेजनाको भावना बनाउन बाध्य हुन्छ, यसले नयाँ डेन्ड्राइटको उत्पादनलाई ट्रिगर गर्दछ । तब, नुस्बाउमको शब्दमा, तपाईको दिमाग शाब्दिक रूपमा जंगल जस्तो देखिन्छ । हालसालै मात्र, अनुसन्धानकर्ताहरूले पत्ता लगाइरहेका छन् कि मानसिक तीक्षणतालाई कायम राख्ने उत्तम तरिका भनेको दिमागलाई कुनै नयाँ चीजमा केन्द्रित गर्नु हो । हाम्रो अनुभवलाई अगाडि बढाउन नयाँ अनुभवहरू सर्वोपरी हुन् । यस सन्र्दभमा, डा. पाउल नुस्बाउम भन्छन् कि जब तपाइँले आफ्नो मस्तिष्कलाई यस्तो वातावरणमा उजागर गर्नुहुन्छ जुन नयाँ र जटिल वा गाह्रो छ, तब दिमाग शाब्दिक रूपमा प्रतिक्रिया गर्दछ ।

एक अर्को अध्ययनका अनुसार वाकिंग तथा हाइकिङले हिपोक्याप्पीलाई खुम्चिनबाट जोगाउँछ, जसका कारण स्मरशक्ति मजबुत रहिरहन्छ । अध्ययनका अनुसार वाकिङ तथा हाइकिङ जस्ता गतिविधिका कारण हिप्पोक्याम्पी हरेक वर्ष २ प्रतिशतका दरले विकसित हुन्छ । जसकारण बढेसकालमा हुन सक्ने बिर्सिने रोग न्यूनीकरण हुन्छ ।

घुमघामले कग्निभिट फाइदाका साथै सकारात्मक सोचको विकास गर्दछ । मानसिक स्वास्थ्य सुदृढ बनाउँछ । त्यो किनभने मानिसको मानसिक स्वास्थ्यलाई सदृढ राख्न प्राकृतिक स्वच्छ वातावरणले निकै ठुलो भुमिका खेल्दछ । नयाँ ठाउँ, स्वच्छ हावाले तनमनलाई ऊर्जा दिन्छ, मन शान्त र आनन्दित तुल्याउँछ । हरियो बनजंगल, भीरपाखाबाट झरझर झरेको झरना, कलकल बगेको नदि, निलो शान्त ताल तथा चाँदी जस्तो टलक्क टक्लेका हिमालहरुको अवलोकनले मानिसको शरीरको सम्पुर्ण बायोकेमिस्ट्रि परिवर्तन हुन्छ ।

डा. बानियाँ


घुमाइले हाम्रो पनि शरीरको सम्पुर्ण बायोकेमिस्ट्रि परिवर्तन भएको थियो । घुमाइबाट सबैले भरपुर आनन्द लिइरहेका थिए । हाम्रो यात्राको यस प्याकेजमा अर्को महत्वपुण गन्तव्य थियो, तनहुँको आबु खैरनी स्थिति गाउँ बेसी कृषि केन्द्र (एग्रो फार्म) । तालचोक बस्ने काका लक्ष्मण बानियाँले ५ वर्ष पहिला यस फार्म स्थापना गरेको भएता पनि विविध कारणले फार्म घुम्ने साइत जुरेको थिएन । तर मैले महाविर पुन, डा. नारायण घिमिरे, ठुला ठुला व्यक्तित्वहरु, राजनीतिज्ञ र देशविदेशका कृषि अनुसंधानकर्ता तथा पर्यटकहरु यस फार्म हेर्न र घुम्न आएको फोटो र भिडियोहरु देखेको थिएँ ।

बिहानै हामी काकी नारायणी केसी बानियाँ, भाइ अपार बानियाँ र बैनी ऐश्वर्या बानियाँसँग फार्ममा नै पिकनिक खाने हिसाबमा गाउँ बेसी कृषि केन्द्र (जिबिकेके) पुग्यो । काम विशेषले काठमाडौं जानु भएका काका लक्ष्मण बानियाँ पनि हामी आएको खबर पाउनसाथ त्यहीँ आउनु भयो ।

यस फार्म विकास र बिस्तारको आफ्नो भावी योजना सुनाउँदै करिब १५० रोपनीमा फैलिएको जिबिकेके फार्म घुमाउनु भयो । माथि हेर्यो, हिमाल र पहाड । तल किनारमा छङछङ बगिरहेको मस्र्याङ्दी, पाउलोनिया लगायतका फलफूलहरुका रुखहरु, उफ्रिदै खेलिरहका बाख्राका पाठापाठीहरु, फाइटर कुखुरा, घाँसमा चरेका पाडापाडीहरु, खेत जोत्दै गरेको टेक्टर । मेरो मन आनन्दले टलक्क टल्केको गणेश हिमालझै मुस्कुरायो । यस फार्म घुम्दा मैले धेरै कुराहरु सिक्न पनि पाएँ ।

अगस्टीनले भनेका नै छन्, यात्राले हामीलाई संसारका बारेमा धेरै कुरा सिकाउँछ । हुन पनि हो, संसार एक किताब हो, मानिसले यात्रा गरेर त्यही किताब पढ्छन् । यात्राले मानिसलाई विश्वविद्यालयको पाठ्यक्रमले भन्दा पनि बढी ज्ञान दिलाउँछ । यात्राबाट नै हामीले हरेक ठाउँको धर्मसंस्कृति, भाषा, भेषभषा, सोच, आदत, परम्परा तथा इतिहासको वारेमा जानकारी प्राप्त गर्न सक्छौं । नयाँ ज्ञान हासिल गर्न सक्दछौं ।

यात्राको अर्को फाइदा आत्मविश्वास बढाउनु पनि हो । यात्राले मानिसको आँट, साहस तथा आत्मबल बढाउने कुरा अनेकौं अध्ययनहरुले समेत पुष्टि गरेको छ । यात्राको दौरान मनमस्तिष्क सक्रिय हुने, नयाँ ठाउँ, नयाँ परिस्थिति तथा चुनौतीको सामना गर्न पर्ने हुँदा मानिसको आत्मविश्वास बढ्छ । देशविदेश घुमेका व्यक्ति अन्य व्यक्तिको तुलनामा बढी आत्मविश्वासी हुने गर्छन् । त्यसैले नेपालीमा उखान नै छ, देश खाएर शेष भएको ।

जिबिकेके फार्म घुम्दै गर्दा काकाले भन्नु भयो, केही दिन यही बस र किताब पढ्, लेख् । मलाई पनि केही दिन यही बसेर घुम्दै किताब लेख्न मन लाग्यो । कुनै दिन मौका मिल्यो भने अवश्य नै मेरो मनोकामना पुरा हुने छ । यस्तो रमणीय ठाउँमा बस्ने हो भने लेख्न नजान्नेहरुलाई पनि केही लेखुँ लेखुँ लाग्छ ।

यात्रा सृजना पनि हो । यात्राले मानिसलाई सृजनशील बनाउँछ । कवि, गीतकार, कलाकार, साहित्यकार, शिक्षक तथा विद्यार्थीका लागि त यात्रा निकै उपयोगी हुन्छ । यात्राले समाजिक एकता र सदभाव समेत बढ्ने गर्दछ । घुमघामले मुटु स्वस्थ राख्न मद्धत गर्दछ । घुमघाम गर्ने मानिसको तुलनामा घुमघाम नगर्ने मानिसमा मुटुरोग हुने ३० प्रतिशत बढी चान्स हुन्छ । घुमघाम नगर्ने मानिसको तुलनामा घुमघाम गर्ने मानिसको आयु पनि लामो हुन्छ ।

काका लक्ष्मण बानियाँको योजना छ, जिबिकेकेलाई एक कृषि पर्यटन र कृषि अनुसंधान केन्द्रको रुपमा विकास गर्ने । काकाको यस ड्रिम फोजेक्टलाई मुत्र्तरmप दिन काकी नाराणी बानियाँ, तथा भाइबैनीले यथासक्दो सहयोग गरिरहेका छन्, हजुरआमाको आर्शिवाद र हामी सबैको शुभकामना त छँदै छ ।

अतः ट्राभलिङ माइण्ड बडी स्वास्थ्यका लागि निकै फाइदाजनक छ । त्यसैले तनमनलाई स्वास्थ्य र शाक्तिशाली राख्न, ज्ञान, अनुभव र सृजनशीलता बढाउन हप्ताको एक दिन छोटो यात्रा र ३ महिनाको एक पटक लामो यात्रा गर्ने गर्रौ । ट्राभलिङ (यात्रा) तथा पर्यटनका लागि नेपाल एक श्रेष्ठ देश हो । विदेशीले मात्र होइन, हामी नेपालीहरुले पनि नेपाल घुमेर यात्राका सबै लाभहरु प्राप्त गर्न सक्छौ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button