खैराबाङ भुवनेश्वरी भगवतीको मन्दिरको खैखबर

केशव राज
सल्यान

कर्णाली प्रदेश, सल्यान जिल्ला, शारदा नगरपालिका, वडा नम्बर ११, हिवल्चा, खैरावाङ अवस्थित ‘खैराबाङ भुवनेश्वरी भगवतीको मन्दिर’ ऐतिहासिक, धार्मिक एवम् पर्यटनका हिसाबले महत्वपूर्ण स्थल हो । खैराबाङ भगवतीको मन्दिर सो क्षेत्र भरी नै निकै प्रसिद्ध मानिन्छ ।

खैराबाङ भुवनेश्वरी मन्दिरमा चैत्र शुक्लपक्ष र आश्विन शुक्लपक्षको बेला १५ दिनसम्म धार्मिक मेला लाग्ने गर्दछ । सो अवधिमा भगवतीको दर्शन गर्न नेपाल तथा भारतका विभिन्न स्थानहरुबाट भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ ।

खैराबाङ नेपालमा रहेका ५१ पीठ मध्येको एक पवित्र पीठ रहेको विश्वास गरिन्छ । आफ्ना पिता दक्ष प्रजापतीले सबैका अगाडि उनका पति महादेवको अपमान गरे पछि सहन नसकी यज्ञकुण्डमा हाम फालेर आत्मदाह गरे पछि विक्षिप्त बनेका महादेवले सतीदेवीको लास बोकेर पृथ्वीको चक्कर लगाउने क्रममा यस स्थानमा शुरुमा सतीदेवीको बायाँ स्तन र पछि फेरी मृगौला पनि खसेको भएर एकै स्थानमा दुई अंगहरु पतन भएका कारणले एक स्थानमा दुई देवी, दुई शिवलिङ्ग र दुई योगिनी रहेको तथा अन्य पीठ भन्दा दोब्बर दैविक शक्ति रहेको विश्वास गरिन्छ ।

पहिलेको परम्परा तथा धार्मिक आस्था अनुरुप राजा गिर्वाणयुद्धदेखि राजा महेन्द्रसम्म बली तथा पूजा भेटी र सामाग्री पठाउने चलन रहेकोमा राजा विरेन्द्रले वि.सं. २०४० सालमा आधुनिक मन्दिर बनाउन लगाइ वि.सं. २०४२ सालमा खैराबाङ भुवनेश्वरी भगवतीको पूजा आराधना तथा पंञ्चवली संकल्प गरी मन्दिरको समुद्धघाटन गरेको इतिहास छ । राजा ज्ञानेन्द्र शाहले पनि वि.सं. २०६० सालमा देवीको पूजा आराधना गरी पञ्चवली संकल्प गरेका थिए । सल्यान सरुवा भएर जाने पहिले पहिलेका बडाहाकिम तथा उच्च पदस्थ कर्मचारीहरुका अनेकौँ किस्साहरु अझै पनि सो क्षेत्रमा सुन्न पाइन्छ ।

खैराबाङ भुवनेश्वरी मन्दिर सल्यान सदरमूकाम खलंगादेखि १६ किमि पूर्व दक्षिणमा पर्दछ । खैराबाङ राप्ती राजमार्गमा पर्ने सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगरबाट गाडीमा ३० मिनेटमा पुग्न सकिन्छ भने पदयात्रा मार्फत करीब २ घन्टा लाग्दछ । राप्ती राजमार्ग प्रयोग गर्नेहरुलाई श्रीनगरबाट जान बढी सहज हुन्छ ।

सदरमुकाम खलंगाबाट खैराबाङ मन्दिर पुग्नलाई साहुटोल, दुलधारा पोखरा, मार्के, मदना, हिवल्चाको घुमाउरो सडक भएर जानु पर्ने हुन्छ । तर सल्यानको पश्चिमी क्षेत्र र सुर्खेत, जाजरकोट, दैलेख लगायतका ठाउँहरुबाट बालुवासंग्रही भएर मन्दिर जाने यात्रीहरुका लागि भने यो सडक बढी सहज हुन्छ । सोही क्रममा सल्यानको सुन्दर कुपिण्डे दहको दृश्यावलोकन पनि गर्न सकिन्छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button