ट्रेकिङ टकमा निलहरिः टानलाई पर्यटन व्यवसायीको सारथी बनाउनेछौं

विश्व शीर सगरमाथा बोक्ने जिल्ला सोलुखुम्बुको नेचा सल्यानमा जन्मिएका निलहरी बास्तोला ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को नजिकिदै गरेको निर्वाचनमा अध्यक्षमा उम्मेद्वारी दिदैछन् ।

बास्तोला एसियन हेरिटेज ग्रुप अफ कम्पनीजका प्रबन्ध निर्देशक हुन् । सन् १९९२ बाट पर्यटन क्षेत्रको यात्रा सुरु गरेका उनी पर्यटक लिएर देशको अधिकाँश हिमाली र उच्च पहाडी क्षेत्र पुगेका छन् । उनले सन् २००२ देखि आफ्नै टे«किङ कम्पनी संचालन गरेका हुन् । त्रिभुवन विश्वविद्यालयबाट स्नातकसम्मको अध्ययन गरेका बास्तोलाले नेपालको पर्यटन प्रर्वधन गर्ने क्रममा विश्वका दुई दर्जनभन्दा बढी देशहरु भ्रमण गरिसकेका छन् । हाल ट्रेकिङ, ट्रान्सपोर्ट, ट्राभल, होटल, अपार्टमेन्ट, होमस्टे, हस्तकला र पस्मिना व्यवसायमा उनको लगानी रहेको छ । आफ्ना व्यवसायमार्फत सयौंलाई रोजगारी दिँदै आएका बास्तोला सामाजिक सेवामा पनि उत्तिकै सक्रिय छन् । उनकै अग्रसरतामा उनको जन्मथलो नेचामा बर्षौंदेखि नेचा सामुदायिक अस्पताल संचालनमा छ । निर्वाचनकै सेरोफेरोमा रहेर गरिएको कुराकानी ।

टानसँग तपाईं सम्वद्धताबाटै कुरा सुरु गरौं न ।
म टानमा सन् २०१३ देखि २०१५ सम्म कार्यसमिति सदस्य र २०१७ देखि २०१९ सम्म द्वितीय उपाध्यक्ष थिएँ ।

तपाईं टान कार्यसमितीमा हुँदाका सम्झनाहरु ?
म टान कार्यसमिति सदस्य रहँदा मिडिया तथा संचार कोअर्डिनेटर पनि थिएँ । त्यसक्रममा टान सदस्यहरुलाई दक्षता अभिबृद्धि तालिमको आवश्यकता महसुस गरी त्यसको औपचारिक रिसर्च गरी विभिन्न तालिम कार्यक्रम सञ्चालन गर्न कार्यसमितिलाई गाइडलाइन उपलब्ध गराइएको थियो । त्यसै गाइडलाइनको आधारमा टानले नियमिति गर्दै आएका तालिमबाहेक ट्राभल फोटोग्राफी, गाइडहरुका लागि आधारभूत पत्रकारिता तालिम, डिजिटल मार्केटिङ लगायतका तालिमहरु सञ्चालन गरेको थियो । सन् २०१४ मा हुदहुदको समयमा अघिल्लो मोर्चामा रही अन्नपूर्ण क्षेत्रमा फसेका पर्यटकहरुलाई उद्दार गर्न टानले आकस्मिक रेस्क्यू अपरेसन सञ्चालन गरेको थियो । त्यसबाट टान नेपाली पर्यटन क्षेत्रको एउटा प्रभावकारी संस्थाको रुपमा चित्रित हुन सफल भएको थियो । हाम्रै समयमा प्रभावकारी सूचना संप्रेषण गरेको कारण टानको आधिकारिक फेसबुक पेज समेत भेरिफाइड भएको थियो । टान भेरिफाइड फेसबुक पेज भएको नेपालकै पहिलो संस्था हो । त्यसैगरी टानको वेभसाइटमा सदस्य कम्पनीहरुको शेयरहोल्डरसहितकोे बृहत डाटावेस राख्ने काम पनि थालनी गरियो ।

अध्यक्षको सशक्त प्रत्यासीका रुपमा तपाईंका योजनाहरु के छन् ?
आगामी दुई बर्षको कार्यकालका लागि क्यालेन्डरसहितको योजनाहरु तयार छन् । संघमा सम्पूर्ण व्यवसायीहरुको अपनत्व बढाउने हाम्रो लक्ष्य छ । सदस्य कम्पनीहरुको व्यवसायीक पक्षहरुलाई प्राथमिकतामा राखेर नयाँ पदयात्रा गन्तब्यहरुको खोजी, केन्द्रीय, प्रदेश र स्थानीय सरकारसँगको सहकार्यमा पदयात्रा पर्यटनको विकास र प्रर्वधन् हाम्रा मुख्य एजेन्डा हुन् । टानलाई विशुद्ध व्यवसायिक संस्थाको रुपमा विकास गरी परिवर्तित अवस्थामा संस्थाको भूमिकालाई ब्यापक बनाएर अघि हाम्रो चाहना छ । टानको भूमिकालाई समयसापेक्ष प्रभावकारी बनाएर लैजानुपर्ने आवश्यकता छ । टानलाई व्यवसायीले हैन, टानले व्यवसायीलाई खोज्ने वातावरण बनाउन हामी प्रतिवद्ध छौं । डिजिटल युग सुहाउँदो समयसापेक्ष बजारीकरण गरेर पर्यटन व्यवसायको प्रर्वधनमा जुट्नेछौं । कोभिड महामारीपछिको पर्यटन पुनरुत्थानका लागि राष्ट्रिय र अन्तराष्ट्रिय प्रर्वधनका कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाइनेछ ।

अन्त्यमा थप केही भन्नु हुन्छ कि ?
टानलाई व्यवसायीको हितमा काम गर्ने, व्यवहारिक कठिनाइमा हातेमालो गर्ने सारथीको रुपमा विकास गर्न लागिपर्नेछौं ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button