
टानमा निलहरि बास्तोला नै किन ? को हुन् उनी ?
एम. आचार्य
सर्वोच्च शिखर सगरमाथा बोक्ने सोलुखुम्बुको नेचासल्यानमा जन्मिएका निलहरि बास्तोला एसियन हेरिटेज ग्रुप अफ कम्पनीजका प्रबन्ध निर्देशक हुन् । सन् १९९२ बाट पदयात्रा मजदुरका रुपमा पर्यटन क्षेत्रको यात्रा सुरु गरेका उनले गाइडका रुपमा देशका अधिकाँश हिमाली र उच्च पहाडी क्षेत्रको यात्रा गरिसकेका छन् ।
उनले सन् २००२ देखि आफ्नै ट्रेकिङ कम्पनी संचालन गरे । अथक मेहनत र निरन्तरको लगनशिलताबाट उनी आज एक सफल पर्यटन व्यवसायीका रुपमा स्थापित बास्तोलाले नेपालको पर्यटन प्रवध्र्दनक्रममा विश्वका दुई दर्जन बढी देश भ्रमण गरिसकेका छन् । नयाँ नयाँ अन्तराष्ट्रिय बजारहरुको खोजी गर्दै पर्यटन प्रवध्र्दन गर्नु उनको क्यालेन्डरका गतिविधि भएको उनका नजिकका साथीभाई बताउने गर्छन् ।
हाल ट्रेकिङ, ट्रान्सपोर्ट, ट्राभल, होटल, अपार्टमेन्ट, होमस्टे, हस्तकला र पश्मिना व्यवसाय संचालक उनले सयौंलाई रोजगारी दिंदै आएका छन् ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)मा कार्यसमिति सदस्य (२०१३-२०१५) र द्वितीय उपाध्यक्ष (२०१५-२०१९) रहेका उनी कार्यसमिति सदस्य रहँदा मिडिया कोअर्डिनेटर थिए । त्यसै बेला उनले टानको इतिहासमा पहिलो पटक सदस्यहरुका बीचमा दक्षता अभिबृद्धि एवं तालिम आवश्यकताका विषयमा औपचारिक रिसर्च गरी विभिन्न तालिम कार्यक्रम सञ्चालन गर्न कार्यसमितिलाई गाइडलाइन उपलब्ध गराएका थिए । त्यही गाइडलाइनको आधारमा टानले नियमिति गर्दै आएका तालिमबाहेक ट्राभल फोटोग्राफी, गाइडहरुका लागि आधारभूत पत्रकारिता, डिजिटल मार्केटिङलगायतका तालिमहरु सञ्चालन गरेको थियो ।
सन् २०१४ मा हुद्हुद्को समयमा अग्रडि मोर्चामा रही अन्नपूर्ण क्षेत्रमा फसेका पर्यटकहरुलाई उद्दार गर्न टानले आकस्मिक रेस्क्यू अपरेसन सञ्चालन गरेको थियो । त्यस अपरेसनका बेला बास्तोला संघको मिडिया तथा संचार कोअर्डिनेटनर रहेका थिए । उनी यो भूमिकामा रहँदा, टानको उत्कृष्ट छवी विश्वमाझ उजागर भएको थियो । यस घटनाबाट टान नेपाली पर्यटन क्षेत्रको एउटा प्रभावकारी संस्थाको रुपमा चित्रित हुन सफल भएको थियो भने उनकै कार्यकालमा प्रभावकारी सूचना संप्रेषण गरेको कारण टानको आधिकारिक फेसबुक पेज समेत भेरिफाइड भएको थियो । टान भेरिफाइड फेसबुक पेज भएको नेपालकै पहिलो संस्था हो । उनकै नेतृत्वमा टानको वेभसाइटमा सदस्य कम्पनीहरुको शेयरहोल्डरसहितकोे बृहत डाटावेस राख्ने कामको थालनी गरिएको हो ।
टानमा प्रतिनिधित्व गर्दा उनले आफू एक सक्षम व्यवसायी मात्र नभएर कुशल योजनाकार भएको पनि पुष्टि गरिसकेका छन् ।
बास्तोला सामाजिक सेवामा पनि उत्तिकै सक्रिय छन् । उनले एसियन हेरिटेज फाउण्डेसनमार्फत स्वास्थ्य र शिक्षा क्षेत्रमा सेवा गर्दै आएका छन् । उनको पहलमा गृह जिल्ला सोलुखुम्बुमा अस्पतालसमेत सञ्चालन हुँदै आएको छ । १५ वेड क्षमता रहेको अस्पतालले त्यस क्षेत्रमा उत्कृष्ट स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।
उनी लायन्स क्लब अफ नेपाल हेरिटेजका चार्टर्ड प्रेसिडेन्ट हुन् भने किवानिज क्लब अफ नेपाल होराइजनजस्ता संस्थामा समेत छन् ।
टानको आउँदो साउन ३० गते हुने निर्वाचनमा आफूलाई अध्यक्षको सशक्त प्रत्यासीका रुपमा उभ्याइरहँदा उनीसँग आगामी दुई बर्षे कार्यकालका लागि क्यालेन्डरसहितको योजनाहरु तयार छन् । संघमा सम्पूर्ण व्यवसायीहरुको अपनत्व बढाउने उनको लक्ष्य छ ।
सदस्य कम्पनीहरुको व्यवसायीक पक्षहरुलाई प्राथमिकतामा राखेर नयाँ पदयात्रा गन्तब्यहरुको खोजी गर्दै केन्द्रीय, प्रदेश र स्थानीय सरकारसँगको सहकार्यमा पदयात्रा पर्यटनको विकास र प्रवध्र्दन गर्ने उनको मूल एजेन्डा छन् ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)


