‘टाइम डिभाइडर कोरोना र डरमा शोक’

महामारीमा नेपालनाम्चाको लकडाउन वार्तामा कवि भूपिन

लकडाउन छ । तर, तपाईको कन्फिडेन्स त डाउन भएको छैन नि ?
दुईजना पारिवारिक सदस्य गुमाएपछि मानिसको मनोदशा कहाँ सामान्य हुनु ? बिथोलिएको छु । दोस्रो लहरले भाइ, दिदी, बुहारी, भान्जी, भतिजीलाई छोएपछि छटपटीमा बिते कैयन् दिन । कोही होम आइसोलेसनमा, कोही अस्पतालमा । उनीहरूको स्वास्थ्य अवस्थाले चिन्तित तुल्याइरह्यो । आत्मविश्वास कमजोर हुन नदिन कोरोनाका समाचारहरू हेर्न छोडिदिएँ । सामाजिक सञ्जालहरूका नेगेटिभ रडिप्रेसिभ पोष्टहरू स्किप गर्छु । किन ढाँट्नु ? अलिअलि कम्पन त महसुस गरेको छु तर आत्मविश्वासको स्तम्भ डगमगाएको छैन । सोच्छु, यो महामारीमा मैले भन्दा धेरै दुख पाउनेहरू कति छन् कति ! तब म किन हरेस खाने ? यसबेला सबैभन्दा प्राथमिक कुरा जीवनवादी विचार थप बलियो बनाउनु हो ।

दिन कसरी बित्दै छन् ?
सकेसम्म फुर्सदको सिर्जनात्मक प्रयोग गर्ने इच्छा हुन्छ, तर विषयमा केन्द्रित भएर लेख्ने आवश्यक मनस्थिति बनेको छैन । अध्ययनमा पनि मन गइरहेको छैन । अहिले युट्युब नै मेरो सबैभन्दा प्रिय दुनिया हो । जङ्गल वा नदीकिनारतिर बुशक्राफ्ट गर्न नपाएको क्षतिपूर्ति युट्युबमा उपलब्ध भिडियोहरू हेरेर गर्छु । फिल्म र इतिहासबारेका डकुमेन्ट्री हेर्छु । हाम्रो इतिहास र बुद्धबारे बनेका डकुमेन्ट्री रुचीका विषय हुन् ।
खेल मेरो प्राथमिक रुचीमध्ये एक हो । मेस्सी मेरो प्रिय लत हो । महिला फुटबलर रिके मार्टिन्सका खेलहरू पनि हेर्छु । अचेल भलिबल धेरै हेरिरहेको छु । विशेषत: चिनिया महिला टिमका खेलहरू । स्टार खेलाडी झु तिङको प्रदर्शनले प्रभावित गरिरहेको छ । प्राय: पुरुष प्रशिक्षकहरूको वर्चस्व रहेको विश्व भलिबलमा चिनिया महिला प्रशिक्षक लाङ पिङले चमत्कार नै गरिदिएकी छिन् । उनी भलिबल इतिहासकै एकमात्र यस्तो पात्र हुन्, जसले खेलाडी र प्रशिक्षक दुवै भूमिकामा गोल्ड मेडल जितेकी छिन् । यसै पनि भलिबल मेरो प्रिय खेल हो । युवाकालको लामो हिस्सा भलिबल खेलेर बिताएँ । भलिबल खेलेर बिताएका दिनहरू याद आइरहन्छन् । युट्युबमा बरालिँदा मैले केही समय भए पनि उदासीहरू बिर्सन्छु । यसरी नै दिनहरू बिताइरहेछु ।

कसरी गर्दै हुनुहुन्छ यो समयको सदुपयोग ?
अघिल्लो प्रश्नको उत्तरमै धेरै कुराहरू राखिसकेँ । अँ साँच्ची, मेरो रुचिको अर्को क्षेत्र भिडियोग्राफी पनि हो, युट्युब हेर्दै भिडियो कलासिक्ने कोसिस गरिरहन्छु । भिडियोग्राफी सिक्नुका फाइदै फाइदा छन् । एउटा चाहीँ नितान्त भिन्न अनुभव गर्न थालेको छु । पहिलेपहिले फिल्म हेर्दा कथामा बढी ध्यान जान्थ्यो, क्यामराको भाषामा ध्यान कम जान्थ्यो । अचेल क्यामरा हावी हुन थालेको छ । फ्रेम, मुभमेन्ट, साउन्ड, ब्याकग्राउन्ड, लोकेसनको छनौटले पहिलेझैँ तुरुन्त चित्त बुझ्दैन ।
कतिपयलाई सन्दर्भ अमिल्दो लाग्ला, कैयन् गाउँबस्तीमा बिजुली पुगेको छैन । तर, भिडियो बनाउन खोज्दा बिजुलीका तारहरूले बारम्बार दिक्क बनाउँछन् मलाई । सहरतिर तारका गुजिल्टाहरू भिडियोलाई कुरुप पार्ने प्रमूख कारण हुन् । देशले बिजुलीको भूमिगत लाइन कहिलेदेखि बिछ्याउन सुरू गर्ने होला भनी सोचिरहन्छु । यो असम्भव कुरा पनि त होइन ।

अघिल्लो बर्षको लकडाउन र यो बर्षको लकडाउन तपाईंलाई उस्तै लाग्दैछ कि फरक ?
अघिल्लो वर्ष परिवारमा कोरोनाको डर मात्र थियो, शोक थिएन । त्यसकारण युट्युबमा दश बाह्र दिन खर्चिएर महाभारत र बुद्धजस्ता लामालामा सिरिज हेर्ने धैर्यता थियो । अहिले डरमा शोक पनि थपियो । स्वभाविक फरक लाग्दैछ । आगामी दिनहरू झन कति दुखदायक होलान् भनि कतिबेला कतिबेला सम्झन खोज्दो रहेछु । यसबाट मुक्त हुन फेरी केही नयाँ काममा व्यस्त हुन थालिहाल्छु ।

छिमेक र वरिपरिको वातावरण कस्तो छ ?
लकडाउनका कारण मानविय वातावरण शान्त छ । कताकति बच्चाहरू कराएको, खेलेको हेरेर आनन्द लाग्छ, उनीहरू सङ्क्रमित होलान् कि भनि चिन्ता पनि लाग्छ । सहर यति शान्त पनि हुनसक्छ भनेर कहिल्यै कल्पना गर्न सकिएन । हर्न र गुडाइ कोकोलाहलबाट मुक्त सहर साँच्चै आनन्ददायक देखिन्छ, तर यसले मानिसको जीवनलाई अन्धकारतिर धकेलीदिएको यथार्थले झस्काइदिन्छ । यस्तो शान्ति त मनले चाहेको शान्ति होइन । यो शान्तिको कारणले मन बिथोल्न खोज्छ ।
सत्य हो, आफू वरिपरिको प्राकृतिक वातावरण हेरेर त मन बढो आनन्दित हुन्छ । पृथ्वीले लामो समयपछि यति स्वच्छ सास फेर्न पाएको छ । आकाश सफा देखिन्छ, वायु प्रदुषण निकै घटेको हुनुपर्छ । पोहोर एक लकडाउन निबन्धमा रोशन शेरचनसँगको फोनवार्ता उल्लेख गर्दै लेखेको थिएँ, पर्यावरणिय प्रदुषण घटाउन महामारी नभए पनि केही दिन लकडाउन गर्नुपर्छ ।
अचेल त्यो सन्दर्भ झनझन वास्तविक लागिरहन्छ ।

यदि लकडाउन नभएको भए आज तपाईं कहाँ र के गर्दै हुनुहुनथ्यो ?
वर्षामा बुशक्राफ्ट क्याम्पिङ गर्ने योजना थियो । टेन्टमा वर्षादको आवाज सुनेर कतै निर्जन एकान्तमा रात बिताउने सपना थियो । लकडाउनले रोकिदियो । लकडाउन नभएको भए म पक्कै कतै नदी किनार वा जङ्गलतिर हराइरहेको हुने थिएँ ।

लकडाउनको यो समयलाई भविष्यमा कसरी सम्झनु होला ?
कोरोना कालमा बितेका यी सकसपूर्ण दुई वर्षले फैलिनुपर्ने जीवनलाई झनझन खुम्चाइदिएको छ । सहरमा डेरावाल जिन्दगी, कमाई संकटमा छ । राम्रोसँग जागिरेको अनुभव नगरेको छ सात महिना भैसक्यो । भर्चुअल कक्षामा विद्यार्थीसँग भेट हुँदा ए म पनि जागिरे हुँ नी’ भन्ने बोध हुन्छ । अचेल पटकपटक जागिरे भएकोमा सङ्का लाग्छ ।
एक लेखकले आफ्नो सिर्जनात्मक श्रमबाट प्रतिफलको पनि आश गर्दो रहेछ । तर आशा पनि कहिलेकाहीँ भाइरसजत्तिकै खतरनाक हुन्छ । नक्कली खुट्टा टेकेर हिँड्ने आशाले कतिबेला आफ्नो भेरियन्ट बदल्छ ? अनुमान गर्न गाह्रो । म सकेसम्म सकारात्मक नै लिइरहेछु घटनाहरूलाई । अशोकजी, बाँचिएछ भने कुनै दिन यी दुख र उदासीहरू मेरा सिर्जनाका बहुमुल्य खजाना बन्ने सम्भावना पनि त छँदैछ । हाहाहा । खासमा म अव्यस्थित मानिस हुँ र यो लकडाउनले भविष्य झनै अव्यवस्थित बनाइदिने खतरा छ । शायद यी कुराहरू भविष्यमा याद आउलान् कि ?

के तपाईंलाई लाग्छ, लकडाउन नै समस्याको समाधान हो ?
लकडाउन अस्थायी समाधान हो, स्थायी र निर्विकल्प समाधान होइन । यो बेला अत्यावश्यक खोपको व्यवस्था भएन भने नागरिकको भविष्य झन खतरामा पर्ने छ । तर विसङ्गतिपूर्ण राजनैतिक खेलले हामीलाई निरास पारिदिएको छ । पार्टीहरू कि सत्ता जोगाउने कि सत्ता हत्याउने खेलमा व्यस्त छन् । जनताप्रति उनीहरू जिम्मेवार छैनन् । चरम नकारात्मक दलदलमा फसेका धुर्त, अहङ्कारी र कुन्ठितहरू हरेक पार्टीको नेतृत्वमा भएको पाएर र उनीहरूको हर्कत देखेर दुख लाग्छ ।

कोरोनाको यी बर्षहरुपछि तपाईंको जीवनदृष्टिमा के कस्तो परिवर्तन आएको अनुभव गर्नु हुन्छ ?
भोगेको जीवन धेरै सार्थक किताब रहेछ । यसका सुखदुख, खुसी उदासीको असामान्य अर्थ छ । यसले नै जीवनको अर्थ दिननिर्णायक भूमिका निर्वाह गरिदिन्छ ।
महासङ्कटबारे कथामा कति पढियो ? फिल्ममा कति हेरियो ? अहिले स्वयम् भोक्ता भएका छौँ । कति भनेर व्यक्त गर्न गाह्रो छ तर जीवनबारे पहिलेभन्दा गहिरो बोध भएको अनुभव गर्छु अचेल । कोरोना त जीवनलाई दुई भागमा विभाजन गर्ने टाइम डिभाइडर नै बनिदियो । जीवन अर्थात कोरोनाअघिको र कोरोनापछिको ।

भविष्यप्रतिको तपाईंको धारणा के छ ?
जीवन यति क्षणभङ्गुर र भविष्य यति अनिश्चित यसअघि कहिल्यै पनि लागेन । बुद्धले वर्तमानलाई महत्व दिन सम्झाएको कुरा सत्य र सार्थक रहेछ । तर एक दिन कोरोनाको विशाक्त लहर थामिनेछ । हाम्रा नानीहरूले सुन्दर पृथ्वीको उपभोग गर्न पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button