
… जब पशुपतिका प्रधान अर्चक दुम्जाको कुशेश्वर पुगे
ब्राह्मणपुत्र लकडाउन डायरी–२९
भरत शर्मा
‘पशुपतिनाथाको यात्रा, सिद्राको व्यापार’ अर्थात् नेपालमा एकमात्र आदिलिङ्ग कुशेश्वरको यात्रा र घुम्दै जाँदा राष्ट्रियता, प्रजातन्त्र र समाजवादका त्रिवेणी विश्वेश्वरप्रसाद कोइरालाको नाममा बनको पार्कसम्म पुग्छौं ।
पहिले, आदिलिङ्ग कुशेश्वर ।
विपी राजमार्गबाट काठमाडौं, भक्तपुर, बनेपा, सिन्धुली हुँदै ७० किलोमिटर यात्रापछि पुगिन्छ ‘कुशेश्वर’ । मौसम सफा भएको बेला बाटैबाट आँखैअगाडि हिमाल, हिमाल र फेरि हिमाल । हिमवतखण्डको नेपाल महात्म्यमा लेखिएको छ, कुशेश्वर स्वयम्भु हुन्, आफै उत्पति भएका । कुशबाट उत्पन भएकाले कुशेश्वर नाम रह्यो । सनातनीहरुको सबै कर्मकाण्ड पद्वतिमा चाहिने भनेको ‘कुश’हो । यो पवित्र वनस्पतिको वैज्ञानिक महत्व पनि छ । मानिसको जन्मदेखि मृत्युसम्म चाहिने ‘कुश’ भदौं महिनाको कुशे औंशीको दिन उखालेर घर–घरमा राख्ने नेपाली परम्परा छ । कुशेश्वर नजिकै बग्ने नदी छिन्, जसलाई हिमवत खण्डमा सुवर्ण कौशिकी भनिएको छ ।
कुशेश्वरको नाम सुनेको धेरै बर्ष पहिले भए पनि उखानमा भन्ने गरिजस्तै ‘नजिकको तीर्थ हेला’ भइरहेको थियो । ढिलै भए पनि २०७७ सालमा दुईपटक पुग्ने अवसर प्राप्त भयो । आदिलिङ्ग कुशेश्वर र ६४ शिवलिङ्गको महिमा पं. कृष्णप्रसाद खनालले पटक–पटक सुनाउदै आएका थिए ।
‘देशका सबै तीर्थको यात्रा गरे पनि कु्शेश्वरको यात्रा गर्नु भएको छैन भने यात्रा अपुरो हुन्छ है’, राष्ट्रिय धर्म सभा नेपालको अनामनगर क्षेत्रमा हुने बैठकमा सहभागी हुँदा पं. खनालको यो वाणी सुन्दै आएको धेरै बर्ष भएको थियो । उनी भन्थे, ‘पशुपतिनाथको दर्शन गरेपछि आदिलिङ्ग कुशेश्वरको दर्शन गर्नुपर्छ भनेर लेखिएको छ ।’
पशुपतिनाथ त ज्योतिलिङ्ग हुन् । भनिन्छ, लिङ्ग भनेको मूर्त रुप हो । ब्रह्म अमूर्त रुप भएकाले पशुपतिनाथ अमूर्त ब्रह्मका मूर्त रुप हुन् । विज्ञानले पनि यही भनेको छ, अमूर्त भनेको शून्य हो । मूर्त भनेको भौतिक हो । त्यसैले त हामी सबैंले आस्था राख्ने पशुपतिनाथ अमूर्तहरुको मूर्त भएकाले श्री पशुपतिनाथलाई ज्योतिलिङ्ग भनेका हौं ।
पशुपतिनाथ जस्तै एकसय आठ शिवलिङ्गहरु छन् । शिव, शक्ति जे भने पनि ब्रह्म उर्जा नैं हो । त्यस्तै शिवका लिङ्मध्ये नेपालमा भएको चाहिँ पहिलो कुशेश्वर महादेव रहेछ । त्यसैले त्यहाँको नाम आदिलिङ्ग महादेव भनिएको रहेछ ।
यस्तो अपार महिमा भएको क्षेत्र बत्तीमुनिको अध्यारो भएजस्तो लाग्यो । पशुपतिनाथको दर्शनपछि पहिलो पुग्नुपर्ने स्थान भनेर लेखिएको कुरालाई कसरी नकार्ने ? यसपटक श्री पशुपतिनाथले दर्शन गर्न आदेश दिए ।
पुस महिनाको अन्तिम साता श्री पशुपतिनाथका प्रधान अर्चक गणेश भट्टले आदिलिङ्ग कुशेश्वर यात्रा इच्छा जनाएपछि पहिलो पटक कुशेश्वरको दर्शन गर्न पुगेँ । यात्रामा पशुपतिनाथका अर्का अर्चक श्री रामकारान्त भट्ट पनि सहभागी भए ।
राष्ट्रिय धर्मसभाका अध्यक्ष प्रा.डा माधव भट्टराई काठमाडौं छोडेर उनैं आदिलिङ्ग कुशेश्वर मन्दिरको छेउमा ‘आदिआश्रम’ खडा गरेर बस्न थालेपछि हामीलाई पनि निमन्त्रणा गरेका थिए ।
काठमाडौंबाट दर्शनका लागि आउँदै छु भनेर खबर दिएँ, तर को र कति जना भनेर खबर गरिन, एकैपटक पशुपतिनाथका अर्चकलाई आदिलिङ्ग कुशेश्वर दर्शन गर्न लिएर जाँदा त माधव गुरु झसङ्ग ! मुर्मुरिएर भन्न थाले, ‘खबर किन लुृकाएको ! गुरु आउने थाहा भएको भए यहाँ भव्य स्वागतको तयारी हुनेथियो ।’
‘गुरु ! म यात्री सेवक हुँ, अर्चक श्री गणेश भट्टले आदिलिङ्को दर्शन जाने लागेको हामी दर्शनार्थी हौं, कसैलाई खबर नगर्नु भन्ने अर्चकको आदेश मानेको हुँ’, मैले हात जोडेर भनेँ ।
मेरो निवेदन सुनेपछि मात्र अलि शान्त भए डा. भट्टराई ।
काठमाडौंदेखि तीन घण्टाको यात्रा, बाटोमा डाँडा, हिमाल दर्शन । त्यसपछि सुनकोसी नदीको किनारमा रहेको कुशेश्वरको क्षेत्र । त्यहाँ पुगेपछि निकै अध्यात्मिक ‘भाइब’ अनुभव ग-यौं । श्री पशुपतिनाथको अर्चक कुशेश्वरको दर्शन गर्न आएको खबर मन्दिर क्षेत्रमा फैलिएपछि एक हुल दर्शनाथी जम्मा भए ।
कुशेश्वरमा योगी नरहरिनाथले पनि यज्ञ गराएका रहेछन् । नेपालका सबैजसो शिवालयमा यज्ञ गराउने योगी नरहरिनाथ सनातन धर्मका संरक्षक याज्ञिक थिए । उनले हरेक शिवमन्दिरमा ‘कोटीहोम’ यज्ञ गराउने, ब्राह्मण बटुकहरुको व्रतबन्ध गराउदै हिँड्ने अभियान नै चलाएका थिए ।
कुशेश्वर पुगेपछि ‘भरतजी ! अब तपाईं होइन, केही समयका म गाइडको काम गर्छु‘ भनेर प्रा.डा माधव गुरुले कुशेश्वरका बारेमा अर्चकहरुलाई बताउन थाले, ‘आदिलिङ्ग कुशेश्वर पशुपतिनाथपछि दर्शन गर्नुपर्ने पहिलो तीर्थ भनिएको छ, मन्दिर नजिकै बगेको नदी सुनकोशी हो । रोशी खोलालाई रोसमत्या भनिएको छ ।’
दुर्गा सप्तसतिमा उल्लेख भएको शुम्भ र निशुभ्मको बध गरी देवीले खड्क पखालेको ठाउँलाई ‘दुर्गाघाट’ भनिन्छ । खड्क गाडिएको ठाँउलाई खाडादेवी पीठको नाम बाट पुजिन्छ । सोही घाटमा विरुपाक्षको पाप मोक्ष भएको थियो ।
‘दुर्गाघाटको पारी विश्वमित्र गुफा छ । सोही गुफामा बसेर विश्वामित्र ऋषिले तपस्या गरेका हुन् । हामी गुफा गएर दर्शन गरौं’, भट्टराईले हामीलाई गुफातिर लगे ।
गुफा भएको बनपाखामा बेल र इम्लीका बोट देखेपछि श्री पशुपतिनाथका अर्चक गणेश भट्टले भने, ‘यो देव तपस्थली हो ।’
‘मन्दिर–मन्दिर भएको नेपाल पहिले ऋषिमुनिको तपोभूमि थियो । नदीको किनारमा बसेर स्वच्छ हावा खाँदै यज्ञ अनुष्ठान गर्ने परम्परा कम हुँदै गएको छ’, गुफामा बस्ने योगी भन्दै थिए, ‘विश्वमित्र ऋषिले अर्चना गर्ने केही अवशेषहरु छन् ।’
गुफाभूमि पसेर दर्शन पनि ग-यौं । दर्शनका अनुभूतिहरु बेग्लाबेग्लै भए । सबै तीर्थयात्रीले भने, ‘आज वास्तविक तीर्थयात्रा गरेजस्तो आनन्दको अनुभव भयो ।’ सुनकोसीको स्वच्छ र चिसो पानीमा स्पर्श गर्दा, तन, मन र ह्दय शान्त भएको अनुभव गरियो ।
हामी किन तीर्थयात्रामा जान्छौं ? मनलाई एकाग्र, शान्त र शितल बनाउन । मुक्तिनाथ, देवघाट, गोसाइकुण्ड, काशी, हरिद्वार जगन्नाथ जहाँ गए पनि जलस्नानको महत्व छ ।
कुशेश्वर मन्दिर, गुफा र नदीको दर्शनपछि माधव भट्टराईले भने, ‘यहाँ हेर्ने लायक बिपी पार्क छ । कृष्णप्रसाद कोइरालादेखि सुशील कोइराला र सिन्धुली दुम्जा क्षेत्रमा ख्याति कमाएका व्यक्तिका शालिक बन्दैछन् । अग्लो पहाडबाट फेदीको दृश्य सुन्दर देखिन्छ ।’ हामी पार्क गयौं । तर, त्यहाँ सडक निर्माणको काम हुँदै गरेकाले विपी पार्क नपुगीकन बाटोबाट फर्कियौं ।
‘कुशेश्वर दर्शन कस्तो भयो, तपाईं गएको खबर सुनेदेखि मलाई पनि जाने मन भयो । किन होला ?’, सहकर्मी कृष्णबहादुर थापाले भने । केही समयपछि फेरि दोस्रो पटक कुशेश्वर जाने कार्यक्रम तय भयो ।
राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष भट्टराईले संस्थाको अधिवेशन कुशेश्वरमा राख्ने निर्णय गरेको खबर आयो । चैत महिनाको ७ गते शनिवार फेरि सहकर्मी थापासहित हामी एकसय सभासदस्यहरु कुशेश्वर दर्शन गर्न पुग्यौं ।
कुशेश्वर मन्दिर परिसरमा बसेर धर्म, संस्कृति र परम्पराका बारेमा धर्मशास्त्रीय अध्ययनका आधारमा निर्णय गर्नेे धर्मसभाको अधिवेशनबाट फेरि हामीले प्रा.डा माधव भट्टराईलाई दुई बर्षका लागि अध्यक्ष निर्वाचित ग-यौं ।
सिन्धुलीको दुम्जा गाउँपालिकाको नेपालथोकमा रहेको कुशेश्वर दर्शनका लागि सबैमा हार्दिक निमन्त्रणा छ ।
…
(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)




भान्जाको यात्रा वर्णन झनै सुन्दर हुन्छ । जय होस् ।