कोरोना डायरीः ‘कोई लौटा दे मेरे बिते हुए दिन’
प्रकाशप्रसाद उपाध्याय
कभर मोडलः रेखा लिम्बु ।
डिसेम्बर २०१९ को अन्त्यतिर प्रकट भएको कोभिड–१९ भन्ने कोरोनाको संक्रमणबाट विश्वले मुक्ति पाउन सकेको छैन । हाम्रो देशको स्थिति पनि सामान्य छैन । कहिले र कसरी यसबाट राहत पाइने हो कसैलाई थाहा छैन । यसविरुद्ध खोपको आविष्कार गरिएको भए पनि यो सुरक्षा कवच मात्र हो । यसमा रोगनाशक क्षमता नहुँदा सबै अन्योलमा छन् । किनभने खोप लिएकाहरू पनि संक्रमित हुने गरेका र नयाँ वर्ण र जात (भेरियन्ट)ले विभिन्न देशहरूमा जन्म लिइ फैलिरहेका समाचारबाट मानिस त्रस्त छन् । सबै वर्गका मानिसहरूमा त्रास छ, किनभने कुन देशको विषाणुको लहर कति बेला फैलिने हो थाहा छैन ।
यस वातारणमा सबैको सल्लाह हुन्छ, ‘घरभित्रै बसौँ । आवश्यक काम नभई बाहिर ननिस्कौँ ।’ तर, घरभित्र बस्दा पनि कसरी समय बिताउने भन्ने समस्या ! टेलिभिजन हे¥यो, दुखदायी र हृदयविदारक दृश्य ! अखबार पल्ट्यायो, मन खिन्न पार्ने समाचार मात्र ! किताब पढ्न बस्यो, कति पढ्ने ! कति बेर पढ्ने ! घर बाहिर जान र साथीभाईहरूसित खेल्नको निम्ति निस्कन नपाएका केटाकेटीहरूको हल्लीखल्ली उस्तै । जीवनको उत्साह र आह्लादपूर्ण वातावरणका दिन सम्झिँदा गाउने मन गर्दछ, ‘कोई लौटा दे मेरे बिते हुए दिन ।’ तर, के गाउँदैमा बितेका दिन फर्कन्छन् र ? फर्किने भएको भए, सबै वर्ण, जात र लिंगका मानिसहरू गाइबस्दथे र जीवन संगीतमय हुने थियो ।
पहिले कोही बिरामी परेको वा अस्पतालमा भर्ना भएको खबर पाउँदा भेट्न जाइन्थ्यो । तर अब ? बताइरहनुु नपर्ला । कुनै शोक समाचार छ भने पनि फोनबाटै समवेदना । सोशल डिस्टेंश्ंिगको वर्तमान वातावरणले मानिसलाई सामाजिक प्राणी रहन दिएन । दाम्पत्य जीवनमा पनि सोशल डिस्टेंशिंगको अवस्था । ओछ्यान छ्ुट्टाछुट्टै । छिमेकी देशका एकजना युवकले बिहेको ५ दिनपछि नै कोरोनाका कारण कालकवलित हुनुप¥यो भन्ने समाचार टेलिभिजनबाट सुन्नुप¥यो । बिचरी पत्नीले कसलाई गुहार्ने ? भगवानलाई गुहार्न मन्दिर पनि जान सक्दिनन् । सडकमा लकडाउन । मन्दिरका कपाटहरू पनि बन्द ।
पछिल्लो महिना स्वास्थ्यमा समस्या उत्पन्न भएजस्तो लाग्यो । ब्लड टेस्ट गराई डाक्टरनिर गएँ । रिपोर्टहरू ठीक भए पनि सल्लाह लिन पुगेँ । तर ‘कसले भनेर ब्लड टेस्ट गराउनु भो, खै समस्या त केही छैन, किन आउनुभा यस्तो समयमा’ भन्ने सुन्नुप-यो । मलाई पनि थाहा छ, अचेल अस्पताल पनि सुरक्षित स्थल छैन । तर, बहस गर्नु उचित ठानिनँ । रहरले गएको थिइनँ । अनि विचलित मन बहलाउन गीत गुनगुनाउँदै घर फर्केंं, पैदल । किनभने डर थियो, बाहनबाट पनि सर्छ कि भन्ने ।
घर आइपुगेपछि राम्ररी नुहाएँ, लुगा धोएँ र खाइसकेपछि ध्यान भट्किन नदिन लेख्न बसेँ यो डायरी ।