‘भुइज: सि नारायण’ अर्थात बूढानीलकण्ठ

बूढानीलकण्ठ : एक भूस्वर्ग

गंगा खड्का

‘ए नानी ! छिटो गर । फेरि गाडी छुट्छ’, आमाले एकाबिहानै मलाई उठाउनुभयो ।

‘ए साँच्चि त ! आज बूढानीलकण्ठ मन्दिर दर्शन गर्न जाने योजना पो थियोे त’, म आँखा मिच्दै उठेँ ।

बिहानको नित्य कर्म सकेर म आमासँगै आलापोटको कृष्ण चौर पुगेँ । त्यहाँ बूढानीलकण्ठ जानको लागि रिजर्भ गरेको गाडी पहिला नै आइसकेको रहेछ । अरु पनि धेरै दर्शनार्थी आइसकेका रहेछन् । केही बेरमै गाडी छुट्यो । कार्तिक महिनाको चिसोचिसो हावासँग कावा खाँदै गाडी अगाडि बढ्यो । भद्रवास, डाँछी, दक्षिण ढोका, चावहिल, चक्रपथ हुँदै गाडी अगाडि बढ्यो । बाटाका रमाइला दृश्यलाई आँखामा कैद गर्दै म पुलकित भएँ ।

गाडी जब बूढानीलकण्ठ मन्दिर नजिकै पुग्यो, तब त्यहाँ बजेका घण्टीले मेरो अन्तर्मनलाई बिउँझायो । धुपका सुगन्धित बास्नाले मलाई निमन्त्रणा गरिरहेको आभास भयो । हरिबोधिनी एकादशी भएकाले मान्छेको भीड लागिसकेको थियो । मानिसहरू कोरोनाको वास्ता नगरी लाइनमा ठेलमठेल गरी बसिसकेका रहेछन् । लाइन लामै थियो तर मन्दिर परिसरमा पाइला टेक्नासाथ स्वर्ग पुगेको अनुभूति भयो ।

त्यहाँ चारवटा प्रवेशद्वार रहेछन् । हामी दक्षिणतिरबाट छिर्‍यौँ । जलाशयमा शेषशायी विष्णु भगवानको कलात्मक मूर्ति देखेर म छ्क्क परेँं । यो मूर्ति आफैँ उत्पत्ति भएको भन्ने जनविश्वास रहेछ । एकजना किसानले खेत खन्दा जमिनबाट ह्वाल्ह्वाल्ती रगत बगेको र उक्त स्थानमा उत्खनन गरेर हेर्दा विष्णु भगवानको भीमकाय मूर्ति फेला परेको किंवदन्ती रहेछ । भगवानको खुट्टाको बूढी औँला काटिएको रहेछ । हरेक रात विष्णु भगवान जागा भएर बूढानीलकण्ठ क्षेत्रको रेखदेख गर्छन् भन्ने जनविश्वास पनि रहेछ ।

विष्णु भगवानलाई मूल्यवान आभूषण तथा वस्त्रले सिँगारिएको रहेछ । मन्दिरको आसपासमा अन्य देवी देवताका मन्दिर र मूर्ति रहेछन् । मन्दिरमा चढाइएका फलफूलको आशले धेरै बाँदर पनि आउने रहेछन् । मन्दिरको प्राङ्गणमा परेवाका बथान चारा टिप्दै गरेको आकर्षक दृश्य देखेर मेरो मन रमायो । यस्तै सुखानुभूति गर्दै हामीले बूढानीलकण्ठ भगवानको दर्शन गर्‍यौँ । यस मन्दिरमा दर्शन गर्नाले भगवानको असीम अनुकम्पा मिल्ने र धन, सुख-शान्ति, पारिवारिक सद्भाव बढ्ने भनाइ रहेछ । विशेषगरी हिन्दू र बुद्ध धर्मावलम्बीको भीड लाग्ने यस देवस्थलमा वैशाख र कार्तिक महिनामा विशेष भीड लाग्ने रहेछ । यहाँ एकादशीमा ठूलो मेला लाग्ने रहेछ । यस मन्दिरको परिसरमा वेद विद्याआश्रम पनि रहेछ । यहाँको नित्य पूजा वटुकहरुबाट सम्पन्न गरिने रहेछ । नित्य पूजा गर्दा भगवानलाई स्नान गराएर, श्रृङ्गारको साथै श्रीखण्ड, चन्दन, केशरी, जौ, तिल, अक्षता, फूल दुबो चढाई धूप, दीप, नैवेद्य प्रसादमा मनभोग, मालपुवासमेत मिष्ठान्नको भोग लगाएर पञ्चोपचार एवं विशेष अवसरमा षोडशोपचारले वैदिक विधिपूर्वक गरिने प्रचलन रहेछ ।

Advertise
Hike & Write

दैनिक साँझ आरती हुने रहेछ । पूजाका लागि गुठीको व्यवस्था पनि रहेछ । यस पवित्र तीर्थस्थलमा श्रावण महिनाभरका सोमवारहरूमा पनि दर्शनार्थीहरुको घुइँचो हुने रहेछ । त्यसबेला भगवानको विशेष पूजा गरिने रहेछ । हरेक एकादशीमा साँझको आरती धुमधामसँग गरिने रहेछ । रातमा पनि जाग्राम बसेर बत्ती बाल्ने दर्शनार्थीहरु पनि थुप्रै हुने रहेछन् । यहाँ चाडपर्वमा पनि भीड हुने रहेछ । विशेष दिनहरूमा विवाह, व्रतबन्ध, अन्नप्राशन, गुन्युचोली दिने जस्ता शुभकार्य पनि सम्पन्न हुने रहेछन् । यहाँ स्वदेश तथा विदेशबाट भक्तजनको धुइरो लाग्ने रहेछ । बूढानीलकण्ठलाई स्थानीय नेपाल भाषामा भुइज: सि नारायण भनिँदो रहेछ । यस मन्दिरको उत्तरपट्टि गौशाला पनि रहेछ ।

बूढानीलकण्ठको बारेमा यस्ता धेरै कुरा जान्ने मौका मैले एकजना महात्माबाट पाएँ । उनीबाट अझै बढी जान्ने इच्छा हुँदाहुँदै समयको पावन्दीले गर्दा हामी कोटिहोम लगाउने ठाउँमा पुग्यौँ । त्यहाँ श्रीमद भागवत लगाइएको रहेछ । भर्खरै क्षेत्र विकास समितिको भव्य भवन निर्माणाधीन अवस्थामा रहेछ ।

यो मन्दिर शिवपुरी पहाडको काखमा अवस्थित रहेछ । यसको पश्चिमपट्टि श्रीकृष्ण भगवानको मन्दिर रहेछ, जुन मन्दिर इस्कोन नामले देश विदेशमा चर्चित रहेछ । यहाँ विदेशीहरु पनि भगवान् राधाकृष्णको भक्तिमा लीन भएर बसेका रहेछन् । बूढानीलकण्ठको उत्तरमा विपसना ध्यान केन्द्र रहेछ । प्रसिद्ध तीर्थस्थल विष्णुद्वार, बाग्द्वार पनि बूढानीलकण्ठ हुँदै जान सकिने रहेछ । नागी गुम्बालगायतका अन्य गुम्बाहरु पनि बूढानीलकण्ठकै मार्ग भएर जान सकिने रहेछ । काठमाडौँका विभिन्न ठाउँमा खानेपानी वितरणका लागि निर्माण गरिएको मुहान पोखरी बूढानीलकण्ठको शिरमा रहेछ । बूढानीलकण्ठ हरिया डाँडापाखाको पहरा पाएर अवस्थित उत्कृष्ट ठाउँ रहेछ ।

जे होस् बूढानीलकण्ठ एकपटक सबैले पुग्नै पर्ने भूस्वर्ग रहेछ । प्राकृतिक, भौगोलिक, सांस्कृतिक र पर्यटकीय हिसाबले बूढानीलकण्ठ उत्कृष्ट संग्रहालय रहेछ ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button