कठै ! मलाई त आमापट्टिको कसैको नामै थाहा रहेनछ

मीरा पुडासैनी

सिकाई कहिल्यै नसकिने प्रकृया हो । पढेर जान्नु, परेर जान्नु, देखेर जान्नु, लेखेर जान्नु । बोलेर जान्नु अनि सुनेर जान्नु । सधैँ ठुलाले मात्र सानालाई सिकाउँछन् भन्ने हुँदो रहेनछ । केटाकेटीबाट पनि हामीले जीवनका अनेकौं ठुलाठुला ज्ञानहरू प्राप्त गरिरहेका हुन्छौं । यो सही हो कि केटाकेटी धेरै नै जिज्ञासु हुन्छन् । हामी ठुलाको सोच्ने तरिकाभन्दा निक्कै फरक तरिकाले सोचिरहेका हुन्छन् । उनीहरूको जिज्ञासालाई सहि निकास दिन सकियो भने उनीहरूको जीवनको निम्ति महत्वपूर्ण सिकाई हुनसक्ने रहेछ । मेरा छोरा छोरीले मलाई धेरै कुराहरू सिकाएका छन् । अझ छोरीले बेला बेलामा राख्ने गरेका जिज्ञासाहरू जुन उनको उमेरभन्दा निक्कै पाका हुने गर्छन्, तिनले त मलाई कहिल्यै नसिकेको कुराको बारेमा ज्ञान दिने गरेको छ । म उनीप्रति साह्रै नै अनुग्रहित हुने गर्दछु ।

एकदिन छोरीले सुत्ने बेलामा मेरो बुवाको बुवाआमा, हजुरबुवा र हजुरआमाको नाम सोधिन् । मैले हजुरबुवा र हजुरआमाको नाम भन्न सकें । बुवाको हजुरबुवाको नामसम्म मलाई याद थियो । तर बुवाको हजुरआमाको नाम मलाई थाहै थिएन । कहिले पनि उहाँको नाम जान्नु पर्ने स्थिति नै आएको थिएन । छोरीले फेरि मेरी आमाको बुवाआमाको नाम सोधिन् । कठै ! मलाई त आमापट्टिको कसैको नामै थाहा रहेनछ ।

बालसुलभ चन्चलता अनि अलि अलि खिस्याउँदै उनले मलाई हजुरलाई त आफ्नो आमापट्टिको केही थाहा नै रहेनछ भनिरहँदा मलाई भने कस्तो खल्लो लागिरह्यो । अनि उनलाई पनि मैले उनको तीन पुस्ते सोधिहेरें, उनले सजिल्यै बाबा, हजुरबुवा, हजुरआमा, बडाहजुरबुवा, बडाहजुरआमा र कुप्रो हजुरबुवासम्मको नाम भन्न सकिन तर कुप्रीहजुरआमाको नाम भन्न सकिनन् ।

कमसेकम अहिलेको पुस्ता मेरी छोरीले आफ्नो तीन पुस्ते थाहा पाउँदा मलाई निक्कै खुशी लाग्यो । तर उनलाई मेरी सासूको माईतीतिरको बुवाआमाको नामबारे भने केही थाह थिएन, जुन मलाई पनि थाह थिएन ।

उनका जिज्ञासाले मलाई सोच्न बाध्य बनायो कि कसरी पितृसत्ताले हाम्रो बालमष्तिस्कलाई सानै बेलादेखि नै उसको अधिनमा राखेको हुँदो रहेछ त भनेर । किन हामी आफ्ना केटाकेटीलाई बुवा पुस्ताका तीन वा चार पुस्तेबारे जानकारी दिन्छौं अनि आमापट्टिको पहिलो पुस्ताको नामबारे जानकारी दिन जरूरी ठानिईदैन भन्ने कुरा पहिलो पटक महसुस गरें ।

मलाई आफ्नो माईतीपट्टिको दुईपुस्ते पुरूष सदस्यहरूको नामको बारेमा मात्र सिकाईएको रहेछ, रटाईएको रहेछ । नारी जस्का उपज हामी यो संसारमा आएका छौं, उनका अस्तित्व त कागतका खोस्टामा मात्र नभई मन अनि मस्तिष्कमा पनि कहि कतैबाट रोपिएको हुने रहेनछ भन्ने जानें अनि फेरि हामीबाटै पनि हाम्रा भावी पुस्ताका मन मस्तिष्कमा यहि कुरा नै रोपिदै गईरहेको आभाष भयो ।

बावुको नामबाट नागरिकता, बैंक खाता संचालन र कारोवारमा, विवाह संस्थाका निम्ति केटाकेटी दुवैपट्टिको बावुतिरको पुस्तालाई महत्वमा राखिने कुराहरू अनि अझै आमाको नामबाट नागरिकता लिन सकिने विधयेक पारित भईसक्दा पनि यो सहज नभईसकेका स्थितिलाई केलाउन थालेँ ।

विवाहको पन्ध्र बर्ष पुगिसक्दा पनि मैले वंशजको नाममा लिएको नागरिकता परिवर्तन गरेको छैन । मनलाई भारी बनाएर भन्नुपर्दा ०५७ सालमा जन्मिएकै घरमा हुँदा लिएको नागरिकता अहिले माईती भईसकेको छ । यो पितृसत्तात्मक समाजका काईदा कानुन, विवाह संस्था र सामाजिक मूल्य मान्यताका खातिर छोरी मान्छेले विवाह पहिले माईतीको इज्जत जोगाईदिनु पर्ने, अनि विवाहपछि पति अनि पतिका घरपरिवारको मान सम्मान जोगाईदिनु पर्ने भनेर रटाईएका पाठहरू के वास्तवमै महिलामैत्री छन् त ? इज्जत वास्तवमा केमा अडिएको हुन्छ र ? के पुरूषले चाहिँ इज्जत जोगाउनु पर्दैन ? अपवाद त कहाँ हुँदैन र ? हामी पूर्विय दर्शन र संस्कारका हुर्काईएका कैयौं महिलाहरूले पनि घरपरिवार र समाजमा आआफ्नो मर्यादा कायमै राखेर परिवार धानेरै बसेका हुन्छन् नि । के नागरिकतामा थर परिवर्तन नगर्दैमा हामीले यी मूल्य र मान्यता नमानेको हुन सक्ला त ? यसमा मेरो श्रीमानलाई भन्दा अरू धेरै मानिसहरूलाई समस्या हुने गरेको घटना मसँग छन् ।

Ad

मेरा जन्मदाताको परिश्रम अनि मैले पनि दुख गरेर आर्जन गरेको शिक्षा, सीप अनि क्षमता र पारिवारिक साथ र सहयोगले आफैलाई स्थापित गर्नको निम्ति र समाजमा पनि योगदान होस् भन्ने उद्धेश्यले निरन्तर शिक्षा, स्वास्थ्य र समाजसेवाका क्षेत्रमा प्रत्यक्ष अप्रत्यक्ष योगदान दिदैं आएता पनि धेरैले मलाई कसैकी श्रीमती वा कसैकी बुहारी भनेर चिन्ने गरेको तितो यथार्थ पनि मसगँ नभएको हैन । तर त्यसलाई मैले सधैँ गौरवकै रूपमा लिने गरेकी छु । नागरिकतामा मलाई जन्मेदेखिकै थर राख्ने मन थियो । यो कुरामा मलाई अहिलेसम्म घरपरिवारबाट कसैले बाध्यकारी पारेको छैन । मेरा जन्मदाता र जन्मघरको सम्मानका खातिर मैले मेरो थर परिवर्तन नगर्ने अठोट गरेकी हुँ । मेरा धेरै समकक्षी साथीहरू, समाजमा स्थापित कैयौ महिला दिदीबहिनीहरू पनि माईतीकै थरमा रमाएका छन् ।

यसै सन्दर्भमा धेरैले मलाई नभनेका पनि हैनन् । मलाई कतिपय कार्यक्रममा निक्कै घत लाग्ने गरेको एउटै कुरा छ । सार्वजनिक, तथा सामाजिक तथा व्यवसायिक कार्यक्रममा मलाई पतिको नामले चिन्ने कतिपय मानिसले मेरो नाम लेख्ने वा उच्चारण गर्नु पर्दा पछाडि पतिको थर राख्नु हुन्थ्यो अनि मैले सच्याउँथे वा सच्याउन लगाउँथे । सायद महिला भएरै होला, मैले यो भनिरहँदा उहाँहरूलाई मैले पतिको अपमान गरेको लाग्ने रहेछ । कतिले त भनिहाल्नु हुन्थ्यो । मैले मेरो नामको पछाडि पतिको थर नराख्दा मात्र कसरी उहाँको अपमान हुन्छ भनेर बुझ्ने यो समाजले चाहिँ बरू मैले मेरो आत्मसम्मान मात्र खोजेको हो भनेर बुझ्न सकेन । छोरी मान्छेको आफ्नै घर अनि आफ्नै थर हुँदैन, पोथी बास्नु हुँदैनजस्ता भनाइहरु आदि सुन्दै आएका हामीलाई यी सबै कुरा असहज लागे पनि वास्तवमा छोरीको घर नहुनुमा, पोथी बास्न नसक्नुको कारण छोरीहरूमाथिको सामाजिक विभेद नै हो । यस्तै संकिर्ण मानसिकता र महिलालाई वस्तु, इज्जत, मर्यादाको नाम दिई अघि पाइला बढाउन नसक्ने गरी जन्जिरमा जकडेर राख्न पल्केको पुरूषसत्ताले आफ्नो भाग खोसिएला कि भनेर महिलाका अस्तित्वलाई केवल नजरअन्दाज गर्दै आएको छ ।

पिता, पतिकै नामबाट नागरिकता लिनु पर्ने, पैतृक सम्पतिमा पनि छोराकै हक र अधिकार, नागरिकता, स्कुल कलेजमा भर्ना प्रकृया, बैंक खाता, जागिर, व्यवसाय, लगानीका क्षेत्रमा गरिने कागतपत्रहरूमा चाहिने पुरूष पात्रकै नाम युगौँदेखि महिलामाथि भएका विभेदलाई कसरी हामीले भावी पुस्तालाई बुझाउँदै लानु पर्ने हो भनेर सोच्न बाध्य बनायो । अहिले बाट नै यी कुराहरूमा मैले छोरीलाई बुझाउन सकिन भने यो पुस्तापनि एकै ड्याङ्का मुला नै भएर निस्किने छन् ।

छोरा छोरीले राख्ने जिज्ञासाहरू हामीलाई सामान्य लाग्ने गर्छन् । तिनीहरूको सहि र गहण उत्तर दिन हामी हिच्किचाउँछौं । कति त हामीले ईग्नोर नै पनि गर्ने गर्छौं । तर गहिरिएर नियाल्दा भने मैले यो निस्कर्ष निकाल्दै थिएँ, हामीले हाम्रा भावी सन्ततिले राखेका यस्ता जिज्ञासाहरूको चलेको उत्तरभन्दा सही र तार्किक उत्तर दिने कोशिस गरौं । लैङ्गिक समानता र विभेदका बारेमा र यसका विरूद्द केवल पुरूष सत्ताकै पाठ घोकाउँदै लाने हैन कि समानताका कुराहरू बुझाउँदै नलगे कुनै हालतमा पनि छोरा र छोरी समान हुनेछैनन् । सामान्य लागे पनि यसको सुरूवात हाम्रा तीन पुस्तेमा अब पुरूष सदस्यहरूको बारेमा मात्र हैन, महिला सदस्यहरूको नाम, पारिवारिक योगदानको बारेमा पनि बुझाउनु पर्ने रहेछ भनेर मलाई छोरीले छर्लङ्ग पारिदिईन । नारी पुरूष एकै रथका दुई पाङ्ग्रा हुन भने आमा र बुवा दुवैपट्टिको तीन पुस्तेमा दुवै पुरूष र महिलाकै नामहरूका बारेमा आफ्ना सन्ततिलाई सिकाउनु जरूरी छ ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button