
आश्रमलाई सम्मान केन्द्रमा बदलौं
आर.के. बस्न्यात
नेपालको संविधान २०७२ को धारा ४१ मा जेष्ठ नागरिकहरुको बारेमा उल्लेख गरिएको छ, जसमा जेष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ भनिएको छ । मौलिक हकमै उल्लेखित उक्त विशेष संरक्षण र सामाजिक सुरक्षाको हकले जेष्ठ नागरिकको आर्थिक, सामाजिक अधिकारहरु सुनिश्चित गर्नुपर्ने दायित्व राज्यको रहन्छ । त्यसैगरी समानताको हकमा सिमान्तकृत समुदायभित्रको अन्य समुहरुलाई जस्तै जेष्ठ नागरिकलाई राज्यले संरक्षण, सशक्तिकरण वा विकासका लागि विशेष व्यवस्था गर्न सक्नेछ भन्ने अधिकारको सुनिश्चितता गरेको देखिन्छ ।
नेपालमा हाल ७० वर्ष नाघेका जेष्ठ नागरिकको ९.५९ प्रतिशत रहेको तर्थाक विभागको अनुमान छ । सन् १९८० मा नेपालमा १ जेष्ठ नागरिक बराबर १६.८ जना युवा थिए भने हाल एक जेष्ठ नागरिक बराबर ११ जना युवा छन् । आजको यस्तो अवस्थाले आउने ३० वर्षपछि सन् २०४७ सम्ममा नेपाल प्रौढ बाहुल्य क्षेत्रमा रुपान्तरण हुने अनुमान सजिलै गर्न सकिन्छ । नेपालमा युवाहरु दैनिक १५०० का दरले खाडी लगायतका मुलुकहरुमा विदेशिने र त्यतिकै संख्यामा भारतमा रोजगारीका लागि जाने युवाहरुको संख्या अनुमान गरिन्छ । युवाहरुमा बढ्दो शहरीकरणको मोह अनि रोजगारीको खोजीमा शहर केन्द्रित हुनाले गाउहरुमा जेष्ठ नागरिकहरु आवश्यक हेरचाहबाट बञ्चित भैरहेको अवस्था छ ।
वर्षमा ६ हजार जति युवाहरु उच्च शिक्षाका लागि विदेशिने गर्छन् र जो शिक्षा आर्जन पछि थोरै संख्यामा मात्र नेपाल फर्कन्छन् । यसरी ठूलो संख्यामा युवा पुस्ता बाहिरिने क्रम छ भने अर्कोतिर हाम्रा गाउ तथा शहरमा विस्तारै जेष्ठ नागरिकहरुको मात्र उपस्थिति बाक्लिदै गएको छ ।
परिवारमै बस्ने जेष्ठ नागरिकहरुको पनि स्वास्थ्यमा आएको समस्या, विर्सने रोग, छोराछोरीको भविष्यलाई लिएर गरिरहने चिन्ता र सुझावहरु काममा व्यस्त छोराछोरीले ध्यान पुर्याउन नसकिरहेको अवस्था देखिन्छ । यस्तो हुँदा जेष्ठ नागरिक र कमाई जोरजाममा व्यस्त छोराछोरीबीच सम्बन्धहरु पनि चिसिएका पाईन्छन् । जेष्ठताको यो अवस्थालाई पनि युवा पुस्ताले सम्बोधन गर्नुपर्ने र यसको समाधानतिर लाग्नुपर्ने पनि आजको आवश्यकता भएको छ ।
जेष्ठ नागरिकको अधिकार र आवश्यकतासँग जोडिएका सवालहरुमा राज्य र गैरसरकारी तवरबाट केही सकारात्मक कार्यहरु पनि हुँदै आएका छन् । त्यस्तै गरेर जेष्ठ नागरिक आश्रमको बारेमा नकारात्मक कुराहरु पनि सुन्नमा आउँछन् । अब जेष्ठ नागरिक आश्रमलाई जेष्ठ नागरिक सम्मान केन्द्रमा रूपान्तरण गर्नुपर्छ । यस प्रकारको जेष्ठ नागरिक आश्रम बाबुआमालाई पालनपोषण गर्न समस्या भएर होइन, घरमा भन्दा बढ्ता रेखदेख गर्ने उद्देश्यले र आमाबुबाको दीर्घायु र सुस्वास्थ्यको दृष्टिकोणबाट प्रेरित भएर स्थापना हुनुपर्छ । अबको विश्वमा अझ भन्नु पर्दा नेपालमा त जेष्ठ नागरिक आश्रम लगभग अनिवार्यजस्तै भैसकेको छ । सुविधाजनक घर, जहाँ स्वास्थ्यकर्मी, व्यायामशाला, मनोरञ्जनात्मक क्रियाकलाप, पर्याप्त मात्रामा हिँड्डुल गर्न माटो वा दूबो रोपिएको जमिन, आधुनिक सुचना प्रबिधि र अध्ययन सामाग्री, सुरक्षाको व्यवस्था, जेष्ठ नागरिक चौतारी, योग, ध्यान आदिको सुविधा हुनुपर्छ । डाक्टरले सिफारिस गरेको खानातालिका अनुसार दानापानीको व्यवस्था गर्नुपर्छ । प्रत्येकको लागि छुट्टाछुट्टै कोठाको व्यवस्था हुनुपर्छ । बाथरूम एट्याच हुनुपर्छ । आहारबिहार र विचारको बारेमा तालिका बनाउनुपर्छ ।
समय समयमा राज्यका सम्बन्धित निकायहरूले अनुगमन गर्ने गर्नुपर्छ । वार्षिक रुपमा सम्भव भएसम्म राष्ट्रिय वा अन्तराष्ट्रिय जेष्ठ नागरिक सम्मेलन गर्नुपर्छ । घरपरिवारलाई हप्तामा एक दुई पटक भेट्ने वा भलाकुसारी गर्ने व्यवस्था मिलाउनुपर्छ । तर, यस्तो जेष्ठ नागरिक आश्रम जङ्गलको छेउतिर भएमा राम्रो हुनेछ । बृद्ध अबस्थामा बस्ने स्थान अत्याधुनिक र आमाबुबामैत्री होस्, जहाँ बस्न जाउँ जाउँ लाग्ने खालको होस् ।
यो सुझाव अहिले जेष्ठ नागरिक आश्रम संचालन गरिरहेका साथीहरुलाई पनि हो । अब उप्रान्त यस्तो आश्रम संचालन गर्ने जाँगर र ईच्छा देखाउनु हुने सबैलाई हो । यसप्रकारको बृद्दाश्रममा पैसा छ तर घरमा बस्ने वातावरण छैन वा सुविधा पुगेन भने पैसा तिरेर बस्न मिल्छ । अबको केही दशकमा नेपालमा पनि प्राइभेट बृद्दाश्रमको महत्व बढ्दै जाने निश्चित देखिन्छ ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)