टिकटक बनाउन नआऊ मेलम्ची

स्थानीय स्वर

जनक अधिकारी
मेलम्ची, सिन्धुपाल्चोक ।

अन्धभक्तहरुले आँखा खोलेर हेर, कस्तो थियो मेलम्ची ? के भयो अहिले ? रमितेहरुलाइ बजार प्रवेशमा रोक लगाऊ प्रशासन अनि नगरपालिका ।

मेलम्ची बजारबासीले अहिले जुन महाविपत्ति खेप्नु परेको छ, त्यो पीडितलाई मात्र थाहा छ । चिल्ला गाडी र बाइकमा घुम्न आएर ‘मेलम्ची बासिन्दाले खोलामा घर बनाएको अनि यस्तो विपत्ति किन नआउनु भनेर भनेको मैले प्रत्यक्ष सुनेँ । अब तिम्रा आँखा प्रष्ट खुलुन् । मेलम्ची हिजो के थियो र आज कस्तो भयो भनेर विपत्तिमा रमाउन तस्वीर खिच्न अनि टिकटक बनाउने यो कुनै मेला पर्व र उत्सव भएको होइन । र, जोडी लिएर घुम्ने पार्क पनि होइन ।

मेलम्ची कति पीडाले अनि दुःखले रोइरहेको छ, त्यो हामीलाई मात्र थाहा छ । हामी पापी अपराधी बसेको ठाउँ रे अनि यस्तो भएको भनेर भन्ने तिमीहरु चाहिँ कति धर्मात्मा छौ रु समयले देखाउला । हामीलाई केही चाहिएको छैन । यस दुखद घडीमा मात्र मानविय संवेदना दिन सक । हामी बाँचेका छौं । अरु गर्न नसके पनि हाम्रा उर्वरभुमि सुख्खा मरुभुमी बनाएर लाखौं लाख नेपालीको प्यास मेट्न मेलम्ची खोलाको पानी त दिएका छौ नि । हाम्रा घर पुरिएका बालुवा र गिट्टी निकालेर अझै तिम्रो पैंचो तिर्नेछौं । सबै कुरा बगाए पनि हाम्रो आत्मविश्वास र साहस भने बगाउन सकेको छैन । यहि गर्व छ ।

चिलेसा परेका चामल, २ पोका चाउचाउ र अन्य कुरा राहतको नाममा हामीलाई दिएर दानी देखिनु कतिको मानवियता होला रु ठन्डा दिमागले सोच । दान गर्ने अनि हामीलाई पापी र अपराधीको बिल्ला भिराएर जाने त्यो तिम्रो सहि विचार हो तिमीहरुप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्न चाहन्छु ।

विपत बाजा बजाएर आउने होइन, विपत्तिमा चराइरहेका घाउमा मलमपट्टि लगाउने कोसिस गरम । अनावश्यक टीका टिप्पणी नगरम ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button