महिनापारी हैन महिनावारी

अरुणा ढकाल ‘अनुराग’

सुनौलो त्यो बिहानीको किरण सँगै उठेर
होमवर्क सकी स्कुल जाने तयारीमा जुटेर ।
अरु बेलाको भन्दा छुट्टै महशुस थियो
एक्कासी यो पेटमा कुन्नि केले दुखाइदियो।।

थाहा थियो घाइते त म पक्कै होइन
आमालाई भने महिनावारी भएछु अनि कतै गैन
यसबारे सबै जान्दाजान्दै पनि आँशुले म रुझेँ
पढाई अनि भोगाइ फरक रहेछ बल्ल पो बुझेँ ।।

न्यानो ताप दिने सुर्य
र, न्यानो माया दिने बाबाबाट
१०-१५ दिन टाढिएँ ।
नौलो सुरुवात,
मन्द दुखाइ, मन अनि तनको चिसोपनमा
एक्लै गाडिएँँ ।।

परिवार शिक्षित भएर नि एक्लै बस्न बाध्य थिएँ
रमाउनु पर्ने पल थियो तर आफुलाई लग्गै लिएँ ।
छाउगोठमा बलात्कृत ती किशोरीको कथा सम्झेँ अनि
घरकै अँध्यारो कोठामा बस्न पाउनु सौभाग्य भनी ।।

प्रकृतिको नियम हो यो हुन्छ महिनावारी
किन राख्छौ आखिर हामीलाई पर पर सारी ।
संसारबाट हटाउनु छ पर सार्ने प्रथा
छोइ छिटो कुसंस्कार हो, छोडौ बार्ने प्रथा ।।

सृष्टिको सुरुवात हो खुशी हुन सिकौं
सफा सुग्घर होऔ बसौं बरु छुन सिकौं ।
तागतिलो खानेकुरा खोजी खोजी खाऔं
साह्रै बढी पीडा भए अस्पतालमा जाऔं ।।

महिनावारीबिना कुन जन्म सम्भव छ र !
सम्मान गर्नुपर्ने ठाँउमा किन सार्छौ पर ।
संसारको शाश्वत सत्य जन्मनु र मर्नु
महिनावारी सृष्टि फूल हो, भ्रममा नपर्नु ।।

(कविता, कथा, लघुकथा, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button